पछिल्लो पटक पर्सा वन्यजन्तु आरक्षभित्र थुनिएका तीन वटा बाघ मरे। ती बाघको हेरचाह र संरक्षणसँग जोडिएका कर्मचारीमध्ये एक जनाले बाघको मृत्युको कारणमा यथोचित हेरचाहको अभाव र दुई वटा बाघ राख्ने ठाउँमा तीन वटा बाघ राखेको उल्लेख गरे। सो घटनाबारे सम्बन्धित निकाय र व्यक्तिका केही भनाइ बाहिर आए पनि आधिकारिक रूपमा धारणा भने बाहिर आएको छैन।
यो एउटै घटनाले के बुझिन्छ भने अनेक कारण देखाएर फरक ठाउँमा बाघलगायतका जनावर समातिन्छन्। तिनलाई बचाउने या अन्य नाममा सानो खोरमा थुनिन्छ। तिनले प्राकृतिक वातावरण पाउँदैनन्। पर्साकै घटनामा सार्वजनिक भएका तस्वीर हेर्दा मृत बाघ दुब्ला देखिन्थे। त्यसबाट तिनको आहार र रेखदेखमा सम्झाैता गरिएको अनुमान गर्न सकिन्छ। यतिचाहिँ भन्न सकिन्छ, मान्छेको गलत व्यवस्थापनकै कारण बाघ मरे। आममान्छेलाई त बाघको मृत्यु कुनै महत्त्वपूर्ण विषय नै भएन। दुःखको कुरा, प्रकृति र वन्यजन्तुसम्बन्धी काम गर्ने नाम चलेका संस्थाले पनि यसमा तदारुकता देखाएनन्।
अलि अघिबाटै 'मिनी जु'का नाममा देशका विभिन्न स्थानमा पशुपक्षीको अव्यवस्था र तीप्रति संवेदनाहीन देखिएकै हो। कतिपय सामुदायिक वन, राष्ट्रिय पार्क तथा स्वयं गाउँपालिका र नगरपालिकाले वन्यजन्तु व्यवस्थापनका नाममा पशुपक्षी थुनेर या बाँधेर राखेका छन्। वन्यजन्तुको व्यवस्थाको कानूनी अधिकार स्थानीय निकायलाई होला, तर 'व्यवस्थापन गरिएको' जीवजन्तुप्रति तिनको जिम्मेवारी पनि हुन्छ। तर वन्यजन्तुप्रति यस्तो सोच बिरलै छ। पशुप्रति उचित व्यवहार सभ्य समाजको आधार हो। हामीले हाम्रो व्यवस्थालाई अझ उन्नत बनाउने हो भने हो भने हामीले पशुप्रति उचित व्यवहार गर्नैपर्छ। तर आम मनोविज्ञान 'जाबो पशु' भन्ने छ।
मान्छेलाई झम्टेको या खाएको भन्दै जनावरलाई निश्चित ठाउँमा कैद गरिएपछि तिनको उचित व्यवस्थापन हुनुपर्छ। भरतपुर नगरपालिकाले खोरमा बाघ थुन्दै मचानजस्तो संरचनामार्फत सो जनावर सर्वसाधारणलाई देखाउन थालेको छ। के यस्तो अभ्यास सही हो? यो वन्यजन्तुमैत्री अभ्यास हो? त्यसबाट महानगरलाई केही कमाई पनि होला, तर जैविक विविधता र पशुकल्याणको दृष्टिकोणबाट पनि त्यसलाई हेर्नुपर्छ कि पर्दैन? सारा जंगल डुल्ने जनावरलाई सानो खोरमा थुन्ने कुरा आफैँमा गलत हो। थुन्नै पर्दा पनि बाघ एकान्त त रुचाउने प्राणी हो। त्यसलाई सार्वजनिक प्रदर्शनीमा राखेर हामी वन्यजन्तुप्रति मान्छेले गर्ने व्यवहारबारे आम जनतामा के सन्देश दिइराखेका छौँ?
पोखरा, हेटौँडा, नेपालगन्जलगायत अन्य धेरै ठाउँमा पनि वन्यजन्तुलाई थुनेर सानो खोरमा राखिएका छन्। यदि चिडियाखानामा पशु थुनेर राख्न हुन्छ भने अन्यत्र किन नहुने भन्ने प्रश्न पनि उठ्छ। तर पशु थुनेर मनोरञ्जन लिने कुरा आफैँमा स्याडिस्ट (परपीडक) सोच हो भन्ने मलाई लाग्छ। हामीलाई चाहिएको त घाइते र समस्यामा परेका वन्यजन्तुको रिह्याबिलेसन सेन्टर (पुनर्स्थापना केन्द्र) हो। आठ दशकपहिले जुद्धशमशेर राणाले स्थापना गरेको चिडियाखाना आजको युग र चेतनाअनुसार सुहाउँदैन पनि। स्मरणीय छ, त्यही चिडियाखानासमेत सानो भयो भनेर सार्ने विषय उठेकै तीन दशक जति भइसक्यो।
तर हामी त्यसमा काम गरिराखेका छैनौँ। वन्यजन्तुको उपचार र पुनर्स्थापनाका लागि नेपालमा आजसम्म एउटै केन्द्र छैन। जबकि वन्यजन्तुको केन्द्र–अफ्रिकादेखि विश्वका अनेकन् देशमा वन्यजन्तु उद्धार, पुनर्स्थापनाको अभ्यास हुने गरेका छन्। कैयौँ देशमा खुला चिडियाखानाको अवधारणामा गइराखेको छ भने हामीचाहिँ यति परम्परागत र रुग्ण अभ्यास किन गरिराखेका छौँ? त्यसो हुँदा यी सबै ठूला-साना चिडियाखाना खारेज गरी त्यसको सट्टामा राम्रो पुनर्स्थापना केन्द्र स्थापना आवश्यक भइसकेको छ।
पशुलाई यो या त्यो नाममा थुनेर राख्ने र त्यसैबाट पैसा कमाउने कुरा कतैबाट पनि न्यायोचित हुँदैन। छनलाई त केही सीमित देशले लोपोन्मुख जन्तुको ब्रिडिङ गरेर त्यसका छाला, मासु र हाडका व्यापार पनि गरेका छन्। तर त्यो सही तरिका हो त?
देशभरको प्रकृति र प्राणीको हितका लागि सरकारीस्तरमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काम गर्छ। वन्यजन्तुमाथि भएका गलत क्रियाकलापमा कोषको जवाफदेहिता हुनुपर्ने हो। एकातर्फ वन्यजन्तुको निवास भत्काएर ठूला संरचना बनाउने, त्यही कारण भागेको वा अन्य कारणबाट घाइते भई अथवा खानाको खोजीमा गाउँबस्तीमा छिरेका पशुलाई खोरमा थुनेर राख्ने? जनावरलाई बिलकुलै निर्जीव वस्तु जस्तो व्यवहार गरिनु गलत हो। वन्यजन्तुको वासस्थानको संरक्षणबारे कुनै योजना चाहिँ नहुने, तर पशुपक्षीलाई थुनेर/पासो थापेर मनोरञ्जन लिने काम भर्त्सनायोग्य हो।
फेरि, केही तथाकथित जनावरविज्ञ पनि छन्, जो स्वयं जनावर 'ब्रिडिङ' गरेर विदेश पठाएर पैसा कमाउँछन्। जनावरलाई बीचमा राखेर दलाली गर्दै पैसा कमाउनेबाट पनि संरक्षण अभियानलाई जोगाउनु आवश्यक छ। तिनीहरूजस्ता मान्छे भन्ने गर्छन्, "एउटा बाघ थुनेर के भयो त?" तर जैविक विविधताका लागि एउटा बाघको पनि ठूलो अर्थ हुन्छ। यति सामान्य कुरा बुझ्नलाई कुनै विश्वविद्यालय गएर जैविक विविधता र प्रकृतिबारे पढ्न पनि पर्दैन। थारू समुदायमा गएर सोध्ने हो भने तिनलाई जंगलका वनस्पति, अनेक वन्यजन्तु र तीबीचको सम्बन्धबारे थाहा छ।
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)जस्ता संगठनले नेपालमा बाघको संख्या बढाउने भन्दै नेपालमा काम गरे। त्यसमा नेपालले लक्ष्य हासिल पनि गर्यो। बाघको संख्या बढ्यो पनि। संसारभर बाघको संख्या घटेकोमा यहाँ बढेको भन्दै अरू देशमा नेपालको तारिफ पनि भयो। अन्तर्राष्ट्रिय रूपमा धेरै पुरस्कार र लाभ पनि पायो संस्थाले। तर बाघको हितमा काम गर्दैगर्दा दीर्घकालीन रूपमा चाहिँ संस्थाले के–के योजना बनाए त? सरकारले के काम गर्यो?
बर्दिया होस् या पर्सा निकुञ्जका वरपर मानवबस्ती छन्। संरक्षणमा जुट्दै गर्दा संरक्षणमा लागेका निकायले यी बस्तीमा बाघ पस्न सक्छन् भन्नेबारे पनि सोच्नुपर्थ्यो। मानवबस्ती नजिकै हुँदा वन्यजन्तुको वासस्थानमा कति हानि हुन्छ भन्नेबारे पनि सोच्नुपर्थ्यो। त्यसो हुँदा डब्लूडब्लूएफले प्रकृति संरक्षणमा ठूला पुरस्कार पाइरहँदा संस्थाले मानव-वन्यजन्तु निराकरणमा कति काम गर्न सक्यो भन्ने प्रश्न पनि उठ्छ। जंगलमा बस्ने बाघमार्फत चर्चा र पुरस्कार लिइरहँदा अनुचित रूपमा थुनिएका र 'मिसट्रिट' गरिएका बाघ र अन्य जनावरबारे यी स्रोतसाधन सम्पन्न संस्थाले बोल्नुपर्ने हो। तर त्यस्तो देखिँदैन।
'जाबो पशु मरे नि मरोस्' भन्ने सोच सरकारी अधिकारीमा नै देखिन्छ। विभिन्न निकायमार्फत अनुगमन र स्रोतसाधनको ख्यालै नगरीकन तथाकथित 'मिनी जु' सञ्चालनका लागि अनुमति पनि दिइने गरेबाट पशुप्रतिको दुर्व्यवहार झनै बढ्ने देखिन्छ। तर प्रकृति र वन्यजन्तुका क्षेत्रमा काम गर्ने नाम चलेका स्रोतसाधनयुक्त संस्थाले यसमा हस्तक्षेप गर्ने र बोल्ने हो भने फेरि अवस्था बदलिन पनि सक्छ।
वन्यजन्तु संरक्षण अभियानमा लागेकी श्रेष्ठ 'जेन गुडाल इन्स्टिच्युट नेपाल'की कार्यकारी निर्देशक हुन्।