Tuesday, June 18, 2024

-->

अस्वाभाविक हिमपात र हिमपहिरो: यार्सा संकलन जोखिमपूर्ण, उत्पादन घट्दा जीविकोपार्जन मुस्किल

जलवायु परिवर्तनले भइरहेको अस्वाभाविक मौसमी गतिविधिका कारण यार्सागुम्बा संकलन गर्नेहरूले ज्यानै गुमाउने गरेका छन्। यही कारण यार्सा उत्पादनमा कमी आउँदा स्थानीयको जीविकोपार्जन पनि मुस्किल हुन थालेको छ।

अस्वाभाविक हिमपात र हिमपहिरो यार्सा संकलन जोखिमपूर्ण उत्पादन घट्दा जीविकोपार्जन मुस्किल
तस्वीर सौजन्य: वसन्तप्रताप सिंह

काठमाडौँ– दार्चुलाको दुहु गाउँपालिका–४ का प्रविन कुँवरले २०७९ चैतमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिए। परीक्षापछि आमा कमलासँगै उनी दुई दिन पैदल दूरीमा रहेको बोलिन हिमालतिर यार्सा संकलन गर्न गए। तर गएको वैशाख १९ गतेको हिमपहिरोमा परेर उनी कहिल्यै नफर्किने गरी बिदा भए।

दुहु गाउँपालिका–४ का वडाध्यक्ष कृष्णसिंह लोथ्यालका अनुसार उक्त हिमपहिरोमा परेर गुफा र टेन्टमा बसिरहेका चार जनाको ज्यान गएको थियो। “टेन्टमा भएकाहरूलाई हिमपहिरोले च्याप्यो, गुफामा बसेकाहरू ज्यान बचाउन सफल भए,” उनले भने।

कुँवर परिवारको मुख्य आम्दानीको स्रोत नै यार्सागुम्बा थियो। उनीहरूको दैनिक आवश्यकता यार्सागुम्बा बिक्री गरेर प्राप्त आम्दानीबाट चलेको थियो। ३५ सय मिटर उचाइदेखि ५१ सय मिटरसम्मका डोल्पा, जुम्ला, मुगु, दार्चुला, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, मनाङ, रसुवा, संखुवासभालगायतका हिमाली जिल्लामा यार्सागुम्बा पाइन्छ। 

उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू वैशाखदेखि जेठ अन्तिमसम्म करिब दुई महिना यार्सागुम्बा संकलनका लागि लेक उक्लिन्छन्। यो क्षेत्रका कतिपय स्थानमा  यार्सा संकलन गर्ने समयमा विद्यालयसमेत बन्द गरेर शिक्षक र विद्यार्थी नै यार्सा खोज्न लेकतिर पुग्छन्। बझाङका पत्रकार वसन्तप्रताप सिंहका अनुसार यार्सामा मानिसहरूको जीविकोपार्जन जोडिएकाले वैशाखदेखि जेठ अन्तिमसम्म मानिसहरू सबै काम छोडेर यसैमा लाग्छन्।

बझाङसहित सुदूरपश्चिम प्रदेशका उच्च हिमाली जिल्लामै यार्साको मूल्य प्रतिकिलो २० देखि ४० लाखसम्म रहेको सिंहको भनाइ छ। यसरी संकलन गरिएको यार्सा खासगरी चीन निर्यात हुने गर्छ। नेपालबाट कति मात्रामा यार्सागुम्बा निर्यात हुन्छ, त्यसको यकिन तथ्यांक छैन। कतिपय ठाउँबाट अनौपचारिक माध्यमबाट यार्सागुम्बा चीनतर्फ निर्यात हुने भएकाले यसको आधिकारिक तथ्यांक प्राप्त गर्न मुस्किल हुने सरकारी अधिकारीहरू बताउँछन्। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझा औपचारिक च्यानलबाट भन्दा अनौपचारिक च्यानलबाट यार्सागुम्बा चीन निकासी हुने बताउँछन्। सन् २०१५ मा नेपाल राष्ट्र बैंकले गरेको प्रभाव अध्ययनअनुसार सन् २०११/२०१२ मा नेपालबाट तत्कालीन समयको विनियम दर अनुसार ३६ मिलियन अमेरिकी डलर बराबरको यार्सा निकासी भएको थियो।

सन् २०१९ मा १० लाख अमेरिकी डलर बराबरको यार्सा निकासी भएको तथ्यांक छ। सन् २०१२ मा चीनमा प्रतिकेजी यार्साको मूल्य १ लाख ४० हजार अमेरिकी डलर थियो। त्यति बेला सुनभन्दा यार्साको मुल्य तीन गुना बढी थियो।

जलवायु परिवर्तनले चुनौती
यार्सागुम्बाको आर्थिक प्रभाव ठूलो भए पनि हिमाली क्षेत्रमा जलवायु परिवर्तका कारण यार्सा उत्पादन तथा संकलन चुनौतीपूर्ण बनिरहेको छ। जलवायु परिवर्तनका कारण बढिरहेका अस्वभाविक मौसमजन्य गतिविधिले यार्सा संकलनमा कठिनाइ थपिएको छ।

दुहु गाउँपालिका–१ का जितबहादुर बम अस्वभाविक मौसमी गतिविधिका कारण यार्सा सकलनमा बाधा उत्पन्न भएको बताउँछन्। “पहिला पुसमाघमा हिउँ पर्थ्यो, वैशाख, जेठमा हिउँ पग्लिएपछि लेकमा गएर यार्सा संकलन गर्न सकिन्थ्यो,” उनी भन्छन्, “अहिले हिउँ पग्लिएर यार्सा संकलन गर्ने समय वैशाख, जेठ र असारमा हिउँ पर्छ।” 

गत वर्ष व्यास गाउँपालिका–१ को बोलिनमा हिउँपहिरो जानुको कारण पनि वैशाखमा हिउँ पर्नु नै भएको उनी बताउँछन्। जलवायुविज्ञ एवं मध्यपश्चिम विश्वविद्यालयका डिन सुदीप ठकुरीका अनुसार गर्मी महिनामा हिउँ पर्दा जम्न पाउँदैन। ठूलो मात्रामा परेको हिउँ पग्लिने क्रममा पहिरो सिर्जना गर्छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको औसत वार्षिक तापक्रम प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ। तापक्रमको वृद्धिदर समतल र पहाडी क्षेत्रको तुलनामा हिमाली भागमा बढी छ। विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कंडेल तापक्रम वृद्धि हुँदा हिउँका तहहरू पग्लिएर त्यसले हिमपहिरोको जोखिम बढाउने बताउँछिन्। 

सरकारको विपद् पोर्टलका अनुसार सन् २०२२ सेप्टेम्बरदेखि २०२३ सेप्टेम्बरसम्म सात वटा हिउँपहिरोमा परेर १४ जनाले ज्यान गुमाए भने १३ जना घाइते भएका थिए। प्राकृतिक स्रोत, खेतीपाती र पशुपालनमा आधारित गाउँमा बसोबास गर्ने स्थानीय समुदाय जलवायु परिवर्तनको कारण बढी प्रभावित छन्। 

१५ वर्षदेखि यार्सागुम्बा संकलन गर्दै आइरहेकी बझाङको तालकोटकी जुना बुढा पहिला जस्तो यार्सा गुम्बा पाइन छोडेकोमा चिन्तित् छिन्। उनको परिवारको मुख्य आम्दानीको स्रोत नै यार्सागुम्बा हो। यार्सागुम्बा संकलन गर्ने समयमा उनको सम्पूर्ण परिवार लेकतिर जान्छ। यार्सा बिक्री गरेर आउने ३–४ लाख रुपैयाँले वर्षभरि धानिने उनी बताउँछिन्।

अनुसन्धानकर्ता नरेन्द्रबहादुर सिंहसहितले गरेको अनुसन्धानको प्रतिवेदनमा जलवायु परिवर्तनले यार्सागुम्बा उत्पादनमा चुनौती थपिएको उल्लेख छ।

साइपाल गाउँपालिका बझाङका अध्यक्ष मनवीर बोहोरा एक परिवारले यार्सागुम्बा संकलन गरेर वार्षिक ३ देखि ६ लाख आम्दानी गर्ने बताउँछन्। “यदि हिमाली क्षेत्रमा यार्सागुम्बा पाइन छाड्यो भने मानिसहरूको आर्थिक अवस्थामा त्यसले निकै ठूलो नोक्सानी गर्छ,” उनी भन्छन्, “यार्सागुम्बा हिमाली क्षेत्रका धेरै मानिसहरूको राम्रो आम्दानीको स्रोत हो र त्यसले स्थानीयको जीवनमा राम्रो प्रभाव पारेको छ।” 

यार्सागुम्बाबाट स्थानीयहरूको आर्थिक अवस्थालाई मात्र बलियो बनाएको छैन, स्थानीय पालिकाको आम्दानीको राम्रो स्रोत पनि बनेको छ। साइपाल गाउँपालिका अध्यक्ष बोहोराका अनुसार उनको गाउँपालिकाले यार्सागुम्बाको रोयल्टीबाट वार्षिक करिब २० लाख रुपैयाँ प्राप्त गर्छ।


सम्बन्धित सामग्री