Sunday, October 13, 2024

-->

सगरमाथाको फोहोर अब भरियाको साटो 'ड्रोन'ले ओसार्ने

सगरमाथाको आधार शिविरदेखि माथि सामान ओसारपसारका लागि गरिएको ड्रोनको परीक्षण उडान सफल भएको छ। अब त्यस क्षेत्रमा सामान ओसार्न व्यावसायिक रूपमै ड्रोन प्रयोग गरिने छ।

सगरमाथाको फोहोर अब भरियाको साटो ड्रोनले ओसार्ने
तस्वीर सौजन्य :

काठमाडौँ– सगरमाथाको आधार शिविरमा सामान तथा फोहोर ओसारपसारका लागि अब शेर्पा भरियाहरू होइन, प्रविधिको प्रयोग हुने भएको छ। सगरमाथाको आधार शिविरदेखि क्याम्प–१ सम्म सामान ओसारपसारका लागि प्रयोग गरिएको ड्रोनको परीक्षण उडान सफल भएपछि प्रविधि प्रयोगका लागि बाटो खुलेको हो। 

खुम्बु पासाङल्हामु गाउँपालिकाको समन्वयमा चिनियाँ ड्रोन कम्पनी डीजीआईले गरेको परीक्षण उडान सफल भएको गाउँपालिका अध्यक्ष मिङ्माछिरि शेर्पाले बताएका छन्। “हामीले अहिले गरेको टेस्ट फ्लाइट सफल भएको छ,” उनी भन्छन्, “अब सगरमाथा बेसक्याम्पदेखि क्याम्प–१ सम्म सामान ओसारपसारमा ड्रोनको प्रयोग गर्न सकिन्छ।” 

गाउँपालिकाले गृह मन्त्रालय लगायतका सरकारी निकायबाट स्वीकृति लिएर ड्रोनको परीक्षण गरेको थियो।  ड्रोनको प्रयोगले क्याम्प–१ मा सामान लैजान र माथिबाट बेसक्याम्पसम्म फोहोर ल्याउन सहज हुने र त्यही प्रयोजनमा उपयोग गरिने शेर्पाले बताए। 

उनका अनुसार उक्त ड्रोनले एक पटकमा १८ किलोग्राम सामान बोक्न सक्छ। क्याम्प–२ भन्दा माथिसम्म नै ड्रोनको प्रयोग गरेर सामान ओसारपसारको योजना भए पनि सिग्नल (संकेत) ले काम नगरेको र माथि उडान गर्न नसकिएको शेर्पा बताउँछन्। 

चिनियाँ ड्रोन कम्पनी डीजीआई को दाबीअनुसार फ्लाई कार्ट–३० ड्रोन ६ हजार मिटरको उचाइमा सिंगल ब्याट्रीले ४० किलो तौल लिएर ९ मिनेटसम्म अधिकतम १८ किलोमिटर उड्न सक्छ। डबल बयाट्रीमा ३० केजी तौल लिएर १८ मिनेटसम्म उड्न सक्ने दाबी कम्पनीले गरेको छ। अक्सिजनका दुई वटा सिलिन्डर लिएको ड्रोन मंगलबार क्याम्प–१ मा पुगेर फर्केको थियो। 

नक्सामा सगरमाथाको आरोहण मार्ग।

उक्त ड्रोनको ब्याट्रीबिनाको तौल ४२.५ किलोग्राम छ भने दुई वटा ब्याट्री सहितको तौल ६५ किलो पुग्छ। 

नेपाली सेना र सगरमाथा प्रदूषण नियन्त्रण कमिटीले अहिले सगरमाथामा सरसफाइको काम गरिरहेका छन्। उनीहरूले सगरमाथा क्षेत्रमा संकलन गरेको फोहोर जम्मा गरी बेसक्याम्पसम्म ल्याउन ड्रोनलाई नै ढुवानीको साधनका रूपमा प्रयोग गर्ने तयारी गाउँपालिकाले गरेको छ। तर सामान ओसारपसारका लागि ड्रोनको व्यावसायिक उडान गर्न भने त्यति सहज छैन। अहिलेसम्म कसले सञ्चालन गर्ने भन्ने पनि स्पस्ट भइसकेको छैन। 

खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार परीक्षण उडान सफल भएपछि कसरी सञ्चालन गर्ने भनेर अध्ययन गरिँदै छ। अध्ययनबाट आउने प्रतिवेदनका आधारमा सञ्चालनको मोडालिटी तय हुने गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन्। “प्राविधिकरूपमा त सम्भव देखियो, आर्थिकरूपमा सम्भव हुन्छ कि हुँदैन हेरौँ,” उनी भन्छन् “कसरी सञ्चालन गर्ने भन्ने विषयमा अध्ययन गर्न टोली बनेको छ। त्यो टोलीले दिने प्रतिवेदनका आधारमा हामी निष्कर्षमा पुग्छौँ।” 

प्रविधिको प्रयोग गर्दा सगरमाथा क्षेत्रमा हुने धेरै ठूलो मानवीय क्षतिलाई जोगाउन सकिने पालिका अध्यक्ष शेर्पाले बताए। अहिले त्यस क्षेत्रमा परीक्षण गरिएको ड्रोनको अन्तर्राष्ट्रिय मूल्य ४२ हजार डलर छ जुन अहिलेको सटही दरअनुसार ५५ लाख ८६ हजार नेपाली रुपैयाँ बराबर हो। 

गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण कमिटीबीच पनि ड्रोन सञ्चालनको मोडालिटीको बारेमा छलफल चलिरहेको छ। 

कसरी  कम हुन्छ मानवीय क्षति ? 
सगरमाथा आरोहणमा जाने आरोहीहरूका भनाइमा आधार शिविरदेखि क्याम्प–१ सम्म पुग्ने बाटो सबैभन्दा जोखिममा छ। विश्वव्यापी रूपमा बढ्दो तापक्रमले त्यस ठाउँमा हिउँ पग्लिएर ठूला–ठूला दरारहरू उत्पन्न भएका छन्। उक्त क्षेत्रमा भारी बोक्ने शेर्पाहरू हरेक वर्षजसो दुर्घटनामा पर्ने गरेका छन्। 

तस्वीर सौजन्य : तेन्जी शेर्पा

जस्तो कि गत वर्षको आरोहण खुल्नुअघि सामान लिएर गएका तीन जना शेर्पाको क्याम्प–१ पुग्नुअघिको खुम्बु आइसफलमा गएको हिमपहिरोमा परेर मृत्यु भयो। त्यसैगरी २०७८ जेठ ४ गते एक जना शेर्पा गाइडको आइसफलमा खसेर मृत्यु भएको थियो। अहिलेसम्मको तथ्यांकअनुसार सगरमाथा आरोहणका क्रममा ३२१ जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये एक तिहाई अर्थात् १३० जना शेर्पाहरू थिए। अधिकांश शेर्पाहरू दुर्घटनामा पर्ने क्षेत्र खुम्बु आइसफल नै हो। 

सन् २०१४ मा खुम्बु आइसफलमै १६ जना शेर्पाको मृत्यु भएको थियो। सन् १९५३ देखि सन् २०२३ सम्म खुम्बु आइसफलमा भएका दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५० को हाराहारीमा छ। त्यसमध्ये धेरै शेर्पा नै छन्। 

सगरमाथा आरोहणका लागि जाने रुटमध्ये सबैभन्दा खतरनाक देखिएको खुम्बु आइसफल क्षेत्रमा ज्यान गुमाउनेमध्येका धेरैजसो भारी बोकेर आउने–जाने शेर्पा नै भएकाले ड्रोनको माध्यमबाट सामान ओसारपसार गर्दा जोखिम कम हुने सगरमाथा आरोही एवं इमाइजिन नेपाल ट्रेक एन्ड एक्सपेडिसनका प्रबन्ध निर्देशक मिङ्माछिरि शेर्पा बताउँछन्। “खुम्बु आइसफलमा भारी बोकेर हिँड्नु भनको एकदमै जोखिम हो। त्यस क्षेत्रमा हुने दुर्घटनाको क्षति कम गर्न पनि ड्रोन सहयोगी हुन सक्छ,” उनी भन्छन्। 

खुम्बु पासाङल्हामु गाउँपालिकाको नेतृत्व भने ड्रोनको प्रयोग मानव मलमूत्र ओसार्न मात्र उपयोगी हुने विश्वासमा छ। गाउँपालिका अध्यक्ष शेर्पा अरू सामान बोकेर ल्याउन सहज भए पनि मानव मलमूत्र ल्याउन असहज हुने भएकाले ड्रोनबाट मानव मलमूत्र ओसार्ने उद्देश्य रहेको बताउँछन्। “ड्रोनले माथि जाँदा सामान लैजान्छ। तल फर्किंदा मानव मलमूत्र सहितको फोहोर ल्याउँछ,” उनी भन्छन्। 
सगरमाथा आरोहणमा जाने सबैलाई गाउँपालिकाले यस वर्षदेखि आफ्नो मलमूत्र आधार शिविरसम्म फिर्ता ल्याउनुपर्ने व्यवस्था अनिवार्य गरेको छ। त्यसका लागि पालिकाले नै विशेष किसिमका ब्याग किनेर बिक्री गरेको छ। गाउँपालिकाले किनेको तीन हजार थान त्यस्ता ब्याग आधार शिविरमा बिक्री गरिएको हो। तिनै ब्यागमा शौच गरेर फिर्ता ल्याउनुपर्ने नियम गाउँपालिकाले बनाएको छ।


सम्बन्धित सामग्री