Saturday, April 27, 2024

-->

उताको सहारा, यताका सहकारी

सहाराको व्यापारिक साम्राज्य र सुब्रत रायको शानसौकत एकै झड्कामा ढल्दा करोडौँ बचतकर्ता र लाखौँ एजेन्टको बिचल्लीका कथा हाम्रा सहकारी, यसका सञ्चालकका ठाँट तथा अन्तिममा बचतकर्ताको बिचल्लीसँग मेल खान्छ।

उताको सहारा यताका सहकारी

उनलाई ‘दुनियाँकै सबैभन्दा ठूलो परिवारका मूली माननीय सहाराश्री सुब्रत राय’ सम्बोधन गरिन्थ्यो। भारतमा रेल सेवापछि सबैभन्दा बढी १२ लाख जनालाई रोजगारी दिएको दाबी गरिन्थ्यो। अझ बचतकर्ताको रूपमा सहारा समूहमा जोडिएकालाई समेत परिवारको हिस्सा मानिन्थ्यो। यो समूहमा ६ करोड बचतकर्ता जोडिएको सन् २००७ तिर शेखर गुप्तालाई दिएको अन्तर्वार्तामा खुद सुब्रतले बताएका थिए। यस अर्थमा नेपालको जनसंख्याको दोब्बरभन्दा अझै ठूलो त उनको ‘परिवार’ थियो। 

परिवारमा अभिवादन गर्दा दाहिने हात छातीमा राखेर सहारा प्रणाम भन्नुपर्थ्यो। गएको नोभेम्बर १४ मा मुम्बईमा सुब्रतले अन्तिम सास लिने बेला छेउछाउ श्रीमती र एकाघर सगोलकै छोराहरू पनि थिएनन् नै, भोलिपल्ट लखनउमा अन्तिम संस्कार गरिँदा दागबत्ती दिनधरी छोराहरू आएनन्। उनलाई ‘बडे भाइ’ सम्बोधन गर्ने एक समयका अमिताभ बच्चनले त समवेदनामा एउटा ट्विटधरी नगरेको भनेर आलोचना भयो।

स्कुटरमा बिस्कुट, नमकिन बेच्दै हिँड्ने केटोले २ हजार भारुमा ऋण–बचत (चिट फण्ड) कम्पनी शुरू गरी भारतकै धनी र ताकतवरमध्येको बने पनि एकै झड्कामा उसको साम्राज्य तासको घरझैँ गर्ल्यामगुर्लुम्म ढल्दै जेलसम्म पुगेको कथामा नेटफ्लिक्सले सन २०२० मै ‘ब्याड ब्वाय बिलनायर्स’ सिरिजअन्तर्गत ‘द वर्ल्डस् बिगेस्ट फ्यामिली’ डकुमेन्ट्री बनाएको थियो। बचतकर्ताको पैसामा निर्मित सहाराको व्यापारिक साम्राज्य, सुब्रत रायको शानसौकत एकै झड्कामा गर्ल्यामगुर्लुम्म भएपछि करोडौँ बचतकर्ता र लाखौँ एजेन्टको बिचल्लीका कथा हाम्रा सहकारी, यसका सञ्चालकहरूका ठाँटबाट र अन्तिममा बचतकर्ताको बिचल्लीसँग मेल खान्छ।

सरकारी कर्मचारीका महत्त्वाकांक्षी छोरा सुब्रत सन् १९७८ मा सहारा स्थापनाअघि लम्ब्रेटा स्कुटरमा नमकिन, बिस्कुट, पंखा बेच्दै गाउँ–गाउँ घुमे तर तरक्की भएन। अति विपन्न वर्गलक्षित बचत संकलन शुरू गरेपछि भारतकै सबैभन्दा धनीमध्ये एकमा दरिन पुगे। उनले कारोबार शुरू गरेको उत्तर प्रदेशको गोरखपुर क्षेत्र यसै पनि भारतकै सबभन्दा पिछडिएकोमा दर्ज हुन्थ्यो। त्यहाँको पनि सबैभन्दा पिँधमा रहेका (ज्याला मजदुरीमा आश्रित) हरूको बचत संकलन गरी धन्दा शुरू गरेका थिए।

दैनिक ज्याला १०० भारु पनि नपुग्ने श्रमिकलाई उनले दैनिक १०–२० रूपैयाँ बचत गर्न उत्प्रेरित गरे। दैनिक ज्यालादारी गर्नेको बैंक खाता हुने कल्पनै नगरिने बेला उनीहरूले बैंकको खाताझैं ठानेर बचत थाले। शर्त पढ्दा पनि पढेनन्, पढ्नै नसक्ने निरक्षर थिए। चाहिएको बेला झिक्न सकिने ठाने। सुब्रत आफूलाई गरिबको मसिहा देखाउन खोज्थे। गरिबले आफूजस्तै ठाने। सहारा समूह गरिबको सहाराझैँ देखियो।

तस्वीर: द न्युज फोर भ्युज।

तरक्कीमा युगान्तकारी छलाङ मार्न चाहिँ उदारीकरणको युग नै पर्खिनुपर्‍यो, अर्थात् सन १९९० को दशक। सन् १९९७ मा सहाराले कम्पनीको ‘नेटवर्थ’ १ अर्ब डलर पुगेको घोषणा गर्‍यो। शुरूशुरूमा बचतकर्ता लाभान्वित नभएका पनि हैनन्। सहाराले प्रतिबद्धताअनुरूप भुक्तानी गर्‍यो। सहारा परिवारमा ‘भाइस प्रेसिडेन्ट’ रहिसकेका राजीव बजाजका अनुसार कतिपयले त सहारामा बचत थालेपछि पहिलोचोटी जुत्ता लगाएका थिए। धेरैले छोरीको बिहे गर्न सकेको बताउँथे, छोरालाई उच्च शिक्षा दिलाउन सकेको सुनाउँथे। “मैले देखेको छु उत्तर प्रदेश, मध्य प्रदेश, छत्तिसगढका गाउँघरमा सरकारी संस्थाभन्दा बढी भरोसा सहारामा गरिन्थ्यो,” राजीव सम्झिन्छन्। 

उदारीकरणमा मध्यम/निम्नमध्यम वर्गको संख्यामा बढोत्तरी हुँदै थियो। सहाराको आकर्षक बचत योजना (स्किम)मा नयाँ बचतकर्तालाई लोभिए। ह्वारह्वार्ती बचतकर्ता थपिएपछि परिपक्व भएको योजनाको भुक्तानीमा समस्या भएन। “तीन वर्षमा दोब्बर रिटर्न लेखिएका ठूल्ठूला होर्डिङ बोर्ड देखिन्थे,” तीन दशक सहाराको पछि लागेका पत्रकार शरत प्रधान सुनाउँछन्, “दोब्बर रिटर्न कसरी सम्भव भइराख्छ? यसमा कुछ गडबड छ भनेर शंका गर्न थालेँ।”

शुरूमा संस्था अच्छा चल्यो। तर थियो त यो पिरामिड स्किम, नयाँ बचतकर्ता आउन्जेल पुरानाले रिर्टन पाउँदै गए। शुरूमा प्रतिबद्धताअनुरूप पैसा भुक्तानी गरे पनि पछि योजना परिपक्व भई भुक्तानी लिन गएकालाई पुनः लगानी गर्न दबाब दिन थालियो। १० हजार भुक्तानी पाउनेलाई त्यो रकम पुनः बचत गरे तीन वर्षमा ३० हजार हुने ‘सुपर मल्टिप्लायर स्किम’ सुनाएर लोभ्याइयो। “१५ वर्षमा त ६ गुणाभन्दा बढी रकम एकमुस्ट पाइने आँकडा पेश गरिन्थ्यो,” शरत सम्झिन्छन्।

“यिनलाई कसले जान्दैनन्? आकाशमा, जमिनमा, ठूल्ठूला प्रोजेक्टमा अब हाम्रो क्रिकेट टिमको जर्सीमा उनै छन्,” आफ्नो टक शोमा सिम्मी ग्रेवालले सुब्रतको परिचय दिँदा भन्छिन्, “देशको ताकतवरमध्येका एक उनी पहेली पनि हुन्।”

तस्वीर: फ्रि प्रेस जर्नल।

बचत मनग्गे संकलन भइरहेको थियो। उत्तर प्रदेशबाट दिल्ली/मुम्बई पुगेको श्रमिकले पनि सहारामा बचत थालेपछि एउटा परिवारमा आबद्ध भएको अनुभूत गर्ने वातावरण बनाइएको थियो। पैसा त आयो अब के गर्ने? बचतकर्ताबाट संकलित रकमबाट बडेबडे प्रोजेक्टमा लगानी गरिएको थियो। एयर सहारा शुरू गरेका थिए। ‘प्रपर्टी’ मालिकमा भारतकै एक नम्बर ठानिन्थे।

सुब्रतको सपनाको शहर भनिएको ‘एम्बी भ्याली’मा भारतको नभई युरोपमा धनीहरूको बस्ती सुनिन्थ्यो। युरोपियन शैलीका घरहरू थिए, कैयौँ थिम रेस्टुरेन्टहरू थिए, ‘डान्सिङ फाउन्टेन’मा सुब्रतको होलोग्राम प्रतिबिम्बित हुन्थ्यो। बचतकर्ताबाट संकलित रकम बाहिर पनि लगानी गर्न थाले। न्यूयोर्कको मुटु म्यानहट्टनको प्रख्यात प्लाजा होटल किनेका थिए।

जीवनशैली, ओहोहो। लखनउमा ‘सहारा सिटी’ बनाए, आफ्ना लागि हुबहु ह्वाइट हाउस जस्तो निवास बनाएका थिए। सन् २००४ मा दुई छोरा सुशान्तो र सिमान्तोको विवाहको भव्यता भारतमै त्यसअघि कहिल्यै भएको थिएन भनिन्छ। ५ अर्ब भारु खर्च भएको भनिएको विवाहमा देश/विदेशका १० हजार निम्तालु लखनउ पुगेका थिए। एकैचोटी १०१ जोडीको सामूहिक विवाह गराई प्रत्येक जोडीलाई नयाँ जीवन शुरू गर्न ५/५ लाख भारु दिई उनी रबिनहुड राय बन्न खोजेका थिए। अमिताभ बच्चन कर्पोरेसन लिमिटेड (एबीसीएल) डुबेर संकटमा परेका महानायकको उद्धारकर्ता उनै थिए। गुन तिर्न बच्चन कतिचोटी सुब्रतलाई ‘रिसिभ’ गर्न एयरपोर्ट पुग्ने गर्थे भन्ने किस्सा प्रचलित छन्। भेट्न अफिस पुगेका महानायकलाई १५ मिनेट कुराएर उनले सहकर्मीहरूलाई ‘म कति ठूलो मान्छे हुँ’ भन्ने सन्देश दिएका थिए। 

बचतकर्ताको रकममा खडा भएको सहारा साम्राज्य धराशायी हुन कुनै आइतबार कुर्नु परेन। शेयर बजारको नियामक ‘द सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया’ (सेबी)ले औँला उठाउनासाथ तासको घरझैँ ढल्यो। बचतकर्ताको पैसामा खडा भएको पिरामिड शैलीको व्यवसाय जति नै ठूलो भए पनि सबैले भरथेग गरे मात्र उभिन्छन्, कसैले ठेल्दिए ढलिहाल्छन्। 

हाउजिङ र पूर्वाधारका दुई कम्पनीलाई ‘पब्लिक लिमिटेड’मा रूपान्तर गरी शेयर बजारमा सूचीकृत हुने सन् २००७ को उनको निर्णय सहाराको साम्राज्य   धराशायी हुने ‘टर्निङ प्वाइन्ट’ हुनपुग्यो। शेयर निष्कासन गर्न सेबीलाई कम्पनीको विस्तृत वित्तीय विवरण नबुझाइ हुन्न। सेबीले सहाराको नेकीबेदी केलाउन थाल्यो। त्यसमा न लगानीकर्ताको विवरण छ, न रिटर्नको ठोस योजना। 

दुई कम्पनीमा तीन करोड जनाले लगानी (बचत) गरेका थिए। ५० भन्दा बढी व्यक्तिबाट पुँजी संकलन गर्दा उसको अनुमति अनिवार्य हुने सेबीले बतायो। सुब्रत ‘सहारा भनेको परिवार हो, यो पब्लिकको नभई निजी पारिवारिक मामिला हो’ भनेर लिँडेढिपी कस्न थाले। अब सेबीले लगानी नै अवैध ठहर्‍याउँदै ‘पहिला तीन करोड जनाबाट उठाएको २४ हजार करोड (भारु) फिर्ता गरी आऊ’ भन्दियो। 

तस्वीर: द प्रिन्ट।

सेबीको सक्रियताअघि नै गाउँगाउँबाट बचतकर्ताको लगानी जोखिममा परेको गाइँगुइँ आउन थालिसकेको थियो। पत्रकार प्रधानका अनुसार सन् २००५ तिरै बचत संकलन गर्ने एजेन्ट गाउँतिर जान छाडेका थिए, ‘नजिकैको सहारा अफिसमा गई पैसा जम्मा गरिदिनू’ भनिन थालिएको थियो। नजिकैको अफिसमा पैसा संकलन गरी फर्किंदा दिन बित्थ्यो, जबकि ती अधिकांश दैनिक ज्यालादारी गर्नेहरू हुन्थे। 

अफिसमा पुगेर बचत जम्मा गर्न नसक्नेलाई सहाराले ‘डिफल्ट’ भएको भन्दै अब पनि जम्मा गर्न नआए बचत जफत हुने चिठी पठाउन थाल्यो। कतिपयको जफत पनि भयो। यसपछि सहाराप्रतिको भरोसा टुट्न थाल्यो। नयाँ बचत आउन कम भएपछि सहाराको पिरामिड स्किम खल्बलिन शुरू भइसकेको थियो। यसैले पनि सुब्रतलाई सहारा साम्राज्य ढल्न नदिन शेयर निष्कासनमार्फत बजारबाट पुँजी संकलन अपरिहार्य थियो। 

सेबीको आदेशले भारतकै ताकतवरमध्येका सुब्रत ‘आगबबुला’ भए। “म पूरै दुनियाँलाई चुनौती दिन्छु, मैले कुनै गल्ती गरेको छैन,” उनको अंहकार बोल्न थाल्यो, “सबै आरोप झूटा हुन्, अफवाह फैलाइएको छ।”

त्यसपछि उनी इलाहाबाद उच्च अदालत गए, शुरूमा अन्तरिम आदेशमार्फत राहत पाए। तर केही महिनामै उच्च अदालतले सेबीको आदेश सही ठहर्‍याइदियो। अझ सर्वोच्च अदालतले त ‘तिमी पहिले जाने ट्राइब्युनलमा हो’ भनेर फिर्ता पठाइदियो। ट्राइब्युनले पनि राहत दिएन। अब अदालत हुँदै सुब्रत जेलमै जाने घटनाक्रम विकसित भए।  ‘सहारा एउटा परिवार हो, यो पब्लिक इस्यु होइन। निजी पारिवारिक मामिला हो’ भन्ने दलिल त अदालतले सुन्न पनि चाहेन।

‘तिम्रा बकवास सुन्न हामी बेञ्चमा बसेका हैनौं’ भन्दै उनको दलिललाई प्रथम दृष्टमै खारेज गरिदियो। त्यसपछि त उनले सर्वोच्चकै अवमानना गर्न थाले। न्यायालयले उपस्थित हुन भन्दा ‘आमा बिरामी छन्, संसारमा आमाभन्दा ठूलो केही हुन्न’ भन्दै निवेदन लेखेर अनुुपस्थित भएका उनी त्यही साँझ लखनउमा बिहाको भोजमा उपस्थित भएको तस्वीर छापिए। त्यसपछि सर्वोच्चले उनलाई सेबीको आदेश बमोजिम बचतकर्तालाई पैसा तिर्नु मात्रै भनेन, १५ प्रतिशत ब्याजसमेत जोडेर त्यो पनि तीन महिनाभित्र भुक्तानी गरी उपस्थित हुन आदेश दियो। 

उनले २० हजार करोड भारु भुक्तानी गरिसकेको जवाफ सेबीलाई पठाए। सेबीले सबुत खोज्दा नगदै भुक्तानी गरेको भनेर टार्न खोजे। सबुत पेश गर्न दबाब दिएपछि अर्को हर्कत गरे, पाँच करोड डकुमेन्टले भरिएका ३० हजार बाक्सा लादिएका १२७ ट्रक सेबीको प्रधान कार्यालय, मुम्बई रवाना गराए। ट्रकहरू लाइन लागेर सेबी अफिस छिर्दा ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त हुन पुगेको थियो।

वास्तवमा सुब्रतले सेबीलाई चुनौती दिएका थिए। तर यसले उनलाई थप भड्खालोमा जाकिदियो। सबै डकुमेन्ट अध्ययन गरीसाध्य थिएन, वर्षांैवर्ष लाग्न सक्थ्यो। तैपनि सेबीले ५० जनाको टिमलाई डकुमेन्ट परीक्षण गर्ने मेसिनसहित परिचालन गर्‍यो। सबै कागजात भद्रगोल थियो, बचतकर्ताहरूको विस्तृत विवरणै थिएन। कतिपय विवरण अपत्यारिला थिए। एकै नामका दुई हजारसम्म बचतकर्ता फेला परे।

सेबीले २० हजार नमूना बचतकर्ता छानेर तिनलाई रकम फिर्ता पाए/नपाएको सोधिपठायो। त्यसमध्ये ६८ जनाले मात्र जवाफ पठाए। कतिपय नाम काल्पनिक भएको पुष्टि भयो। अब उनीमाथि कालोधन प्रयोग गरी धुलाएको आरोप लाग्यो। “अखबारमा अफवाह फैलाइएको छ,” सुब्रत बर्बराउन थाले, “कालोधन्दा, हेराफेरी गरेको पुख्ता सबुतसहित प्रमाणित गर्नसके मलाई फाँसीमा चढाइदिनुस।”

उनी अखबारमा ठूल्ठूला विज्ञापनमार्फत आफ्नो कमजोर दलिल पस्किन थाले। देशभक्तिवाला अलाप ताने, वाक्क हुनेगरी। २०१३ मे ६ का दिन लखनउमा ११ लाख मान्छे भेला गरी राष्ट्रिय गान गाउन लगाएर उनले विश्व रेकर्ड बनाए। आफूभन्दा देशभक्त कोही छैन देखाउन चाहे, नियामकको रौँ हल्लिएन।

“सेबीले आदेश गरी सर्वोच्च अदालतले सदर गरेको तीन करोड लगानीकर्ताको २४ हजार करोड भारु भुक्तानी भइनसकेको भन्दै ‘भुक्तानी गर्न पैसा दिनुस्’ भन्दा उनले पुनर्लगानी गराउन भने,” मुम्बईमा एजेन्ट भई बचत संकलन गरेकी पुनम गुप्ता भन्छिन्, “कुनै पुनर्लगानी गर्नु छैन, अति गरिब मान्छेले मलाई विश्वास गरेर बचत गरे, तिनको पैसा भुक्तानी गर्दिनुस भनिरहेँ।”

केन्द्र सरकारले केहीअघि सहारा क्रेडिट कोअपरेटिव सोसाइटी, साहारायन युनिभर्सल मल्टीपर्पज सोसाइटी, हमारा इण्डिया क्रेडिट कोअपरेटिभ सोसाइटी र स्टार्स मल्टिीपर्पज सोसाइटी लिमिटेड गरी चार सहकारीका बचतकर्तालाई भुक्तानीका लागि अनलाइन अनुरोध गर्न भनेको छ। 

यता हाम्रामा सहारा शैलीका ठगी/लुटको श्रृंखला अविराम जारी छ, नयाँनयाँ रूप र आकारमा। गोल्डक्वाइन, युनिटी, हर्बो अनेकन नाममा पिरामिड स्किम आए, सर्वसाधारण लोभिए, ठगिए। सहकारी आउँछन्, लुटिन्छन्। अब अर्को धन्दा शुरू भएको छ, शेयर निष्कासन। घाटामै चलिरहेका कम्पनी, पहिले नाफा कमाई अब घाटामा गइरहेका कम्पनी, घाटामै नगइहाले पनि भविष्यमा घाटामै जाने निश्चित भएका अनेकनथरिका सबका सब शेयर निष्कासनका लागि कागज मिलाउन कसरत गरिरहेको सुनिन्छ। कतिसम्म छ भने, दुई कम्पनीमध्ये एउटा नाफामै छ, घाटामै गइहाल्ने पनि देखिँदैन, अर्को घाटाको घाटामा छ, पहिलोको नाफा हालेर चलाउन परेको छ। अब घाटाको कम्पनीको शेयर निष्कासन गर्न दौडधुप छ, नाफावालाको हैन।

भेडालाई घाँस देखाएर घरभित्रै हुलेपछि काटकुट पारेर खाइदिने टाइपको धन्दा होइन यो? अनि नागरिकलाई यस्ता ठगी/लुटबाट जोगाउने काम सरकारको होइन र? मान्छेमा वित्तीय साक्षरता अत्यन्त न्यून छ। घाटैघाटा देख्दाधरी आईपीओ भनेपछि हाताहात किनेका छन्। उहिल्यै बैंक, वित्तीय संस्थाकै मात्र आईपीओ आउँथे। शेयर पर्नेले लाभैलाभ पाउँथे। त्यही ‘साउनमा आँखा फुटेको डिंगाले सधैँ हरियो देख्छ’ भनेझैँ उहिल्यै बैंक, बीमा कम्पनीमा केही थान शेयर पर्दा पनि लाभ पाएको देख्छन्।

अवस्था यहाँको पनि उस्तै हो। फरक संसारकै सबैभन्दा धेरै आवादी भएको देशमा एउटै सहाराले चिट फन्डमार्फत गरेको ‘चिटिङ’सँग अंक फरक हो। र बचतकर्ताको पैसामा गरिएको शानसौकतको स्तर फरक हो। नत्र बचतकर्ताको ७० करोड रूपैयाँ पच पारेर फरार ढोरपाटनका मेयर देवकुमार नेपाली ढोरपाटन–पोखरा आवतजावत गर्दा हेलिकप्टर चढ्थे। सुविधाका लागि आफ्नै गाउँठाउँमा होटल बनाई त्यसैमा हेलिप्याड बनाएका थिए। बचत संकलनको पैसा थियो, आमन्त्रण गर्ने संस्थालाई आर्थिक सहयोग नगरी फर्किंदैन थिए। सहयोगको आशामा पनि उनलाई धेरैभन्दा धेरैले निम्त्याउँथे। जे जति मस्ती गरे बचतकर्ताको खुनपसिनाको कमाइमा गरेका थिए।

सहकारीका बचतकर्ताको पैसामा खुलेका ग्यालेक्सी फोरकेका साथै गोर्खा टीभी, नाइस टीभी र अर्थ टीभी बन्द भएको सुनियो। अरूबारे बुझिँदैछ, ग्यालेक्सी चाहिँ जीबी राई नेतृत्वको टिमले खोलेका ६ वटा सहकारीमा बचतकर्ताको अपचलन गरिएको भनिएको ७ अर्ब रूपैयाँमध्येको पैसा बगाएरै खोलेका हुन् भन्ने धेरैलाई थाहा थियो। व्यवस्थापकीय/सम्पादकीय नेतृत्वमा पुगिसकेकैहरूबाट सुनिएअनुसार ग्यालेक्सीमा दुई वर्षमा एक अर्ब रूपैयाँ हाराहारी खर्च भएको थियो, त्यसमा सबै सहकारीको थियो वा राईको टिमले अरू स्रोतबाट पनि जुटाएको थियो र थियो भने कति भन्ने खोजबिन हुन बाँकी छ। बचतकर्ताको पैसाले मिडिया खोलेर शक्तिशाली हुने हुटहुटी पनि उताका सहाराश्री र यताका ‘सहकारीश्री’हरूमा उस्तै–उस्तै देखिन्छ।

सुब्रतले विदेशमा रहेका राजीव बजाजलाई टेलिभिजन नेटवर्कको नेतृत्व अफर गर्दै भनेका थिए, “यस्तो टेलिभिजन नेटवर्क होस् कि भारतमा सोच्दा पनि नसोचिएको होस्।” अर्थात्, लगानीको कुनै चिन्ता छैन। अनि ‘सहारा समय’ को नाममा थरिथरिका टेलिभिजन च्यानलहरू प्रसारणमा आएका थिए।

त्यसअघि, सन् १९९० को दशकको शुरूतिरै ‘राष्ट्रिय सहारा’ ब्रोडसिट शुरू भइसकेको थियो। ग्यालेक्सी टेलिभिजनमा पनि नेपालमा नसोचिएको होस् भनेर पैसा खन्याइएको थियो। अरू सञ्चारमाध्यममा कार्यरत जनशक्तिलाई ‘मुहमाँगा’ तलब दिएर तानिएको थियो। सबैभन्दा पछिल्ला र महँगा प्रविधि जडान  गरिएको थियो। टेलिभिजनभित्र ‘हाम्रो प्रिमियम टीभी, प्रिमियम उत्पादन’ त सबैजसोको मुखमा थेगोजस्तै थियो। ‘धान्न सकिएन, खर्च घटाउनुपर्‍यो’ भन्दा ‘प्रिमियम प्रडक्टमा कम्प्रमाइज गर्नहुँदैन’ भनिन्थ्यो। 

भारतबाट ‘फ्रेन्चाइज प्रोग्राम’ ल्याउन भनेर टेलिभिजनमै कार्यरतको नाममा छुट्टै कम्पनी बनाइयो, उसले ग्यालेक्सीबाट ८ करोड रूपैयाँ भुक्तानी भयो। भनेबमोजिम फ्रेञ्चाइज प्रोग्राम आएन। त्यही पैसाले धापासीमा अर्को स्टुडियो निर्माण गरियो। ग्यालेक्सीको स्टुडियो खाली हुँदाहुदै धापासीमा कार्यक्रम सुट गराई भाडाबापत ग्यालेक्सीबाटै भुक्तानी लिइयो। १०० करोड रुपैयाँ स्वाहा पार्ने क्रममा यस्ता अनेकन भए। “टेलिभिजनसँग एफएम पनि चाहिन्छ भनेर आफन्तको एफएम किनाइयो, एक करोड रूपैयाँ भुक्तानी पनि भयो,” नेतृत्वमा रहिसकेकाहरूबाटै सुनियो, “कानूनी उल्झनले गर्दा एफएम नामसारी चाहिँ भएन।”

अन्त्यमा हुने पनि उस्तै उस्तै हो। सहाराका मिडियामा काम गरेकाहरूले महिनौँ महिनाको तलब नपाई बिदा हुनपर्‍यो। उपदान आदिको रकम पाउने कुरै भएन। विजय माल्या, निरब मोदी/मेहुल चोक्सी बैंक लुटेर विदेश भागे मलाई खासै दुःख लाग्दैन भन्ने शरत प्रधान भन्छन्, “किनकि तिनले सरकारलाई लुटे, सुब्रतबाट समाजको सबैभन्दा पिँधमा रहेकाहरू लुटिएको सम्झिँदा बहुत दुःखी हुन्छु।” 

ओरेण्टल सहकारी डुब्दा रिपोर्टिङ गर्ने क्रममा म पीडितहरूका भेला, र्‍यालीहरूमा पुगेको छु। त्यहाँ हुनेखाने र हुँदाखाने दुई वर्गका बचतकर्ता भेटिन्थे। हुनेखानेमा पूर्वकर्मचारी, साना व्यवसायी आदि हुन्थे। हुँदा खानेमा फुटपाथ व्यवसायीदेखि दैनिक ज्यालादारी गर्नेसम्मकै हुन्थे। केही महिनाअघि माइतीघरमा सहकारी पीडितहरूको धर्नाका क्रममा हुँदाखानेहरू पनि थिए। दैनिक ज्यालादारी गर्नुपर्ने नै नभए पनि साना पसले, श्रीमानले खाडीबाट पठाएको पैसा बचत गरेका आदि त कति हो कति। आफूले कत्रो मिहिनेत गरी बचत गरेको पैसा डुबेको सुनाउँदै गर्दा धर्धरी रोएका पनि थिए। ओरेण्टलमा संकट आउनुअघि सुधिर बस्नेतका भाइ सुदीप गाडीमा नोटका बिटा हालेर हिँड्थे। ठाउँ–ठाउँमा जग्गा दलाल उभिएका हुन्थे। जग्गाबारे हल्का सोधीखोजी गरेपछि उनी बैनाका लागि केही बिटा झिक्थे, दिन्थे। मलाई यो कुरा सुदीपसँग गाडीमा धेरैचोटी हिँडेका उनका साथीले सुनाएका थिए। 

बचतको पैसा यसरी उडाएका यहाँका सहकारी सञ्चालकहरूले बचतको एकमुष्ठ रकम निकालेर के के न गर्छु भनेर मिठा सपना देखिरहेका समाजको पिँधमा रहेकाहरूको सपनामै चिसो पानी खन्याइदिएका छन्। इशपको कथामा त दूध बेच्न गइरहेकी महिला सपना देख्दादेख्दै आफैँ लड्दा दूध बेचेपछि देखेका सपना बिथोलिन्छ, सहकारीका मुख्य जिम्मेवारहरूले त दूध भरिएको घैँटै लुट्दिएका छन्, कोही थुनामा सरकारी सिदा हजम गर्दैछन्।

विडम्बना, सहकारीको पैसा अनियमितताको खबर आउँदा मिडिया भर्सेज कोहीको द्वन्द्वको नतिजा भन्दैछन्, पत्रकारहरू समेत। सुब्रत पनि प्रश्नहरू ओइरिएपछि सेबी आफूविरुद्ध हात धोएर लागेको आरोप लगाउँथे। सत्ता नेतृत्वमा रहेको कांग्रेसका अध्यक्ष सोनिया गान्धीले फँसाएको भन्न पनि भ्याए। “आजसम्म कानून तोडेको छैन,” फँस्दै गएपछि सुब्रत भन्थे, “सरकारी कर्मचारी गुण्डा हुन्, अहंकारी छन्, घमण्ड गर्छन्, लोभी पनि।”

सुब्रतले श्रीमती र छोराहरूलाई मेसिडोनियामा बसाइँ सराए, त्यहीको नागरिकता पनि प्राप्त गरेको मिडियाहरूले बताएका छन्। पक्राउ परिने भयले पनि छोराहरू सुब्रतलाई दागबत्ती दिन आएनन्। कुनै कम्पनीले सहकारीबाट अनियमित तरिकाले कर्जा लिई तिरेको छैन भने त्यस्तो कर्जा लेनदेन हुँदा साझेदार/प्रबन्ध निर्देशक रहेको व्यक्ति पछि कम्पनीमा नरहेको अवस्थामा जिम्मेवारीमुक्त हुन्छ होला र!

वीरगन्ज मालपोतमा एक जना चर्चित नासु हुनेगर्थे किरण उपाध्याय। जोसुकै हाकिम गए पनि उनकै अह्रनखटन चल्थ्यो। अख्तियारले भ्रष्टाचार गरी अकुत आर्जनको एउटा मुद्दामा किरण र श्रीमतीसमेतको मृत्यु भइसकेको अवस्थामा छोराहरू राजकिशोर र गौतमलाई प्रतिवादी बनाई हालै भ्रष्टाचार मुद्दा दायर गरेको छ। आफ्नै कार्यकालमा ‘किये/कराये’मा पनि बाहिरिइसकेपछि जवाफदेही हुन नपर्ने हो भने त भोलि सरकारी कर्मचारीले अवकाश पाएपछि मुद्दै चल्दैन भन्न पाउने कि नपाइने? अझै कसैले सरुवा भइसकेकोले डाम्न पाइँदैन भन्देला, मिल्ने हो त? 

नैतिक प्रश्न मात्रै त, सहकारीको पैसा लगानी भएको छ भन्ने थाहा हुँदाहुँदै पनि ग्यालेक्सीमा काम गर्न जाने (खासगरी पत्रकार) माथि पनि उठ्छ। सहकारीको बचत त्यसरी लगानी गर्नै पाइँदैन। अर्को कुरा घाटा मात्रै हुने सञ्चारमाध्यममा बचतको पैसा खन्याउन थालेपछि त बचतकर्ताको बिल्लीबाठ हुन्छ हुन्छ, यो ध्रुवसत्य हो। नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनबाहेक आफ्नो आम्दानीबाटै नाफामा गएको टेलिभिजन शायदै होला। र जीबी राईले सहकारीको पैसा लगानी गरी टेलिभिजन खोलेको कुरा त पत्रकारबीच ‘टक अफ द टाउन’ नै थियो। ‘टक शो’को एउटा श्रृंखलाका थुप्रै ‘एपिसोड’मा विज्ञको रूपमा अन्तवार्ता दिएका डा. मिनेन्द्र रिजालले लिएको पारिश्रमिक सहकारीको हो भन्ने थाहा थिएन भन्न पाइन्छ। साझेदारै भएका व्यक्तिले अनभिज्ञता प्रकट गरी मुक्ति पाइएला र?        

“म पुरै दुनियाँलाई चुनौती दिन्छु, मैले कुनै गल्ती गरेको छैन। सबै आरोप झूटा हुन्। अफवाह फैलाइएको छ,” सबै सबुत खिलाफमा छन् त भन्ने प्रश्नको उत्तरमा सुब्रत भन्दै रहे। सहाराले पेश गरेका केही डकुमेन्टको अध्ययनपछि सेबीले कालोधनको गोरखधन्दासमेत भएको आशंका गरेको थियो। पत्रकार अम्बरिशकुमार उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री वीरबहादुर सिंहसहित थुप्रै नेता/कर्मचारीले सहारामार्फत कालोधन लगानी गरेको दाबी गर्छन्। नेपालमा पनि सहकारीमा कालोधन बर्सिएको नै मानिन्छ। नेता, कर्मचारीको कालोधन थुपार्ने एउटा ठाउँ भएकै कारण यसलाई नाम मात्रैको नियमनमा राखेर जे पनि गर्न छुट दिइएको अनुमान गर्न सकिन्छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार सिभिल सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङको सहकारीमा दुई हजार ५६ निक्षेपकर्ताको सात अर्ब ३७ करोड हिनामिना भएको थियो । सहकारीमा डुबेको र जोखिममा परेको सर्वसाधरणको बचतबारे यकिन तथ्यांक कोहीसँग छैन। सहकारीको नियमन संघ, प्रदेश र स्थानीय तहमा बाँडफाँड भएकाले यकिन तथ्यांक छरिएको बताइएको छ।

ओरेण्टल सहकारीमा बचतकर्ताको ४ अर्ब रूपैयाँ, केदारनाथ शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारीका बचतकर्ताको ११ अर्ब रूपैयाँ हिनामिना गरेका थिए। यस्तै भरत महर्जन नेतृत्वको सुमेरु बचत तथा ऋण सहकारी संस्थामा पनि बचतकर्ताको १० अर्ब ३४ करोड निक्षेप डुबेको छ। गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदनले दशकअघि नै बचत तथा ऋण सहकारीहरूमा नागरिकको १० अर्बभन्दा बढी बचत जोखिममा रहेको निष्कर्षसहित तत्काल चाल्नुपर्ने कदमहरू सुझाएको थियो। यसमा डुबेका कालोधनवालाहरूलाई ‘खुच्चिङ’ भन्दिए भयो। सहकारीमा बचतको तमाम जोखिमको जानकारी हुँदाहुँदै ब्याजको लोभमा गुमाएका हुनेखानेहरूको पनि चिन्ता नलिँदा धेरै अन्याय हुँदैन। तर पिँधमै रहेकाहरूको लागि त हामी पत्रकारले पनि कलम चलाउनु पर्ला नि? कि डिलमा बसेर ‘बाह्र भाइ भर्सेज फलानाको मल्लयुद्ध’ भनेर रमिता हेर्ने हो?

भारतका प्रमुख मिडिया सहाराको विज्ञापनले पुरिएका कारण लामो समय उसको गोरखधन्दाको पर्दाफास भएन, मिडिया मौन रहे। सेबीले प्रश्न गरेपछि बल्ल  जागे। त्यसअघिसम्म सहाराको धन्दाबारे प्रमुख मिडियामा समाचार बन्थेनन्। दशकअघिको कुरा, अहिलेजस्तो अनलाइन पोर्टल/युट्युब च्यानल छ्याप्छ्याप्ती हुँदो हो त सुब्रतले आफ्नो पक्षमा काफीकुछ माहोल बनाउन सक्थे होलान्। ‘सत्य हिन्दी’मा पत्रकार अम्बरिशकुमार भन्छन्, “जनसत्तामा मैले स्टोरी प्रकाशित भएपछि सहाराले इन्डियन एक्सप्रेससँगको सालाना ५ करोड भारुको विज्ञापनको सम्झौता तोडेको थियो।”

करोडौँ बचतकर्ताको बिल्लीबाठ पार्ने सुब्रतका भक्तजन अहिले पनि छन्। नेटफ्लिक्सको डकुमेन्ट्रीमै सहारा परिवारमा कार्यकारी रहिसकेका विवेककुमार ‘सुब्रतसँग काम गरेको थिएँ’ भन्ने सम्झिँदा गर्व लाग्ने सुनाउँछन्। “उनी करिश्माई थिए, ईश्वरको आशीर्वाद छ,” अघि भन्छन्, “प्रत्येक हिरोको जीवनमा उतारचढाव आउँछन् नै।” यहाँ पनि अरूको बचतमा बब्बाल मस्ती गरेकाहरूलाई महान मान्नेहरू थोरबहुत भइनै रहनेछन्। 

डकुमेन्ट्रीको अन्ततिर उनै सहारा एजेन्ट पुनम गुप्ताको बाइट छ। “दिदी पैसा कहिले पाइन्छ सोध्छन्, केस चलिरहेको भन्छु,” हताश–निराश सुनिने उनी भन्छिन्, “अनन्तसम्म यस्तै चलिरहने हो, सेबीले हस्तक्षेप गर्नै विलम्ब गर्दियो।”

साना बचतकर्ता र चेपुवामा परेका एजेन्टका लागि त मिडिया जाग्ने बेला भएन र?


सम्बन्धित सामग्री