Saturday, April 27, 2024

-->

द कुरौटे फाइल्स
प्याजले मच्चाएको तहल्का

वर्षा र मोबाइलले ल्याएको खुशीमाझ आज तपाईंहरूका लागि हप्ताभरि नै सर्वाधिक चर्चा गरिएका खबर संक्षेपमा ल्याएको छु– तीमध्ये एक मन प्रफुल्लित गराउने सुसमाचार र एउटा मूड अफ गराउने कुसमाचार छन्।

प्याजले मच्चाएको तहल्का

प्रिय पाठकवृन्द,

आज शुक्रबार, असार १ गते, मिथुन संक्रान्तिको पावन अवसरका साथै अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस। तपाईंहरूले यी दुवै महत्त्वपूर्ण पर्व धूमधामका साथ मनाउनुभएको आशा छ।

गर्मीले आजित भएका देशवासीलाई एक जोडी भ्यागुताको हालसालै सम्पन्न विवाहसँगै आगमन भएको मनसुनले‌ राहतको अनुभूति दिलाएको छ। भ्यागुताका युगल जोडीको बिहेमा दुलहाको फुपाजुलाई मान नपुगी गुनासो गरेर विधिमा बाधा परेका कारण चाहिने बेला पानी नपर्ने, परेको बेला चाहिनेभन्दा बढी पर्ने समस्या भने यथावत् छ।

असार १ ले दही–चिउरा खाने दिन आउन लागेको आभास पनि दिलाउँछ। बानी त्यस्तै भएर हो कि के हो, दही–चिउरा खाने महिनाको महत्त्व हाम्रा लागि अलि विशेष छ।

विशेषतः आज विक्रम संवत् पात्रो पच्छ्याउने अड्डाका जागिरदारका लागि जेठका ३२ लामा र कठोर दिनपछि मोबाइलमा गच्छेअनुसार ५ देखि ६ अंकयुक्त सुखद सन्देश आउने दिन पनि हो (नेपालले डिजिटल फड्को मारिसकेको हुनाले खनखन गनिने कागजी बिटाको कुरा अहिले इतिहास भइसकेको छ)।

वर्षा र मोबाइलले ल्याएको खुशीमाझ आज तपाईंहरूका लागि हप्ताभरि नै सर्वाधिक चर्चा गरिएका खबर संक्षेपमा ल्याएको छु– तीमध्ये एक मन प्रफुल्लित गराउने सुसमाचार र एउटा मूड अफ गराउने कुसमाचार छन्।

कुसमाचार
विश्वभर प्रचलित चलनअनुसार 'परफेक्ट आफ्टरइफेक्ट'का लागि राम्रोभन्दा पहिले चर्चा गरौँ नराम्रो खबरको–

गोबरमेन्टले तरकारीको आयातमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेलगत्तै बजारमा प्याजको भाउ ह्वात्तै बढेको छ।

आत्मनिर्भर दक्षिणी छिमेकीउपर खपतका लागि लगभग पूर्णरूपमा निर्भर हाम्रो देशमा अहिले उक्त भूमिगत तरकारी दोब्बर, तेब्बर भाउमा बिक्री हुँदैछ। कुनै ठोस अनुसन्धान, योजनाबिना स्वदेशी उत्पादनलाई संरक्षण गर्न भन्दै बजेटमार्फत केही तरकारी, फलफूलमा कर लगाएसँगै उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन्।

फलस्वरूप झमझम वर्षा भइरहेको यस्तो मौसममा पनि मानिस प्याज–पकौडा नखाई मन‌ मार्न बाध्य भएका छन्। प्याज खाएर लू भगाऔँला भनेर बसिरहेका जनता 'यो भाउमा किन्ने कि नकिन्ने' गम खाइरहेका छन्। आँसु नआएर प्याजको सहारा लिनुपर्ने‌ नाट्यकर्मी सहाराविहीन भएका छन्। आलु–प्याज सब्जीको कम्बिनेसनमा आलु एक्लो भएको छ भने प्याजले मेरो, मैले प्याजको मुहार हेराहेर गर्नुपर्ने अवस्था आइपरेको छ।

पारि ₹ १८, वारि रु. १०० को हाराहारीमा व्यापार भइरहँदा सीमा क्षेत्रमा तनाव बढेको छ। वारिको आत्मसम्मानमा ठेस् लागेको छ। इलामदेखि कञ्चनपुरसम्म पारिका दौँतरी नाकामै आएर एक प्लेट समोसा चाटमा २५० ग्राम प्याज छर्किँदै, खाँदै वारिकालाई जिस्काउँदा अरू बेला मित्रवत् रहने बोर्डर क्षेत्रका बासिन्दाबीच मनमुटाब पैदा भएको छ। यसको असरअनुरूप पारिका बन्धुले यस्तो छुस्के व्यवहार नसच्याए सीमा क्षेत्रमा उतातिरको राँगा आयात र‌ यतातिरको म:म: मसला निर्यातमा बन्देज लगाइने सम्बन्धित वडाका परराष्ट्र मामिला अधिकारीले लिखित चेतावनी जारी गरेका छन्।

सबैभन्दा भयावह कुरा त– शंकर लामिछाने लिखित 'ऐब्स्ट्र्याक्ट चिन्तन प्याज' नामक निबन्धसंग्रहको रातारात भाउ बढेर पाठकहरूमाझ प्याजको मूल्यबारे ऐब्सल्यूट–चिन्तन हुन थालेको छ।

यो त भयो दुखको खबर। लागौँ सुखद, सकारात्मक समाचारतर्फ।

सुसमाचार
गोबरमेन्टले तरकारीको आयातमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेलगत्तै प्याजको भाउ ह्वात्तै बढेको छ। 

नोट: माथिको पंक्ति गल्तीले कपी–पेस्ट भएको होइन।

दैनिक खपत हुने वस्तुको मूल्य अचाक्ली बढ्नु नराम्रो खबर अवश्य हो, तर चाहेको खण्डमा मिहिन विश्लेषण गर्न सके त्यही समाचारको राम्रा पक्ष भेटिने रहेछ।

प्याजको भाउ बढ्दा सतहमा एक–दुई बेफाइदा देखिन्छन्, तर यस्तो आर्थिक उतारचढावसम्बन्धी 'फेनोमेना'को सात–आठ वटा कोडिङ गरेर लुकाइएका फाइदाबारे व्याख्या नगरी यसै नकार्न सकिन्नँ।

कहिले बैजनी, कतै खैरो, कहीँ सेतै रूपमा भेटिने यो सब्जीको मूल्यवृद्धि हुनु सकारात्मक घटना हो। किन? २०८० को शुरूआतदेखि खबर संसारमा सुनको मूल्यले जमाएको वर्चस्व आखिरकार तोडिएको छ‌। राजनीति, कूटनीति, विज्ञान, धर्मशास्त्र, संस्कृति, मनोविज्ञान, दर्शनशास्त्र, अर्थतन्त्रलगायत हरेक मामिलामा अब्बल दर्जाको दक्खल राख्ने प्रोफेसर क्रान्ति सत्यालका अनुसार पुँजीवादी संरचनामा कुनै एउटा वस्तुको एकाधिकार हुने कुरालाई नियमसंगत मानिँदैन। ‘सोही सिद्धान्तअनुरूप प्याजले सुनको लामो समयदेखि रहँदै आएको मोनोपली तोड्दा यस व्यवस्थामा आस्था राख्ने जतिले एकजुट भएर स्वागत गर्नुपर्दछ,’ प्रोफेसरले भने।

उनले थप बताए, ‘पत्रपत्रिकाकामा प्रायः सुनको प्रतितोला भाउबारे चर्चाले एकोहोरो स्पेस‌ ओगट्ने गरेकोमा  प्याजको प्रविष्टिले अर्थबजारका पेजहरू लोकतान्त्रिक भएका छन्, समावेशी देखिएका छन्। एक किसिमको क्रान्ति भएको छ, वेलफेयर डेमोक्र‌ेसी शुरू हुने छनक यहीँबाट मिल्छ। तसर्थ यसलाई सुखद संकेतका रूपमा लिनुपर्छ।’

सुनले कहिल्यै अवसर नपाएको तर प्याजी चर्चाले हाउसमा प्रवेश पाएपछि (यति मागमा रहेको वस्तु–चर्चाको सन्दर्भमा हाउस नै भन्ने, किन संसद् या प्रतिनिधिसभा भन्ने) यसको क्रेजको ग्राफ उकालो लागेको अरू नाम नचलेका विज्ञहरू बताउँछन्। समाजको एउटा वर्गले भिन्न देखिने होडमा सुनको सट्टा प्याजको गहना लगाउने प्रवृत्ति पनि शुरू भएको छ, जसले कृषक (भूगोल निरपेक्ष)को मिहिनेतको कदर भएको छ।

छिट्टै प्याजको रसबाट इन्धनको आविष्कार गरिने र त्यसले जैविक इन्धन र बिजुलीबाट चल्ने सवारीसाधन विस्थापन गर्नका लागि बीमा तथा प्रविधि मन्त्रालयले आवश्यक बजेट हात पारिसकेको छ। यसले गर्दा बिजुलीले चल्ने सवारीसाधनको उपल्लो र तल्लो कर दरबारे विवाद पनि सुल्झिने प्रक्षेपण गरिएको छ।

अर्कोतर्फ, प्याजको मूल्यवृद्धिले ल्याएको सकारात्मक परिणाम राष्ट्रिय गोलाभित्र मात्र सीमित नभएर अन्तर्राष्ट्रिय उपस्थिति जनाउन सफल भएको छ। खुफिया सूत्रबाट हालसालै प्राप्त सूचनाअनुसार 'द अनियन' नामक अमेरिकी व्यङ्ग्य पत्रिकाले नेपालको सडक र सदन हल्लाउने प्याजको सम्मानमा आफ्नो नाम परिवर्तन गर्ने तयारी गरेको छ। यहाँ उपरान्त द अनियन 'समाजवादी मोर्चा' नामले चिनिने भएको छ भने हामीले ह्वाइट भ्यालिडेसन पाएर खुशी मनाउ गर्न अर्को अवसर जुरेको छ ।

अनर्थमन्त्रीले आन्तरिक उत्पादनकर्ताको फाइदाका लागि ल्याइएको भनेको कर दरले वर्तमान स्वदेशी उत्पादनको स्थिति मध्यनजर गर्न सकेन भनेर आलोचना भइरहेको छ। नाम नखुलाउने शर्तमा हाम्रा मन्त्रालयस्रोत भन्छन्– यसो गर्नुमा राष्ट्रवासीको बृहत्तर हित केन्द्रमा राखिएको छ। सांस्कृतिक रूपमा ग्रेटर राष्ट्रको जनताले बजेटमा आएको निर्णयसँगै खुला सिमानाको उपयोग गर्दै 'शर्टकट' अपनाएर प्याज भित्र्याइ मुनाफा गर्ने बाटो खुलेको छ। गोबरमेन्टको यस इनोभेटिभ कदमले देशमा स्टार्टअप विकासको सम्भावनालाई पुनर्ताजगी दिएको छ, स्टार्अप कल्चरले पुनर्जीवन पाएको छ। त्यसैले पनि इतिहासको महत्त्वपूर्ण मोडमा भेटिएको यो आर्थिक माइलस्टोन प्रेरणामूलक र सम्मान योग्य छ।

यसका साथै पाठकवर्गलाई प्याज मूल्यवृद्धिको प्रोज र कन्स् अवगत गराउने जिम्मेवारी पूरा गरेर आजका लागि किबोर्डलाई विश्राम दिँदै छु।

तपाईं यस भूमिमा जन्मिएका तमाम ऐतिहासिक, धार्मिक र पौराणिक व्यक्तित्वहरूको जन्मभूमिको विभिन्न तवरबाट प्रतिरक्षा गर्दै रहनु होला‌, म आफ्नो भरिएको बैंक खाताको उपयोग गर्न तिर लाग्छु– दुई किलो प्याज किनेर।

अभिवादन!


सम्बन्धित सामग्री