Monday, April 29, 2024

-->

सुन तस्करहरूसँग ‘कनेक्सन’ देखिँदा पनि जोगिँदै आएका महरा अन्ततः समातिए

यसअघि सुन तस्करीमा महरा बाबुछोरा दुवैले समान भूमिका रहेको अनुसन्धानले देखाए पनि प्रतिवेदन तयार पार्दा प्रहरीले नै बाबुलाई उन्मुक्ति दिएर छोरालाई मात्र प्रतिवादी बनाउन राय दिएको थियो।

सुन तस्करहरूसँग ‘कनेक्सन’ देखिँदा पनि जोगिँदै आएका महरा अन्ततः समातिए

काठमाडौँ– प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार बिहान पक्राउ परेका छन्। सुन तस्करी प्रकरणमा जोडिएका महरालाई रूपन्देही प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो। उनी सोमबार बिहानै रोल्पा जानका लागि काठमाडौँबाट भैरहवा विमानस्थल पुगेका थिए। 

आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सीआईबीका निर्देशक एआईजी श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर उनले दिएको निर्देशनपछि प्रहरीले महरालाई निगरानीमा राखेको थियो। 

“गृहमन्त्रीज्यूले नै पक्राउ गरेर अनुसन्धान गर्न निर्देशन दिएपछि हिजोदेखि नै हामीले निगरानीमा राखेका थियौँ। आज बिहान भैरहवाबाट रोल्पा जाने क्रममा उहाँलाई नियन्त्रणमा लिएका हौँ,” एक प्रहरी अधिकृतले भने, “उहाँलाई भैरहवाबाट पुनः काठमाडौँ नै फिर्ता पठाएका छौँ।”

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले गाडीबाट रोल्पा जाने क्रममा कपिलवस्तुकोे पकडीमा प्रहरीले रोकेर फिर्ता पठाएको जानकारी दिए। “हामीलाई निगरानीमा राख्नु भन्ने निर्देशन आएको थियो। त्यसैअनुसार उहाँ पडकीबाट फिर्ता हुनुभएको हो। ९ बजेर ५० मिनेटमा यति एयरलाइन्सको विमानबाट उहाँ काठमाडौँ फर्किसक्नुभएको छ,” उनले भने। 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। गत असोज १५ गते पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित समितिले फागुन ३० गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो। 

सरकारले आयोगको सिफारिस कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। समितिले कमजोर अनुसन्धान बनाएको निष्कर्ष निकाल्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन निर्देशक एआईजी किरण बज्राचार्यसहित चारजना अधिकृतलाई पनि कारबाही गर्न भनेको थियो। जसअनुसार सीआईबीबाट एआईजी बज्राचार्यलाई सरुवा गरिएको छ भने एसपी सञ्जयसिंह थापा तथा डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको छ। 

आयोगको सिफारिसअनुसार प्रहरी कर्मचारीलाई मात्र कारबाही गरिएको तथा राजनीतिक नेतृत्वलाई कारबाही अघि नबढाएको आरोप लागिरहेका बेला सोमबार बिहानै माओवादी केन्द्रका उपाध्यक्ष महरालाई पक्राउ गरेको हो। काठमाडौँ पुगेलगत्तै महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ। सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले महरालाई सोमबार नै म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ मार्फत् अदालत उपस्थित गराइने जानकारी दिए। आयोगले गरेको सिफारिस लगायतका आधारमा सीआईबीले उनीमाथि थप अनुसन्धान गर्ने छ। 

महरा मुछिएको प्रकरण 
२०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट आएका चिनियाँ नागरिकले दुई वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप (इलेक्ट्रिक सिगरेट) ल्याएका थिए। त्यसमै राखेर सुन ल्याइएको थियो। ती प्याकभित्र सुन रहेको पत्ता लागेपछि भन्सारको गोदाममा रहेका ती भेपबाट सुन झिकेर बिक्री गरिएको थियो।

यो पनि: ‘इलेक्ट्रिक सिगरेट’मा सुन तस्करी: के भयो महरा जोडिएको ९ केजी सुन प्रकरण?

धेरै पछि खुल्यो, चिनियाँ सुन तस्करले इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सारको गोदामबाटै चोरेर बिक्री गरिएको रहेछ। यो प्रकरणमा भन्सारका कर्मचारीहरू नै संलग्न रहेको अनुसन्धानका क्रममा पुष्टि भयो। 

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब दुई महिना लगाएर अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यसपछि कार्यालयले असार २८ गते अदालतमा अभियोगपत्र दायर ग¥यो। काठमाडौँ जिल्ला अदालतले यो मुद्दामा साउन २ गते प्रारम्भिक सुनुवाइ गर्दै भन्सारका कर्मचारीसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। 

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक तथा व्यापारीहरू वेदप्रकाश अग्रवाल र सोहब राय पाण्डुरङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। यो प्रकरणमा नौ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा पक्राउ परेका अमृत कार्की धरौटी बुझाएर रिहा भएका छन् भने दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन्। 

पहिले यसरी जोगिएका थिए
प्रारम्भिक अनुसन्धानबाट यो प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको पनि संलग्नता रहेको खुलेको थियो। तर उनीहरूमाथि सीआईबीले थप अनुसन्धान गरेन। जबकि, सीआईबीकै अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोराको ‘कनेक्सन’ देखाइएको थियो। प्रतिवेदनमा बनाइएका तीन वटा चार्टमा सुन ल्याउने समूहमा महरा बाबुछोराको नाम र उनीहरूले सुन तस्करसँग गरेको सम्पर्क बुझिने गरी देखाइएको छ। 

सुन ल्याउने समूह, सुन किन्ने समूह र भन्सारबाट सुन चोरेर बेच्ने समूह भनेर तयार पारिएको ‘लिंक चार्ट’मा महरा बाबुछोराको नामसमेत उल्लेख थियो। 

“सुन ल्याउने समूहमा रहेका दुई जना चिनियाँ नागरिकसँग कृष्णबहादुर महराको सम्पर्क र राहुल महराको पनि सम्पर्क भएको देखिन्छ। दुवैको सम्पर्क मुक्तिप्रसाद श्रेष्ठसँग रहेको, निजहरूको सम्पर्क सुन बेचबिखन गर्ने समूहका मानिस र अन्य प्रतिवादीहरूसँग रहेको देखिन आएकोमा निजहरू फरक–फरक समूहमा रही, आफ्नो–आफ्नो आपराधिक जिम्मेवारी बमोजिम सम्पर्क स्थापित गरी नेपाल सरकारको गोदाममा रहेको दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट बेची संगठित रूपमा आपराधिक विश्वासघात गरेको स्पष्ट हुन्छ,” अदालतमा दायर अभियोग–पत्रमा उल्लेख छ। 

अनौठो त के भने, सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा महरा बाबुछोरालाई मुद्दा चलाउन सिफारिस गरेन, सरकारी वकिलको कार्यालयले अभियोग–पत्रमा यस्तो लेखे पनि उनीहरूलाई प्रतिवादी बनाएन।

जबकि, सुन ल्याउने समूह र यो प्रकरणमा जोडिएका अरू व्यक्तिसँग समेत महरा बाबुछोराको पटक–पटक सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट नै खुलेको थियो। 

सीआईबीले सुन तस्करीमा संलग्नहरूसँग कृष्णबहादुर महरा र राहुल महराको सम्पर्क रहेको अनुसन्धान प्रतिवेदनमै उल्लेख गरेको छ। तर यति थाहा हुँदाहुँदै पनि सीआईबीले उनीहरूसँग सोधपुछ नै गरेन। 

भन्सारमा इलेक्ट्रिक सिगरेट (भेप) जफत भएपछि त्यसको लिलामीको प्रक्रिया के हुन्छ भन्ने चासो राखेर राहुल महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई टेलिफोन गरेर जानकारी लिएका थिए। प्रहरीसँग श्रेष्ठले गरेको कागजमै यो विषय खुलाएका छन्। 

“जफत भएको सामानका विषयमा आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले फोन गरी जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलामी प्रक्रिया के हो? कसरी हुन्छ भनी सोधपुछ गरेकोमा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ,” उनले गरेको कागजमा उल्लेख छ। 

प्रमुख भन्सार अधिकृतको यही बयान महरा बाबुछोरालाई बोलाएर सोधपुछ गर्न वा उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी अग्रसर नबन्ने आधार बनिदियो। 

महरा र उनका छोरा राहुल।

तर, फेरि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय चुरोट (इलेक्ट्रिक सिगरेट–भेप) भित्र लुकाएर नौ किलो सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित चारजनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो। 

राहुलसँगै चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडीचालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा दर्ता गरिएको छ। दावा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ६० किलोभन्दा धेरै सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि थुनामा छन्। राहुललाई भने सीआईबीले गत भदौ ३१ गते पक्रेर अनुसन्धान गरेको थियो। छोरालाई प्रतिवादी बनाए पनि चिनियाँ नागरिकले तस्करीमा ल्याएको सुन छुटाउन पहल गरेका महरालाई भने प्रतिवादी बनाइएन। 

सीआईबीले पूरक अनुसन्धानका क्रममा महराको बयान लिए पनि प्रतिवादी बनाउन राय दिएको थिएन। त्यसै अनुसार सरकारी वकिलको कार्यालयले पनि उनलाई प्रतिवादी बनाएन। तस्करीको सुन छुटाउन महरा बाबुछोरा दुवैले समान भूमिका बहन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू नै बताउँछन्। तर अनुसन्धान प्रतिवेदन तयार पार्दा प्रहरीले नै बाबुलाई उन्मुक्ति दिएर छोरालाई मात्र प्रतिवादी बनाउन राय दिएको थियो। 

भदौ ३१ गते राहुल पक्राउ परेपछि तस्करी प्रकरणको थप ‘कनेक्सन’ खुल्न सक्ने आशा सीआईबीले गरेको थियो। तर उनले प्रयोग गर्दै आएका तीनमध्ये कुनै पनि मोबाइल फोन प्रहरीलाई उपलब्ध नै गराएनन्। अभियुक्तहरूले सीआईबीलाई दिएको बयान र भन्सार प्रमुख लगायतको बयानले पनि चिनियाँ नागरिकको जफत भएको सामान छुटाउने विषयमा महराका बाबुछोरा दुवैले पहल गरेको अभियोग–पत्रबाट पुष्टि हुन्छ।

चर्को दबाबपछि पूरक अनुसन्धान र आयोग गठन
पहिलो चरणको अनुसन्धानकै क्रममा चिनियाँ नागरिकसँग महरा र उनका छोराको पटकपटक संवाद भएको देखिएको थियो। तर त्यतिखेर महरा बाबुछोरालाई अनुसन्धानको दायरामा नै ल्याइएको थिएन। दुवैलाई उन्मुक्ति दिएको भन्दै चौतर्फी विरोध भएपछि मात्र प्रहरीले पूरक अनुसन्धान अघि बढाएको थियो। राहुल महरा भने अहिले पूर्पक्षका लागि थुनामा छन्। 

भेपमा मात्रै होइन, महरा र उनका छोराको संलग्नता पछिल्लो पटक साउन २ मा बरामद भएको ६० किलो सुन प्रकरणसँग पनि जोडिएको छ। यी दुई सुन प्रकरणमा जोडिएका राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने काम भएको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले संसद र सडकबाटै चर्को विरोध गरेका थिए। 

अन्ततः सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा गत असोज १५ मा जाँचबुझ आयोग गठन गरेर काम थालेको थियो। सोही आयोगले फागुन ३० गते प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमै महरालाई मुद्दा चलाउन सिफारिस गरिएपछि अहिले सरकारले अनुसन्धानका लागि पक्राउ गरेको हो। 

माओवादीभित्र प्रभावशाली मानिएका महरा यसअघि सभामुख भएकै बेला संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा समेत बसेका महराको मुद्दामा पछि जिल्ला अदालतले दाबी नपुग्ने ठहर गरेपछि उनले सफाइ पाएका थिए। 


सम्बन्धित सामग्री