Saturday, April 27, 2024

-->

पलायन हुँदै अनुभवी शेर्पा गाइड, आरोहणको सिजनमा अभाव

हिमाल आरोहणमा पथप्रदर्शन गर्दै आएका शेर्पा गाइडहरूले धमाधम देश/पेसा छोड्न थालेपछि पर्वतारोहण क्षेत्रमा काम गर्ने कम्पनीहरूले अनुभवी पथप्रदर्शकको अभाव झेलिरहेका छन्।

पलायन हुँदै अनुभवी शेर्पा गाइड आरोहणको सिजनमा अभाव

काठमाडौँ– नोरू जङ्बु शेर्पा (२८)ले आफ्नो जीवनका उर्जाशील समय पर्वतारोहण गाइड (पथप्रदर्शक)का रूपमा बिताए। करिब एक दशक विश्वका धेरै पर्वतारोहीलाई सगरमाथासहित नेपालका हिमाल चढाए। दुई वर्षअघि भने पेसा नै छाडेर अमेरिका उडे। अहिले न्यूयोर्क बसिरहेका शेर्पाले सन् २०१९ र २०२१ मा दुई पटक सगरमाथा आरोहण गरेका थिए।

“हिमाल आरोहणको काम एकदमै जोखिमपूर्ण हो। यो पेसालाई निरन्तरता दिन आफ्नो भविष्य देखिनँ। मेरो उमेरले सकुन्जेलसम्म त गरौँला त्यसपछि के गर्ने?” नोरू जङ्बु भन्छन्, “केही समय यता (अमेरिका) काम गरेपछि फर्कने सोचमा छु।”

नेपाल पर्वतारोहण संघ (एनएएमए) का अध्यक्ष निमा नोरू शेर्पा पछिल्लो पाँच वर्षमा ५०० भन्दा बढी शेर्पा गाइड विदेश पलायन भएको अनुमान गर्छन्। “प्रत्येक वर्ष २०/२५ गाइडले देश छोड्ने गरेको पाइन्छ,”  अध्यक्ष निमा नोरू भन्छन्, “उनीहरू प्रायः अमेरिका, युरोप, कोरिया र जापान गएका छन्।”

हिमाल आरोहण जोखिमपूर्ण हुने र सिजनमा केही समय मात्र काम पाइने भएकाले धेरैले पेसा नै छाडेर विदेश जाने गरेको कोरिया पुगेका एक शेर्पा गाइड बताउँछन्। “म कोरियामा महिनामा २ लाखभन्दा बढी बचत गर्छु। तर नेपालमा वर्षमा मुस्किलले ४/५ लाख रुपैयाँ हुन्थ्यो,” कोरियामा कृषि फार्ममा काम गरिरहेका नाम उल्लेख गर्न नचाहने ती गाइड भन्छन्, “छोराछोरी र परिवारका लागि पनि म यहाँ आउन बाध्य भएँ।”

सोलुखुम्बुका आङ्नोरु शेर्पा सात वर्षसम्म पथप्रदर्शक भएर हिँडे। आठ हजार १६८ मिटर उचाइसम्म पुगे। तर अहिले उनी यो पेसा त्यागेर सोलुखुम्बुको प्रसिद्ध पर्यटकीय गन्तव्य गोक्यो पदमार्गको चार हजार २०० मिटर उचाइमा पर्ने मर्चेमोमा होटल चलाइरहेका छन्। “मेरो परिवारले पथप्रर्दशक पेसालाई निरन्तरता दिन अनुमति दिएन। स्वास्थ्य पनि अलि ठीक भएन त्यसकारण त्यो पेसा नै त्यागेँ,” उनी भन्छन्।

ताप्लेजुङका मिङ्मा डेबिड शेर्पा नेपालको पर्वतारोहण क्षेत्रमा अनुभवी उद्धारकर्ता र पथप्रदर्शक हुन्। उनका अनुसार अहिलेसम्म ताप्लेजुङबाट ३० जनाले सगरमाथा आरोहण गरिसकेका छन्। तर पाँच जना मात्र नेपालमा छन्। यस्ता शेर्पा आरोही नै आरोहणमा अनुभवी पथप्रदर्शक हुन्।

यस वर्ष आरोहणको सिजन शुरू भइसकेको छ। संसारका विभिन्न ठाउँबाट आरोहीहरू धमाधम काठमाडौँ उत्रिन थालेका छन्। पर्यटन विभागले आरोहीलाई अनुमति दिन शुरू गरेको छ। भर्खर अनुमति दिन शुरू गरिएकाले कति आरोहीले यस वर्ष हिमाल चढ्छन् अहिल्यै भन्न नसकिने पर्यटन विभागका निर्देशक राकेश गुरुङ बताउँछन्। एक महिनापछि मात्र आरोही संख्या निश्चित हुने उनको भनाइ छ।

आरोहीहरूलाई हिमाल चढाउँदै आएको सेभेन समिट ट्रेकिङ कम्पनीका अध्यक्ष मिङ्मा शेर्पा आरोहणका लागि अनुभवी पथप्रदर्शकको अभाव रहेको बताउँछन्। उनका अनुसार आरोहणमा एक जना आरोही बराबर एक जना पथप्रदर्शक चाहिन्छ। पैसा खर्च गर्न सक्ने र सौखिन आरोहीले २–३ जनासम्म गाइड राख्छन्।

यस सिजनमा उनलाई करिब ३०० गाइडको आवश्यकता छ। “यस सिजनका लागि त बल्लतल्ल जोहो गरियो, अब यस्तै हो भने अर्को वर्षदेखि समस्या हुने देखिन्छ,” उनी भन्छन्।

नेपाल गाइड ट्रेक्स एन्ड एक्स्पिडिसन लिमिटेडले सात हजार मिटरसम्म अग्ला हिमाल मात्र आरोहण गराउँछ। यस कम्पनीका अध्यक्ष प्रकाश देवकोटा पनि पथप्रदर्शकको अभाव भएको बताउँछन्। सन् २००९ देखि ट्रेकिङ कम्पनी चलाइरहेका देवकोटाको कम्पनीमा काम गर्ने ३० जनाभन्दा बढी पथप्रदर्शक विदेश गइसकेका छन्। “हामी अहिलेसम्म रोटेसनमा मिलाउँदै आएका छौं। तर अनुभवी गाइडको अभाव छ,” उनी भन्छन्। 

किन अभाव भयो?
हिमाल आरोहण सहयोगीका रूपमा शेर्पा पथप्रदर्शक संसारभर प्रसिद्ध छन्। शेर्पाको बसोबास नेपालको उच्च हिमाली भागमा छ। उच्च स्थानको बसोबास र त्यहाँको हावापानीमा अनुकूलन भएकाले उनीहरू हिमाल आरोहणमा सफल भएको जानकारहरू बताउँछन्। “शेर्पा जन्मेदेखि नै हिमाली हावापानी र त्यहाँको माटोसँग भिजेका हुनाले हिमाल आरोहण गर्न सक्छन्,” ताप्लेजुङका सगरमाथा आरोही मिङ्मा डेविड शेर्पा भन्छन्, “गोठालो जाँदा पनि हिमाल र डाँडाकाँडा दौडने भएकाले शेर्पाहरू हिमालसँग अभ्यस्त हुन्छन्।” 

उनका अनुसार पछिल्लो समय पर्वतारोहण पथप्रदर्शकको अभाव हुनुको कारण शेर्पाहरूको जीवनस्तरमा आएको सुधार र नयाँ पुस्ता यो पेसामा आउन कम हुनु नै हो। “मेरा बुवाआमाको पेसा कृषि थियो, उहाँहरूसँग शिक्षा थिएन,” मिङ्मा डेविड भन्छन्, “गाइड पेसामा आउनु मेरो बाध्यता थियो। तर मेरा छोराछोरी पढेलेखेका छन्। उनीहरूसँग अवसरका धेरै सम्भावना छन्। गाइड गर्नुपर्ने बाध्यता छैन।” 

नेपालका अनुभवी पर्यटन व्यवसायी एवम् एसियन ट्रेकिङ कम्पनीका संस्थापक आङछिरिङ शेर्पा उच्च हिमालमा काम गर्नु आफैँमा जोखिम भएको र नयाँ पुस्ताका लागि यो पेसाबाहेक अरू अवसरहरू भएको बताउँछन्। त्यही कारण उनीहरू पर्वतारोहण पथप्रदर्शक हुन नचाहेको उनको भनाइ छ।

केही वर्षयता उच्च हिमाली क्षेत्रमा अस्वाभाविक मौसम परिवर्तन हुने गरेको छ जसको असर पर्वतारोहणमा असर परेको छ। मंसिरदेखि माघसम्म हिउँ पर्नुपर्ने उच्च हिमाली क्षेत्रमा पछिल्ला वर्ष फागुनसम्म हिउँ पर्दैन। पछिल्लो पाँच वर्षमा हिउँ पर्ने समयमा नपरेर चैतमा हिउँ परेको मिङ्मा डेविड बताउँछन्। “फागुन चैतमा हिउँ पर्दा हिउँ जमेको हुँदैन। त्यसले गर्दा हिउँ पहिरोको सम्भावना बढी हुन्छ,” उनी भन्छन् “हिमाल आरोहणका लागि हिउँ जमेर आइस भएको हुनुपर्छ।”  

अस्वाभाविक मौसमी गतिविधिका कारण हिमालमा हिउँ पहिरोका घटना बढ्नुका साथै धेरैले ज्यान पनि गुमाएका छन्। पर्यटन विभागका अनुसार सन् २०२३ मा मात्र हिउँ पहिरोका कारण शेर्पा गाइडसहित १९ जनाले ज्यान गुमाए। सन् २०२२ मा सात जनाले ज्यान गुमाएका थिए। पर्यटन विभागको तथ्यांकअनुसार पछिल्लो पाँच दशकमा आरोहणका क्रममा  हिउँ पहिरोलगायत अन्य घटनामा करिब २०० जनाले ज्यान गुमाएका छन्। त्यसमध्ये ७५ जनाभन्दा बढी शेर्पा गाइड छन्। 

जलवायुविज्ञ एवम् मध्यपश्चिम विश्वविद्यालयका डिन सुदीप ठकुरीका अनुसार सन् १९२० देखि२०२० सम्म नेपालको उच्च हिमाली क्षेत्रमा ६० वटा ठूला हिमपहिरोका घटना रेकर्ड गरिएका छन्। ती घटनामा परेर मृत्यु हुनेको संख्या ३७० छ। 

सरकारी बेवास्ता
नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान छ। विश्व बैंकको सन् २०२२ को रिपोर्टअनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत छ। 

पर्यटन व्यवसायीहरूका अनुसार हिमाल आरोहणका लागि आउनेहरू खर्च गर्न सक्ने पर्यटक हुन्। उनीहरू लामो समयसम्म नेपालमै रहने भएकाले उनीहरूबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ धेरै हुन्छ। तर हिमाल आरोहणमा सहयोग गर्ने शेर्पा पथप्रदर्शक घट्दै गए पनि यसतर्फ सरकारले ध्यान दिएको छैन। 

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राजकुमार गुरुङ पथप्रदर्शकलाई तालिम प्रदान गर्ने र अनुमति पत्र जारी गर्ने काम नेपाल पर्वतारोहण संघको भएकाले यो विषय सरकारसँग नठोक्किने बताउँछन्। “विभागले अनुमति जारी र नियमन गर्ने काम गर्छ, त्यो काम भइ नै रहेको छ,” उनी भन्छन्। 

तर पछिल्लो चार वर्ष संघले गाइडहरूका लगि दिने तालिमसमेत रोकिएको छ। संघका अध्यक्ष निमा नोरू शेर्पा प्राविधिक कारणले तालिम रोकिएको बताउँछन्। “प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँग करिकुलम बनाएर तालिम चलाउने भनिएकाले त्यो हुन नसक्दा रोकिएको हो,” अध्यक्ष शेर्पा भन्छन्। 

पर्वतारोहण संघका अनुसार अहिलेसम्म ११ हजार ९१२ जना पथप्रदर्शकले अनुमतिपत्र लिएका छन्। तर कति जना सक्रिया छन् भन्ने यकिन तथ्यांक नभएको संघका सूचना अधिकारी दीपक गुरुङ बताउँछन्। “कति कार्यरत छन्, कति विदेश गए र कतिको मृत्यु भयो भन्ने अद्यावधिक विवरण छैन,” गुरुङ भन्छन्।


सम्बन्धित सामग्री