Sunday, April 28, 2024

-->

ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी नै दुर्घटनाको जोखिममा, पाँच वर्षमा ४ को मृत्यु १८२ घाइते

अत्यधिक सवारी साधनको चापले व्यस्त सडकको बीचमा उभिएर ड्युटी गर्ने प्रहरी स्वयं असुरक्षित बन्दै गएपछि ट्राफिक व्यवस्थापनको परम्परागत तरिकालाई प्रविधिले विस्थापन गर्नुपर्ने आवाज उठेको छ।

ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी नै दुर्घटनाको जोखिममा पाँच वर्षमा ४ को मृत्यु १८२ घाइते
तस्वीरहरू : मनिष पौडेल/उकालो

काठमाडौँ– प्रहरी नायव निरीक्षक (सई) टोपबहादुर खत्री गत फागुन २० गते सधैँजसो कोटेश्वरमा ड्युटी गरिरहेका थिए। अत्यधिक ट्राफिक जाम हुने कोटेश्वरमा सवारी व्यवस्थापन गर्न खटिएका उनी बिहान साढे ९ बजेतिर भक्तपुरबाट आएका सवारी साधन रोकेर अन्यत्रको सवारी परिचालन गरिरहेका थिए। 

लगत्तै उनी चोक नजिकैको ट्राफिक प्रहरी बिटतर्फ प्रस्थान गरे। बिटमा पुग्न नपाउँदै बालकुमारीतर्फबाट भक्तपुर जान चोकबाट मोडिएको जुनेली यातायातको प्रदेश–०३–०१–००५ ख ९७५५ नम्बरको बसले उनलाई ठक्कर दियो। सई खत्री सडकमा पछारिए। गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल पुराइयो। त्यहाँ उनको उपचार भइरहेको थियो। 

अवस्था गम्भीर भए पनि चिकित्सकले उनलाई बचाउन भरपुमग्दुर प्रयास गरे। तर उपचारकै क्रममा फागुन २७ गते उनको मृत्यु भयो। अति नै व्यस्त हुने कोटेश्वर चोकनजिक सुरक्षा सर्तकता अपनाउन नसक्दा खत्रीले ज्यान गुमाउनुपर्‍यो। बसचालकलाई प्रहरीले हिरासतमा राखेर सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। ती चालकले लागुपदार्थ सेवन गरेर सवारी चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

दुई वर्षअघि २०७८ फागुन १९ मा चितवनमा ड्युटी गरिरहेकै बेला अर्का सई अर्जुन पौडेलको ज्यान गयो। भरतपुर महानगरपालिका–६ स्थित जयनेपाल चोकमा खटिएका पौडेललाई ट्रयाक्टरले ठक्कर दिएको थियो। सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनमा खटिएकै बेला उनी चढेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।  

२०७७ जेठ १२ गते भक्तपुरको मध्यपुर थिमी–४ मा ड्युटी गरिरहेका अर्का सई निमबहादुर घर्तीले पनि दुर्घटनामै परेर ज्यान गुमाउनुपर्‍यो। ड्युटी गरिरहेकै समयमा उनलाई एउटा टिप्परले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका सई घर्तीलाई उपचारका लागि तत्कालै नर्भिक अस्पताल पुर्‍याइयो। तर चिकित्सकले उनलाई बचाउन सकेनन्। 

दुई टिपर अनियन्त्रित भएर ठोकिँदा ड्युटी गरिरहेका उनी गम्भीर घाइते भएका थिए। चालकले मदिरा सेवन गरेर चलाएकै कारण टिपर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरी अनुसन्धानले देखाएको थियो। 

ड्युटीमा खटिएका बेला ज्यान गुमाएका प्रहरीका यी तीन सई प्रतिनिधिमूलक पात्र हुन्। काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका ठाउँ–ठाउँमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको काममा खटिइरहेका बेला ट्राफिक प्रहरी दुर्घटनामा पर्ने गरेका छन्। त्यस्ता दुर्घटनामा परेर मृत्यु र घाइते हुने दर प्रत्येक वर्ष बढिरहेको छ। सबैभन्दा धेरै दुर्घटना र त्यसको क्षति उपत्यकामै भइरहेको प्रहरी प्रधान कार्यालयकै तथ्यांकले देखाएको छ। 

४ को मृत्यु, १८२ घाइते
प्रहरी प्रधान कार्यालय नक्सालले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर चार जनाको ड्युटी गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएको छ भने १८२ जना घाइते भएका छन्। आर्थिक वर्ष २०७६/७७ मा तीन प्रहरी सहायक निरीक्षक (असई), पाँच हवल्दार र १४ प्रहरी जवानसमेत २२ जना घाइते भएका थिए। तीमध्ये १८ जना काठमाडौँ उपत्यकाका थिए। 

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा एक असई, तीन हवल्दार, एक सहायक हवल्दार र २७ प्रहरी जवान गरी ३२ जना प्रहरी घाइते भएका थिए। तीमध्ये २७ जना त उपत्यकाकै घटनामा घाइते भएका हुन्। आर्थिक वर्ष २०७८/०७९ मा एक/एक सई र असई गरी दुई जनाको मृत्यु भएको थियो। त्यस वर्ष एक प्रहरी निरीक्षक (इन्स्पेक्टर), एक सई, दुई असई, चार हवल्दार, दुई सहायक हवल्दार र ३४ प्रहरी जवानसहित ४४ जना घाइते भएका थिए। सबैभन्दा धेरै उपत्यकामा ३४ जना घाइते भएका थिए। 

आर्थिक वर्ष २०७९/८० का दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भयो भने ५१ जना घाइते भए। तीमध्ये तीन सई, चार असई, चार प्रहरी हवल्दार, १० सहायक हवल्दार र ३० प्रहरी जवान घाइते भएका थिए। उपत्यकामा मात्रै घाइते हुनेको संख्या ४० थियो। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एकको मृत्यु हुँदा ३३ प्रहरी दुर्घटनामा घाइते भएका छन्। मृत्यु हुने सई थिए। घाइतेहरूमा तीन असई, ६ हवल्दार, नौ सहायक हवल्दार र १५ जना प्रहरी जवान छन्। कुल घाइतेको एक तिहाईभन्दा बढी अर्थात्  १५ जना काठमाडौँ उपत्यकामा भएका दुर्घटनामा परेका थिए। 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल बढ्दो सवारीको चाप लगायतका कारणले ड्युटीमा खटिने ट्राफिक प्रहरी दुर्घटनामा परिरहेको बताउँछन्। “दैनिक सवारी चाप बढिरहेको छ। त्यो अनुपातमा जनशक्ति बढ्न सकेको छैन। सडकको अवस्था सुधार नहुँदा पनि जोखिम बढिरहेको छ,” उनले भने, “चालकको लापरवाहीका कारण ड्युटी गरिरहेका बेला प्रहरी कर्मचारी दुर्घटनाको शिकार भइरहेका छन्।”

रातिको समयमा मादक पदार्थ सेवनको जाँच गरिरहेको समयमा ट्राफिक प्रहरी बढी असुरक्षित हुने गरेका छन्। सवारी चालक र सडक यात्रुमा ट्राफिक नियमको पालना गर्नुपर्छ भन्ने सचेतना बढ्न नसकेकाले पनि दुर्घटनाको जोखिम कायम रहेको प्रहरीको भनाइ छ। 

“ट्राफिक प्रहरीले ड्युटीको बेला आफू सुरक्षित हुने प्रयास त गरिरहेकै हुन्छन्, तर कम जनशक्तिले सडकमा गुड्ने सवारीको बढ्दो चाप थेग्नुपर्दा आफ्नो सुरक्षाको ख्याल गर्नै बिर्सिने अवस्था छ। यो कारणले पनि उनीहरू दुर्घटनाको जोखिममा पर्छन्,” प्रवक्ता ढकालले भने, “सवारी चालकलाई लापरवाहीमुक्त बनाउन र सवारी साधनसँगै सडकको अवस्थामा पनि सुधार गर्न सकिए दुर्घटनामा कमी ल्याउन सकिन्छ।” स्थानीय सरकारले पनि दुर्घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रहरी उनी बताउँछन्। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले उपत्यकाका तीन वटै जिल्लाको ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणलगायत कामका लागि एक हजार ११३ जना ट्राफिक प्रहरीको दरबन्दी भए पनि काजमा खटिएकासमेत गरी एक हजार ८०० को हाराहारीमा जनशक्ति परिचालन गरिएको छ। विदेशमा प्रविधिका माध्यमबाट नै ट्राफिक व्यवस्थापनको काम हुने गरे पनि नेपालमा भने अहिलेसम्म भौतिक रूपमै ट्राफिक प्रहरी सडकमा खटिएर व्यवस्थापन गर्नु परिरहेको छ। 

कतिपय ठाउँका सडकमा ट्राफिक लाइट लगायतका आधुनिक प्रविधि जडान गरिए पनि त्यसले व्यवस्थापनलाई प्रभावकारी बनाउन नसकेको प्रहरी नै स्वीकार्छ। कतिपय ठाउँमा जडान भएका उपकरण पनि बिग्रेर बसेका छन्। त्यसमाथि सवारी चालकले ट्राफिक नियमको पालना नगरिदिँदा सडकमा ट्राफिक प्रहरी नै खटिनुपर्ने अवस्था छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ ट्राफिक व्यस्थापनका लागि भौतिक रूपमै प्रहरी सडकमा खटिनुपर्ने अवस्था रहेको बताउँछन्। “प्रविधिको प्रयोग चाहिने मात्रामा हुन सकेको छैन। अधिकतम जनशक्ति सडकमै खटिएर व्यवस्थापन गर्नुपरेको छ,” उनले भने, “कहिले प्रहरीकै असावधानी र धेरैजसो चालकको लापरवाहीसँगै सडकको अवस्थाले निम्त्याउने दुर्घटनामा प्रहरी पनि पर्ने गरेका छन्।”

ड्युटीमा खटिने ट्राफिक प्रहरीको सुरक्षालाई ध्यानमा राखेर फ्लोरसेन्ट (बत्तीमा टल्किने) ज्याकेट लगाउने, सुरक्षित ठाउँमा आइल्यान्ड बनाएर सवारी जाँच गर्ने, बढी भिडभाड हुने ठाउँमा समन्वयमा काम गर्ने लगायतका सावधानी अपनाइँदै आएको एसएसपी श्रेष्ठले बताए। “पहिलो सुरक्षा आफ्नो, त्यसपछि अरूको सुरक्षा हो। हामीले सुरक्षित भएर ड्युटी गर्नका लागि प्रहरी कर्मचारीलाई तालिम–अनुशिक्षण दिएर बेला–बेलामा ब्रिफिङ गर्दै आएका छौँ,” उनले भने, “रातिको समयमा उज्यालो ठाउँमा बसेर मात्रै सवारी जाँच गर्ने, ‘चेकप्वाइन्ट’ अगाडि संकेत लेख्ने र स्वास्थ्य सुरक्षाका लागि मास्क र चस्माको अनिवार्य प्रयोग गर्ने गराइँदै आएको छ।” 

प्रहरी प्रधान कार्यालयले पनि आफूलाई सुरक्षित राखेर काम गर्न मातहतका निकायलाई परिपत्र गर्दै आएको छ। त्यस्तै, दुर्घटनामा मृत्यु भएका प्रहरी कर्मचारीका परिवार र घाइते कर्मचारीको हकमा कानून बमोजिम नै क्षतिपूर्ति उपलब्ध गराउने, बीमा रकम तथा उपचार खर्चको व्यवस्था गर्ने लगायतका काम प्रहरी प्रधान कार्यालयले गर्दै आएको प्रहरी प्रवक्ता डीआईजी ढकालको भनाइ छ। 

यातायात विज्ञ आशिष गजुरेल विदेशमा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन हुँदै आए पनि नेपालमा अझैसम्म भौतिक रूपमा सडकमै उभिएर व्यवस्थापनको काम भइरहेको बताउँछन्। “सडकको बीचमा उभिएर व्यवस्थापन गर्ने भन्ने काम नै आफैँमा जोखिमयुक्त छ। हामी प्रविधितर्फ अघि बढ्न सकिरहेका छैनौँ,” उनले भने, “त्यसकारण सडकमा उभिएर व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी उच्च जोखिममा छन्।” प्रविधिको अधिकतम प्रयोग गरेर सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनको काम गर्नेतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने उनी बताउँछन्। 

“विकसित मुलुकमा प्रविधिले नै निगरानी र नियन्त्रण गर्छ। ट्राफिक प्रहरीले नियम पालना नगर्नेलाई कारबाही गर्ने गर्छ,” उनी भन्छन्, “हाम्रोमा त सञ्चालन, व्यवस्थापन, कारबाही लगायतको सबै काम ट्राफिक प्रहरीले सडकको बीच भाग र चोकमा उभिएर गर्नु परिरहेको छ।”


सम्बन्धित सामग्री