Saturday, April 27, 2024

-->

जलवायु परिवर्तन: छैटौँ वृहत् जैविक विनाशको भय

२०० वर्षअघि औद्योगीकरण युग शुरू भएयता वनजंगल र प्राकृतिक स्रोतमाथि अधिक दोहन र ब्रम्हलुट हुन जाँदा कैयौँ महत्त्वपूर्ण वनस्पति, जीवजन्तु  र तीनका वासस्थानसमेत लोप हुन गएको देखिन्छ।

जलवायु परिवर्तन छैटौँ वृहत् जैविक विनाशको भय

'बिट द प्लास्टिक पलूसन' (प्लास्टिक प्रदूषणमाथि विजय पाऊँ) भन्ने नारासहित यस वर्षको विश्व वातावरण दिवस हिजो मनाइयो। 'फ्रम एग्रिमेन्ट टू एक्सन: बिल्ड ब्याक बायोडाइर्भसिटी' (सम्झौतामा मात्र नभई कामबाटै जैविक विविधता फर्काऊँ) भन्ने नाराका साथ गत मे २२ मा संयुक्त राष्ट्रसंघीय जैविक विविधता दिवस पनि मनाइएको थियो। 

बढ्दो जनसंख्या, तीव्र औद्योगीकरण, वार्षिक ४०० मिलियन टनको व्यापक प्लास्टिक प्रदूषण र उच्च सामाजिक उपभोगका कारण नै पृथ्वीमा रहेको 'बायोस्फेयर' र जैविक विविधताको सन्तुलनमाथि नकारात्मक दबाब सृजना हुन पुगेको कारण ठूला ठूला वन जंगल, सिमसार क्षेत्र र महत्त्वपूर्ण जैविक विविधताका 'हट स्पट'हरू मासिँदै गएकाले सोको दिगो प्रवर्द्धनका लागि संयुक्त राष्ट्र संघले सन् १९९२ मा पृथ्वी सम्मेलन (रियो सम्मेलन) गरेको थियो।  सो सम्मेलनबाट १९६ मुलुकले जैविक विविधताबारेको 'सीबीडी अभिसन्धि' पारित गरेका थिए र पृथ्वीको समग्र जैविक प्रणाली जोगाउन उच्चस्तरीय बाचाबन्धन गरेका थिए। 

जैविक विविधता मानव सभ्यताको निरन्तरतासँग अन्तरसम्बन्धित पाटो भएकाले यो नजोगिए हामी कोही पनि जोगिनेवाला छैनौँ। प्रकृति (इकोलोजी) र मानव समाज एक आपसका बहुध्रुवीय अन्तरसम्बन्धमा फूल मालाजस्तै गाँसिएका हुन्छन्। मानिसले बाँच्नका लागि प्राप्त गर्ने आधारभूत जीवनदायिनी वस्तुहरू हावा, पानी, खानेकुरा, वास, लुगाफाटो वा औषधिमूलोको ९० प्रतिशत भाग वनजंगल, वनस्पति एवं जैविक विविधताको स्रोतबाटै आपूर्ति गर्छ। 

तर विडम्बना, २०० वर्षअघि औद्योगीकरणको युग शुरू भएयता वनजंगल र प्राकृतिक स्रोतमाथि अधिक दोहन र ब्रम्हलुट हुन जाँदा कैयौँ महत्त्वपूर्ण वनस्पति, जीवजन्तु  र तिनका वासस्थान समेत लोप हुन गएको देखिन्छ। 

पृथ्वीमा रहेका एक कोषीयदेखि बहुकोषीय जीवजन्तु तथा रूखबिरुवाको संरचनागत एवं क्रियात्मक बहुलतालाई जैविक विविधता भनी बुझ्न सकिन्छ। यस्तो भिन्नताले आनुवंशिक (जेनेटिक) तहमा रहेको भिन्नता, प्रजातिगत भिन्नता र पारिस्थितिक प्रणालीको भिन्नतालाई समेत जनाउँछ। 'इभोलुसनरी साइन्स' ('जिओलोजिकल टाइमस्केल') अनुसार ४.५ बिलियन वर्षअघि पृथ्वीको उत्पत्ति भयो र सोको करिब एक खर्ब वर्षपछि अर्थात् 'साइडेरियन पिरियडमा' मात्र पृथ्वीमा एककोषीय जीवन शुरूआत हुन गएको देखिन्छ भने तत्पश्चात् दुई खर्ब वर्षमा प्राकृतिक तवरले उत्परिवर्तन भई बहुकोषीय जीवहरू आएको मानिन्छ। 

हामी अहिले २५० करोड १० लाख वर्षअघि शुरू भएको क्वेटरनरी पिरियड (होलोसिन–एन्थ्रोपोसिन इपो) मा छौँ। प्रकृतिमा भएका विभिन्न उथलपुथल, कार्बन–अक्सिजन स्थिरीकरणजस्ता प्रक्रियाबाट गुज्रँदै हालको सन्तुलित स्थितिमा रहेका छौँ। यो स्थिरीकरण कायम हुँदा पृथ्वीमा करिब ८० लाख प्रजातिका जीवजन्तु र वनस्पति रहेको अनुमान गरिएको छ। 'केथरिन हेओ'को 'साइन्टिफिक अमेरिकन पेपर' (मे २२ , २०२३) मा प्रकाशित 'वन प्लानेट: टु क्राइसिस' आलेखमा विगत चार शताब्दीमा हामीले प्राकृतिक प्रक्रियाका कारणबाट गुमाएका स्तनपायी, चरा, सरीसृप र उभयचरको प्रजाति संख्या ६८० रहेकोमा हाल औद्योगिक युगको पछिल्लो ५० बर्षमा भने वृहत् रूपले जैविक प्रजातिहरू गुमाउन पुगेको देखिन्छ। 

केथरिनले पेपरमा प्राकृतिक छनौट (नेचुरल सेलेक्सन) को तुलनामा मानिसका गलत क्रियाकलापका कारण १० हजार गुणा तीव्र दरले यी जीवजन्तु गुमाउने दर बढेको उल्लेख गरेकी छन्। जलवायु परिवर्तन र जैविक इतिहासबारे संयुक्त राष्ट्र संघीय 'आईपीईएस पेपर' का अनुसार पृथ्वीमा बढ्दै गएको तापमानका कारण हामीले ६६प्रतिशत 'मरिन पारिस्थितिक प्रणाली' गुमाइसकेका छौँ भने प्रतिवर्ष १५ हजार प्रजाति (३ प्रजाति प्रतिघण्टा) का दरले लोपोन्मुख बनाइरहेका छौँ। 

उदाहरणका लागि क्यानडामा पोलार बियरको संख्या २२ प्रतिशतले कमी भएको छ, अन्टार्कटिकामा पेन्गुइनको संख्या आधा घटेको छ। नेदरल्यान्डमा समुद्री चरा (फ्लाइ चेटर) को संख्या पनि ९० प्रतिशतले कमी आएको देखिएको छ। यसर्थ, अहिले 'इभोलूसनरी टाइमलाइन'को कारणले नभई मानवसिर्जित कृत्रिम कारणले गर्दा उत्पन्न जलवायु परिवर्तनले नै छैटौँ मास एक्स्टिङ्सन (आम जैविक विलोपन) को भय पैदा भएको छ। यसलाई लिएर संसारका जीव वैज्ञानिकहरू आत्तिएका छन्। यस्तो प्रलय टार्नका लागि जलवायु परिवर्तनसम्बन्धी पेरिस सहमतिअनुसार आउँदो शताब्दीभित्र अर्थतन्त्रमा ‘डिकार्बनाइजेसन’ गर्ने र कार्बन उत्सर्जन शून्य (नेट जिरो) गरी कमसेकम १.५ डिग्री वैश्विक तापमान स्थिर गर्नुपर्ने हुन्छ। तर बढेको तापमान ५–१० डिग्रीतिर सोझिएको देखिन्छ। यसले गर्दा छैटौँ आम जैविक विलोपनको उच्च सम्भावना ६५ प्रतिशतले कायमै रहेको अनुसन्धानहरूले बताइरहेका छन्। 

यसअघि पृथ्वीमा प्राकृतिक रूपले भिन्न भिन्न युगमा गरी पाँच पटक वृहत् जैविक विनाश भएको थियो। ती समयमा प्रतियुग करिब ५०–७०प्रतिशत जीवजन्तुहरू हराएर नयाँ प्रजाति उत्परिवर्तन भएका थिए भने जीव विकासको लागि नयाँ भूगोलको स्वरूपमा विकास (जस्तो: आल्प्स, हिमाल र चूरे पहाड आदि निर्माण) भई पारिस्थितिक प्रणाली निर्माणका अध्याय पनि थपिने गरेका थिए। सबैभन्दा पछिल्लो पाँचौँ वृहत् विनाश ६ करोड ६० लाख वर्षअघि भएको देखिन्छ, जसबाट म्यामल र मानव (होमो सेपियन्स) उत्परिवर्तन सम्भव भएको रहेछ। हेरौँ त, पहिले भएका वृहत् विनाशको छोटो रूपरेखा: 

१) पहिलो वृहत् जैविक विनाश: यो परिघटना ओडोभिसियन–सिलुरियन युगमा (४० करोड ४० लाख वर्षअघि) भएको देखिन्छ। उक्त समयमा पृथ्वीको तापक्रम बढेका कारण २७प्रतिशत जीव परिवार र ८५ प्रतिशत प्रजाति विलुप्त भएका रहेछन्। खासगरी ज्वालामुखी विस्फोटबाट आएको धुवाँ र कार्बन तथा सल्फरको बाक्लो सतहले गर्दा पृथ्वीको तापक्रम ४०० डिग्री सेल्सियससम्म पुगेर बिस्तारै सेलाएको भनिएको छ। 

२) दोस्रो वृहत् जैविक विनाश: पछिल्लो 'डेभोनियन' युगमा (३७ करोड २० लाख वर्षअघि) यो परिघटना भएको देखिन्छ। त्यतिखेर जलीय पारिस्थितिक प्रणालीमा ठूलो फेरबदल भई माछा प्रजातिमा व्यापक विलोपन भएको रहेछ। मूलतः 'टेक्टोनिक मुभमेन्ट'ले महासागरीय प्लेटहरू यताउता सर्दा यो घटना भएको देखिन्छ।

३) तेस्रो वृहत् जैविक विनाश: यो परिघटना 'परमिअन–ट्रेइसिक' युग (२५ करोड २० लाख वर्षअघि) भएको देखिन्छ। त्यतिखेर जलीय र स्थलीय पारिस्थितिक प्रणालीका ९० प्रतिशत प्रजाति विलोप भएको अनुमान छ। यो सबैभन्दा ठूलो विलोपन मानिन्छ।

४) चौथो वृहत् जैविक विनाश: यो परिघटना 'जुरासिक' युगमा (२० करोड १० लाख वर्षअघि) भएको मानिन्छ। आकाशीय छुद्र पिण्ड पृथ्वीमा ठक्कर खाएपछि सो विलोपन भएको अनुमान छ। सो समय डाइनोसरका केही प्रजाति पृथ्वीबाट विलोप भएको देखिन्छ।

५) पाँचौँ वृहत् जैविक विनाश: यो परिघटना 'क्रेटासिन–पेलिओजिन' युगमा (६ करोड ६० लाख वर्षअघि) भएको मानिन्छ। यतिखेरको विलोपनमा ठूला 'रेप्टाइल' र सबै खाले डाइनासर हराएका रहेछन्। लामो हिमयुग र जलवायु परिवर्तन नै त्यसो हुनुको जिम्मेवार कारक रहेको बताइन्छ। यसपछि ‘होलोसिन इपो’ अर्थात् म्यामल युग आरम्भ भएको मानिन्छ। यही होलोसिन नै आजको निरन्तरता  हो। यसमा स्तनपायी म्यामलहरूको प्रभुत्व रहेको छ। ह्वेल र प्राइमेट (बाँदर, गुरिल्ला, चिम्पान्जी आदि) हुँदै मान्छेसम्मको जीव इतिहास अहिले अघि बढेको देखिन्छ। 

अब लागौँ, छैटौँ वृहत् जैविक विनाश विलोपनको सम्भावनातिर। 

होमो सेपियन्स (मानव प्रजाति) २८ लाख वर्षअघि अफ्रिकामा उत्परिवर्तन भई अघि आयो। तत्पश्चात् आजसम्म संसारभर होमो सेपियन्सले संसारमा प्रभुत्व जमाएर बसेको देखिन्छ। क्रमशः जीव विकास हुने प्रक्रियामा नै यो थप विकसित मानवमा रूपान्तरित भई ११ हजार वर्ष अघिबाट मात्र मान्छेहरूले बुद्धि र जुक्तिको विकाससँगै आगोको आविष्कार गर्दै जमिनमा खेतिपाति गर्ने, घर बनाउने र सामूहिक–सामाजिक सुरक्षा प्रणाली अपनाउँदै अघि बढेको देखिन्छ। 

औद्योगीकरणपछि सन् १९४५ मा जब पृथ्वी नै कृत्रिम रूपले विनाश गर्न सक्ने प्रवृत्ति बोकेको हिरोसिमा दुर्घटना भयो, सोही समयबाट आणविक युगको थालनी भयो। वैज्ञानिकहरूले यसपछिको समयलाई नै 'एन्थ्रोपोसिन खण्ड' (मानवले पर्यावरणमा पारेको अतुलनीय विनाशको खण्ड)  भनी नामकरण गरे। यही खण्डमा नै अधिक ऊर्जा प्रयोगबाट प्रकृतिको चरम लुटपाट भयो र मानिसको सर्वत्र आधिपत्यताले जैविक असन्न्तुलन आयो। प्रजाति विनाशको दर पहिलेभन्दा हजारौँ गुणा बढी हुन थाल्यो। 

इभोलूसनरी टाइमलाइनमा हेर्दा विगत लाखौँ वर्षको अन्तरालमा हुने मास विलोपन परिघटना एन्थ्रोपोसिन कालखण्डमा भने अति छिटो भयो। यति छोटो इतिहासको कालखण्ड (१०० वर्ष) मा ७० प्रतिशत जैविक विविधता अन्त्य हुनेतर्फ अघि बढेको देखियो। यसैलाई छैटौँ आम जैविक विलोपनको क्रमिकता भनिएको छ। यस्तो खाले विनाशको तीव्रता हुनुमा मानवसृजित औद्योगीकरण, अधिक उपभोग र तापमान वृद्धि एवं जलवायु परिवर्तनलाई जिम्मेवार कारक ठानिएको छ। 

मानवका क्रियाकलापले कसरी जैविक विविधताको विकास प्रक्रिया अवरुद्ध गर्‍यो?

औद्योगीकरणपछि मानिसले ऊर्जा, विज्ञान, प्रविधि, मेसिन र नाफालाई प्रकृतिको दोहनमा एकीकृत रूपले प्रयोग गरे। तत्पश्चात् जैविक विविधताको संकटको युग शुरू भयो। अधिक उपभोग र मनोरञ्जनात्मक (युटिलिटेरियन) संस्कृतिको चाप हुन गई वनजंगल विनाश र रूखबिरुवा कटान, जीवजन्तुको शिकार, समुद्री माछाको अधिक खपत र प्लास्टिकलगायतका कारण पारिस्थितिक प्रणालीको पुनरुत्पादन क्षमता नै कम भयो र 'प्लानेटोरी' वृद्धि ('इकोलोजिकल ग्रोथ रेट') घट्यो।  

यी कारणले प्रकृतिको मूल सञ्चयमा धावा बोलियो। त्यसले जैविक विविधताको सञ्चिति र स्रोत कम भएर गयो। उपभोग र माग बढ्न जाँदा निरन्तर र अधिक दोहन भयो। जसले गर्दा जैविक विविधताको वृद्धि हुने प्रक्रिया ('बायोडाइर्भर्सिटी प्रोसेस') नै अवरुद्ध भएर गएको देखियो। अब बायोलोजिकल स्टक कम भई वृहत् जैविक विलोपनतिर पृथ्वी बढ्दै गरेको देखिन्छ।  

जीव विज्ञान र जैविक पद्धतिमा मूल रूपले जैविक विविधताको आनुवंशिक, प्रजातिगत र पारिस्थितिक प्रणालीको तह भरिपूर्ण हुने प्रक्रियामा निम्न परिघटनालाई चक्रीय रूपमा नियमन गरी प्रकृतिले नै सन्तुलनमा राख्ने गर्छ। तर एन्थ्रोपोजेनिक कारणहरूले यस्तो सन्तुलन हुने प्रक्रिया अवरुद्ध गरेकाले नै वैश्विक जैविक विविधता हालको एन्थ्रोपोसिन खण्डमा ७०प्रतिशत कम भएको अनुमान गरिएको छ। यो निरन्तर कम हुँदै पूर्ण विलोपनतर्फ गएको देखिन्छ। जैविक विविधतालाई प्रतिकूल असर पार्ने कारणहरू यस प्रकार छन्: 

१) प्रजातीकरण (स्पेसिसेन): पारिस्थितिक प्रणालीको कुनै निश्चित इकाईमा प्रजातीकरण कायम गर्न त्यहाँ रहेको प्रजातिको जनसंख्याको समूहले एक आपसमा सन्तानोत्पादन गरी 'ब्रिडिङ प्रक्रिया'लाई नियमन गर्छन्। जनसंख्या कायम गर्न 'फर्टिलाइजेसन' गर्दा भाले र पोथीको ब्रिडिङ अनुपात मिलेको हुन्छ, तर मानिसहरूले यसमा कुप्रभाव पार्न सक्छन्। बढी रूख कटान गर्ने, बढी माछा मारिदिने वा जीवजन्तु शिकार गर्ने वा अन्य तरिकाले अवरुद्ध गर्ने भएकाले प्रजातिको जनसांख्यिक रेसियोमा असन्तुलन पैदा हुन्छ र जैविक विलोपनतिर जान्छ। 'अलोपेट्रिक' ('पोलिप्लोडी'–क्रोमोजोनलजन्य) र 'सिम्पाट्रिक' (भूगोलजन्य) स्पेसिजेशनमा मानिसहरूले प्रतिकूलता थपिदिने गर्छन्।

२) बसाइँ सराइ र हिँडडुल: जीवजन्तुहरू आफ्नो वंश कायम राख्न, जनसंख्या बढाउन, पालनपोषण गर्न बसाइँ सराइ गर्छन्। साइबेरियन चराहरू कोशी टप्पूसम्म आएको हामीले सुनेका छौँ। त्यस्तै, मेक्सिकोका मोनास पुतली लाखौँ किलोमिटर यात्रा गर्छन्। कैयौँ माछाहरू नदीनाला हुँदै समुद्रमा गई बच्चा हुर्काएर फर्कन्छन्। यस्तो प्रक्रियामा जल प्रदूषण गर्ने, जलविद्युतजस्ता पूर्वाधार बनाउने, ढुङ्गा निकाल्ने, प्लास्टिक बिर्सजन गर्ने, कोरिडोर कनेक्टिभिटीका कारण जीवका बसाइँ सराइमाथि प्रतिकूल अवस्था सिर्जना हुन पुग्छ। यस्ता अनेकौँ बाधा व्यवधानका कारण जैविक विविधता निर्माण हुने प्रक्रिया अवरुद्ध हुन्छ।

३) जैविक आक्रमण (बायोलोजिक इन्भेसन): स्थानीय प्रजातिको सट्टा परस्थानीय प्रजातिले यस्तो समस्या पैदा गरेका छन्। नेपालमा बाहिरी प्रजातिका बनमारा र माइकेनिया लहराले चितवन निकुञ्ज लगायत अन्यत्र पनि पर्याप्त असर पारेको देखिन्छ।

४) अवरोध: प्रकृतिमा लगातार हुने अवरोध र हस्तक्षेपले जैविक विविधता कम गर्ने गरेको छ। आगलागी, बाढी पैरो, हिमपात, ज्वालामुखी र अन्य अवरोध यसमा पर्छन्।

५) अन्य कारण: वासस्थानको क्षेत्रफल कम हुने, कम 'रेन्ज' अनुपात, कम आहारा, शिकारी र शिकार सम्बन्ध, निम्न उत्पादकत्व, जैविक प्रतिस्पर्धा र सहअस्तित्व लगायत अन्य थुप्रै कारणमा मानवीय क्रियाकलाप (एन्थ्रोपोसिन एक्टिभिटी) ले नकारात्मक प्रभाव पैदा गर्दा जैविक घनत्व र जनसंख्या निर्धारणको प्रक्रियामा बाधा पुगेको देखिन्छ।

जैविक विविधता र नेपालको सन्दर्भ 
०.१ प्रतिशत मात्र भूभाग ओगटेको, विश्व मानचित्रभित्रको सानो मुलुक र समुद्री पारिस्थितिक प्रणाली नभए पनि नेपाल जैविक विविधतामा धनी नै मानिन्छ। वैश्विक रूपले २५औँ र एसियामा ११औँ स्थानको जैविक विविधता सम्पन्न मुलुकका रूपमा नेपाललाई लिइन्छ। 

खासगरी 'पेलियोआर्कटिक' र 'इन्डोमलायम' एवं 'ओरन्टल बायोस्फेर/रिअम'को सम्मिश्रणको कारक तत्त्वले यस्तो जैविक समृद्धि भएको भनिएको छ। नेपालमा विश्वको ३.२ प्रतिशत फूल फुल्ने वनस्पति र १.१ प्रतिशत जनावर रहेका छन्। यहाँ ३५ प्रकारका वन र एक ११८ प्रकारका पारिस्थितिक प्रणाली पनि रेकर्ड भएको छ। संसारमा पाइने चराको ९.२ प्रतिशत (८२२) प्रजाति नेपालमा छन् जबकि निकै ठूलो देश अमेरिकामा छ ६०२ प्रजातिका चरा मात्र रहेको देखिन्छ। 

नेपालमा स्तनपायीको संख्या ५.१ प्रतिशत छ। 'इन्डेमिक' प्रजातितर्फ हेर्दा २८६ प्रजातिका वनस्पति र १६६ प्रजातिका वन्यजन्तु रैथाने देखिन्छन्। अहिले जैविक विविधता कायम राख्न नेपालले आफ्नो भूभागको २३.३३ प्रतिशत भूमि संरक्षित क्षेत्रका रूपमा निकुञ्ज, आरक्ष वा अन्य वर्गमा राखी संरक्षण गरेको छ। मानिसको जनसंख्या वृद्धि, बसाइँ सराइ, अराजक शहरीकरण, कृषि क्षेत्रका लागि वन फँडानी, निकुञ्जमा चोरी शिकार, बाटो र पूर्वाधारका लागि रूख कटानी बढ्दै जानु लगायतका कारणबाट जैविक विविधतामा असर त परेको छ नै, अहिले थप हुन गएको जलवायु परिवर्तन र तापमान वृद्धिले पनि चुनौती थप्ने निश्चित देखिन्छ। 

जलवायु परिवर्ततनका कारण नेपालको वार्षिक औसत तापमान ०.६ डिग्री सेल्सियस बढ्दै गएको छ। यसले गर्दा हिमाल पग्लिने र हिमनदी संकुचन हुने जस्ता कुप्रभावहरूले हिमाली पारिस्थितिक प्रणालीमा नोक्सानी त हुने भयो नै, अर्कोतिर निकुञ्ज आरक्षमा पानीको परिमाण घट्न र तातोपन बढ्न जाँदा वन्यजन्तु र वनस्पतिको 'मेटाबोलिज्म', वासस्थान परिवर्तन, आहार विहारमा फरकपन, आप्रवासनजस्ता  क्रियाकलापको जोखिम देखिन्छ। 

गर्मी र सुक्खापनका कारण आगलागीको प्रकोप उत्तिकै बढ्दो छ। यी कारणले गर्दा जैविक विविधतालाई नकारात्मक असर गर्ने देखिन्छ। नेपालमा धेरै रैथाने वनस्पति भएको उचाइ क्षेत्र 'ट्रीलाइन' ४ हजार मिटर आसपास रहेकाले सो जैविक क्षेत्र 'सिफ्ट' होला कि भन्ने भय देखिन्छ। 

जैविक प्रजातिको बाहुल्य भएको क्षेत्र नेपालमा एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरभित्र रहेकोमा मानवीय क्रियाकलापको चाप मध्यपहाडमा बढी छ। बढी वन फँडानी यसै क्षेत्रमा हुने गरेको छ र यसमा तापमान वृद्धि जोडिन जाँदा सुक्खाको प्रकोप भई गर्मी याममा बढी आगलागीको  तथ्यांक समेत देखिएको छ। यस वर्ष यो उचाइमा तीन हजार ७०० स्थानका वनमा आगलागी भएको देखिएको छ। त्यसले झनै प्रतिकूलता थप्ने देखिन्छ। यसर्थ, चिस्यान कम हुने, सुक्खापन बढी हुने, तापमान बढ्ने र आगलागीका कारण हुने प्रजाति विलोपन र जैविक विविधतामा पर्ने नोक्सानीका कुरामा ध्यान दिनु अति जरूरी भएको छ।

जैविक विविधता कायम गर्न के गर्ने?
जैविक विविधता जोगाउने उद्देश्यका साथ सन् १९९२ को पृथ्वी सम्मेलनमा पारित भएको 'सीबीडी अभिसन्धि' मातहत रहने गरी संयुक्त राष्ट्रसंघले विश्वव्यापी रणनीतिका रूपमा 'कोप १५' मा 'पोस्ट–२०२० फ्रेमवर्क' र 'भिजन–२०५०' ल्याएको देखिन्छ। भिजन–५० ले प्रकृतिसँग सद्भावपूर्ण जीवन (लिभिङ हार्मेनी विथ नेचर)  भन्ने नारा तय गर्नुका साथै २१ वटा कार्य प्रणाली र १० वटा 'माइलस्टोन' पनि तय गरेको देखिन्छ। यसभित्रको 'कुन्मिङ–मोन्ट्रियल (के.एम.) ग्लोबल बायोडाइभर्सिटी फ्रेम वर्क'लाई एक १९२ मुलुकले लागू गरेका पनि छन्। 

यसले पनि भू–उपयोग परिवर्तन, बढी वन फँडानी, खानी, शहरीकरण, औद्योगिक प्रदूषण, प्लास्टिक उपभोग र जलवायुजन्य तापमान वृद्धिलाई नै जैविक विविधताको लागि खतरा मानेको देखिन्छ। सो अभिसन्धिले मूल रूपमा 'पारिस्थितिक पुनर्स्थापना'मा जोड दिएको छ भने 'कार्टाहेना बायोसेफ्टी प्रोटोकल' र 'नागोया आनुवंशिक लाभ बाँडफाँडको सहमति'लाई पनि आन्तरिकीकरण गरेको छ। 

गत डिसेम्बर, २०२२ मा भएको यही के–एम बैठकले ३०/३० को रणनीति अँगाल्न सबै देशहरूलाई आग्रह गरेको छ। यसअन्तर्गत सन् २०३० भित्र सबै मुलुकले आफ्नो भूभागको कम्तीमा पनि ३० प्रतिशत जमिन वा जङ्गलजन्य पारिस्थितिक प्रणाली र ३० प्रतिशत समुद्री पारिस्थितिक प्रणाली (जलीय रूपमा सिमसार, पोखरी, ताल वा नदी बेसिन भए पनि हुने) लाई संरक्षित क्षेत्रका रूपमा व्यवस्थापन गर्न आग्रह गरेको छ। पृथ्वीको ३० प्रतिशत भूभाग कम्तीमा पनि जैविक सम्पदाको संरक्षणका लागि राख्न सो बैठकले आग्रह गरेको छ।  

नेपालले हाल संरक्षण गरेको २३.३३ प्रतिशत जमिनजन्य संरक्षित क्षेत्रको भूभागमा सात प्रतिशत बढाउनुपर्ने देखिन्छ भने जलीय वा रामसार क्षेत्र त जम्मा २.६ प्रतिशत रहेकोमा धेरै नै थप्नुपर्ने देखिन्छ। पारिस्थिकीय क्षेत्र छनोट गर्दा समग्र चुरे क्षेत्र नै संरक्षित रूपमा राख्नु उचित देखिन्छ। तर विडम्बना, सरकार नै चुरेको विध्वंस हुने गरी ढुंगा गिट्टीको व्यापारमा लाग्ने गरी अघि बढ्दै छ। यसमा सच्याउनु आवश्यक छ। 

यसरी नै ससाना खोल्साखोल्सी, 'रिपारियन' मुहान, ताल तलैया र नदी प्रणालीहरू पनि कानूनी रूपमा नै संरक्षण गरी राख्दा राम्रो नतिजा आउने देखिन्छ। कम जनसंख्या भएका र वासस्थान क्षेत्रफल सानो भएका अति सङ्कटापन्न र लोपोन्मुख प्रजाति जस्तै: अर्ना, कृष्णसार, बाघ, हिमचितुवा, गौर, चौका, कस्तुरी, चिरु, खरमयूर, हिसपिड, सानो बँदेल, हात्ती वा यस्तै अन्य प्रजातिका लागि पनि विशेष क्षेत्र वा वासस्थान क्षेत्र वृद्धि गर्नुपर्ने देखिन्छ भने सिमसार प्रवर्द्धनका लागि कृषि पर्यावरण संरक्षण विधिलाई पनि सँगसँगै लैजानु उचित हुने देखिन्छ, किनकि कृषि प्रणालीमा समेत वृहत् जैविक विविधता पाइन्छ। 

त्यसका साथै मध्य पहाडमा जैविक कोरिडोर मार्ग बनाउन र निकुञ्ज तथा आरक्षलाई एकआपसमा जोड्न उचित देखिन्छ। जस्तै, चितवन निकुञ्ज, अन्नपूर्ण क्षेत्र र मनासलुसमेत गरी ‘चाल’ वा ‘चामल’ क्षेत्र बनाउन सकिने हुन्छ भने त्यसैगरी शुक्लाफाँटा, बर्दिया र बाँके निकुञ्जसमेत जोड्न सकिने देखिन्छ। खासगरी ठूला नदी र तिनका बगर जैविक मार्गका रूपमा वन्यजन्तुले ओहोरदोहोर गर्दा प्रयोग गर्ने गरेको हुनाले त्यस्ता परम्परागत 'हरियो मार्ग'मा पूर्वाधार बनाउन नदिने (वा बनाइहालेमा अन्डरपास र ओभरपास बनाउने) गरी समग्र जैविक विविधतामैत्री नीतिको विकास गर्नुपर्छ। 

अहिलेको वन्यजन्तुमैत्री पूर्वाधार नीति एकपक्षीय र अपूरो छ। मूलत: सडक मार्ग र जलविद्युत आयोजनाहरूले नदी कोरिडोरलाई असुरक्षित पारेका छन्। तसर्थ, नदी प्रणालीहरू उत्तर–दक्षिण पारिस्थितिक प्रणालीहरू जोड्ने प्राकृतिक जैविक मार्ग पनि भएकाले यतातिर गम्भीर रूपले सोच्नु जरूरी देखिन्छ। वनस्पति प्रजातिका लागि केही वनस्पति उद्यानहरू थप गर्ने वा अन्य संरक्षित क्षेत्रका हरिया मोडालिटी पनि अपनाउनुपर्ने हुन्छ। 

जलवायु परिवर्तन र तापमान वृद्धिसँगै जैविक विविधतामा आउने चुनौतीहरूसँग जुध्न र छैटौँ आम जैविक विनाशका सन्दर्भमा न्यूनतम प्रजाति लोप हुने गरी पूर्वतयारी अपनाउन नेपालले १ करोड वर्षअघि बनेको हिमाली पारिस्थितिक प्रणालीको विविधता कायम गर्नु आवश्यक छ। त्यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरूले नयाँ सिराबाट छलफल गरी संयुक्त राष्ट्र संघले भनेअनुसार सकभर ३० प्रतिशत भूभागलाई जैविक विविधतायुक्त संरक्षित क्षेत्र बनाउनेतर्फ अग्रसर हुनुपर्छ। 

घिमिरे वन तथा भूसंरक्षण विभागमा कार्यरत छन्।


सम्बन्धित सामग्री