Monday, April 29, 2024

-->

प्रहरी भर्नामा भिड: बेरोजगारीको तस्वीर (डेटा स्टोरी)

​​​​​​​नेपाल प्रहरीका तल्ला पदहरूमा रिक्त दरबन्दी परिपूर्तिका लागि आह्वान गरिने दरखास्तमा परिरहेको बाक्लो आवेदनले चुलिँदो बेरोजगारीसँगै अरू धेरै पाटा उजागर गर्छ।

प्रहरी भर्नामा भिड बेरोजगारीको तस्वीर डेटा स्टोरी

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ बिदेसिइरहेका नेपालीको लस्करले ‘देश अब रित्तिन थाल्यो’ भन्ने चर्चा गर्न एकथरीलाई सघाएको छ। वैदेशिक रोजगारी, अध्ययन वा अरू अवसरको खोजीमा देशबाहिर गइरहेको यो संख्या पछिल्ला वर्षहरूमा ह्वात्तै बढेको छ।

विमानस्थललाई छाड्ने हो भने दक्षिणी सीमा क्षेत्रमा पनि उस्तै लस्कर छ। देशमा रोजगारी र गरिखाने अवसर क्रमशः खुम्चिँदो क्रममा छन्। केही गरौँ भन्ने हुटहुटी भएकालाई पनि भ्रष्टाचार, बेथिति र शासन सञ्चालनमा भइरहेको भद्रगोलले उकुसमुकुस बनाएर अन्ततः बिदेसिने अवस्थामा पुर्‍याउँदै छ। देशमा केही हुन्छ भन्ने आशा यसैगरी कमजोर हुँदै गएको हो त? 

यसमा आ–आफ्नै तर्क छन्। त्यहीअनुसारका बहस र विमर्श पनि हुँदै आएका छन्। तर केही यस्ता क्षेत्र पनि छन्, जसले देशमा अहिले बनिरहेको यस्तो भाष्यभन्दा फरक अवस्था पनि छ भन्ने देखाउँछन्। नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी जवान र त्यसभन्दा मुनिका पदमा खुल्ने भर्ना र त्यसका लागि आवेदन दिनेहरूको संख्या हेर्दा त्यस्तै लाग्छ।

प्रहरीमा रिक्त दरबन्दी परिपूर्तिका लागि आह्वान गरिने दरखास्तमा मागभन्दा निकै बढी आवेदन परिरहेको देखिन्छ। जस्तो, पछिल्लोपटक प्रहरी जवानका लागि २०८० माघ २६ गते आह्वान गरिएको दरखास्तमा एक हजार ८५६ जना माग भएकोमा ४७ हजार ५९५ जनाले दरखास्त दिएका छन्। यो भनेको एक जना प्रहरी जवानको कोटामा करिब २६ जनाको प्रतिस्पर्धा हो। 

प्रहरी प्रधान कार्यालयले तयार पारेको २०६७ सालयताका १४ वर्षको आँकडा केलाउँदा (हे., ग्राफमा) प्रहरी जवानमा कुनै बेला एक पदका लागि ८० जनासम्मले प्रतिस्पर्धा गरेको देखिन्छ। कुनै वर्षमा प्रतिस्पर्धा केही घटेको देखिए पनि धेरैजसो वर्षमा भने यसैगरी बढ्दो क्रममा देखिएको छ। 

Made with Flourish


यही अवस्था र प्रतिस्पर्धा प्रहरी परिचर, कार्यालय सहयोगी लगायतका प्रहरीका तल्ला पदहरूमा समेत देखिन्छ। 

सुरक्षा निकायहरूमध्ये नेपाली सेनामा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्य (यूएन मिसन)मा जान पाइने आकर्षणले पनि भर्ना–छनोटका लागि प्रतिस्पर्धा हुने गर्छ। प्रहरीमा चाहिँ सेनामा जस्तो युएन मिसनको आकर्षण पनि हुँदैन। तापनि यति धेरै प्रतिस्पर्धा किन हुन्छ? के यो देशमा बढ्दो बेरोजगारीको समस्याको प्रतिबिम्ब हो?

श्रम तथा रोजगारविज्ञ, समाजशास्त्री गणेश गुरुङ यसमा बेरोजगारी समस्या एउटा कारण भएको, तर त्यही मात्र कारण जिम्मेवार नरहेको बताउँछन्। उनले प्रहरी भर्नामा देखिएको आकर्षणका पछाडि मुख्यतः चार कारण रहेको उल्लेख गरे।

Made with Flourish


“पहिलो कारण बेरोजगारी समस्या नै हो। दोस्रो चाहिँ प्रहरीको जागिरमा स्थायित्व भएकाले पनि आकर्षण बढेको हो। तलब थोरै भए पनि स्थायी जागिरसँगै यसमा अरू विभिन्न सेवासुविधा पनि हुन्छन्,” गुरुङले भने, “प्रहरीको पोसाक लगाउँदा समाजबाट मिल्ने इज्जत र मानप्रतिष्ठा पनि यसमा जोडिन्छ।” 

प्रहरी अधिकृत पदमा भर्ना हुन चाहने, तर त्यसमा असाध्यै सीमित कोटा र अवसर हुने हुँदा पहिले प्रहरी जवान बनेर पछि अधिकृत तहमा प्रतिस्पर्धा गर्न चाहनेको पंक्ति पनि उल्लेख्य हुन्छ। समाजशास्त्री गुरुङका अनुसार प्रहरी जवानमा धेरै आकर्षण र प्रतिस्पर्धा देखिनुको अर्को कारण यो पनि हो। तर प्रहरी जवानबाहेक प्रहरी परिचर र कार्यालय सहयोगीको पदमा पनि उस्तै प्रतिस्पर्धा चाहिँ किन त?

Made with Flourish


पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाह प्रहरी जवानदेखि प्रहरी परिचर र कार्यालय सहायकसम्म अन्य सेवामा भन्दा धेरै संख्यामा भर्ना आह्वान हुने भएकाले धेरैको आवेदन पर्ने गरेको बताउँछन्। 

“मुख्य कारण त बेरोजगारी समस्या नै हो, यसले दिने रोजगारीको अवसर हो। अर्कोचाहिँ ८ कक्षा मात्र पास गरेकाले जागिर पाउने भएकाले पनि यो आकर्षण देखिएको हो,” उनले भने, “प्रहरीको जागिर स्थायी हो, तलबसँगै पोसाक, राशनभत्ता लगायतका सुविधा हुन्छन्। बर्दीको शान थप आकर्षण होला। यस्ता धेरै कारण छन्।”


सम्बन्धित सामग्री