Sunday, April 28, 2024

-->

१७ वर्षअघि जलेको जनकपुर, जसको ताप सकिए पनि राप निभेको छैन

अहिले जनकपुरमा पहाडी मूलका मानिसहरू बिरलै देखिन्छन्। २०६३ अगाडिको तुलनामा पहाडी समुदायको उपस्थिति नगण्य छ। त्यतिखेर जनकपुर छाडेकाहरू काठमाडौँ, हेटौँडा र बर्दिबास बसाइँ सरे।

१७ वर्षअघि जलेको जनकपुर जसको ताप सकिए पनि राप निभेको छैन

काठमाडौँ– “त्यतिखेर छालाको रङ हेरिन्थ्यो। गोरो छाला देख्नेबित्तिकै लखेटिहाल्ने। फन्दामा पर्दा मज्जाले भकुर्थे र तत्काल यो ठाउँ छाडेर जान धम्की दिन्थे। घरबाहिर निस्किन डर हुन्थ्यो। निस्किनुपर्दा कुर्ता, गम्छा र आँखामा गाजल लगाएर हिँड्थेँ,” जनकपुरबाट काठमाडौँ बसाइँ सरेका रोबिन पोखरेलले १७ वर्ष पुरानो अप्रिय विगत सम्झिए। त्यसबेलाको त्रासदीपूर्ण माहौल सम्झिँदा पनि जिउ सिरिंग हुने उनी बताउँछन्।

रोबिन जनकपुरमा जन्मे। त्यहीँको माटोमा हुर्के। मुरलीचोकस्थित तत्कालीन अञ्चल प्रहरी कार्यालयपछाडि उनको घर थियो। लामो समय रेल्वे स्टेसनस्थित भन्सार कार्यालयमा काम गरेका उनका बुवा भैरहवा सरुवा भए। खेलकुदमा रोबिनको विशेष रुचि थियो। कराँते उनको पहिले ‘प्यासन’ बन्यो, पछि भविष्य। उनलाई जनकपुरको सम्झना बेलाबखत आइरहन्छ। त्यहाँ बिताएका समय अतीत भएर गए पनि सधैँ वर्तमान भइदिए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ। तर फेरि त्यो अशान्त र आक्रान्त वातावरणको दृश्य उनको मानसपटलमा आउँदा उनलाई जनकपुर नामदेखि नै ‘फ्रस्टेसन र इरिटेसन’ हुन्छ।

रोबिन भन्छन्, “मलाई अहिले पनि याद छ। पुस १४, राजा वीरेन्द्र जन्मेको दिन। त्यो दिन अञ्चलस्तरीय कराँते प्रतियोगिता जितेपछि कप लिएर जानकी मन्दिरको दर्शन गर्न पुगेका थियौँ। बाहिर निस्कँदा त कुन्नि केको आन्दोलन भन्दै हुलहुज्जत हुँदै भागाभाग भयो। भिड हामीतिर आएको देख्यौँ। आत्तिएर लटपटियौँ।” 

अन्तरिम संविधान २०६३ को मस्यौदामा मधेशको माग नसमेटिएको भन्दै विरोध जुलुस भएको आफूलाई भोलिपल्ट मात्रै थाहा भएको रोबिन बताउँछन्। उनलाई त्यो आन्दोलन धेरै दिन लम्बिन्छ जस्तो लागेको थिएन। तर माघदेखि आन्दोलनले उग्ररूप लियो। उनी घरबाहिर निस्किन छाडे। पछि जनकपुर नै छाडेर केही दिन लालगढ गएर बसे। आन्दोलन बिस्तारै मत्थर हुँदै गए पनि त्यसको ‘स्पिरिट’ बाँकी नै थियो। मन भयभीत भएर फेरि जनकपुर नफर्केको उनी बताउँछन्।

“म आफैँ खेलकुदमा लागेको हुनाले जनकपुरका अधिकांश केटाहरूलाई चिन्थेँ। युवा उमेरमा थोरबहुत गुन्डागर्दी पनि गरियो। तर आन्दोलनमा उग्र देखिएका मान्छेहरू स्थानीय थिएनन्,” उनी भन्छन्, “कहिलेकाहीँ दिउँसोतिर ड्रेसअप चेन्ज गरेर केटाहरूलाई सोध्थेँ पनि यिनीहरू त जनकपुरका होइनन्, कहाँबाट आएका हुन्? उनीहरू पनि, खै भनेर जवाफ दिन्थे।” 

त्यसपछि रोबिन केही दिन पुर्ख्यौली घर उदयपुर गएर बसे। जनकपुरसँगको उनको दूरी बढ्दै गयो। साथीभाइ परिवारसहित जनकपुर छाडेर बाहिरिन थालेको खबर पाउन थाले। त्यसबेला कति स्वेच्छाले भागे, कति लखेटिए। कैयौँलाई ज्यान मार्ने धम्की दिइयो, कतिपय परिवार सबै सम्पत्ति यथास्थितिमा छाडेर विस्थापित भए। घर भएर पनि रोबिनलाई जनकपुर फर्किन मन लागेन। उनी काठमाडौँ ‘सिफ्ट’ भए। उनको परिवार केही समय जनकपुरमै बस्यो। २०६९ सालमा भने घरै बेचेर सबै जना सदाका लागि  जनकपुरबाट बिदा भए। रोबिन अहिले कराँते महासंघ भक्तपुरको सचिव छन्। 

उनका अनुसार मधेश यसरी जुरमुराउनुमा बलिउड अभिनेता ऋतिक रोशन काण्डको पनि ठूलो भूमिका छ। २०५७ सालमा ऋतिकले कुनै अन्तर्वार्तामा आफूलाई ‘नेपाल र नेपालीहरू मन नपर्ने’ अभिव्यक्ति दिएको भन्ने खबर भाइरल बनेपछि काठमाडौँलगायत पहाडी जिल्लाहरूबाट कैयौँ मधेशीहरू कुटिएर लखेटिएका थिए। ऋतिकविरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले त आन्दोलनै चर्काए। सोही क्रममा प्रहरीको गोली लागेर चार जनाको मृत्यु पनि भयो। पछि ऋतिकले त्यस्तो कुनै अभिव्यक्ति दिएको पुष्टि भएन। तर त्यो काण्डले नेपालमा मधेश र पहाडबीच ठूलो दरार पैदा भयो। परिणामस्वरूप पहिला पहाडबाट मधेशी लखेटिए, पछि मधेशबाट पहाडी।

सञ्जय श्रेष्ठ आफ्नो पसल लुटिएको अहिले पनि सम्झिइरहन्छन्। जनकपुरको शिवचोकमा उनको ‘रेडिमेड’ लुगाको पसल थियो। मधेशमा बन्दहड्ताल शुरू भइसकेको थियो। त्यो दिन उनी पसल बन्द गरेर घर गई समाचार सुनिरहेका थिए। अचानक एक साथीको फोन आयो। फोनमा रोएको आवाज सुनेपछि सञ्जय एकछिनको लागि अक्क न बक्क भए। उताबाट आवाज आयो, “दाइ, तपाईंको पसलको ताल्चा फुटाएर आन्दोलनकर्मीले सारा सामान जलाइदिए।”

सञ्जय एकछिनका लागि स्तब्ध भए। उनी यतिसम्म तर्सिए कि जलेको पसल पनि हेर्न नगई चार दिनसम्म घरको ढोका थुनेर बसे। सञ्जय भन्छन्, “मनमा डर पस्यो। रेडियोमा धरि कसलाई खुलेआम गोली हानेर मारेको सुन्थेँ, घरि कसलाई कुटेको सुन्थेँ। अखबारहरूमा पनि त्यस्तै समाचारहरू आएको सुन्थेँ। त्यो समयमा मधेशमा हिंसा मच्चाइरहेको विद्रोही समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा फुटेर बनेका राजन मुक्ति, गोइत (जयकृष्ण गोइत) र ज्वाला सिंह समूहहरूको ठूलै बिगबिगी थियो। कतिपय मैले चिनेका मान्छे पनि उनीहरूबाट मारिएका थिए।”

ती सबैको बाबजुद पनि करिब डेढ महिनापछि सञ्जयले हिम्मत जुटाएर फेरि पसल खोले, त्यही ठाउँमा। तर उनी टिक्न सकेनन्। उनलाई आफू असुरक्षित भएको महसुस हुन्थ्यो। जतिबेला पनि सम्प्रादायिक दंगा भड्किने माहौल बन्दै गएको देखेपछि उनी तर्सिए। अन्ततः उनले पनि जनकपुर छोड्ने निर्णय गरे र तत्काल काठमाडौँ बसाइँ सरे। अहिले उनी भक्तपुरको बालकोटमा पसल चलाइरहेका छन्।

त्यतिखेर जनकपुरमा जे भयो त्यसलाई नहुनुपर्ने घटनाका रूपमा लिने अधिकांश जनकपुरवासीलाई अहिलेसम्म पश्चात्ताप छ। लेखक तथा विश्लेषक रोशन जनकपुरी तिनैध्येका एक हुन्।  तर त्यस घटनापछि सन्नाटा छाएको जनकपुरमा मधेशका ग्रामीण बस्तीबाट बसाइँ सरेका थुप्रै मानिसले बन्दव्यापार एवं अन्य पेशामा पाएको अवसरलाई मानवीय संकटले पैदा गरेको सम्भावनाका रूपमा लिएर चित्त बुझाउनुपर्ने मत उनी राख्छन्। “पश्चात्ताप त छ नै, त्यसमा कुनै दुईमत छैन,” उनी भन्छन्, “तर त्यो स्थितिले मधेश र मधेशीलाई अर्को नयाँ अवसर पनि त दिएको छ।”

जो अडिएर बसे
जे जति भए पनि झापाबाट जनकपुर आएका हरिप्रसाद कोइरालालाई त्यस्तो समस्या कहिल्यै भोग्नुपरेन। उनी २०४५ सालमा जनकपुर आएका थिए, श्री यज्ञवल्क्य संस्कृत माध्यमिक, ज्ञानकुपमा संस्कृत पढ्न। २०६३ को आन्दोलनताका उनी घरबाहिर निस्कँदैनथे। त्यसबेला उनलाई तरकारी र घर चलाउन चाहिने सामग्रीहरू उनी पढाउने स्कुलका विद्यार्थीहरूले ल्याइदिन्थे। 

“त्यो समय पहाडी मूलका मान्छेको लागि यो ठाउँ ठीक थिएन। जताततै हत्याहिंसा भइरहेको थियो। एकखालको वातावरण नै त्यस्तो निर्माण गरिएको थियो,” उनी भन्छन्, “मान्छे रोएको–कराएको मैले आफैँ देखेँ। कति घरघडेरी बेचेर भागे, कतिलाई बेच्न बाध्य पारियो। व्यक्तिगत रूपमा मैले त्यस्तो कुनै समस्या भोग्नु परेन। तर अरूको लागि सहज थिएन।”

उनी ३१ वर्षदेखि जनकपुरको ‘मदर टेरेसा पब्लिक स्कुल’मा नेपाली विषय पढाइरहेका छन्। उनका अनुसार अहिले जनकपुरमा पहाडी मूलका मानिसहरू बिरलै देखिन्छन्। २०६३ अगाडिको जनकपुरसँग तुलना गर्ने हो भने त पहाडी समुदायको उपस्थिति नगण्य छ। यसबीचमा धेरै परिवर्तन भइसकेको उनी बताउँछन्। 

“अरूलाई जनकपुरले के दियो या दिएन त्यो थाहा भएन, तर मलाई जनकपुरले सबैथोक दियो। यी सबै कुरा हुँदा र आफ्नै आँखाले देख्दा पनि मलाई जनकपुर कहिल्यै छोडेर जान मन लागेन,” कोइरालाले उकालोसँग भने, “बरु मैले आमाबुबालाई छाडेँ, तर जनकपुर छाड्न सकिनँ। बाल्यकाल र जवानी यही जनकपुरमा बित्यो, अब त के जनकपुर छाड्छु र?”

गुन्डा नाइकेको त्रास
त्यतिबेला जनकपुरमा जानेमाने गुन्डा नाइके थिए सञ्जय साह (टकला)। उनी आफ्नो वास्तविक नामभन्दा पनि ‘टकला’ नामले ‘पपुलर’ थिए। जनकपुरमा उनको जगजगी थियो। हाल उनी केन्द्रीय कारागार नख्खुमा विभिन्न मुद्दाको सजाय काटिरहेका छन्। त्यो समयमा टकलाको रवाफ देखेर पहाडी मूलका मानिसहरू भयभीत थिए, कतिपय युवा भने उनीसँगै उनको समूहमा आबद्ध थिए। उनकै समूहमा संलग्न एक सहयोगीका अनुसार जनकपुरबाट पहाडी समुदाय लखेटिनुमा साम्प्रदायिक द्वेष ज्यादा भएका टकलाको विशेष भूमिका थियो। 

“केटाहरूलाई दिउँसो पारि (भारत) गएर फेन्सिडिल (लागुऔषध) खाने पैसा दिनुहुन्थ्यो सञ्जय दाइले। अनि राति–राति पहाडी मूलका मान्छेहरूलाई फोन गरेर मधेश छोडेर जाने धम्की दिन उनीहरूलाई नै लगाउनुहुन्थ्यो,” ती सहयोगीले उकालोसँग भने, “नमानेपछि तर्साउनका लागि सुतरी बम घरबाहिर फुटाउने आदेश दिनुहुन्थ्यो।” 

त्यो परिस्थितिको फाइदा उठाउँदै धेरै पहाडी मूलका जनकपुरवासीको घर कौडीको भाउमा आफ्नो नाममा गर्न टकला सफल भएका थिए। मूल बजारकै कतिपय जग्गा पनि उनले त्यसैगरी खरिद गरेका थिए। “मान्छे त मास्टर माइन्ड नै थिए जसले जे भने पनि,” ती सहयोगी भन्छन्।

पहाडी समुदायलाई धाकधम्की दिने टकलाको पृष्ठभूमि भए पनि धेरैले उपेन्द्र यादवका कार्यकर्ताले पहाडीहरूलाई विस्थापित गर्न खोजेको बताउँथे। २०६३ माघ १३ गते रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा सहभागी भएका नेकपा माओवादीका नेता मातृका यादवले भनेका थिए, “पहाडियाहरूको घरमा आगो लगाएर मधेश मुक्त हुँदैन। हामीले १० वर्षमा भएका गल्तीको माफी मागेका छौँ। मधेशी जनताले भन्छ भने म फेरि माफी माग्न तयार छु। तर उपेन्द्र यादव लगायतका व्यक्तिहरूले पनि माफी माग्नुपर्छ।”

माओवादीको अग्रसरतामा गठन भएको मधेशी मुक्ति मोर्चाबाट अलग्गिएर आफ्नै सशस्त्र समूह खोलेका जनतान्त्रिकका तराई मुक्ति मोर्चाका जयकृष्ण गोइत र ज्वाला सिंह भनिने नागेन्द्र पासवानले पनि त्यो समयको राम्रै फाइदा उठाए। पछि गोइतबाट अल्गिएका ज्वाला सिंहबाट त पहाडी समुदायका मानिसहरू ‘लुटिनु र लखेटिनु’भन्दा पनि बढी प्रताडित भए। त्यसबेला कति पहाडी मूलका मधेशवासीको ज्यानै गयो भने कति जनकपुरबाटै सदाका लागि पलायन भए। 

जनकपुर छाड्नेका तीन गन्तव्य
जनकपुर चुरोट कारखाना, जनकपुर रेल्वे र धनुषा जिल्लाको सदरमुकाम भएका कारण जनकपुरका अधिकांश कार्यालयमा पहाडी समुदायको उपस्थिति बाक्लो थियो। बाहुन, क्षेत्री नेवार, तामाङ लगायतका पहाडीहरू जनकपुरका कुनाकाप्चामा भेटिन्थे। अधिकांशको सरकारी क्वार्टर नै थियो। तर घर हुनेको संख्या पनि कम थिएन। त्यसबेला रैथानेभन्दा पृथक् शैलीका घर देखिनेबित्तिकै पहाडी समुदायको घर भनेर बुझिन्थ्यो। 

खासगरी त्यतिखेर जनकपुर छाडेकाहरू काठमाडौँ, हेटौँडा र बर्दिबास गरी तीन ठाउँमा बसाइँ सरे। जनकपुरबाट बर्दिबास सरेका अशोक मगरको पीडा रोबिन र सञ्जयको भन्दा कम छैन। अशोकको जन्म जनकपुरमै भयो। उनको घर जनकपुर रेल्वे स्टेसननजिक थियो। उनले स्कुल र क्याम्पसको पढाइ जनकपुरमै पूरा गरे। उनका बुवा साल्ट ट्रेडिङ लिमिटेडमा कार्यरत थिए। तर एक रात उनको परिवारमा यस्तो घटना भयो, जसका कारण उनीहरू ज्यान बचाउन सदाका लागि जनकपुर छाडेर बर्दिबास सर्न बाध्य भए। 

२०६३ माघमा भएको प्रथम मधेश आन्दोलनताका अन्य पहाडी मूलका मानिसहरू लखेटिए पनि अशोकको परिवारलाई खासै असर परेको थिएन। छरछिमेकमा राम्रै सम्बन्ध थियो। तर आन्दोलनको एक वर्ष नबित्दै एक रात अशोकको घरमा भएको डकैतीले उनको परिवारलाई असुरक्षित महसुस गरायो। अन्ततः घरघडेरीबाहेक एक टुक्रा जग्गासमेत नभएका उनीहरू बर्दिबास सरे।

“अचानक रातको १ बजे ढोका ढकढक गरेको आवाज सुनियो। शुरूमा हामीले खोलेनौँ। तर उताबाट आफूहरू ज्वाला सिंहको मान्छे भएको र ढोका नखोले तोडेर सबैलाई मारिदिने भनेपछि हामी तर्सियौँ,” अशोक भन्छन्, “हातमा धारिलो हतियार देखेपछि हामीले बरु सामान लगे लगोस्, तर ज्यान बचोस् भन्ने सोच्यौँ। नुनदेखि सुनसम्म सबै लुटेर लगे।”

बर्दिबासको जनघनत्व उतिखेर अहिलेजस्तो बाक्लिएको थिएन। पछि जनकपुरबाट सरेका धेरै मानिस गएर होटल र पसल खोलेपछि अहिले जनकपुर घुम्न जाने अधिकांशको रोजाइमा बर्दिबास पर्ने गरेको छ। खाना खाने प्रयोजनको लागि होस् कि राति बास् बस्ने, दिनभर जनकपुर घुमेर उनीहरू बर्दिबास नै पुगेर बसेको पाइन्छ। स्वयं जनकपुरवासीहरू पनि बर्दिबासमै पुगेर आराम गर्ने गरेका छन्। 

सुरज शर्माको परिवारले तत्कालै जनकपुर नछाडे पनि सात वर्षअघि हेटौँडा सरिसकेको छ। आन्दोलनमा आफ्नो परिवारमाथि खासै दबाब र प्रभाव नपरेका कारण ‍त्योबेला जनकपुर नछोडेको उनी बताउँछन्। “तर त्यतिबेलै आएको भए हुने रहेछ। जग्गाको भाउ सस्तो नै थियो। जनकपुर छाडेर आएकाहरूले कम भाउमै घरजग्गा जोड्न पाए,” उनी भन्छन्, “हामी त पछि आयौँ, घरजग्गाको मूल्य आकासिइसकेको थियो।”


सम्बन्धित सामग्री