Sunday, April 28, 2024

-->

पटना पुगेर गोइतलाई समातेको प्रहरी जब ‘रअ चिफ’को नाम सुनेपछि रित्तै फर्कियो

गोइतलाई पक्रन सघाएको बिहार प्रहरीको एसटीएफ टोली उनले रअकै लागि काम गरिरहेको बताएपछि भन्नथाल्यो– ‘ऊपर से सिधा अर्डर आया है, फौरन घर (पटनामा जहाँ गोइत बसिरहेका थिए) ले जाके छोड्देने को।’

पटना पुगेर गोइतलाई समातेको प्रहरी जब ‘रअ चिफ’को नाम सुनेपछि रित्तै फर्कियो

काठमाडौँ– २०७८ वैशाख पहिलो साता नेपाल प्रहरीका नायब निरीक्षक (सई)को नेतृत्वमा चार जनाको टोली भारतको पटनास्थित राजेन्द्रनगर पुग्यो। वीरगन्ज नाका हुँदै पटना पुगेको टोलीको एक मात्र उद्देश्य थियो– १९ सालदेखि ‘भूमिगत’ रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतलाई जसरी पनि पक्रेर नेपाल ल्याउने। नेपाल प्रहरीको यो ‘अपरेसन’बारे अपरेसन इन्चार्जबाहेक कसैलाई जानकारी थिएन।

नेपालबाटै गोइतको नम्बर ‘ट्रेस’ गरेर राजेन्द्रनगर पुगे पनि करिब एक साताको ‘रेकी’पछि मात्र प्रहरीले गोइतको आवास पत्ता लगाएको थियो। उनी हरेक दिन साँझ घर नजिककै भूतनाथ मन्दिर जाने गरेको सूचना पहिला प्राप्त भयो, पछि त्यो यकिनमा बदलियो। प्रहरीले गोइतलाई त्यहीँबाट उठाउने योजना बनायो। बिहारको स्पेसल टास्क फोर्स (एसटीएफ) र नेपाल प्रहरीको संयुक्त टोलीले गोइतलाई एक साँझ मन्दिर नजिकबाट गिरफ्तार गर्‍यो र नेपाल ल्याउने तयारी गर्न थाल्यो।

प्रहरीको फन्दामा परेपछि शुरूमा गोइत सामान्य देखिए। उनी आफू बिहार पुलिसको नियन्त्रणमा परेको ठानिरहेका थिए। जब उनले बिहार पुलिससँगै नेपाल प्रहरी पनि सोही भ्यानमा रहेको सुइँको पाए, तर्सिए। छटपटाउँदै उनी बर्बराउन थाले। उनलाई मुज्जफ्फरपुर हुँदै नेपाल ल्याइँदै थियो। 

गोइत नेपालको सीमाभन्दा पाँच घण्टाको दूरीमा थिए। ठीक त्यहीबेला उनले एउटा यस्तो वाक्य बोले, जुन वाक्यले बिहार पुलिसको होसहवास उडाइदियो। गोइतले भनेको कुरा बिहार एसटीएफ प्रमुखलाई रिपोर्टिङ भयो र तत्कालै गाडी फर्काएर गोइतलाई एसटीएफ हेडक्वार्टर पुर्‍याइयो। उनले बोलेको वाक्य थियो, “कहाँ लेजा रहे हो? में तो भारत के लिए ही काम कर्ता हुं। फोरन ‘रअ’के चिफ से बात कराओ।”

“यी वाक्य सुनेपछि बिहार पुलिसले गोइतको मोबाइल खोसेर ‘कल हिस्ट्री’ हेर्न थाले। त्यसपछि एसी चल्दै गरेको भ्यानमा बिहार पुलिस असिनपसिन भए,” अपरेसनमा संलग्न प्रहरी भन्छन्, “ती पुलिसहरूको पसिना देखेर हामी पनि एकछिनक लागि स्तब्ध भयौँ।”

त्यतिबेला भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ ‘रअ’का प्रमुख थिए, सामन्त गोयल। नेपालका लागि ‘रअ’को स्टेसन चिफ अरू कोही भए पनि रअ प्रमुख आफैँ बेलाबखत गुपचुप नेपाल आइरहन्थे, प्रायः उनी फर्किएपछि मात्रै सूचना चुहिन्थ्यो। तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी बालुवाटारमै भेटेर फर्केको घटनाले नेपाली राजनीतिक वृत्त लामो समय तरंगित बनेको थियो। खासगरी ‘रअ’ले छिमेकी मुलुकहरूको आन्तरिक मामिलामा दखल दिने गर्छ। उसले राजनीतिक–सामरिक सूचना बटुल्नुसँगै भित्रितवरबाट ‘कोभर्ट अपरेसन’ पनि सञ्चालन गर्छ। हालसम्म त्यस्ता दुई सफल अपरेसन गरिसकेको छ। जसमध्ये २०२७ सालमा पूर्वी पाकिस्तान टुक्राएर बांग्लादेशको स्थापना र २०३२ मा सिक्किमलाई भारतमा विलय गराएकोलाई प्रमुख मानिन्छ।

पक्रन सफल, ल्याउन असफल
तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालको पालामा पनि गोइतलाई पक्रेर नेपाल ल्याउने प्रयास भएको थियो। तर भारतबाटै राजनीतिक संरक्षण पाएका गोइतलाई त्यतिबेला ल्याउन सकिएको थिएन। पटकपटक गोइतलाई नेपाल ल्याउने अपरेसन असफल भएपछि यसपटक प्रहरी कुनै हालतमा चुक्न चाहँदैन्थ्यो। 

यो अपरेसनभन्दा अघिको अपरेसन (२०७४ सालमा भएको)ले पनि गोइतको आवास पत्ता लगाएको थियो। तर उनी त्यतिबेला भाग्न सफल भएपछि प्रहरी रित्तै हात फर्किनुपरेको थियो। तत्कालीन प्रहरी प्रमुख अर्याल पनि त्यो समयमा गोइत नेपाल प्रहरीको हातबाट फुत्किन सफल भएको बताउँछन्। “गोइतको फोन अरूले चलाइरहेको थियो। हामी गोइतले नै चलाइरहेको बुझिरहेका थियौँ,” अर्याल भन्छन्, “फेरि अर्काको देशमा गएर खोज्ने काम पनि कठिन नै थियो, तर थाहा पाएपछि फुत्किए।”

नेपाल प्रहरीको उच्च निगरानीमा रहेका गोइतबारे यसपटक चार वर्षपछि फेरि सूचना प्राप्त भएको थियो– गोइत पुनः उही आवासमा फिर्ता आएका छन् भनेर। मोबाइलको लोकेसन पनि पहिलाकै आवासमा देखाएको थियो। उही लोकेसनमा पुगिए पनि यसपटक भने प्रहरीले उनको आवास ठम्याउन सकेन। पटक–पटक उही लोकेसनमा पुगिए पनि घरको तस्वीर ‘म्याच’ भइरहेको थिएन। 

प्रहरी यसरी झुक्किनुको दुई कारण थिए। पहिलो, त्यतिबेला गरिएको अपरेसनमा संलग्न यसपटकको टोलीमा कोही थिएनन्। दोस्रो, जुन घरको तस्वीर प्रहरीसँग थियो त्यो ‘वाइट सिमेन्ट’ भएको पुरानो घर जस्तो देखिन्थ्यो। तर चार वर्षपछि आउँदा त्यो घरमा रंगरोगन भएर नयाँ घरजस्तै भइसकेको थियो। यति ‘भेरिफाइ’ गर्न प्रहरीलाई ठूलै टाउको दुखाइ भएको थियो।  


यसअघिको अपरेसनमा प्रहरीले बिहार पुलिसलाई गोइतको खोजी गरेर आफूहरूलाई बुझाउन दर्जनौँ पटक भनिसकेको थियो। तर उताबाट बिहार पुलिसले राजनीतिक मान्छेलाई त्यसरी पक्रेर बुझाउन सजिलो नभएको जवाफ आउने गर्थ्यो। त्यही भएर यसपटक प्रहरीले उनलाई हत्या अभियोगमा नेपाल ल्याउन लागेको बिहार एसटीएफलाई जानकारी गराउँदै सहयोग मागेको थियो। प्रहरीले गोइत हत्याका अभियुक्त रहेको र उनीमाथि नेपालमा ‘मर्डर केस’ चलिरहेकाले सहयोग गर्न आग्रह गरेको थियो।

“गोइत राजनीतिक व्यक्ति हुन् भन्यौँ भने उसलाई समातेर ल्याउन दिँदैनन् भन्ने हामीलाई राम्रोसँग थाहा थियो। त्यही भएर हामीले उनीमाथि हत्या अभियोग रहेको बतायौँ। बिहार पुलिसलाई सम्बन्धित कागजातहरू पनि देखायौँ,” अपरेसन टोलीको इन्चार्ज रहेका प्रहरी अधिकृतले भने, “यही चलाखीका कारण हामी उनलाई समात्न सफल भएका थियौँ। तर गोइतले बोलेको त्यो वाक्यले सारा खेल चौपट बनाइदियो।”

एसटीएफ हेडक्वार्टर पुर्‍याइएपछि बिहार पुलिसले गोइतसँग करिब १५ मिनेट जति बयान लिएको थियो। त्यो बयानका क्रममा उनले पारिवारिक पृष्ठभूमिदेखि पटना आएर बस्नुको कारणसमेत खोलेका थिए। उकालोलाई प्राप्त त्यो बयानको अडियोमा गोइतलाई एसटीएफका इन्स्पेक्टरले सोध्छन्, “तपाईं पटना आएर किन बस्नु भएको?” गोइत केहीबेर मौन बस्छन् र भन्छन्, “पहले पानी पिलाइए तो बताता हुँ।”  

पानी पिएपछि गोइत सन् १९५० को नेपाल–भारतको सन्धिबाट जवाफ दिन शुरू गर्छन्। तर बीचमै प्रहरीले रोक्छन् र भन्छन्, “यह सारी कहानी बाद में सुनेंगे आपकी। सम्झेंगे इस चीज को, पर पहले सिधे सिधे बताइए आप पटना में क्या करते हैं? ना यहाँ आप जब करते हैं ना कुछ। फिर क्यों रहतें हे?”  

जवाफमा गोइत भन्छन्, “मैं पोलिटिकल आदमी हुँ। १९५० में हुए सन्धि के बारे में नेपाल वासी ग्रेटर नेपालका माग कर रहे हैं। वह बोलते हैं की भारत की यह भूमी हमको चाहिए। हम लोग कह रहे हैं कि यह नहीं होगा। मेची से महाकाली का निचली हिस्सा का नेपाल कह रहा है कि हमारा है, मगर यह तो बिहार और यूपी का है ना। हम बोल रहे हैं की मेची से महाकाली तक का भूमि स्वतन्त्र है। इसपर तुम लोंगो का शासन करने का कोई अधिकार नहीं हैं। वह लोग ग्रेटर नेपालकी बात करते हैं तो भारत का विखन्डन नहीं होता है, मगर हम लोग बोलते हैं तो नेपाल का विखन्डन हो जाता है। हम लोग उधर मधेशी कहे जाते हैं। हम पर बहुत जुर्म और अत्याचार होता है। मैं उसी के खिलाफ हुँ।”

उनी अगाडि थप्छन्, “जैसे पूर्वी पाकिस्तान भारतका पार्ट है वैसे हि मेची से महाकाली भारत का पार्ट है।”

यति भनिसकेपछि गोइतलाई सोधिन्छ, “तो आप यहाँ छुप के क्यों रहते हैं?” उनी पुनः दोहोर्‍याउँछन्, “मैं आपको आगे भि बोला हुँ मैं रअके सम्पर्क में हुँ। तो कैसे छिप के रह रहा हुँँ। नेपाल और भारतका खुला सिमाना है। यहाँ नेपाल के लोग रह सकते है और उधर भारत का, तो कैसे कह रहे हैं आप कि मैं छुप के रह रहा हुँ?”

बयानमा गोइतले आफू ७७ वर्षको भएको, आफ्ना तीन छोरा र एक छोरी भएकोसमेत बताउँछन्। त्यसक्रममा उनले दुई छोरा भारतकै चण्डीगढ र पुनेमा बस्ने, एक छोरा भने ताइवानमा रहेको बताएका छन्।

यो बयानकै क्रममा नेपाली प्रहरी टोली अब गोइतलाई नेपाल ल्याउन नसकिने भयो भन्ने निचोडमा पुगिसकेको थियो। प्रहरी टोलीले त्यहीँबाट नेपालमा आफ्ना कमान्डरसँग कुरा गरेको थियो। तर स्पष्ट निर्देशन केही पाएन। यो खबर प्रहरी प्रधान कार्यालय, परराष्ट्र मन्त्रालय हुँदै काठमाडौँस्थित भारतीय राजदूतावाससम्म पुग्यो, तर बिहार पुगेको टोलीले केही जवाफ पाएन। बिहार प्रहरीले बयान लिएको करिब करिब तीन घण्टापछि गोइतलाई रातको करिब ११ बजे एसटीएफले आफ्नै गाडीमा उनको घरमै छाडिदियो। 

“काठमाडौँबाट केही जवाफ नआएपछि हामीले उताको प्रहरीलाई सोधेका थियौँ, किन लान मिल्दैन? उनीहरूले ‘ऊपर से सिधा अर्डर आया है, फौरन घर ले जाके छोडदेने को भने,” त्यो अपरेसनमा संलग्न एक प्रहरीले उकालोसँग भने, “नेपालबाट पहल भएन कि गरिएन त्यो त हामीले बुझ्ने कुरा भएन। तर रअको अगाडि हाम्रो देशको केही नचल्ने त्यो दिन बुझ्यौँ।” 

गोइतलाई पक्राउ गरेर नेपाल ल्याउन नसकेकोमा भारत गएको त्यो टोली अहिले पनि थकथकी मानिरहेको छ। त्यहीबेला यो टोलीले पछि ‘प्लान बी’ पनि बनाएको थियो, गोइतलाई ‘इन्काउन्टर’ गराएर नेपाल फर्कने। ‘अपरेसन हेड’ पनि त्यसमा सकारात्मक देखिएका थिए। तर उनले पछि फोन गरेर भने, “कम ब्याक, प्लान बीका लागि स्वीकृति पाइएन।”  

सरहद पारिबाट मच्चाइएको आतंक
२०७७ चैत १ गते सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भयो, आठ जना घाइते भए। यो विस्फोट त्यतिबेला भएको थियो जतिबेला नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब कुनै विद्रोही समूह बाँकी नरहेको दाबी गरिरहेका थिए। फागुन २० गते तत्कालीन भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग तीनबुँदे सम्झौता गर्दै उनले भनेका थिए, “अब कोही पनि विद्रोही समूह छैन, पृथकतावादी आन्दोलन गर्ने पनि कोही बाँकी रहेन।”

त्यसको ९ दिनपछि, चैत १ गते जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लहान मालपोत कार्यालयमा विस्फोट गराएर प्रधानमन्त्री ओलीलाई चुनौती दिएको थियो। विस्फोटकै साँझ गोइतले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका थिए। 

“तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा आज २०७७ चैत्र १ गते मध्याह्न करिब १२ बजेर ४७ मिनटमा प्रेसर कुकर बम कारबाहीस्वरूप विस्फोट गराएका छौँ,” विज्ञप्तिमा भनिएको थियो, “यसरी भ्रष्टाचार (अपराध) जारी नै रह्यो भने यसभन्दा पनि उच्चस्तरको कारबाही हुनेछ। यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी (अपराधी) नेपाल सरकार र प्रदेश सरकार नै हुनेछ।” 

२०७५ भदौ ८ गते सरकारले वार्ता टोली बनाएर हिंसाको बाटोमा रहेका समूहहरूलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल थालेको थियो। त्यसक्रममा गोइतलाई पनि वार्तामा आउन भनिएको थियो। तर गोइत समूह वार्तामा आएन। त्यतिबेला सरकारले ४४ वटा सशस्त्र समूहमध्ये १६ वटाको गतिविधि शून्य भएको जनाएको थियो। गोइत समूह वार्तामा नआएपछि उसलाई दमन गरेर सिद्ध्याइदिने रणनीति सरकारले लियो। सरकारले २६ वटा समूहसँग वार्ता गरी सम्झौता गरे पनि गोइत समूहलाई भने निगरानीमै राखेको थियो।

गोइतसँग एसटीएफले बयान लिने बेला, एसटीएफले बयान लिएपछि घर पुर्‍याउँदै गर्दाका तस्वीर।


त्यहीबेला पृथकतावादी आन्दोलनमा लागेका सीके राउत २०७५ फागुन २५ गते मूलधारको राजनीतिमा फर्केका थिए। बाँकी रहेकामध्ये विप्लवलाई पनि ओलीले मूलधारको राजनीतिमा ल्याएपछि सशस्त्र आन्दोलन समाप्तिको घोषणा गरेका थिए। 

तत्कालीन प्रहरी अधिकृतहरूका अनुसार गोइतले विस्फोट गराउनुको अर्को कारण थियो, रामविलास यादवको आत्मसमर्पण। उनी मोर्चामा गोइतपछिको ‘सेकेन्ड म्यान’ कहलिन्थे। मालपोत कार्यालयमा विस्फोट भएको एक साताअघि नै उनले कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठसमक्ष आत्मसमर्पण गरेका थिए। यादवले त्यसो गरेपछि गोइत चिढिए। आफू अझै शक्तिशाली नै रहेको सन्देश दिन गोइतले विस्फोट गराएको एक प्रहरी अधिकृत बताउँछन्। 

गोइत समूहमा रामविलासपछि बिक्की यादव र आरके यादव प्रमुख मानिन्थे। बिक्की स्वास्थ्य समस्याका कारण समूहबाट निष्क्रियजस्तै थिए भने आरके भारतीय जेलमा थिए। आत्मसमर्पणपछि रामविलासले सुरक्षा माग गरेका थिए। प्रहरीले उनलाई रातारात सुरक्षित ठाउँमा पुर्‍याइदिएको थियो।

संघीयता लागू भएपछि मधेशमा भूमिगत समूहहरू निष्क्रिय भइसकेका थिए। तर गोइत समूहका आपराधिक क्रियाकलाप बेलाबखत देखिने गरेको मधेश प्रदेशको प्रहरी कमान्डसमेत सम्हालेका पूर्वप्रहरी महानिरीक्षक धीरजप्रताप सिंह बताउँछन्। “बाँकी कोही थिएन। ज्वाला सिंह भन्ने नागेन्द्र पासवान बिहारमै शान्तिपूर्वक बसिरहेको पायौँ। सबै सकिए पनि आफ्नो अस्तित्व अझै बाँकी रहेको सन्देश दिन गोइत बेलाबेला जुरमुराउन खोज्थ्यो,” सिंह भन्छन्।

त्यहीबेला गोइतले मधेश प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको क्याबिनेटमा रहेका मन्त्रीहरूलाई पनि सम्पर्क गरेर पैसा असुली गर्थे। सिंहका अनुसार कतिपयले धेरैथोरै पैसा पनि पठाउने गरेको भेटिएको थियो। तर राउत क्याबिनेटका मन्त्रीहरूले पैसा पठाएको अस्वीकार गरे। त्यसबेला प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका शैलेन्द्र साहले आफूलाई गोइतले फोन गरेको स्वीकारे पनि पैसा मागेको कुरा इन्कार गरे। “यो कुरा कसरी बाहिरियो? उहाँसँग फोनमा कुरा हुन्थ्यो, पटनाबाटै फोन गर्नु हुन्थ्यो, तर पैसा माग्नु हुन्थेन। राजनीतिक विषयमा मात्रै कुरा हुन्थ्यो,” उनले भने।

राउतले भने आफूलाई यो विषयमा केही थाहा नभएको बताए। 

लहान बमकाण्ड गराएपछि र प्रदेशका मन्त्रीहरूलाई फोन गरेर चन्दा नै माग्न थालेपछि २०७८ सालको शुरूआतदेखि प्रहरी गोइतलाई खोज्न जुरमुराएको थियो। त्यतिबेला गोइतले दुइटा भारतीय नम्बरको मोबाइल (७३६८९८६७४७, ८८०९११४३९०) बाट फोन गरेर पैसा माग्थे। नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत अधिकारीहरूका अनुसार यी नम्बरबाट गोइत बारम्बार नेपालका अधिकांश मान्छेलाई सम्पर्क गरिरहन्थे।

को हुन् गोइत, के चाहन्थे?
सप्तरीको त्रिकोल स्थायी घर भएका गोइत २०४८ सालमा नेकपा एमालेको जिल्लास्तरीय नेता थिए। त्यसबेलासम्म एमालेभित्र मधेशी नेताहरूको उपस्थिति राम्रै थियो। गोइतसँगै जितेन्द्र देव, सीतानन्दन रायदेखि उपेन्द्र यादवसम्म एमालेमै थिए। २०५० सालको दासढुंगा दुर्घटनापछि भने भने एमालेभित्र मधेशी नेताहरू ‘कर्नर’मा पर्न थालेको जितेन्द्र देव बताउँछन्।

“पार्टीभित्र त्यस्तो स्थिति नआएको भए जितेन्द्र देव, सीतानन्दन राय र जयकृष्ण गोइतहरू एमाले कहिल्यै छोड्ने थिएनन्,” उनले भने, “तर बारम्बार अपमानित हुनुपरेपछि पार्टी छोड्नुको विकल्प थिएन।”

मधेशी नेताहरूलाई पार्टीबाट सीमान्तकृत गर्ने क्रम २०५४ सालको स्थानीय निर्वाचनसम्म आइपुग्दा झनै तीव्र बन्यो। २०५४ को स्थानीय निर्वाचनमा गोइत एमालेका तर्फबाट सप्तरी जिल्लाका प्रस्तावित जिविस सभापति थिए। तर त्यसबेला सुमनराज प्याकुरेल लगायतका ‘पहाडे’ नेताहरूले गुटबन्दी गरेर दिवाकर देवकोटालाई जिविस सभापतिको उम्मेदवार बनाएको, पार्टीभित्र त्याग र दुःख गरेका गोइत त्यहीँबाट चित्त दुखाएर एमालेबाट टाढिएको देव बताउँछन्।

सप्तरी जिविस सभापतिमा पार्टीले उम्मेदवार नबनाएपछि नेपाली कांग्रेसका उम्मेदवार दिनेश यादवलाई जिताउन भूमिका खेलेका गोइत त्यसपछि माओवादी युद्धमा लागे। युद्धकालमा मधेशी मुक्तिमोर्चाको संयोजक पनि भए। पछि माओवादीले मात्रिका यादवलाई मधेशी मोर्चाको संयोजक बनाएपछि गोइतले माओवादी पनि छाडे। माओवादीले पनि मधेशलाई विभेद गरिरहेको भन्दै उनले आफ्नै नेतृत्वमा सशस्त्र समूह गठन गरेर ‘तराईलाई अलग देश बनाउने’ घोषणा गरे। र २०६१ साउन १० गते भूमिगत भए।

गोइत पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय थिए। त्यसपछि किसान आन्दोलन, माओवादी युद्ध हुँदै आफ्नो नेतृत्वमा अलग्गै मोर्चा बनाएर भूमिगत भएपछि उनी बम विस्फोट र चन्दा असुलीमा कुख्यात हुन थाले। २०७३ सालमा सप्तरीका तत्कालीन जिल्ला प्रहरी प्रमुख दिवेश लोहनीले गोइतको नाममा सप्तरीमै दर्जनौँ ‘केस’ भएको बताएका थिए। 

“हत्या, अपहरण, चन्दा असुली तथा संगठित अपराध सम्बन्धी गोइतका धेरै केस हामीसँग छ’ लोहनीले भनेका थिए, “उनले चन्दा असुल्नकै लागि बम आतंक सिर्जना गरेको देखिन्छ। गोइत हाम्रो फरार अभियुक्तको सूचीमा छन्। हामी खोजिरहेका छौँ।”

विस्फोटक पदार्थसँग जोडिएका धेरैजसो घट्नाको जिम्मा लिँदै आएको गोइत समूहको ‘बम आतंक’ को कारण प्रहरी हैरान थियो। स्थानीयहरू त्रसित थिए, उद्योगी व्यवसायीहरू चन्दा आतंकको सिकार भइरहेका थिए। सप्तरीको झुट्की प्रहरी चौकीको असई हत्यादेखि राजविराजस्थित सांसद सुरेन्द्र यादवको घरमा राखिएको सिलिन्डर बमको जिम्मेवारी गोइतले नै लिएका थिए। भूमिगत भएदेखि उनको र उनको समूहको नाम दर्जनौँ घटनामा मुछियो। 

उनीसँगैका कतिपयले आत्मसमर्पण गर्दै गए। कति उनलाई छाडेर सामान्य जीवनमा फर्किए। तर गोइत न कहिले वार्तामा आए न मूलधारमा। 

२०७३ कात्तिक २२ गते गोइतले जारी गरेको विज्ञप्तिको केही अंश सप्तरीका स्थानीय अखबारमा छापिएको थियो जसमा उनले ‘तराई नेपालको अभिन्न अंग नभएको’ जिकिर गरेका थिए। आफू त्यसकै विरुद्ध लडिरहेको उनको दाबी थियो। 

गोइत भूमिगत भएदेखि नै पटनामा बस्दै आएको नेपाल प्रहरीको विशेष ब्युरोले सूचना पाएको थियो। त्यहीँ बसेर नेपालमा बम आतंक मच्चाएको र पहाडी समुदायका मान्छेहरूको घरमा डकैती र चन्दा असुली गरिरहेको सूचना प्रहरीसँग थियो। उनी बेलामौकामा लुकिछिपी सप्तरी पनि आउने गरेको स्थानीयहरू बताउँछन्। “कति रात त म आफैँले पनि देखेको छु। रातिराति आउने र बिहान हुनुभन्दा अगाडि नै बोर्डर पार गरिसक्ने,” ती छिमेकी भन्छन्, “जसरी उहाँ रातिराति आउनुहुन्थ्यो, लाग्थ्यो नेपालमा मात्रै उहाँलाई समस्या रहेछ। भारतमा कुनै फिकर नै छैन।”


सम्बन्धित सामग्री