काठमाडौँ– सरकारको कुनै पूर्वकर्मचारी सेवा अवधि उपरान्त पनि आफ्नो कार्यस्थलमा उत्तिकै लगनका साथ अटुट रूपमा खटिएको खबर धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर पशुपतिनाथ मन्दिर परिसरमा यस्तै पात्र फेला परेका छन्। जागिरमा छँदाको कामलाई जागिर सकिएपछि पनि निरन्तरता दिइरहेका व्यक्ति हुन् प्रहरी नायब निरीक्षक (सई) बाट अवकाशप्राप्त शम्भु ठाकुर।
हिन्दू धर्मावलम्बीहरूले आराध्यदेव मान्ने पशुपतिनाथ मन्दिर परिसर शिवरात्रि मेलाका लागि सजाउन दुई–तीन दिन अघिदेखि भ्याइनभ्याई थियो। पशुपति क्षेत्र विकास कोषको अगुवाइमा त्यहाँ सरसफाइका साथै दर्शानार्थीहरूको पंक्ति व्यवस्थापन, टेन्ट तथा बत्तीको प्रबन्ध, सुरक्षा व्यवस्थापन, प्रवेश तथा निकासद्वार निर्माण लगायतका काम मेला शुरू हुनुअगावै सकिएका थिए।
कोषका सदस्य–सचिव राजुकुमार खत्रीका अनुसार पाँच लाखभन्दा बढी दर्शानार्थी आउने अनुमान गरिएको यस वर्षको शिवरात्रि मेलाका लागि इच्छुक सबैले दर्शन र पूजाअर्चना गर्न पाऊन् भनेर शुक्रबार बिहान २ बजेदेखि नै चारै वटा प्रवेशद्वारबाट दर्शानार्थीको आवागमन सहज बनाइएको थियो।
मन्दिर परिसरमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट आएका साधुसन्त र नागाबाबाहरूको सघन उपस्थिति छ। त्यहाँ लहरै बसेका र उभिइरहेका उनीहरू ‘जय शम्भो’ भन्दै दर्शनार्थीहरूको ध्यान आफूतिर तानिरहेका भेटिन्छन्। अवकाशप्राप्त सई शम्भु मेलाको पूर्वसन्ध्यामा सबैभन्दा बढी व्यस्त देखिन्छन्।
साधु र नागाबाबाहरू पशुपतिनाथका रूपमा स्थापित शिवको ‘कृपा’ र दर्शनार्थीबाट दान दुवैको अपेक्षा गरिरहेका हुन्छन्। मन्दिर परिसरमा सक्रिय शम्भु भने शिवरात्रिको भिडमा लामबद्ध दर्शनार्थीमध्ये श्रद्धा र सम्पत्ति दुवै भएकाहरूलाई घण्टौँ लाइनमा उभिनुपर्ने झन्झटबाट मुक्त पारिदिने यत्नमा निरन्तर सक्रिय छन्।
उसो त उनको यो भूमिका नेपाल प्रहरीमा जागिर खाएयता झन्डै तीन दशकदेखिको दैनिकी हो। शिवरात्रिको अवसरमा व्यस्तता बढेको मात्र हो। नभए उनी भिडभाडबाट जोगाउँदै फरक बाटो मन्दिरमा दर्शन र पूजाआजा गर्न चाहने पैसावाला दर्शनार्थीको सेवामा दिनहुँ खटिआएका छन्।
नेपाल प्रहरीमा सेवा अवधि जम्माजम्मी ३० वर्षको हुन्छ। शम्भु भने जागिरे जीवनको २८ वर्ष पशुपतिमै ‘सेवारत’ भएर बिताउन पाएका जुनियर प्रहरी अधिकृत हुन्। प्रहरी संगठनभित्र बिरलै भेटिने उदाहरण बनेका उनले जागिरमा हुँदा पशुपतिमै काजमा खटाइने, काज फिर्ता हुने र पुनः साबिककै काजमा निरन्तरता पाउने क्रम अनवरत चलिरह्यो।
यो पनि – संगठन हल्लाउने सई शम्भु : जो २८ वर्षदेखि पशुपतिमै छन्
गृहमन्त्री, प्रहरी प्रमुख (आईजीपी) र प्रहरीका वरिष्ठ अधिकारीहरू कैयौँ पटक फेरिए। तर सामाखुसीस्थित पहरा गणमा दरबन्दी कायम रहेका शम्भुले पशुपति मन्दिर परिसर छाडेर कहीँ पनि जानु परेन। शम्भुको जागिरे जीवनको सिलसिला सरकारी प्रणाली, नेपाल प्रहरीले चिर्न नसकेको चुनौती र पशुपतिमा हुने ‘गोरखधन्दा’ उतार्ने ऐना पनि हो भनेर प्रहरीकै पूर्वअधिकारीहरू बताउँछन्।
लामो समयदेखि मन्दिरमा रहेको नेपाल प्रहरी पहरा गण सेक्टर ३, पशुपति सुरक्षा पोस्टमा तैनाथ सई शम्भु, प्रहरी सहायक निरीक्षक (असई) रणधीरकुमार सिंह र प्रहरी जवान रामजनम बैठालाई गत वर्ष काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सरुवा गरेको थियो। लगत्तै तत्कालीन कार्यालय प्रमुख अतिरिक्त प्रहरी निरीक्षक (एआईजी) दिवेश लोहनी र तत्कालीन महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहको मोबाइलमा सरुवा रोक्ने पहलका घण्टी बज्न थाले।
काज फिर्ता बदर गराउन सबैभन्दा पहिले त पशुपतिका मूल पुजारी गणेश भट्ट नै अघि सरे। अन्ततः २०७९ पुस २२ गते विगतमा कैयौँ पटक भएजस्तै ठाकुरको काज पुनः पशुपतिमा फिर्ता भयो। यसरी पशुपतिका ‘सेवा’ गर्दागर्दै अवकाश पाउने ‘भाग्यमानी’ प्रहरी बन्न सफल भए उनी। अहिले अवकाश पाएपछि त उनलाई न सरुवा रोक्ने झमेला छ, न त काज मिलाउने झन्झट नै।
अवकाश उपरान्तको चटारो
शम्भु भेटिने मुकाम पशुपतिनाथका मूल भट्ट निवासको अगाडि छ। उनले टेलिफोनबाट सम्पर्क गरेर वा पहिले सेवा लिइसकेकाहरू मार्फत यहाँ आउनेहरूलाई सहजै दर्शन र पूजाआजाको व्यवस्था मिलाइदिने गरेका छन्। पूजाको किसिम र त्यसअनुसारको आर्थिक लेनदेनको हिसाब त्यहीँनिर तय हुन्छ। विशेष अवसरका लागि शम्भुको सेवा पहिले नै ‘बुक’ गर्नुपर्छ। जस्तो कि, यसपालिको शिवरात्रिमा विशेष दर्शनका लागि गरिने सौदा उनले बुधबार नै बन्द गरेका थिए। किनभने मंगलबारसम्म आएका प्रस्तावहरू नै मेलाभरका लागि पर्याप्त भइसकेका थिए।
“म के राय दिन्छु भने विशेष दर्शन वा पूजा गर्नु छ भने शिवरात्रिको भिडभाडमा उपयुक्त हुँदैन, अहिले पाँच लाख रुपैयाँ दिए पनि भिडभाड र धक्काधुक्कीबाट जोगाउन सकिँदैन,” उनी भन्छन्, “त्यसअघि वा पछि आउने हो भने यहाँ मज्जाले सबै व्यवस्था गरिदिने जिम्मा मेरो भयो। खर्च नसोध्नुस्, पैसाको कुरा हुँदै होइन, सेवा हेरेर खुशीसाथ दिने कुरा हो। यो व्यापार होइन, धर्म र आस्थाको कुरा हो, आफ्नो श्रद्धाले दिने हो।”
शम्भुको महिमा टाढाटाढासम्म फैलिएको छ। भारतको विभिन्न ठाउँबाट आउने दर्शनार्थीहरू आफ्नो चिनजानका मानिसहरूबाट उनको फोन नम्बर पहिले नै ‘नोट’ गरेर ल्याउँछन्। फोनमा कुरा हुन्छ। दर्शन गर्ने गराउने समय तय हुन्छ। सल्लाहअनुसार प्रायः मन्दिरको दक्षिण गेटमा शम्भुसँग दर्शनार्थीको भेट हुन्छ। पूजाको प्रकार र यसमा पर्ने लागतको कुरा पनि त्यहीँ तय हुन्छ।
दर्शन मात्र गर्ने कि पूजा पनि गर्ने वा शिवलिंगको अभिषेकसमेत गर्ने, मूल भट्टको हातबाट टीका र प्रसाद ग्रहण गर्ने कि नगर्ने, नैवेद्यमा के–के चढाउने लगायतका कुराहरू तय भएपछि माग भएअनुसारका सेवा शम्भुले उपलब्ध गराइदिन्छन्।
दर्शनार्थीको लगानीअनुसार सन्तुष्ट पारेर पठाइदिने अभिभारा उनैको काँधमा छ। मूल पुजारीको हातबाट निधारमा टीका, ठूल्ठूला दानावाला रुद्राक्षका मालासँगै शिवलिंगमा चढाएको फल र फूल प्रसाद पाएपछि पशुपतिमा प्रगाढ आस्था राख्नेहरू हर्षित हुन्छन्। यस्तो अनुभवका साथ नेपाल र भारतका विभिन्न ठाउँबाट भक्तजनहरू शम्भुको महिमावाहक बनेर आ–आफ्नो थलोमा फर्किन्छन्। उनीहरूबाट थाहा पाएर पशुपति आउने अरू दर्शनार्थी मोबाइल नम्बर लिएर आइपुग्छन्, जसबाट उनको सेवा विस्तार भइरहेको छ।
बुधबार निकै व्यस्त देखिएका उनले मन्दिर परिसरमा नेपाल प्रहरीको सुरक्षा पोस्टका बहालवाला प्रहरीलाई अह्राए, “ए भाइ यहाँ आऊ त।” बर्दीसहितका ती प्रहरी हाकिमको ‘आदेश’ पालना गरेजसरी उनको सामु आइपुगे। शम्भुले दक्षिण ढोकाबाट प्रवेश गरेको एउटा समूहलाई सँगै लगेर दर्शन गराउन भने। ती प्रहरीको पछि लागेर दर्शनार्थीहरू मन्दिरतिर बढे। त्यस्तो ‘सेवा’ चाहिनेहरूको फोन उनको मोबाइलमा तारनतार आइरहेका थिए। खरानी रङको ट्रयाकसुट लगाएका उनी निकै फुर्तिला देखिन्थे।
पहरा गण सेक्टर ३, पशुपति सुरक्षा पोस्टका प्रहरी निरीक्षक जंगबहादुर शाह आफू करिब २२ दिनदेखि तालिममा रहेको बताए। उनको अनुपस्थितिमा सुरक्षा पोस्टको कमान्ड गरिरहेकी प्रहरी नायब निरीक्षक समवती राजवंशी अवकाशपछि पनि शम्भु पशुपतिनाथ परिसरमा सेवारत रहेकोबारे आफूलाई थाहा नभएको बताउँछिन्।
“इन्स्पेक्टर साहेब तालिममा जानुभएको छ। हामी यहाँ ४५ जना कार्यरत छौँ। म चाहिँ शम्भु ठाकुर रिटायर हुनुभएपछि उहाँकै ठाउँमा आएको हुँ। उहाँले अहिले यहाँ गरिरहेका कार्य व्यक्तिगत तवरमा हो, प्रहरी भएर होइन,” उनले भनिन्, “दर्शनार्थीहरूले खुशी भएर पैसासैसा दिन्छन् होला, त्यसबारे हामीलाई थाहा हुँदैन।”
पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव खत्रीलाई उकालोले सोधेको थियो, “शम्भु ठाकुरलाई कोषले त्यहाँ खटाएको हो?” उनले भने, “शम्भुलाई कोषले नियुक्त गरेको वा स्वयंसेवीको रूपमा खटाएको होइन। उनले त्यहाँ के गरिरहेका छन्, त्यति थाहा पनि भएन। मन्दिर हो, दर्शनार्थीको रूपमा मान्छे आउने–जाने त भइरहन्छ।”
नियमित तालिकाअनुसार दैनिक बिहान ८ बजे मन्दिरको ढोका खुल्छ। साढे आठ बजे मूल भट्ट र भण्डारीहरूको आगमनपछि मुख्य मूर्तिको स्नान तथा भाँडाकुडा सरसफाइपछि बिहान ९ः३० बजे बालभोग र १० बजे स्वागत पूजा हुन्छ। त्यसपछि नित्यपूजा गरिन्छ। १ः४५ बजे पूजा समाप्त भई मूलभोग चढाइन्छ। दिउँसो २ देखि ५ बजेसम्म मन्दिरका चारै ढोका पुनः बन्द गरेर विश्राम दिइन्छ। बेलुकी ५ः१५ बजे मन्दिरको ढोका खोली नित्य आरती, जल अभिषेक र बेलुकी ६ बजे बागमतीमा गंगा आरती प्रस्तुत गरेपछि साँझ ७ बजे फेरि मन्दिरका सबै ढोका बन्द हुन्छन्।
पशुपति क्षेत्र विकास कोषले विशेष पूजाका लागि २०५४ सालदेखि कार्यविधि निर्माण गरी ११ सय, २१ सय, ५१ सय, ११ हजार, २७ हजार, ५५ हजार, एक लाख ५६ हजार, दुई लाख ५१ हजार, पाँच लाख ५१ हजार तथा सोभन्दा बढीका विशेष पूजा लगाउन सकिने व्यवस्था गरेको छ। यी सेवाहरू औपचारिक रूपमा लिँदा मन्दिरको आम्दानीमा जान्छ।
तर त्यस्ता सुविधाजनक पूजाआजाका सेवाहरू मन्दिरलाई आम्दानी नहुने गरी समानान्तर रूपमा चलिरहेका छन्, जसको अगुवाइ शम्भुले गरिरहेका छन्। त्यसरी ‘चोर बाटो’बाट पूजाअर्चनामा सामेल हुने दर्शनार्थीहरूलाई पशुपतिका मूल पुजारी गणेश भट्टको विशेष सदाशयता रहने गरेको कोषकै अधिकारीहरू बताउँछन्।