Friday, October 11, 2024

-->

किराती कमरेड, तालीको रहरले सिध्याउँछ

ताली पाउने भोकमा ‘कमरेड किराती’ले कमल थापा, राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंजस्ता धर्मनिरपेक्षताविरोधी पात्रहरूलाई झनै सजिलो पारिदिए।

किराती कमरेड तालीको रहरले सिध्याउँछ

अघिल्लो वर्षको भदौमा काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा उतिखेरका एमाओवादी सांसद सुदन किरातीको आत्मकथा ‘पल पलको मृत्यु’को विमोचन कार्यक्रम थियो। हलभरिका सहभागीबीच किराती अग्रलहरमा प्रमुख अतिथि प्रचण्डसँग कुम जोडेर बसेका थिए। किरातीसँग कुम जोड्दै बसेँ। 

कार्यक्रम सिधै पुस्तक विमोचनतर्फ प्रवेश गर्ला भन्ठानेको, नाटक पो शुरू भयो। 

जनयुद्धताकाको किरातीको भोगाइलाई मण्डला थिएटरका कलाकारले नाटकीकरण गरेका रहेछन्। कृति विमोचनपूर्व लेखककै जीवनी समेटिएको नाटक प्रदर्शनलाई फरक प्रयोग भन्दा पनि हुन्छ। तत्कालीन शाही नेपाली सेनाबाट ब्यारेकभित्र किराती र उनका सहयात्रीले भोगेको अत्याचारदेखि किराती सांसद हुँदासम्मको विषय नाटकमा समेटिएको थियो। प्रशस्त रोनाधोनाका बाबजुद प्रस्तुति ठीकै थियो। किताब विमोचनका निम्तालुका लागि भने ‘अतिरिक्त’ नाटक लामै हो।

नाटक सकियो, मूल कार्यक्रम शुरू भयो। "राजनीतिमा मन्त्री या राष्ट्रपति अब सुदनका निम्ति ठूलो कुरा रहेन। माननीय हुनुहुन्छ, मन्त्री त भई नै हाल्नुहुन्छ। हुनसक्छ, राष्ट्रपति पनि हुने नजिकै छ," प्रचण्डले सुदन किरातीको तारिफ गर्दै बताए, "तर पनि उहाँ मन्त्री, प्रधानमन्त्री बन्नुहुन्छ। यो कुरा मैले प्रष्ट देखेको छु। उहाँलाई शुभकामना पनि भन्न चाहन्छु।" 

विमोचनलगत्तै हलबाहिर आएर उनको पुस्तक सरर नियालेँ। पुस्तकभित्र एउटा सिंगो पानामा किरातीले आफ्नो 'सुकुमार पोट्रेट' सजाएका रहेछन्। उहिले कतिपय पुस्तक खोल्नेबित्तिकै भित्र राजारानीका यस्तै सुकुमार तस्वीर सजाइएका हुन्थे। प्योङयाङको प्रोपागान्डा विभागबाट छापिएका किम इल सुङ र किम जोङ इलका पुस्तकमा पनि यस्तै लोभलाग्दा तस्वीर भेटिन्थे, अचेल मोबाइलमा 'ब्युटिप्लस' एपमार्फत बनाइएका जस्तै मोहक। पुस्तकको अन्तिम पानामा थप व्याख्यासहित सुदन कमरेडकै तस्वीर थियो। 

मनमा चिसो पस्यो, "किराती प्रष्ट बोली, काम र क्रान्तिकारिताका लागि चिनिन्छन्, यो तस्वीर मोहले त उनको आत्ममुग्ध (नार्सिसिस्ट) स्वभावतर्फ पो संकेत गर्‍यो त!" अर्को मन लाग्यो, "फोटो कुनै गम्भीर विषय होइन, व्यक्तिको त काम पो हेर्नुपर्छ।" 

पछि काम हेर्ने समय आयो। 

भनेझैँ, प्रचण्डले नै माघ २०७९ मा किरातीलाई मन्त्री बनाए। मन्त्री भएलगत्तै बधाईबापत माला र खादा नलगाउने बताएका उनले कार्यकक्षमै दानपेटिकामा राखेर रकम जम्मा गर्न आगन्तुकलाई आग्रह गरे। मन्त्री भएको एक हप्ताभित्र ६ लाखभन्दा बढी रकम जम्मा गरी एक विद्यालयलाई सहयोग गरेको खबर आयो। मन्त्री भएका व्यक्तिले कार्यकक्षमै दानपेटिका राख्ने कुरा कति मिल्दो थियो, तर व्यक्ति शक्तिमा पुगेलगत्तै गरिने सम्मान, चाकडी र औपचारिक तमासाविरुद्ध उनले चालेको कदम ठीकै थियो। 

आउँदो माघमा मन्त्री भएको एक वर्ष पुर्‍याउने सम्भावना रहेका उनी यसबीच फरक अभिव्यक्ति र कामका कारण विवादमा तानिन थाले। प्रणाली बदल्नुको साटो फोटो खिच्नकै लागि मन्त्रीहरूले कुचो बोक्ने र बिजुलीका पोल चढ्ने ‘स्टन्ट’ पुरानै हो, जो देशलाई आवश्यक थिएन। उनी कुचो लिएर पशुपति, लुम्बिनी, मनकामना र पोखराको विन्ध्यवासिनी मन्दिरसम्म पुगे। बाटामै कर्मचारीलाई हप्काइरहेका भेटिए। प्रणाली बनाएर आफ्नो मन्त्रालयअन्तर्गतका काममा सुधार गर्ने 'अपेक्षा गरिएका' किराती बिस्तारै स्टन्टबाजका रूपमा देखिन थाले। 

पशुपति क्षेत्र विकास कोषले पहिले नै प्रस्ताव गरेको पशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्ने निर्णयलाई किरातीले अघि बढाए। 'विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञ उत्पादन गर्दै सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालय स्थापनाको  अवधारणा अघि बढाएको' भन्दै त्यस कार्यको औचित्य पुष्टि गर्न खोजे। उनको उतिखेर पशुपतिको महिमा गाउँदै भनेका थिए, "आधुनिक नेपालको सभ्यताको शुरूआत नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको छ।" 

उल्लेखनीय के छ भने, पहिले नै नेपालका विश्वविद्यालयहरू झन्डै बेरोजगार उत्पादनस्थल बनेका छन्। भएका विश्वविद्यालयको शिक्षा, अनुसन्धान, गुणस्तर, संरचनात्मक विकास, नियमन, व्यवस्थापन र कोर्सको गुणवत्ताबारे अनेकन् प्रश्न उठेका छन्, त्यतापट्टि कसैलाई चासो छैन। पहिले नै केन्द्रीयस्तरमा विश्वविद्यालयसरहका प्रतिष्ठान तथा प्रदेशस्तरका गरेर देशभर झन्डै ३० विश्वविद्यालय बनिसकेको अवस्थामा खास समुदाय वा क्षेत्रलाई खुशी पार्नकै लागि अर्को विश्वविद्यालयको अर्को बोर्ड झुन्ड्याउनुको के अर्थ? 

हिन्दू कर्मकाण्ड आदि पढाइने नेपाल संस्कृत विश्वविद्यालय पहिले नै छँदै थियो। त्यसैमार्फत 'पाशुपत दर्शन'लाई विश्वभर फैलाउन नमिल्ने के थियो? फेरि किराती आफैँ सक्रिय भएर रैथाने र पर्यटन विश्वविद्यालयको काम अघि बढाइरहेकै थिए/छन्। उल्लेखनीय के छ भने, स्थापित कतिपय विश्वविद्यालयमा गाउँका प्राथमिक विद्यालयमै भेटिने विद्यार्थी जति पनि छैनन्। गण्डकी विश्वविद्यालयकै उदाहरण लिने हो भने त्यहाँ तीन सय हाराहारी विद्यार्थी भएको बताइन्छ। यस्तो अवस्थामा कुन 'गेरु समूह'लाई खुशी पार्न किरातीले हिन्दू विश्वविद्यालय बनाउने प्रस्ताव गरेका थिए? 

स्टन्टबाजीकाे अर्को संस्करण, उनकै दबाबमा काठमाडौँ उपत्यकामा हेरिटेज बस शुरू गरियो, तर बजेट अभावमा दुई महिनामै बन्द भएका खबर आए।

अर्को सन्दर्भ, किरातीले गत साउनमा ल्हारक्याल लामालाई लुम्बिनी विकाश कोषको उपाध्यक्ष बनाए। कुनै बेला बैंकका लकरमा बन्दुक लुकाएर राखेको आरोपमा थुनिएका लामालाई किरातीले बुद्ध शिक्षाको प्रचार थलो लुम्बिनीको विकाश गर्ने लुम्बिनी विकाश कोषको उपाध्यक्षमा प्रस्ताव गरे। भिक्षुको भेसमा हिँड्ने लामा दोहोरो नागरिकतादेखि तिब्बतीलाई नेपाली बनाएको प्रकरणका कारण विवादित हुन्। लामाका चिनजानका व्यक्तिहरू उनलाई भिक्षुभन्दा भोगी ठान्छन्। लामा सरकारी जग्गा अपचलनमा समेत संलग्न व्यक्ति हुन्।

लगत्तै ल्हारक्यालको नियुक्तिबारे प्रतिरक्षा गर्दै किरातीले भनेका थिए, "राज्यले कसुर आरोप प्रमाणित नगरेकाले उहाँलाई नियुक्त गरिएको हो। म पनि उहाँको व्यक्तित्वबाट प्रभावित भएकै हुँ।" बुद्धको अहिंसा र शान्तिको आदर्श प्रचार गर्नुपर्ने ठाउँमा यति बिघ्न प्रश्न उठेका व्यक्तिको नियुक्ति लाजमर्दो थियो। जबाफदेहिताको खडेरीमा किरातीले अर्को डँडेलो लगाए। 

इमानदार मानिएका मन्त्री किरातीले गरेको अर्को दाबी पनि संशययोग्य थियो। आफू मन्त्री भएर आएको केही महिनामा पहिले नै अर्बौं घाटामा रहेको नेपाल वायुसेवा निगमले नाफा कमाउन थालेको बताए। तर उनी आएको केही महिनामै निगम नाफामा गएको भनेर ठहर गर्न यो आर्थिक वर्षको अन्त्य कुर्नुपर्ने हुन्छ। वार्षिक लेखा परीक्षण पर्खनुपर्ने हुन्छ, भलै पर्यटनमन्त्री भएर आएपछि खासगरी हवाई टिकट प्रणाली आदिमा सुधार गर्न लिएको पहल तारिफयोग्य छ। 

किरातीले मठमन्दिरसँगै विमानस्थलको सरसफाइमा ध्यान दिएको कुरा अर्को सकारात्मक खबर थियो। तर पहिले नै दर्जनौँ विमानस्थलहरू बन्द रहेको देशमा अर्को विमानस्थल बनाउनका लागि अध्ययन गर्ने भन्दै किराती कसिए। धराने 'भाइरल मेयर' हर्क साम्पाङले गत कात्तिक २२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै त्यहाँ विमानस्थल निर्माणका लागि पहल तथा सहजीकरण गरिदिन अनुरोध गरेलगत्तै किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थल निर्माणबारे अध्ययन गर्न दिए। सोही दिन प्राधिकरणले विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन गर्‍यो। 

जबकि, नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७४ सालमै धरानमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिसकेको थियो। प्राविधिक र व्यावसायिक दृष्टिले धरानमा विमानस्थल सम्भव थिएन। नजिकै नियमित उडान भरिरहेको विराटनगर विमानस्थल हुँदाहुँदै फेरि राज्यकोष खर्चँदै अध्ययन गर्ने काम नै बेइमानीपूर्ण थियो। यसबारे चासो राख्दा मन्त्री किरातीको तर्क थियो, "अध्ययन गर्नु निर्माण गर्नु होइन।" 

यी माथि उल्लेख गरिएका अनेकन् गम्भीर विषयमा लोकले खासै चासो राखेका थिएनन्, किनकि गम्भीरभन्दा सस्ता कुरामा बहकिने हाम्रो समाजको चरित्र ऋतिक रोशनलगायतका प्रकरणले पनि प्रष्ट पारेको छ। 

सोही कारण बुधबार क्रिश्चियन मतावलम्बीको एक कार्यक्रममा आफूले राखेको अभिव्यक्तिसँगै किराती ठूलो विवादमा परे। किराती कुनै खास धर्ममा लगाव भएका व्यक्ति पक्कै होइनन्, तर तालीको मोहमा लट्ठिएका उनले दिएको अभिव्यक्ति विवादास्पद छ, अनेकौँ अर्थ लगाउन मिल्ने खालको छ। जस्तोजस्तो मादल बज्छ, त्यस्तैत्यस्तै नाच्नु 'पपुलिस्ट'हरूको स्वभाव हो। बुधबारको उनको लयले त्यही संकेत गर्छ। 

अधिकांश धार्मिक समुदाय अन्ततः काल्पनिक कथामा आधारित 'भावनात्मक समुदाय' भएकाले धर्मबारे भौतिकवादी प्रष्ट हुनुपर्छ। किरातीको पार्टीले समेत द्वन्द्वात्मक भौतिकवादी दर्शन मान्ने भएकाले उनले जिससबारे गरेको दाबी पनि पूर्ण रूपमा सही हुन सक्दैन, जसरी केपी शर्मा ओलीले रामका बारेमा गरेको दाबी सत्य हुन सक्दैन। तर धर्म र भावनामा सत्यभन्दा काल्पनिकता प्रिय हुन्छ, मिथकलाई नै सत्य ठान्ने समाजले सत्य खोज्ने कुरा भएन, तालीको भोकले पनि सत्यतथ्य खोज्दैन नै।  

पहिले  नै धार्मिक रूपमा संकीर्ण र विभक्त समाजमा सहभागी रिझाएर ताली पाउने भोकमा लाग्दा कमरेड किराती चिप्लिए। दक्षिणी मुलुकबाट उकालो लागेको धार्मिक अतिवादले तराई र धरानलाई झन्डै सकस पारेको परिदृश्यमा कमल थापा, राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंजस्ता धर्मनिरपेक्षताविरोधी पात्रहरूलाई झनै सजिलो पारिदिए। किरातीले 'सारमा त यसो हो नि' भनेर व्याख्यान दिए पनि धर्मबारे नेपाली समाजलाई झनै ध्रुवीकृत गर्न कमरेड किरातीले झनै मलजल गरे।


सम्बन्धित सामग्री