Saturday, April 27, 2024

-->

पशुपतिमा दुनाटपरी गाँस्दा खुशी भेटिरहेकी गायत्री आमा (तस्वीर–कथा)

‘आफ्नै लगानी, आफ्नै पौरख र आफ्नै कमाइमा बाँच्न पाउनु जति रमाइलो जीवनमा अरू केही हुँदो रहेनछ।’

पशुपतिमा दुनाटपरी गाँस्दा खुशी भेटिरहेकी गायत्री आमा तस्वीर–कथा

काठमाडौँ–  भर्खरै जंगलबाट टिपेर ल्याएका सालका हरिया पात। तिनै पातहरूबाट मिहिनेतका साथ गाँसिएका दुना, टपरी र बोहोताहरू। अनि गायत्री आमा। पशुपति दर्शन गर्न जानेहरू मन्दिरछेउमा गायत्री आमालाई नदेखेको दिन खल्लो मान्छन्। उनीहरूलाई तिर्थस्थल नै अपूरो लाग्छ।

गायत्री आमा अर्थात् ओखलढुंगाकी गायत्री वाग्लेले पशुपतिको मन्दिरछेउमा दुना, टपरी गाँस्दै बेच्न थालेको १८ वर्ष बितिसक्यो। घरमा जुठो या सुतक पर्‍यो भने मात्र उनी मन्दिर जाँदिनन्। नत्र कुनै दिन पनि उनको छुट्टी छैन। सधैँ आस्थालुहरूको मागअनुसार दुना टपरी गाँस्दै, बेच्दै उनको समय बितिरहेको छ।

निकै व्यस्त हुन्छिन् गायत्री आमा। उकालोसँग कुरा गरिरहँदा पनि उनका नियमित ग्राहकहरू दुनाटपरी किन्दै थिए। हामीलाई देखेर उनीहरू 'मिडियाले आमालाई भाइरल बनाउने भयो' भन्दै जिस्किइरहेका थिए। उनीहरुले यसो भन्दा गायत्री आमा टम्म मिलेका दाँत देखाएर हाँस्दैथिइन्।

पशुपति मन्दिर परिसरको किरियापुत्री भवनभन्दा बाहिरपट्टि बसेर दुनाटपरी गाँसिरहेकी भेटिन्छिन् उनी। आमाका दुनाटपरी पूजापाठ र बिवाह-ब्रतबन्धदेखि तिथिश्राद्धसम्म हरेक धार्मिक तथा सांस्कृतिक कार्यहरूमा पुग्छन्। धेरैजसो ग्राहक भने पितृकार्यका लागि नै टपरी किन्न आउने उनले सुनाइन्।

उनले गाँसेका टपरीहरू जोडीको १५ देखि २५ रुपैयाँसम्ममा बिक्छन्। कुनै ग्राहकसँग पैसा छैन भन्ने लागेमा पाँच रुपैयाँमै दुई वटा दिएर पठाउने उदारता उनीसँग छ। भन्छिन्, "कति जनासँग त त्यही पनि हुँदैन। उहाँहरूलाई सित्तैमा दिएर पठाउँछु।" दुःखमा परेकाहरूलाई त्यसरी सहयोग गर्न पाउँदा खुशी लाग्ने उनले बताइन्।

गायत्रीले प्रफुल्ल मुद्रामा भनिन्, "शुभकार्य, पितृकार्य गर्न धनी, गरिब सबैले पाउनुपर्छ। खाने खर्च नभएका कैयौँ मानिसलाई हामीले पैसा उठाएर खानासमेत खुवाएका छौँ।"

उनले २०७२ साल वैशाख १२ गतेको भूकम्प सम्झिइन्। त्यो समयमा धेरैले परिवार र आफन्त गुमाए। गायत्री आमाले पशुपति आर्यघाटमा भेटिएका पीडितहरूलाई आफूले सकेको सहयोग गरिन्। परकम्पका धक्काहरू आइरहेका कारण त्यो समयमा उनी एक महिनासम्म घरबाहिर बसेकी थिइन्।

उनले भनिन्, “एकैछिनमा पृथ्वी हल्लिन्थ्यो। मनमा डर त लाग्थ्यो। तर आफन्त गुमाएर रुँदै आएका मानिसहरूलाई थोरै मात्रै सहयोग गर्न पाउँदा पनि मन आनन्दित हुन्थ्यो त्यो बेला।” 

कोभिड-१९ को समयमा भने उनी आफैँ थला परिन्। त्यो समयमा उनलाई मर्छु कि जस्तै लागेको थियो। "तर मरिएन, अझै कति दुःख बाँकी होला, किन मरिन्थ्यो र!" गायत्री आमाले हाँस्दै भनिन्।

२३ वर्षअघि काठमाडौँ आएकी गायत्री आमाको परिवार सबै यतै छन्। छोरा, बुहारी, नातिनातिना सबै घरभरि छन्। श्रीमान् पनि बेलामौका उनलाई काममा सघाउन आउँछन् जो पेसाले पण्डित हुन्।

गायत्री आमा र उनका साथीहरूलाई बस्नका लागि पशुपति क्षेत्र विकास कोषले चार वटा कोठा पनि दिएको छ। मन्दिर परिसरमा दुना, टपरी र बोहोता गाँसेर बेच्ने उनीसहित नौ जनाको समूह छ। ५० रुपैयाँ मुठा पर्ने सालको पात चिनेजानेको नाताले उनीहरू ४५ रुपैयाँमा लिन्छन्। त्यो बेच्दा १० रुपैयाँ नाफा हुन्छ।

यो कामबाट खर्च कटाएर महिनाको कम्तीमा १५ हजार कमाइ हुने गायत्री बताउँछिन्। सानैदेखि जानेको काम भएर सजिलो लाग्छ उनलाई।

"अरूको कमाइमा आस गर्नु परेको छैन," उनले खुशी हुँदै भनिन्, "आफ्नै लगानी, आफ्नै पौरख र आफ्नै कमाइमा बाँच्न पाउनु जति रमाइलो केही हुँदो रहेनछ।"


सम्बन्धित सामग्री