Saturday, April 27, 2024

-->

ब्लग
नटुवा उस्तै, चमार उकासिँदै

नटुवा समुदाय घुमन्ते/फिरन्तेमै अल्झिइरहनु र चमार, हरिजनको जीवनस्तर, आत्मविश्वासमा सुधार हुनुमा दुई कुराले काम गरेको छ। चमार, हरिजनसँग पुर्जासहितको धेरथोर जग्गा छ। घरैपिच्छेजसो वैदेशिक रोजगारीमा छन्।

नटुवा उस्तै चमार उकासिँदै

कपिलवस्तुको शुद्धोदन गाउँपालिकाको इमिलिया। दुई महिला छन्, रिता नटुवा र बबिता नटुवा। २०/२५ वर्षका हुँदा हुन्। भान्टाङभुन्टुङ छन्– दुवैका गरी फुटबल टिम पुग्ने। पुसको जाडोमा बाटो छेउको बगैंचामा ओत लाग्न तिनले प्लास्टिकको पाल लगाएका छन्। तिनका श्रीमानहरू चाहिँ माग्न बस्तीतिर छिरेका छन्।

घर छैन र? यो जाडोमा पनि पालमा किन?

मगन्ते जात हो, एकैठाउँमा माग्न गइरहँदा दिँदैनन्, टाढा–टाढा पुगेर पनि माग्नुपर्छ।

बाल्यकालमा होस सम्हालिँदै गर्दा गाउँ छेउछाउको सार्वजनिक चौर, खरबारीतिर बेला–बेला यस्तै क्याम्प गरेको देखिन्थ्यो। क्याम्प गर्नेहरू महिला, बालबालिका माग्न घरघरै डुल्थे। पुरुष सिकार गर्न निस्किन्थे। कोही गोमन सर्प खेलाउँदै माग्थे। टाउकामा घैँटोको चाङ लगाएर कल देखाउने बालबालिकासहित माग्न आउने पनि हुन्थे। फिरन्ते भई मगन्ते काम गरी जीविका चलाउने ती बञ्जारा नटुवा भनेर चिनिन्थे। 

आफूले बाल्यकालमा पनि भक्खरै होस सम्हाल्दै गर्दाखेरी देखेको दृश्य छोरी बालिग भइसक्ताधरी परिवर्तित भएको रैनछ। घरजग्गा छैन भने बास त छ, धनपुर्जा छैन। ज्याला मजदुरी गरे रोजगारी छ, नभए छैन। धेरैजसोले मगन्ते भई जीविका चलाइआएका छन्। परिवार नियोजनका अनगिन्ती कार्यक्रम चलिसक्ता पनि बच्चा उही जन्माएको जन्मायै छन्। एउटा परिवर्तनचाहिँ देखियो, हरेकसँग नागरिकता (वंशज) प्रमाणपत्र। 

नाम? 
–बदरुन नटुवा 

उमेर?
–५० जति भए हुँला 

छोराछोरी?
–सात छोरी, एक छोरा

दिलीप नटुवा (२६) त कति छोराछोरी सोध्दा ‘अँ चारपाँच भए होलान्’ भन्छन्।   

“धेरै छोराछोरी भए माग्न जानेको संख्या बढ्छ, धेरै पाइन्छ, खानलाउन सजिलो हुन्छ भन्ने सोच छ,” नटुवाका अगुवा भन्न मिल्ने अनिल नटुवा सुनाउँछन्। 

त्यही पालिकाको अर्को ठाउँ मोतीभारी। स्कुलको चौरमा भेला भएका दलितहरूसँग गफिँदा अवस्था आनका तान फरक छ।

गुडिया चमार (१७) लाई अहिले सबैभन्दा तनाव दिएको छ स्कुलमा पढाउने ‘टिचर’को अभावले।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कन्या सेक्सनमा कक्षा ११ मा पढ्ने गुडियाका अनुसार ६ मध्ये दुई विषयको त स्कुलमा पढाइ भएकै छैन, बाँकी चारको धेरथोर। गुनासो गर्दा टिचरहरू उल्टै तलबै नपाएको गुनासो गर्छन्। अर्थात् गुनासो सुन्ने अधिकारी नै गुनासो गर्ने अधिकारी भइदिएपछि कसलाई भन्ने, के भन्ने? गुडियासँगसँगै ममता हरिजन, सञ्जु हरिजन, सुमन धोबी र उर्मिला हरिजन लहरै बसेका छन्। दलित समुदायको प्रतिनिधित्व गर्ने ती सबैको उही गुनासो थियो, ‘स्कुलमा टिचर उपलब्ध भएनन्।’ 

मधेशी दलित बस्ती हल्का घुमघाम र अन्तरक्रियाको अनुभव भएको मेरा लागि ती नानीहरूको टाठोपन अद्भूत थियो। पढ्दैछन्, आत्मविश्वासले भरिपूर्ण छन्। थप कुरा गर्न खोज्दा गुडियाको जवाफ थियो, “गुनासो सुनाएपछि टिचर उपलब्ध हुनुपर्छ, नत्र तपाईंहरूसँग गुनासो गरिरहनुको अर्थ छैन।”

‘छुवाछूत त हुन्छ नै होला, गाउँमा बेसी हुन्छ कि स्कुलमा?’

समस्या घट्दै गए पनि अवशेषहरू बाँकी छन्। स्कुलमा कम गाउँमा बेसी छ। नल प्रयोग गर्दा आपत्ति जनाउँछन्, छोटामोटा विवाद भइरहन्छ। उच्च जातका भनिएकाले स्कुलमा केही भन्न नसके पनि ‘खासगरीकन एउटै बेञ्चमा बस्नुपर्दा उनीहरूको अनुहारको भावभंगीमाले बुझिहालिन्छ नि’ भन्दै थिइन् ममता हरिजन। अनि ‘सामाजिक सञ्जाल प्रयोग गरिन्छ कि गरिन्न’ सोधियो।

गुडिया शुरूमा त ‘टिकटक बन्द भइगयो नि’ भन्दैथिइन। अरू प्लाटफर्महरू पनि त छन्। त्यसो भनेपछि मात्र उनले राज खोलिन्, टिचर नभएपछि उनी युट्युबकै कक्षा लिने रहिछन्।

मधेशका बस्तीतिर पुग्दा बडा आनन्दित हुने दृश्य हो, एउटै पोसाकमा साइकलमा सरर स्कुल जाँदै/फिर्दै गरेका नानीहरू। विहारमा १८ वर्षदेखि मुख्यमन्त्री रहिरहेका नितिशकुमारले उनको लामो कार्यकालमा हासिल भएका उपलब्धिहरूको तस्वीरहरू प्रदर्शनी गर्दा कस्ता तस्वीरमा सबैभन्दा गौरवान्वित महसुस होला भन्ने प्रश्नको उत्तरमा भनेका छन्, “साइकलमा स्कुल जाँदै गरेका छोरीहरूको तस्वीर।” 

स्कुल पोसाकमा साइकलमा सरर फर्किंदै गरेकी नानी देखिइन्। 

नाम रेखा चमार, कक्षा १० मा पढ्दै गरेकी। उनै तेजतर्रार गुडियाकी बहिनी। 

सोधेँ, “पढेपछि के बन्ने?”

“पुलिस अफिसर”

अरे बाफ्रे, सिनेमा 'साइड इफेक्ट' हो?

सिनेमाको प्रभावलाई नजर अन्दाज गर्न नसकिने बताउँदै उनले पुलिसको पोसाकले आकर्षित गर्ने गरेको सुनाइन्। अनि त्यसैमा थपिन्, “फेरि मलाई भ्रष्टाचारी भन्नासाथ थुन्दिऊँ थुन्दिऊँ लाग्छ।”

सम्भ्रान्त परिवारका औसत लड्काहरूले जागिर खाने ठाउँ बनेका सुरक्षा संगठनहरूमा आरक्षणको बन्दोबस्तपछि त्यसअघि कल्पनै गर्न नसकिने दृश्यहरू देखिन थालेका छन्, दलित युवतीहरूले पनि मौका पाइरहेका छन्। मैले चाहिँ रेखालाई ‘फलो’ नै गर्ने योजना बनाएको छु, पुलिस अधिकृत बन्ने उनको योजना बदलिएन भने।

चिनजानकै दलित अभियन्ता अधिवक्ता रक्षाराम हरिजन यतैतिरका हुन् भन्ने थाहा पाइयो। काठमाडौँ फिरेपछि रक्षारामजीसँग दुईवटा दलित बस्तीको आफ्नो छोटो अवलोकन साझा गरियो। रेखाको पुलिस अफिसर बन्ने लक्ष्य र कारण सुनाइयो। “दलित सशक्तिकरणमा केही नभएको होइन, भएको छ,” उनी सुनाउँछन्, “दलित नानीमा रेखाको स्तरको आत्मविश्वास त मेरै लागि पनि नयाँ र सुखद खबर हो।” 

नेपाली समाज वैदेशिक रोजगारीलाई एकदमै नकारात्मक प्रस्तुतीकरण गर्नेतिर गइरहेको छ। समाचारहरू यसरी आउँछन्, रोजगारीका लागि खाडी/मलेसिया पुग्नु भनेको कल्पनाको नर्कजस्तो दुःख भोग्नु हो। तर गएर फर्केपछि पनि फेरिफेरि गइरहनुले समग्रमा ठानिएजस्तो होइन भन्ने त यसै अनुमान गर्न सकिन्छ। नटुवा समुदाय अझै पनि घुमन्ते/फिरन्तेमै अल्झिइरहनु र चमार, हरिजनको जीवनस्तर, आत्मविश्वासमा उल्लेख्य सुधार हुनुमा दुईवटा कुराले काम गरेको छ। चमार, हरिजनसँग पुर्जासहितको धेरथोर जग्गा छ। केही नभए पनि घरघडेरीको पुर्जा छ। त्योभन्दा पनि महत्त्वपूर्ण घरैपिच्छेजसो वैदेशिक रोजगारीका लागि खाडी/मलेसिया पुगेका छन्।

टाईसहितको स्कुल पोसाकमा साइकलमा सरर घर फर्किरहेका रामु चमारलाई रोकेर गफिँदै उनकै घरतिर गएँ। पक्की घरमा डिस होम छाता पनि छ। बुवा साउदीमा छन्, दाजु हरियाणामा फार्मेसी पढ्दै छन्। रामु चाहिँ पढेर के बन्ने त? डाक्टर बन्ने लक्ष्य भएको सुनाउँदै कक्षा ७ का यी विद्यार्थीले भने, “त्यति बेला घरमा पैसाको अवस्था के कस्तो हुन्छ, दाइकै पढाइमा काफी खर्च भइसकेको छ।”    

अधिवक्ता रक्षारामका अनुसार दलित मात्र नभई गैरदलित र मुस्लिम पनि स्थानीय जमिन्दारहरूमा आश्रित हुनेगर्थे। जमिन्दारले अह्राएको गर्ने, दिएको खाने। २०६५ सालमा उनी संस्थापक प्रधानाध्यापक भई महालक्ष्मी प्राथमिक विद्यालय स्थापना भयो। त्यसकै वरपर स्थानीय चार जना मुस्लिम दाजुभाइ वैदेशिक रोजगारीमा गएपछि दलितहरू पनि वैदेशिक रोजगारीतर्फ आकर्षित भए। मान्छेमा आत्मविश्वास भर्न शिक्षा र सम्पत्ति दुवैमध्ये एउटा अपरिहार्य हुन्छ। चमार, हरिजनभन्दा पिँधमै भए पनि नटुवालाई आफूहरू दलितमा सूचिकृत गरिएकोमा गुनासो रहेछ। “हामी विपन्न भए पनि दलित हैनौँ,” अनिल भन्छन्।  

यहाँ दलित सशक्तिकरणमा वैदेशिक रोजगारीको निर्णायक भूमिका भएको उनी सुनाउँछन्। वैदेशिक रोजगारीमा गएकाले पैसा त पठाएका छन् नै, छोराछोरीलाई पढाउनै पर्ने चेतना पनि घरमा पठाएका छन्। “माओवादी सशस्त्र युद्धको रापताप र दुई वटा गैरसरकारी संस्थाको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन,” उनले अर्को कुरा पनि खोले। 

नटुवाको ‘सिंगल पोइन्ट एजेन्डा’को चर्चा गर्नुअघि भारतीय लेखिका श्वाती नारायणको हालै प्रकाशित ‘अनइक्वेल’ पुस्तक सम्झिएँ। भारत, नेपाल र बांग्लादेशको मानव विकासको तुलनात्मक अध्ययन गरी उनले भारत दुवै देशभन्दा पिछडिएको निष्कर्ष निकालेकी छन्। मानव विकास सूचकांकमा भारतभन्दा नेपाल राम्रो हुनुमा माओवादी द्वन्द्व र गैरसरकारी संस्थामार्फत पिँधमा रहेको वर्ग/समुदायमा उकासिएको चेतनास्तर हो भनेर उनले एउटा अन्तर्वार्तामा भनेकी छन्। बिडम्वना, गाउँगाउँमा समाजको पनि पिँधमा रहेका समुदायमा गैरसरकारी संस्थाले गरेका कामबाट बिल्कूल बेखबर एउटा शहरिया, अझ खस/आर्य अनि पुरुषले तथाकथित सामाजिक सञ्जालमा भन्दिहाल्छ, ‘यी सब डलरे हुन्।’ यस्ताका लागि एनजीओ, आईएनजीओ जति क्रिश्चियन धर्म प्रचारक हुन्।  

नटुवाको अहिले ‘सिंगल पोइन्ट एजेन्डा’ छ लोपोन्मुख जातिमा सूचीकृत हुने। त्यसो भए मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाइन्छ। लोपोन्मुख जातिमा परेर भत्ताबाट लाभान्वित हुँदा नटुवाको जीवन र चेतनास्तर श्रीवृद्धिमा कतिको योगदान होला भन्ने आँकलन गर्न सकिएन, वैदेशिक रोजगारीमा पठाए चाहिँ तिनले छलाङ नै मार्नेमा विश्वस्त भइयो। “हामी त वैदेशिक रोजगारीमा जाने हैसियतमै पुगेका छैनौँ,” अनिल नटुवा भन्छन्, “भत्ताले हामीलाई त्यो स्तरमा पुर्‍याउने छ।”


सम्बन्धित सामग्री