Sunday, April 28, 2024

-->

पोखरा महानगरको फोहोर एक वर्षदेखि सेती नदी छेउमा निर्बाध बिसर्जन

महानगरपालिका र स्थानीयबीचको विवादले केही समयअघि हप्तादिनसम्म फोहोर बिसर्जन रोकिएको थियो। यसबारे उच्च अदालत पोखरामा मुद्दासमेत पर्‍यो। तर अदालतको आदेशपछि पनि उही ठाउँमा फोहोर फालिँदै आएको छ।

पोखरा महानगरको फोहोर एक वर्षदेखि सेती नदी छेउमा निर्बाध बिसर्जन 
महानगरले दैनिक फोहोर बिसर्जन गरिरहेको लामेआहालस्थित सेती किनारको अस्थायी ल्यान्डफिलसाइट। तस्वीरहरू: श्याम/उकालो

पोखरा– नयाँ ल्यान्डफिल साइटको टुंगो नलाग्दासम्मका लागि भन्दै पोखरा महानगरपालिकाले वडा नम्बर ३२ को लामेआहालमा वातावरणीय प्रभाव मूल्यांकनबिनै फोहोर बिसर्जन गर्न थालेको एक वर्ष बित्यो। १८ महिनाका लागि अस्थायी व्यवस्था गरिएको नयाँ ठाउँ सेती नदी किनारमा पर्छ। तर त्यसको विकल्पमा नयाँ ल्यान्डफिलसाइट निर्माणको काम अहिलेसम्म अघि बढ्न सकेको छैन।

महानगरले त्यसअघि वडा नम्बर १४ को बाँच्छेबडुवाबाट ६ महिनाका लागि लामेआहालमा अस्थायी ल्यान्डफिल साइट प्रयोगमा ल्याएको थियो। पोखरा विमानस्थलका कारण त्यहाँ बिसर्जन बन्द भएपछि ल्यान्डफिलसाइट अहिलेको ठाउँमा सरेको हो। महानगरले पोखरा–३३ मा आधुनिक प्रविधिको प्रयोग गरेर नयाँ ल्यान्डफिल साइट बनाउने घोषणा पहिल्यै गरिसकेको छ। त्यसका लागि ल्यान्डफिल साइट निर्माण उपसमिति गठन गरेर ९६ रोपनी जग्गा रोक्का गरिएको महानगरले जनाएको थियो।

रोक्का भएको भनिएको जग्गामा उपसमितिको टोलीले अवलोकनपछि निर्माणस्थल छुट्ट्याउने कामसमेत टुंग्याइसकेको छ। तर सार्वजनिक–निजी साझेदारीमा बन्ने भनिएको नयाँ ल्यान्डफिल साइट निर्माणको काम जग्गा प्राप्तिको प्रक्रियाबाट अघि बढ्न नसक्दा अस्थायी ल्यान्डफिल साइटबाटै फोहोर व्यवस्थापनको काम भइरहेको छ। 

दैनिक ५० टिपर माटोले छोपेर सेती किनारमा पुरिँदै फोहोर
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधा पुग्ने भएपछि तत्कालका लागि फोहोर तह लगाउन महानगरले लामेआहालस्थित सेती नदी किनार छानेको थियो। अघिल्लो वर्षको पुस १७ गते विमानस्थल सञ्चालनमा आउनुभन्दा केही हप्ताअघि मात्र माटोले पुर्ने शर्तमा स्थानीयले त्यहाँ फोहोर फाल्न सहमति दिएका थिए। 

महानगरबाट निस्काशन हुने करिब २०० टन फोहोर पुर्न दुई वटा साना र एउटा ठूलो एक्स्काभेटर लगाएर अस्थायी ल्यान्डफिल साइटमा पुरिँदै आएको छ। फोहोरको गन्ध रोक्न माटोले पुर्ने सहमति भएअनुसार फोहोर थुपारिँदै आए पनि त्यसले वातावरणमा पार्ने असरलाई भने बेवास्ता गरिएकोमा स्थानीय वासिन्दा असन्तुष्ट छन्। वातावरणीय मूल्यांकनबिना नै धमाधम फोहोर खन्याउने र पुर्ने काम भइरहेको छ।

अहिले फोहोर बिसर्जन भइरहेको ठाउँबाट सेती नदी २५ मिटरभन्दा पनि कम दूरीमा छ। नदीको किनारसम्मै फोहोर देखिन्छ। महानगरले यो ठाउँलाई लक्षित गरी थप १८ महिनाका लागि फोहोर व्यवस्थापनको म्याद थप गर्दा नै वातावरणीय प्रभाव मूल्यांकन गरिनुपर्ने माग स्थानीयले राखेका थिए (हे. मागपछिको सहमतिपत्रको बुँदा नं. ३ (च))। यसले निम्त्याउने भवितव्य महानगरले अनदेखा गरिरहेको उनीहरूको आरोप छ। 

फोहोर फाल्न शुरू हुँदा पहिरोले भत्काएको जमिन पुरिएर पुनः प्रयोगमा ल्याउन सकिने देखेर फोहोर फाल्न दिइएको स्थानीय बुद्धिमान गुरुङ बताउँछन्। “पहिरोले लगेको जग्गा पुर्न पाए प्रयोगमा आउँथ्यो कि भन्ने हाम्रो आशा थियो। भासिएको ठाउँमा पुर्न पाइयो भने अरू जग्गा जोगाउन सकिन्छ भन्ने पनि हो,” उनले भने। गुरुङ पोखरा महानगरपालिका–३२ मा गठित फोहोर व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष हुन्।

३५ वटा गाडीले दैनिक तीन ट्रिपको हिसाबले फोहोर फालिरहेको उनले बताए। उक्त फोहोरलाई आठ मिटर उचाइका टिपरले दैनिक ५० टिपर माटो ल्याएर पुरिरहेको उनले सुनाए। “नपुरे गन्ध आउँछ। गन्ध नआओस् र स्वास्थ्यमा पनि असर नपरोस् भनेर पाँच हजार लिटरको ट्यांकीमा ‘वेस्ट डिकम्पोजर’ पनि मिसाएर छरिएको छ। यसले गन्ध आउन कम गरेको छ,” उनले भने।

फोहोर व्यवस्थापनमा थप गडबडी नआओस् भनेर निगरानीका लागि सीसीटीभी क्यामेरासमेत जडान गरिएको उनले जानकारी दिए। “त्यहाँ केही होला भनेर सीसीटीभी क्यामेरा व्यवस्थित छ। बिहान–बेलुका गरी तीन पटक धुलो हटाउन बिहान ८ बजे, दिउँसो ११ बजे र दिउँसो २ बजे पानी छर्किन्छौँ। यसरी व्यवस्थापन भइरहेको छ,” उनले भने। एक वर्षयता महानगरको फोहोर थुप्रिँदा त्यहाँ अहिले अन्दाजी ५०/६० फिट उचाइ पुरिइसकेको उनको अनुमान छ। 

नजिकै बगिरहेको सेती नदीमा फोहोर मिसिन नदिन ‘शेयरवाल’ लगाइएको छ। “फोहोर थेग्न ६६ मिटर लम्बाइ, साढे तीन मिटर चौडाइ र साढे चार मिटर उचाइको शेयरवाल लगाएका थियौँ। त्यो अहिले पुरिएर देखिन्न, भत्किने हो कि भन्ने डर छ,” गुरुङ भन्छन्, “पाँच तहको तारजालीको पर्खाल पनि लगाइएको छ। त्यसले पनि नधान्ने अवस्था छ। अब गर्नुपर्ने उपाय पहिल्याउन नगरपालिकाले इन्जिनियरहरूको विज्ञ टोली पठाउला।”

नगरपालिका र स्थानीयबीच मतभेद बढेर केही समयअघि हप्तादिनसम्म फोहोर उठ्न सकेको थिएन। त्यसबारे उच्च अदालत पोखरामा मुद्दासमेत दर्ता भएको थियो। तर अदालतको आदेशपछि पनि पुनः उही ठाउँमा फोहोर फालिँदै आएको छ। 

“राम्रोसँग डिस्पोज होस् भनेर हामीले निगरानी गर्ने हो। दुई पटक त फाल्न बन्द गरेका थियौँ। गल्तीको सुइँको पाउनेबित्तिकै बन्द गरिहाल्छौँ। अहिले समस्या छैन,” गुरुङले भने। 

स्यानिटरी ल्यान्डफिल साइट कस्तो हुनुपर्छ?
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा सक्रिय ऊर्जाविद् कुशल गुरुङ फोहोर व्यवस्थापन संसारकै प्रमुख चुनौती बनिरहेको बताउँछन्। विकसित देशहरूमा वैज्ञानिक तवरले फोहोर व्यवस्थापन गर्ने अवधारणा आइरहेको उनले सुनाए। “स्यानिटरी ल्यान्डफिल साइड यति वैज्ञानिक हुन्छ कि वातावरणमा त्यसको प्रभाव एकदमै न्यून हुन्छ। अहिले हामी स्वस्थ्य रहन स्यानिटाइज गर्छौं। किटाणु नसरोस् भनेर फोहोरलाई पनि त्यसरी नै स्यानिटाइज गर्ने गरिएको हो,” उनले भने।

स्यानिटरी ल्यान्डफिल साइटबारे थप प्रष्ट पार्दै गुरुङ भन्छन्, “वातावरणीय प्रभाव मूल्यांकन गरेर कम जोखिम हुने गरी फोहोर बिसर्जन गरिन्छ। डम्पिङ ल्यान्डफिल साइट त फोहोर लगेर फाल्ने ठाउँ भयो। हामीले गरिरहेको पुरानो चलन ल्यान्डफिल साइट भयो। स्यानिटरी ल्यान्डफिल साइट भनेको आजकल ल्यान्डफिलिङ अर्थात् खाल्डो जमिन भर्ने र सँगसँगै स्यानिटेसन पनि मिलाउने बिसर्जनस्थल हो। यसले जनस्वास्थ्य र वातावरण दुवैमा पर्ने प्रभाव न्यूनीकरण हुन्छ।”

भौतिक तथा रासायनिक तत्वहरू पनि मिसाएर वातावरणीय प्रभाव कम गरिने भएकाले यो प्रविधिमा लागत एकदमै बढ्ने उनी सुनाउँछन्। 

“यसमा जनताप्रति राज्यको उत्तरदायित्व जोडिएको हुन्छ। डम्पिङसाइटमा सिधै फोहोर लगेर फाल्ने मात्रै हो। त्यसमा ढुवानी खर्च र जमिनको भाडाबाहेक केही खर्च हुँदैन,” गुरुङ भन्छन्, “तर ल्यान्डफिल साइटका लागि पूर्वाधार चाहिन्छ। अहिले पोखरा महानगरकै कुरा गर्दा दैनिक २०० सय टन फोहोर व्यवस्थापनका लागि जग्गाबाहेक नै दुई–तीन अर्बको लागत अनुमान गरिएको छ। 

त्यसकारण अहिले वातावरणीय प्रभाव मूल्यांकन नगरी काम गर्दा पछि वातावरणीय समस्या आउन सक्ने उनले बताए। “वर्षा याममा पानी बगेर जाँदा सेती नदीलाई नै प्रदूषित बनाउँछ। कसैले नदीबाट कुलो बनाएर खेतमा लगेका छन्। कोही त्यही पानीमा पौडी खेल्छन्। यसो गर्दा स्वास्थ्यमा त असर पर्छ नै, कृषिमा समेत प्रतिकूल प्रभाव पर्छ,” गुरुङले भने।

ल्यान्डफिल साइट नबन्दा फोहोर व्यवस्थापनमा पोखरा महानगरले चुनौती भोगिरहेको उनको भनाइ छ। “पहिलेको डम्पिङ साइट त एकीकृत थियो। अहिले दिसाजन्य फोहोर कहाँ व्यवस्थापन गर्ने? त्यो त गर्नै बाँकी छ। पहिला जापनिजले बनाइदिएको थियो। सेप्टिक ट्यांकीको व्यवस्थापन छुट्टै थियो,” उनी भन्छन्, “अहिले घरबाट निस्केको फोहोर र अन्य फोहोर एकै ठाउँमा मिसिएपछि त समस्या भइहाल्यो नि! पुरानो व्यवस्थापन बन्द भएको पनि अहिले एक वर्ष भइसक्यो।”

फोहोरमैला पानीमा मिसिनु मानव स्वास्थ्यका लागि खतरनाक हुने कृषिविज्ञ डा. अनिल सुवेदी बताउँछन्। “नदीको माथि जस्तोसुकै फोहोर पनि डिस्पोज गर्ने गरिएको छ र त्यहाँबाट निस्कने विभिन्न प्रकारका नचाहिँदा रसायनहरू नदीमा पुगेका छन् भने त्यसले पक्कै असर पुर्‍याउँछ,” उनी भन्छन्।

पुर्दा पनि कुन तहसम्म पुर्ने हो त्यो यकिन हुनुपर्ने उनी बताउँछन्। “प्रत्येक पटक कुन तहसम्म माटोले पुर्ने र त्यो माटो कहाँबाट ल्याउने हो त्यसको व्यवस्थापन पहिले नै गर्नुपर्छ,” उनी भन्छन्, “फोहोरलाई राम्रोसँग माटोले पुरिएको छैन र पर्खाल लगाएको भन्दा पनि माथिसम्म आइपुगेको छ भने त्यसले वातावरणमा हानि पुर्‍याउँछ। हानिकारक फोहोरको लिचेड जमिन भित्रभित्रबाट नदीमा मिसिँदा पनी प्रदूषित हुन्छ।” 

खुला डम्पिङ साइट र त्यसबाट नजिक बस्ने समुदायमा उत्पन्न स्वास्थ्य जोखिमसम्बन्धी भारतको मुम्बईमा गरिएको अध्ययनअनुसार डम्पिङ साइटले मानव स्वास्थ्यका लागि हानिकारक ग्यास उत्पादन गर्छ। हावा र पानीको माध्यमबाट रोग सर्ने खतरा उत्तिकै हुन्छ। अझ नजिक रहेका समुदायलाई त जनस्वास्थ्यमा अझ घातक असर पर्न सक्ने उक्त अध्ययनले औँल्याएको छ। 

एक वर्षमाथि र २० वर्षमुनिको जनसंख्यालाई नै वायुप्रदूषणले श्वासप्रश्वास र छालासम्बन्धी समस्या देखिन थालेको तथ्य उक्त अध्ययन प्रतिवेदनमा समेटिएको छ। हावामा बढ्दो खतरनाक प्रदूषणको मात्राबारे पनि अध्ययनको नतिजाले देखाएको छ।

नयाँ ल्यान्डफिल साइट अनिश्चित 
पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारी अहिले नयाँ ल्यान्डफिल साइट निर्माणको प्रक्रिया अघि बढिरहेको बताउँछन्। प्रशासनिक तहबाट हुने काम पूरा गर्न आफूहरू लागिपरेको उनले सुनाए। 

“यहाँबाट प्रारम्भिक अध्ययन गरेर जिल्ला प्रशासन कार्यालयमा पुगेको छ। त्यहाँबाट पनि उपसमिति गठन भएको थियो। त्यो उपसमितिले एउटा रिपोर्ट बुझाएको छ,” उनले भने, “त्यसपछाडि बाँकी कामका लागि सिडियो सा’बको अध्यक्षतामा मुआब्जा निर्धारण समिति बनेको छ। त्यो समितिले काम अघि बढाउने गरी काम भइरहेको छ।” 

नयाँ ल्यान्डफिल साइट निर्माणको लागि ९३ रोपनी जग्गा खाँचो पर्ने र त्यही अनुसारको प्रारम्भिक प्रतिवेदन तयार भइसकेको उनले बताए। फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि काम अघि बढिरहेकाले कति समयमा टुंगिन्छ भन्ने अवस्थामा महानगर नरहेको उनको भनाइ छ। जग्गा व्यवस्थापनमा अल्झिरहेको महानगरले सार्वजनिक निजी साझेदारीका लागि भने २०७९ चैत १२ गते नै सूचना जारी गरेर प्रस्ताव आह्वान गरेको छ।

नयाँ बन्ने ल्यान्डफिल साइट फोहोरबाट उर्जा उत्पादन गर्ने गरी बन्ने पोखरा महानगरकी फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख कल्पना बराल बताउँछिन्। “ल्यान्डफिल बनाएर फोहोरले जमिन भर्ने भन्दा पनि त्यसबाट विद्युत्, बायो ग्यासजस्ता ऊर्जा निकाल्ने  मोडेलमा काम हुन्छ,” उनले भनिन्, “बोलपत्रअनुसार प्रस्ताव लिएर कम्पनीहरू आएका छन्। तीन वटा कम्पनी सर्ट लिस्टमा परेका पनि छन्। जग्गा फाइनल भएपछि त्यो प्रक्रिया अघि बढ्छ।”

२०७९ साउन २४ गते बसेको महानगर कार्यपालिकाको पाँचौँ बैठकले असार मसान्तमा सम्झौता अवधि सकिएका फोहोर व्यवस्थापन कम्पनीहरूलाई तीन महिनाको अग्रिम भुक्तानी लिएर म्याद थप गर्ने निर्णय गरेको थियो। त्यस्तै, गत मंसिर २४ गते पोखरा महानगरले मलमूत्रजन्य फोहोर व्यवस्थापनका लागि ८७ लाख ४५ हजार रुपैयाँको बोलपत्र आव्हान गरेको छ। 

अहिले अन्य फोहोर पोखरा–३२ लामेआहालमा पठाइए पनि मलमूत्रजन्य फोहोर पोखरा–१४ कै पुरानो ल्यान्डफिल साइटमा व्यवस्थापन भइरहेको सूचना अधिकारी तिवारीले बताए।  


सम्बन्धित सामग्री