Saturday, April 27, 2024

-->

भारतबाट तस्करी हुने प्याजले मूल्य नियन्त्रण: साइकलबाट सीमापार, गोदाममा एकत्रित गरी काठमाडौँ 'सप्लाई'

मंसिर अन्तिममा प्रतिकिलो १८० रुपैयाँ पुगेको प्याज अहिले ८० रुपैयाँमै पाइन्छ। भारतले निर्यात प्रतिबन्ध लगाए पनि तस्करीबाट वीरगन्ज ल्याइपुर्‍याइँदा प्रतिकिलो ४१ रुपैयाँ पर्छ, त्यही प्याज काठमाडौँ आउँछ।

भारतबाट तस्करी हुने प्याजले मूल्य नियन्त्रण साइकलबाट सीमापार गोदाममा एकत्रित गरी काठमाडौँ सप्लाई
तस्करमार्फत भारतबाट ल्याइएको प्याज वीरगन्जका गोदाममा थन्काइँदै। तस्वीर: उकालो

काठमाडौँ– प्याजको खुद्रा मूल्य डेढ महिनाको फरकमा प्रतिकिलो करिब १०० रुपैयाँले घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो सरदर ६५ रुपैयाँ र काठमाडौँका तरकारी पसलहरूमा खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ आसपास छ।

मंसिर अन्तिमतिर कालीमाटीमै प्याज प्रतिकिलो १४७ रुपैयाँसम्म पुगेको थियो। कतिपय पसलमा पाइनै छोडेको प्याजको खुद्रा मूल्य प्रतिकिलो १८० रुपैयाँसम्म पुगेर उपभोक्तालाई ‘रुवाएको’ थियो।

प्याजको भाउ डेढ महिनामा करिब ५४ प्रतिशतले घटेको छ। सरकारी संयन्त्रले समाधान खोजेर वा भण्डारण गरेको प्याज गोदामबाट बजारमा पुगेर मूल्य घटेको होइन। बरु, भारतबाट प्याज चोरीपैठारी बढेपछि नेपाली बजारमा मूल्य नियन्त्रण भएको हो। भारतबाट वैध रूपमा भित्रिने प्याजको परिणाम भने अघिल्ला वर्षको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म भन्सार तिरेर भित्रिने प्याजको परिणाम ३६ प्रतिशतले घटेको थियो। भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि मंसिरसम्ममा ४६ हजार १६५ टन प्याज आयात भयो, गत वर्ष यसै अवधिमा ७२ हजार ९६ टन प्याज आयात भएको थियो। वार्षिक बजेटमार्फत प्याज आयातमा सरकारले भ्याट लागू गरेपछि आयातमा असर पुगेको छ। मंसिरमध्यपछि भने भारतको निर्यात नीति फेरिँदा नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको थियो।


भारतले गत मंसिर २१ गते प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। भारतको वैदेशिक व्यापार महानिर्देशनालयले त्यहाँको ‘गजेट’मा सूचना प्रकाशित गर्दै मंसिर २३ देखि निर्यातमा प्रतिबन्ध लगायो। यता नेपालमा नाफा धेरै कमाउन व्यापारीले गोदाममा रहेको प्याज पनि बजारमा नपठाइ रोकेर राखे। जसकारण प्याजको मूल्य आकाशिएको थियो।

नेपालमा प्याजको मूल्य बिस्तारै उकालो लागेको भने गएको असोजदेखि नै हो। असोज २१ गते भारतले वैदेशिक व्यापार नीति परिमार्जन गर्दै प्याजको न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो। घरेलु बजारमा प्याजको मूल्यवृद्धि रोक्न भारतले न्यूनतम मूल्य तोकेपछि नेपाल आउने प्याज स्वतः नियन्त्रित भयो। जसकारण नेपालमा प्याजको मूल्य बढ्न थालेको थियो।

तर भारतले मंसिर तेस्रो साता प्याज निर्यातमा प्रतिबन्ध नै लगाएपछि मंसिर अन्तिम हप्ता काठमाडौँको मुख्य फलफूल तथा तरकारी बजार कालीमाटीमा मूल्य प्रतिकिलो ८० रुपैयाँबाट बढेर १४७ रुपैयाँ ५० पैसा पुगेको थियो। काठमाडौँका गल्लीतिरका साना तरकारी पसलमा त प्याज पाइनै छाडेको थियो। 

तर त्यसको केही दिनपछि नै प्याजको मूल्य घट्न थाल्यो। अहिले प्याजको मूल्य घट्दो क्रममा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। “हाम्रो बजार भनेको खुलाबजार हो, त्यस कारणले सामानहरू कहाँबाट आउँछ, कसरी आउँछ र कुन मूल्यमा आउँछ भन्नेमा मूल्य भर पर्छ,” श्रेष्ठ भन्छन्, “एक डेढ महिनाअघि भारतले (प्याज) प्रतिबन्ध गर्दा अलिक कडिकडाउको स्थिति थियो, भारतबाट प्याज निर्यात प्रतिबन्ध त रहेकै छ तर अहिले खुकुलो किसिमले आइरहेको छ।”

बजार मागअनुसार नेपालको आफ्नो उत्पादन नभएपछि उपभोक्ता भारतबाट आउने प्याजमा भर पर्नुपर्ने अवस्था छ। त्यसकारण उताको मूल्यले यता असर पर्ने श्रेष्ठ बताउँछन्। उनका अनुसार भारतमा अहिले प्याजको मूल्य कम छ। तर भारतबाट आउने प्याज प्रतिबन्धित भएको अवस्थाम कसरी भित्रिरहेको छ भारतीय प्याज?

सयौँ साइकल प्रयोग गरेर तस्करी
भारतसँग नाका जोडिने सीमावर्ती शहरहरू अहिले प्याजको तस्करीले गुल्जार छन्। मुख्य व्यापारिक नाका वीरगन्जमा सयौँ साइकल प्रयोग गरेर कारोबारीका भरिया प्रत्येकले दिनमा पाँच खेपसम्म तस्करीको प्याज गोदामहरूमा पुर्‍याइदिने गरेका छन्।

तस्करी गरी वीरगन्ज ल्याइएको प्याज।


अहिले रक्सोलमा प्याजको मूल्य ढकको १०५ भारु छ। यो भनेको प्रतिकिलो २१ भारु अर्थात् ३३ रुपैयाँ २० पैसा हो। तस्कर गराउने कारोबारीले ५० किलोको बोरा वीरगन्ज पुर्‍याइदिन भरियालाई औसत २५० भारु (४०० रुपैयाँ) दिन्छन्। यसरी किलोमा ८ रुपैयाँ भरियालाई तिर्दा वीरगन्जको गोदामसम्म पुगेपछि प्याज सरदर प्रतिकिलो ४१ रुपैयाँ  पर्छ।

अवकाशप्राप्त कर्मचारीसमेत रहेका वीरगन्ज गहवाका एक स्थानीयका अनुसार रक्सोलबाट वीरगन्जतर्फ आउने गल्लीहरू बिहान झिसमिसेदेखि साँझ अबेरसम्म प्याज बोक्ने साइकलले भरीभराउ हुन्छन्। ६८ वर्षीय उनले सीमामा अवैध पैठारी भइरहेको यसअघि समेत देखिने गरे पनि प्याजको यस्तो तस्कारी कहिल्यै नदेखेको बताए।

वीरगन्जको एक गोदामबाट प्याज काठमाडौँ पठाउन लोड गरिँदै।


वीरगन्जका विभिन्न ठाउँका गोदाममा साइकलहरूले लामबद्ध भएर प्याजको बोरा पुर्‍याइदिएको एक घण्टा नबित्दै ‘सिंगल क्याब पिकअप’ वा ‘मिनि ट्रक’मा हालेर त्यहाँबाट काठमाडौँ र अन्य शहरहरूका लागि पठाइने गरिएको छ। भारतीय नागरिकसँग मिलेर यस्तो प्याज तस्करी वीरगन्जका कारोबारीहरूले नै संचालन गर्ने गरेका छन्।

सीमापारी भारतीय भूमिमा खट्ने बिहार पुलिस तथा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र नेपालतर्फ आधा दर्जन सुरक्षा जाँच इकाईहरू पार गर्दै वीरगन्जका गोदामसम्म प्याज ल्याइन्छ। थप दर्जन बढी सुरक्षा इकाई मात्र होइन राजस्व अनुसन्धान विभागको जाँचलाई पनि सकुसल नाघेर प्याज काठमाडौँ आइपुग्छ। तस्करी गरेर वीरगन्जमा प्रतिकिलो ४१ रुपैयाँमा ल्याइएको त्यही प्याज काठमडौँको कालीमाटीबाट सरदर ६५ र खुद्रा पसलमा ८० रुपैयाँमा बिक्री भइरहेको छ।


सम्बन्धित सामग्री