Thursday, May 09, 2024

-->

हेरिटेज टुर बसः पर्यटनमन्त्री किरातीको 'दबाबमा' शुरू, बजेट सकिएपछि दुई महिनामै बन्द

पर्यटन मन्त्रालयको पहलमा नेपाल पर्यटन बोर्डले सहयोग गरेपछि साझा यातायातमार्फत सञ्चालन गरिएको ‘हेरिटेज टुर बस’ दुई महिनामा नै बन्द भएका छन्। बजेट सकिएपछि सेवा बन्द भएको बोर्डले जनाएको छ।

हेरिटेज टुर बसः पर्यटनमन्त्री किरातीको दबाबमा शुरू बजेट सकिएपछि दुई महिनामै बन्द

काठमाडौँ– बागमती प्रदेश ०१ ००१प १६८६ र १६८७ अंकित हरियो नम्बर प्लेटका दुई वटा बस एक हप्तादेखि साझा यातायात केन्द्रीय कार्यालय पुल्चोकबाट बाहिर निस्किएका छैनन्। साझाका ४० मध्ये दुई वटा बिजुली बसलाई ‘हेरिटेज टुर बस’ अर्थात् सम्पदा घुम्ती सेवाको रूपमा सञ्चालन गरिएको थियो। 

यी बसलाई ‘हप अन हप अफ’ अर्थात्, एकपटक शुल्क तिरेर दिनभरि प्रयोग गर्न सकिने सेवाका रूपमा शुरू गरिएको थियो। एकपटक ५०० रुपैयाँ तिरेपछि दिनभरि सेवा लिन सकिन्थ्यो। पर्यटन मन्त्रालय, पर्यटन विकास बोर्ड र साझा यातायातको सहकार्यमा गएको जेठ ९ गतेदेखि बस सञ्चालनमा थिए। प्रत्येक बसमा २६ सिट थिए। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन अवधि तोकिएको थियो।

साझा यातायात कार्यालयले जनाएअनुसार यी बस पुल्चोकबाट कुपन्डोल, थापाथली, शहीदगेट, सुनधारा, जमल, दरबारमार्ग, कमलपोखरी, नक्साल भगवतीबहाल, मैतीदेवी, गौशाला, गुह्येश्वरी चल्थे। त्यहाँबाट तारागाउँ, बौद्ध, चाबहिल महाराजगन्ज स्वयम्भू, छाउनी, कालीमाटी, बल्खु, एकान्तकुना र जावलाखेलसम्म पुग्थे।

यी बसमा आफ्नो रुचिअनुसार सम्पदा क्षेत्रको भ्रमण गरी पुनः चढेर अर्को स्थान जान सकिन्थ्यो। तोकिएको रुटमा घुमिरहने ‘हप अन हप अफ’को जुनै बस आए पनि टिकट देखाएर अर्को स्थान जान सक्ने सुविधा थियो।

पर्यटकलाई काठमाडौँका सम्पदा क्षेत्रसँग जोड्ने लक्ष्यसहित शुरू गरिएको सेवा अहिले बन्द छ। अब शुरू हुने हो कि होइन भन्ने अन्योल कायम रहेको र यी दुई बसलाई पनि साझाका अन्य बसजस्तै नियमित रुटमा चलाउने हल्ला सुनेको साझा यातायातका एक कर्मचारी बताउँछन्। ‘हेरिटेज टुर’ गराउने बस रोकिने स्थानमा राखिएका साइनबोर्ड भने अझै छन्। 

यो सेवा सर्वसाधारणले पनि मन पराएका सन्देशहरू आफूहरूले पाएको साझाका यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल बताउँछन्। बस सेवाको विषयमा इच्छुक यात्रुहरू कार्यालयमै आएर सोधपुछ गरिरहेको उनले जानकारी दिए। तर पर्याप्त बस नहुँदा लामो समय पर्खनुपर्ने गुनासो पनि आउने गरेको थियो।

यो बसमा यात्रा गरेकी कलाकार सपना साहले फेसबुक स्ट्याटस लेख्दै आफ्नो अनुभव साझा गरेकी थिइन्। उनले यसलाई ‘नौलो अनुभव’ भन्दै प्रशंसा गरेकी थिइन्। 

किन बन्द भयो सेवा?
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरका अनुसार नयाँ आर्थिक वर्षसँगै बजेट पास हुने क्रममा रहेको हुँदा हेरिटेज टुर बस तत्काललाई रोकिएको हो। बजेट पास भएपछि सेवा शुरू हुने भए पनि साझालाई नै दिने विषय प्रष्ट नभएको उनको भनाइ छ। “निजी क्षेत्रबाट पनि बस सञ्चालनको लागि अफर आइरहेको हुँदा हामी यस विषयमा विचार गर्दै छौँ,” उनले भने। 

यो सेवा आन्तरिक र बाह्य दुवै पर्यटकका लागि भएको हुँदा आन्तरिक पर्यटकले भाडा महँगो भएको गुनासो गरेको साझाका यातायात व्यवस्थापन अधिकृत बस्याल बताउँछन्। यी बसको नम्बर प्लेट पहिला अन्य बसजस्तै कालो थियो। तर कालो प्लेटमा सार्वजनिक रुटका लागि तोकिएभन्दा बढी भाडा लिन नपाउने भएपछि हरियो बनाइएको थियो।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित आफूहरूले सार्वजनिक यातायात सेवा दिने भए पनि पर्यटन बोर्डको आग्रहमा पर्यटकका लागि हप अन हप अफ सेवा दिएको बताउँछन्। “यसबाट कति खर्च उठ्छ हामीलाई थाहा छैन। त्यसैले एक्सपेरिमेन्टल स्टेजमा पर्यटन बोर्डको आग्रहमा सेवा सञ्चालन गरेका हौँ। खर्च उठ्ने देखियो भने चलाइदिन सक्छौँ, अथवा यसबाट फाइदा हुने रहेछ भनेर निजी क्षेत्र अघि बढे हामी ब्याक होइदिन्छौँ,” दीक्षित भन्छन्।

साझाले सार्वजनिक सेवा दिने हुँदा पर्यटन सेवाका लागि थप बस व्यवस्था गर्न नसक्ने उनी बताउँछन्। “साझा यातायातको तर्फबाट दुई वटाभन्दा बढी बस दिन सकिँदैन। किनकि, यो हाम्रो जिम्माको विषय होइन,” उनी भन्छन्।

पर्यटनमन्त्री सुदन किरातीले यो सेवा दुई महिनाको आर्थिक अनुदान दिएर शुरू गरिएको हुनाले अवधि समाप्त भएपछि रोकिएको बताए। नयाँ आर्थिक वर्षमा नयाँ बजेट व्यवस्थापन भएपछि सेवा पुनः शुरू गरिने उनको भनाइ छ। दुई महिनालाई परीक्षण अवधि मानेको र समस्याहरूबारे समीक्षा हुने उनले बताए।

“मानिसलाई नयाँ कुरामा बानी पर्न समय लाग्छ। त्यसमा पनि हामीले यो विदेशी पर्यटकलाई लक्षित गरेका थियौँ। सोही अनुसारको भाडादर पनि निश्चित गरिएको थियो,” किरातीले उकालोसँग भने, “भाडा दर, बस संख्या, ट्राफिक लगायतका विभिन्न विषयलाई लिएर समीक्षा हुँदैछ।” 

सम्भाव्यता अध्ययन नगरी लागू!
सन् २०१८–१९ देखि नै पर्यटकका लागि हप अन, हप अफ बस सञ्चालनको विषय उठेको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख दीपकराज जोशी बताउँछन्। “वास्तवमा उच्च पदस्थहरू जो बाहिर घुमेर आउँछन्, त्यहाँ अनेक देख्छन् र भावुक भएर नेपालमा पनि त्यस्तै गर्न खोज्छन्,” जोशी भन्छन्, “कुनै पनि नयाँ योजना ल्याउनुअघि सम्भाव्यता अध्ययनको आवश्यकता ख्याल नै गर्दैनन्।”

यो योजना राम्रो भए पनि दिगो बनाउनेतिर हेक्का राख्नुपर्ने उनको भनाइ छ। यसका लागि शुरूमा राज्यले केही लगानी गर्नुपर्ने उनी बताउँछन्। आफ्नै स्रोतबाट धानिने भएपछि राज्यको सहयोग कम गर्दै जान सकिने उनले सुझाए। 

करिब तीन वर्षअघि जोशीको कार्यकालमा हप अन हप अफ बस सञ्चालनका लागि अध्ययन भएको थियो। उक्त अध्ययनले तीन कारणले तत्काल यस्तो सेवा सञ्चालन हुन नसक्ने निष्कर्ष निकालेको थियो।

जोशीका अनुसार, यस खालका सेवा ‘मास बेस्ट डेस्टिनेसन’ भएको स्थानमा मात्र सम्भव हुन्छ। त्यसका लागि ५०–६० लाख पर्यटक हुनुपर्छ। दोस्रो, यस्ता बस सञ्चालनको लागि फराकिला बाटो र कम ट्राफिक आवश्यक हुन्छ। उपत्यकामा मात्रै सात वटा सम्पदा छन्। जसमा, स्वयम्भूदेखि चाँगु नारायणसम्मको रुट छ। रिङरोडभित्रै पनि कम्तीमा १२–१५ वटा यस्ता बस चले मात्र योजना सफल हुने उनी बताउँछन्। 

तेस्रो, यस्तो सेवाले टुर–गाइडहरूको रोजगारीमा असर पुग्न सक्छ। त्यसकारण यो सेवा निजी क्षेत्रमार्फत गर्नुपर्ने जोशीको भनाइ छ। राज्यले सम्पदा क्षेत्रसम्म ट्राफिक रुटको सहजकर्ता तथा  कार्यक्रम प्रवर्द्धकको भूमिका खेल्नुपर्ने उनी बताउँछन्।

साझा यातायात स्रोतले पनि विनाअध्ययन पर्यटनमन्त्री सुदन किरातीको जिद्दीमा मात्र नेपाल पर्यटन बोर्डले यो सेवा शुरू गरेको जनाएको छ। तर काठमाडौँ उपत्यकामा यो बसको सञ्चालन सहज नभएको स्रोतको भनाइ छ। “यो बस सञ्चालनको उद्देश्य पर्यटकलाई भरपर्दो र दिगो सेवाभन्दा पनि प्रचारबाजी र स्टन्ट नै देखियो,” स्रोतले भन्यो।

तर मन्त्री किराती भने पर्यटकका सुविधाका लागि सेवा सञ्चालन गरिएको र यसबाट साझासँगै निजी यातायात पनि उत्साही भएको बताउँछन्। “मैले त काम गरिरहेको जस्तो लाग्छ, अरूले के कस्तो देख्नुहुन्छ, स्टन्ट भन्नुहुन्छ त के गर्न सकिन्छ?”

यसअघि पनि सम्भाव्यता अध्ययन नगरी र दीर्घकालीन योजना नबनाई शुरू गरिएका यस्ता सटर सेवा केही समयमै बन्द हुने गरेका थिए। तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा काठमाडौँ महानगरपालिकाले रात्रिकालीन बस सेवा शुरू गरेको थियो। तर केही समयपछि नै बन्द भएको थियो। महानगरले ८ बजेपछि सञ्चालन हुने रात्रिबसलाई सुविधा दिने जनाए पनि यसमा व्यवसायीले चासो देखाएनन्।

त्यस्तै, तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले त्रिभुवन विमानस्थल क्षेत्रमा निःशुल्क एयरपोर्ट सटल बस सेवा शुरू गराएका थिए। यो सेवा भने अहिले पनि सञ्चालनमा छ।


सम्बन्धित सामग्री