कुनै राजनीतिज्ञ वफादार नहुँदा त्यसले आम व्यक्तिको सम्भावनामाथि हानि पुर्याउन सक्छ। तर त्यसविपरीत, मतदाता वफादार हुनुचाहिँ समाजका लागि हानिकारक छ। हामी प्रायः 'सुसूचित मतदाता' शब्द प्रयोग गर्छौं, तर सुसूचित मतदाताले मात्रै चुनावमा भोट हाल्दैनन्। चुनावमा त बालिग सबैले भोट हाल्न पाउँछन्।
तर सच्चा र जागरुक मतदाताले आफ्नो कान, आँखा र दिमाग खोलेर आफ्नो मताधिकारको प्रयोग गर्छन्। वफादार मतदातालाई राजनीतिकर्मीहरू 'जे जे गरे पनि यिनीहरू आखिर हाम्रै त हुन्' भन्ने ठान्छन्। वफादार कार्यकर्ताहरूलाई 'अकारण सन्तुष्ट' ठानिन्छ र हल्का रूपमा लिइन्छ।
राजनीतिकर्मी लगभग यो कुरा अनुमान लगाउन सक्छन् कि वफादार मतदाताका अगाडि कस्तो छवि प्रस्तुत गर्नुपर्छ। यसो गरेर वफादार कार्यकर्ताले सत्य र तथ्य थाहा पाउन नसकुन् भन्ने तिनको ध्येय हुन्छ। बफादार कार्यकर्ता बनेर नागरिकहरूले पहिले आफैंलाई र दोस्रोमा, आउने पुस्तामाथि नै ठूलो नोक्सान पुर्याइरहेका हुन्छन्।
जुनसुकै पार्टी, विचारधारा, जाति, धर्म, क्षेत्र र भाषाका मतदातामा यो कुरा लागू हुन्छ। मान्छेलाई स्वतन्त्र रूपमा विचार गर्न सक्ने प्राणी मानिन्छ। तर हामीलाई जब विचारधारा, जाति, धर्म, क्षेत्र या भाषाका आधारमा भोट दिने 'भोट बैंक'का रूपमा नेता/दलले वर्गीकरण गर्छन्, त्यस्तो अवस्थामा भने हामीले अपमानित महसुस गर्नुपर्छ।
कुनै पनि राजनीतिकर्मीले आफूले जस्तोसुकै काम गरे पनि आखिर मतदाताले तिनको आलोचनात्मक क्षमता प्रदर्शन गर्नेछैनन् भनेर ठहर गर्नु आफैंमा साह्रै शर्मनाक कुरा होइन र? नेताहरूले मतदाताप्रति त्यस्तो धारणा बनाउनुमा हामी (राजनीतिक कार्यकर्ता/'गढ') जिम्मेवार छैनौँ?
राजनीतिक नेताहरूले 'हामीलाई फलानोले पक्कै भोट दिन्छन्' भन्ने ठहर गर्न थाले भने त्यसमा चिन्ता प्रकट गर्नुपर्छ। यो कुरालाई जसले मनन गर्छ, त्यो नै सच्चा मतदाता हो। भोट हाल्नेबित्तिकै जो मतादाता आफ्नो नागरिक हैसियतमा फर्कन्छ र आफूले भोट दिएकै पार्टी/दलप्रति पाँच वर्षसम्म टाँसिइरहँदैन, त्यो नै 'सचेत नागरिक' हो।
आधुनिक युगले सिर्जेको थप अर्को महत्त्वपूर्ण मुद्दा छ: सोसल मिडिया। यस प्रविधिले हामीलाई सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्ने ठाउँ उपलब्ध गराउँछ। जब हामी कुनै राजनीतिक अथवा सामाजिक धारणाप्रति प्रतिबद्धता जनाउँछौं, त्यसबाट पछाडि फर्कँदै सार्वजनिक रूपमा 'म त्यतिखेर गलत थिएँ' भन्नलाई ठूलो हिम्मत चाहिन्छ, खासगरी अनलाइन ट्रोलिङको दौरान।
यसबाट के हुनजान्छ भने हामीभित्रको नागरिकले सच्चाई/वास्तविकताको महसुस गरेपनि हामीभित्रको मतदाताले सार्वजनिक रूपमा त्यसलाई स्विकार्न असहज मान्छ। परिणाम के हुन्छ? हामी नागरिक हुनुको विशेषाधिकारबाट घटुवा भई आफ्नै रोजाइको 'भोटर'को पासोमा फस्न पुग्छौँ।
यो कठिन परिस्थितिले हाम्रो काम कर्तव्यलाई झनै असहज बनाएको छ। आउनुहोस्, यसप्रति जागरुक बनौँ।
'डन्ट टेक मि फर ग्रान्टेड' (फलानो त केही पनि होइन, या उस/उनले गरेका काम त केही पनि होइनन्) भन्ने अंग्रेजी वाक्यांश धेरै प्रचलित छ। हाम्रो दैनिक जीवनमा कसैले हामीलाई सार्है हल्का रूपमा लियो भने हाम्रो चित्त दुख्छ। तर यदि कोही हामीलाई लगातार सार्वजनिक रूपमा हल्का रूपमा लिई नै रहन्छ भने त्यसले हामीलाई झनै दुखी बनाउनुपर्ने होइन र?
तर, 'सरकार बारम्बार बदलिइरहन्छ, त्यसकारण हामी जागरु मतदाता हौँ' भनेर यदि हामी सोचिरहेका छौँ भने हामीमाथिको 'हामी'को हिस्सा हो या होइनौँ भनेर आफैँलाई जाँच्नुपर्छ।
लोकतन्त्रमा मतदान नागरिकको कर्तव्य हो। वफादार कार्यकर्ता होइन, विवेकशील नागरिक हुनु हाम्रो प्राथमिक कर्तव्य हो।
(इन्डियन एक्सप्रेसमा आइतबार प्रकाशित कुलकर्णीको लेखको भावानुवाद। कुलकर्णी अभिनेता, निर्माता र पटकथा लेखक हुन्।)