Tuesday, June 18, 2024

-->

सगरमाथा ओरोहीलाई गाउँपालिकाको नियम : आफ्नो मलमूत्र अनिवार्य फिर्ता ल्याउनुपर्ने

आरोहीहरूले लगेको फोहोर आफैँले फिर्ता ल्याउनुपर्ने नियमलाई संघीय सरकारले कडाइ गर्न नसकिरहेको अवस्थामा खुम्बु पासाङल्हामु गाउँपालिकाले आरोहणमा दिसापिसाब राख्ने ब्याग अनिवार्य लैजानुपर्ने नियम लगाएको छ।

सगरमाथा ओरोहीलाई गाउँपालिकाको नियम  आफ्नो मलमूत्र अनिवार्य फिर्ता ल्याउनुपर्ने
सगरमाथा आधार शिविर। तस्वीर सौजन्य: विनय गुरागाईं

काठमाडौँ– यो वर्ष सगरमाथा चढ्न विश्वभरबाट आरोहीहरू नेपाल आउने क्रम जारी छ। पर्यटन विभागका अनुसार वैशाख १६ गतेसम्म ३९० जनाले आरोहणका लागि अनुमति प्राप्त गरिसकेका छन्। यस पटकदेखि आरोहीले सगरमाथा सफा राख्न नयाँ नियम पालन गर्नु पर्नेछ।

आरोही र उनीहरूका शेर्पा गाइडले सगरमाथाको आधार शिविरभन्दा माथि जान अब आफ्नो दिसापिसाब राख्ने ब्याग लैजानु पर्नेछ। फर्केर आउँदा उक्त ब्याग आधार शिविरमा बुझाउनु पर्नेछ।

आरोहीहरूलाई यस्तो नियम खुम्बु पासाङल्हामु गाउँपालिकाले लगाएको हो। गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाका अनुसार सगरमाथासहित गाउँपालिकाको भूगोलमा पर्ने अन्य हिमालमा पनि यो नियम लागू गरिएको छ। “स्वच्छ हिमाल अन्तर्गत हामीले यस वर्षदेखि आरोहीलाई आफ्नो दिसापिसाब फिर्ता गरेर ल्याउने नियम कडाइका साथ लागू गर्ने निर्णय गरेका हौँ,” उनी भन्छन्, “त्यसका लागि गाउँपालिकाका तर्फबाटै ब्याग किनेर वितरण पनि गरिएको छ।”

नेपालका पुराना पर्यटन व्यवसायी एवम् सेभेन समिट ट्रेकिङका संस्थापक आङछिरिङ शेर्पाका अनुसार सन् २००७ मा क्याम्प–२ मा हिउँ पग्लिएर मानव मलमूत्र छरपष्ट भएको थियो। त्यसपछि नै हिमाल आरोहणका क्रममा शौच गर्न ब्याग बोक्नुपर्ने विषय उठेको हो। “हिउँ पग्लिएर मलमूत्र देखिएपछि त्यसको व्यवस्थापनको विषय उठेको थियो तर कार्यावन्यन भएको थिएन। यस वर्षदेखि गाउँपालिकाले लगाएको नियम पूर्णरूपमा कार्वान्यन होस्,” उनी भन्छन्, “आरोहीको संख्या बढेसँगै मानव मलमूत्रको समस्या पनि देखिएको हो।” 

आङछिरिङका अनुसार आरोहणको सिजनमा आधार शिविरमा आठ सयदेखि एक हजार मान्छे ४५ दिनभन्दा बढी बस्छन्। चार सय आरोहीसँगै आठ सयभन्दा बढी मानिस पहिलो आधार शिविरभन्दा माथि उक्लिन्छन्।

सगरमाथा प्रदूषण नियन्त्रण कमिटी (एपीसीसी)का अनुसार ३५० जना सगरमाथाको आधार शिविरमा जाँदा ७० टन फोहोर जम्मा हुन्छ। त्यसमध्ये १५ देखि २० टन मानव मलमूत्र, २० देखि २५ टन प्लाष्टिक र १५ देखि २० टन भान्साबाट निस्केको कुहिने फोहोर हुन्छ। 

आधार शिविरभन्दा माथि कति फोहोर जम्मा हुन्छ भन्ने यकिन विवरण छैन। सेभेन समिट ट्रेकिङ कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार माथिबाट सबै फोहोर तल आउँदैन। “मानिसलाई आफ्नै शरीर भारी भइरहेको हुन्छ। त्यो बेला कसरी फोहोर बोकेर ल्याउनू?” उनी भन्छन्, “माथि गएकाले फोहोर आफैँ बोकेर ल्याउन सक्दैनन्।”

सन् १९६० देखि यताको फोहोर सगरमाथासहितका हिमालमा थुप्रिएर रहेको विश्वास गरिन्छ। यद्यपि सात वर्षदेखि नेपाली सेनाको नेतृत्वमा हिमालमा भएको फोहोर संकलन भइरहको छ। यस वर्ष नेपाली सेनाले सगरमाथाबाट पाँच वटा शवसहित १० टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ। सेनाको समूह शेर्पासहित सगरमाथामा परिचालन भएको छ। 

सन् २०२३ मा सेनाले ३५ टन फोहोर संकलन गरेको थियो। सन् २०१७ देखि यता नेपाली सेनाले करिब ११३ टन फोहोर संकलन गरेको छ। हिमाल आरोहणमा काम गरिरहेका शेर्पाका अनुसार प्रत्येक सिजनमा आधार शिविरभन्दा माथि ३० टनभन्दा धेरै फोहोर छाडिने अनुमान छ।

हिउँ पग्लिने क्रमसँगै सगरमाथामा धेरै वर्षदेखि थुप्रिएको फोहोर देखिन थालेको छ। सन् १९७३ मा इटलीको आरोहण दल त्यति बेलाको सबैभन्दा ठूलो थियो, जसमा ११२ आरोही शेर्पासहित १३४ जना सहभागी थिए। ती आरोहीका लागि १२६ टन सामान काठमाडौँबाट लुक्लासम्म जहाजमा र त्यसपछि ३५ सय भरियालाई बोकाएर आधार शिविर पुर्‍याइएको थियो नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष समेत रहेका आङछिरिङ शेर्पा सम्झन्छन्। 

६० टन सामान हेलकोप्टरमार्फत आधार शिविरभन्दा माथि क्याम्प–२ मा लगिएको थियो। सोही क्रममा क्याम्प–२ मा हेलिकोप्टर दुर्घटना भएको थियो। उक्त दुर्घटनाको ३६ वर्षपछि सन् २००९ मा दुर्घटनास्थलभन्दा झण्डै डेढ किलोमिटर तल हेलिकोप्टरका पाटपुर्जा भेटिएका थिए। सगरमाथाको हिउँ ३६ वर्षको अविधिमा बगेर एक किलोमिटरभन्दा तल सरेको देखाउने यो परिदृश्य विश्वव्यापी तापमान वृद्धिले हिमालमा पारेको प्रतिकूल प्रभाव बुझ्ने राम्रो उदाहण भएको पूर्वअध्यक्ष आङछिरिङ बताउँछन्।  

हिमाल दुर्गन्धित हुनुमा सरकारको भूमिका जिम्मेवार भएको विज्ञहरूको भनाइ छ। पर्वतारोहण सम्बन्धी नियमावली २०५९ अनुसार आरोहण दलले फोहोरमैला व्यवस्थापनको लागि पहिले नै धरौटी राख्नुपर्छ। यस्तो धरौटी हिमालअनुसार फरक फरक छ। सगरमाथा आरोहणमा जाने दलले फोहोरमैला व्यवस्थापन बापत ४ हजार अमेरिकी डलर धरौटी राख्नुपर्छ। पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहणका समयमा लगिएका फोहोर फिर्ता नल्याए धरौटी जफत हुन्छ। 

यद्यपि कुन आरोहण दलले कति सामान लगे र कति फोहोर फिर्ता ल्याए त्यसको अनुगमन गर्ने भरपर्दो संयन्त्र नै नभएको पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ बताउँछन्। “यसको काम गर्ने जिम्मा आरोहणको अनुगमनका लागि विभाग र मन्त्रालयले खटाउने सम्पर्क अधिकृतलाई दिइने भए पनि उनीहरू आधार शिविरसम्म नै पुग्दैनन्,” उनी भन्छन्।

आफ्नो नाम उल्लेख गर्न नचाहने एक ट्रेकिङ कम्पनी सञ्चालकका अनुसार सम्पर्क अधिकारीका रूपमा खटाइएका सरकारी कर्मचारीले काठमाडौँमा बसेर फोहोर फिर्ता ल्याएको कागजमा हस्ताक्षर गर्छन्। अनि कम्पनीले त्यही आधारमा धरौटी रकम फिर्ता पाउँछन्। 

“त्यति बेला फोहोर नै ल्याउनुपर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने रहेछ तर सरकारी सम्पर्क अधिकृतले हिमालमा फोहोर गरेको छैन भनेर सिफारिस गर्‍यो भने धरौटी फिर्ता दिने व्यवस्था गरियो। यो नै गलत थियो। सम्पर्क अधिकृत बेसक्याम्पमा पनि बस्दैन। टिमले सफा गर्‍यो कि गरेन हेर्दा पनि हेर्दैन,” उनी भन्छन्।

सरसफाइको विगत
सन् १९९२ मा अमेरिकाको टाइम म्यागजिनले सगरमाथा र फोहोरलाई एक ठाउँमा राखेर सगरमाथाको चुचुरोभन्दा ठूलो फोहोरको थुप्रो सहितको कार्टुन प्रकाशित गरेको थियो। त्यसपछि सगरमाथाको फोहोरबारे विश्वव्यापी चर्चा शुरू भयो।

पर्वतारोहण संघका पूर्वअध्यक्ष शेर्पाका अनुसार पर्वतारोहण कम्पनीहरूको आलोचना भएपछि संघकै पहलमा सन् १९९५ मा सगरमाथा सफाइ अभियान शुरू गरिएको थियो। त्यति बेला संघका अध्यक्ष शेर्पा नै थिए। आफ्नै कोषबाट यो अभियान सञ्चालन गरेको संघले आधार शिविरभन्दा माथिबाट सात हजार ५०० केजी फोहोर संकलन गरेको थियो।

त्यसपछि सन् २००० मा ‘सहश्राब्दी वर्ष’का नाममा जापानी नागरिक एवम् वातावरण अभियान्ता केन नोगुचीको अग्रसरतामा सगरमाथा सफाइ गरिएको थियो। त्यति बेलाको सरसफाइमा ३६ जना आरोही शेर्पा र दुई जना कुकसहितको टोली सामेल थियो। सन् २००१ र २००२ मा पनि उक्त टोलीले सफाइ अभियान सञ्चालन गरेको थियो।

त्यसपछि बेलाबेलामा विभिन्न अभियानको नामबाट हुने गरेको सफाइसँगै सन् २०१९ देखि नेपाली सेनाले नेपाल पर्वतारोहण संघ, खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायत विभिन्न संघसंस्थासँगको सहकार्यमा हरेक वर्ष नियमित रूपमा सगरमाथाको फोहोर संकलन गर्दै आएको छ।


सम्बन्धित सामग्री