काठमाडौँ– सगरमाथा आरोहण गरिरहेका तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा २०७९ चैत २९ गते हिमपहिरोमा परे। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थेसु घर भएका उनीहरू खुम्बु आइसफलभन्दा माथि र पहिलो शिविरभन्दा केही तल हिमपहिरोमा परेका थिए। ५ हजार ७०० मिटरको उचाइमा भएको दुर्घटनापछि हराएका उनीहरू अहिलेसम्म पनि भेटिएका छैनन्।
मनास्लु हिमाल आरोहणमा गएका पथप्रदर्शक (गाइड) दावा छिरिङ शेर्पाको २०७९ असोज १७ गते हिमपहिरोमा परेर मृत्यु भयो। चुचुरोमा पुग्न २०० मिटर बाँकी हुँदा उनी हिमपहिरोमा परेका थिए। त्यसको सात दिनअघि असोज १० गते मनास्लु आरोहणमै गएका अर्का पथप्रदर्शक अनुप राईको पनि हिमपहिरोमा परेर मृत्यु भएको थियो।
हिमाल आरोही तथा पथप्रदर्शकहरू बाटो बिराएर हराउने र दुर्घटनामा परेपछि ‘लोकेसन ट्रेस’मा ढिलाइ हुँदा ज्यानै जाने घटना धेरै हुन्छन्। दुर्घटनामा परेपछि समयमा नै उद्धार गर्न नसकिने समस्या न्यूनीकरणका लागि आरोहीले ‘चिप्स’ बोक्नुपर्ने अनिवार्य व्यवस्था भएको छ।
पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार चिप्स बोकेर जाने आरोही वा पथप्रदर्शक दुर्घटनामा परे वा हराए उनीहरू भएको स्थान पत्ता लगाउन यसले सहयोग पुग्छ। समयमा नै आरोही वा पथप्रदर्शक रहेको स्थान पत्ता लाग्दा चाँडै उद्धार हुने सम्भावना रहन्छ।
“चिप्स बोकेर जाने विषयलाई धेरैले जीपीएस ट्रयाकर लेखेको पाइयो, यो जीपीएस ट्रयाकर होइन। आरोहणमा जाँदा चिप्स लगाएर जाने हो। यस्तो चिप्स पेन ड्राइभ आकारको हुन्छ,” गुरुङ भन्छन्, “यदि मान्छे हराएमा यसको सहयोगमा डिटेक्ट गर्न सजिलो हुन्छ।”
यसअघि चिप्स बोक्नुपर्ने व्यवस्था गरिए पनि अनिवार्य थिएन। यद्यपि, आरोहण सम्बन्धी काम गर्ने केही कम्पनीले चिप्सको प्रयोग गर्दै आएका थिए। विभागले अब भने सगरमाथासहित सबै हिमाल आरोहीका लागि चिप्स बोक्न अनिवार्य गरेको छ।
नेपाल पर्वतारोहण संघ एनएमएका अध्यक्ष निमा नोरु शेर्पा आरोहीहरूले चिप्स बोक्नुपर्ने नियम युरोपलगायतका देशमा पहिलादेखि नै लागू भएको बताउँछन्। “यो प्रविधि नेपालका लागि नयाँ भए पनि युरोप र अमेरिकातिर आरोहणमा पहिलेदेखि प्रयोग हुँदै आएको थियो,” उनी भन्छन्, “हामीकहाँ हिमपहिरोलगायत घटनाहरू बर्सेनि बढ्दै छन्। त्यस्ता दुर्घटनामा पर्दा उद्धारमा सजिलो बनाउँछ।”
बर्सेनि दुर्घटना र बेपत्ता
हिमाल आरोहणका क्रममा हरेक वर्ष दुर्घटना हुने र आरोही तथा पथप्रदर्शकको ज्यान जाने गरेको छ। पर्यटन विभागका अनुसार गतवर्ष (सन् २०२३) मा सगरमाथा आरोहणका क्रममा १७ सहित १९ जनाको मृत्यु भएको थियो। त्यसमध्ये ६ जनाको शव अझै भेटिएको छैन।
सन् २०२२ मा सात जनाले ज्यान गुमाएका थिए। हिमाल आरोहणका क्रममा दुर्घटनामा परेपछि समयमा नै उद्धार नहुँदा ज्यान जाने जोखिम धेरै हुन्छ। चिप्स प्रयोगपछि यस्तो जोखिम पनि न्यूनीकरण हुने विभागका निर्देशक राकेश गुरुङ बताउँछन्। “चिप्स लगाएको मानिस हराउँदा समयमै उद्धार गरेर जोखिम घटाउन सकिने भयो। अनि शव नभेटिने समस्याको पनि समाधान हुने विश्वास छ,” उनी भन्छन्।
केही वर्षयता उच्च हिमाली क्षेत्रमा अस्वाभाविक मौसम परिवर्तन हुने गरेको छ जसकारण हिमपहिरोका घटना पनि बढेका छन्। यसको असर पर्वतारोहणमा परेको छ। मंसिरदेखि माघसम्म हिउँ पर्नुपर्ने उच्च हिमाली क्षेत्रमा पछिल्ला वर्ष फागुनसम्म पनि हिउँ पर्दैन। पछिल्लो पाँच वर्षमा हिउँ पर्ने समयमा नपरेर चैतमा हिउँ परेको आरोही तथा उच्च हिमालमा उद्धार गर्ने मिङ्मा डेबिड शेर्पा बताउँछन्।
पर्यटन विभागको तथ्यांकअनुसार पछिल्लो पाँच दशकमा हिमाल आरोहणका क्रममा हिमपहिरोलगायत घटनामा करिब २०० जनाले ज्यान गुमाएका छन्। त्यसमध्ये ७५ जनाभन्दा बढी शेर्पा पथप्रदर्शक छन्। “फागुन चैतमा हिउँ पर्दा जमेको हुँदैन। त्यसले गर्दा हिमपहिरोको सम्भावना बढी हुन्छ,” मिङ्मा भन्छन्, “हिमाल आरोहणका लागि हिउँ जमेर आइस भएको हुनुपर्छ।”
जलवायुविज्ञ एवम् मध्यपश्चिम विश्वविद्यालयका डिन सुदीप ठकुरीका अनुसार सन् १९२० देखि २०२० सम्म नेपालको उच्च हिमाली क्षेत्रमा ६० वटा ठूला हिमपहिरोका घटना रेकर्ड गरिएका छन्। ती घटनामा परेर मृत्यु हुनेको संख्या ३७० छ।
यो वर्ष अहिलेसम्म ५१२ जनालाई अनुमति
यस वर्षको वसन्त ऋतुमा ६ हजार मिटरभन्दा माथिका हिमाल आरोहणका लागि चैत २८ गतेसम्म ५१२ जनाले अनुमति पाएका छन्। त्यसमध्ये ११६ जना महिला र ३९६ जना पुरुष छन्। आरोहण अनुमति दिए बापत सरकारले ३४ करोड ४३ लाख ९९ हजार रुपैयाँ राजस्व उठाएको छ।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि अनुमति लिने सबैभन्दा बढी छन्। त्यसका लागि अनुमति लिने २०९ जनामध्ये १७० पुरुष र ३९ महिला छन्। सगरमाथाबाट मात्र सरकारले रोयल्टी बापत २९ करोड ७५ लाख २८ हजार रुपैयाँ प्राप्त गरेको छ। यो सिजन सगरमाथा आरोहणमा जानेको संख्या चार सयभन्दा बढी हुने विभागको अनुमान छ।
त्यसैगरी, ६ हजार ८१४ मिटरको आमादब्लम आरोहणका लागि ६६ जना र ८ हजार ९०१ मिटरको अन्नपूर्ण आरोहणका लागि २५ जनाले अनुमति लिएका छन्। त्यस्तै ८ हजार ५१६ मिटरको लोत्से आरोहणका लागि ५५ जनाले अनुमति पाएका छन्। त्यसमध्ये ४९ पुरुष र ६ महिला छन्।
मकालु हिमाल आरोहणका लागि अनुमति लिने ४५ जनामध्ये ३५ पुरुष र ११ महिला छन्। कञ्चनजंघा हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएका छन्।