Sunday, May 05, 2024

-->

‘इलेक्ट्रिक सिगरेट’मा सुन तस्करी: के भयो महरा जोडिएको ९ केजी सुन प्रकरण?

त्रिभुवन विमानस्थलबाट ‘इलेक्ट्रिक सिगरेट’ भित्र राखेर ल्याइएको, तर भन्सारको गोदामबाटै गायब पारिएको ९ केजी सुन तस्करीमा मुछिएका कृष्णबहादुर महराका बाबुछोरालाई अनुसन्धानको दायरामै ल्याइएन।

‘इलेक्ट्रिक सिगरेट’मा सुन तस्करी के भयो महरा जोडिएको ९ केजी सुन प्रकरण 

काठमाडौँ– गएको साउन ३ गते साँझसम्म एउटा सुन तस्करी प्रकरणबारे खुबै चर्चा भइरहेको थियो। त्यो प्रकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब १०० केजी सुनको थिएन। त्यतिञ्जेल १०० केजी सुन तस्करीको प्रकरण त सार्वजनिक पनि भएको थिएन।

त्यो थियो, फ्लाई दुबईको उडानबाट आएको ९ केजी सुन प्रकरण। त्यसमा जोडिएका थिए, सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा। प्रहरीको प्रारम्भिक अनुसन्धानले नै त्यो सुन तस्करीमा महराको संलग्नता रहेको देखाएको थियो। तर असार २८ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा यससम्बन्धी मुद्दा दायर गर्दा महराको नाम उल्लेख नै गरेको थिएन। यहीकारण यो प्रकरण सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा चर्चामा थियो।

तर त्यहीबीच हङकङबाट क्याथे प्यासिफिकको विमानमा भित्रिएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपाससमेत भई बाहिरिएको करिब १०० केजी सुन साउन ३ गते साँझ विमानस्थल बाहिरबाट बरामद भयो। १०० केजी सुन तस्करी यस्तो विषय बन्यो, त्यसको चर्चाबीच ९ केजी सुन तस्करी र त्योसँग जोडिएको महराको नामको चर्चा सामसुम हुन पुगेको छ। के थियो ९ केजी सुन प्रकरण? त्यसमा कसरी जोडियो महराको नाम?

९ केजी सुन प्रकरणको कथा
२०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट आएका चिनियाँ नागरिकले दुई वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप (इलेक्ट्रिक सिगरेट) ल्याएका थिए। त्यसमै राखेर सुन ल्याइएको थियो। ती प्याकभित्र सुन रहेको पत्ता लागेपछि भन्सारको गोदाममा रहेका ती भेपबाट सुन झिकेर बिक्री गरिएको थियो। 

धेरै पछि खुल्यो, चिनियाँ सुन तस्करले इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सारको गोदामबाटै चोरेर बिक्री गरिएको रहेछ। यो प्रकरणमा भन्सारका कर्मचारीहरू नै संलग्न रहेको अनुसन्धानका क्रममा पुष्टि भयो। 

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब दुई महिना लगाएर अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यसपछि सरकारी वकिलको कार्यालयले असार २८ गते अदालतमा अभियोग–पत्र दायर गरेको थियो। काठमाडौँ जिल्ला अदालतले साउन २ गते यो मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै भन्सारका कर्मचारीसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। 

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षागार्ड निर्मलकुमार विक र व्यापारीहरू वेदप्रकाश अग्रवाल र सोहब राय पाण्डुरङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यो प्रकरणमा ९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा पक्राउ परेका अमृत कार्की धरौटी बुझाएर रिहा भएका छन् भने दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन्।  

प्रारम्भिक अनुसन्धानबाट यो प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको पनि संलग्नता रहेको खुलेको थियो। तर उनीहरूमाथि सीआईबीले थप अनुसन्धान गरेन। जबकि, सीआईबीकै अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोराको ‘कनेक्सन’ देखाइएको थियो। प्रतिवेदनमा बनाइएका तीन वटा चार्टमा सुन ल्याउने समूहमा महरा बाबुछोराको नाम र उनीहरूले सुन तस्करसँग गरेको सम्पर्क बुझिने गरी देखाइएको छ। 

सुन ल्याउने समूह, सुन किन्ने समूह र भन्सारबाट सुन चोरेर बेच्ने समूह भनेर तयार पारिएको ‘लिंक चार्ट’मा महरा बाबुछोराको नामसमेत उल्लेख छ। 


“सुन ल्याउने समूहमा रहेका दुई जना चिनियाँ नागरिकसँग कृष्णबहादुर महराको सम्पर्क र राहुल महराको पनि सम्पर्क भएको देखिन्छ। दुवैको सम्पर्क मुक्तिप्रसाद श्रेष्ठसँग रहेको, निजहरूको सम्पर्क सुन बेचबिखन गर्ने समूहका मानिस र अन्य प्रतिवादीहरूसँग रहेको देखिन आएकोमा निजहरू फरक–फरक समूहमा रही, आफ्नो–आफ्नो आपराधिक जिम्मेवारी बमोजिम सम्पर्क स्थापित गरी नेपाल सरकारको गोदाममा रहेको दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट बेची संगठित रूपमा आपराधिक विश्वासघात गरेको स्पष्ट हुन्छ,” अदालतमा दायर अभियोग–पत्रमा उल्लेख छ। 

अनौठो त के भने, सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा महरा बाबुछोरालाई मुद्दा चलाउन सिफारिस गरेन, सरकारी वकिलको कार्यालयले अभियोग–पत्रमा यस्तो लेखे पनि उनीहरूलाई प्रतिवादी बनाएन।

जबकि, सुन ल्याउने समूह र यो प्रकरणमा जोडिएका अरू व्यक्तिसँग समेत महरा बाबुछोराको पटक–पटक सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट नै खुलेको छ। “हामीले अनुसन्धान गर्ने क्रममा उहाँहरूको सोझै धेरै पटक मोबाइलमा फोन सम्पर्क भएको देखिएको छ। तर, प्रतिवादी किन बनाइएन त्यो थाहा भएन,” सीआईबीका एक अनुसन्धान अधिकृतले भने।

महरामाथि अनुसन्धान नगर्न पेस गरिएको आधार 
सीआईबीले सुन तस्करीमा संलग्नहरूसँग कृष्णबहादुर महरा र राहुल महराको सम्पर्क रहेको अनुसन्धान प्रतिवेदनमै उल्लेख गरेको छ। तर यति थाहा हुँदाहुँदै पनि सीआईबीले उनीहरूसँग सोधपुछ नै नगरेको भेटिएको छ।

भन्सारमा इलेक्ट्रिक सिगरेट (भेप) जफत भएपछि त्यसको लिलामीको प्रक्रिया के हुन्छ भन्ने चासो राखेर राहुल महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई टेलिफोन गरेर जानकारी लिएका थिए। प्रहरीसँग श्रेष्ठले गरेको कागजमै यो विषय खुलाएका छन्। 

“जफत भएको सामानका विषयमा आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले फोन गरी जफत भएको उक्त इलेक्ट्रिक सिगरेटको लिलामी प्रक्रिया के हो? कसरी हुन्छ भनी सोधपुछ गरेकोमा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ,” उनले गरेको कागजमा उल्लेख छ। 

सीआईबीका ती अनुसन्धान अधिकृतका अनुसार प्रमुख भन्सार अधिकृतले ‘फोन गरेर चासो मात्र राखेको तर, छोड्नुपर्ने भन्ने खालको कुनै दबाब नदिएको’ कागजी बयानमा उल्लेख गरेका थिए।

प्रमुख भन्सार अधिकृतको यही बयान महरा बाबुछोरालाई बोलाएर सोधपुछ गर्न वा उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी अग्रसर नबन्ने आधार बनिदियो। माओवादी केन्द्रका एक नेता भने महरालाई जसरी पनि पार्टी राजनीतिमा स्थापित गराउन चाहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चाहनाले पनि यसमा काम गरेको दाबी गर्दै भन्छन्, “त्यसले गर्दा पनि धेरैखाले तारतम्य मिलाइयो भन्ने हामीले बुझेका छौँ।”

हुन पनि ९ केजी सुन ल्याउने समूहका चिनियाँ नागरिक पनि अनुसन्धानको दायरामा आएका छैनन्। सीआईबीका एक अधिकारीले भने २०७९ पुसमा सुन भित्रिएको, २०८० वैशाख अन्तिम साता मात्र सीआईबीलाई अनुसन्धानको जिम्मेवारी दिइएकाले चिनियाँ नागरिकलाई अनुसन्धानको दायरामा ल्याउन नसकिएको दाबी गरे। 

सुन तस्करीमा संलग्नता देखिए पनि महरा बाबुछोरामाथि अनुसन्धान किन गरिएन? सीआईबीका प्रवक्ता, एसपी सञ्जयसिंह थापाले कसैसँग फोन सम्पर्क भएकै आधारमा त्यही विषयमा कुरा भएको भन्ने अवस्था नरहेकाले अनुसन्धान नभएको बताए। सुन ल्याउने समूहको ‘नेटवर्क’सँग सम्पर्कमा रहेको देखिएकाले ‘लिंक चार्ट’मा नाम उल्लेख गरिएको उल्लेख गर्दै उनले भने, “यो मुद्दाको अनुसन्धान जारी छ। सुन ल्याउने समूह, सुन व्यवस्थापन गर्ने समूह र त्यससँग को–को व्यक्ति जोडिए भन्ने अनुसन्धान भइरहेको छ। अनुसन्धान टुंगिएको छैन।”

उनले तत्कालीन प्रमुख भन्सार अधिकृतले दिएको बयान उद्धृत गर्दै थपे, “सामान छुटाउन धेरै दबाब नदिएको र शक्तिका आधारमा प्रभाव पार्न खोजेको नदेखिएको भनी भन्सार प्रमुखले पनि बयान दिनुभएको छ। फोन सम्पर्ककै आधारमा अनुसन्धानको दायरामा ल्याइहाल्नुभन्दा थप अनुसन्धान गर्न सकिन्छ भनेर तत्काल त्यसो नगरिएको हो। सुन ल्याउने नेटवर्कका बारेमा अनुसन्धान जारी छ।”

९ केजी सुन भित्रिएको चार महिनापछि गएको वैशाख २६ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यो प्रकरणको अनुसन्धानका लागि सीआईबीलाई अनुरोध गरेको थियो। सीआईबीले दुई महिना लगाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रहरीले अनुसन्धान पूरा नगरी प्रतिवेदन बुझाएमा थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले प्रतिवेदन नै फिर्ता पठाउन सक्छ। सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन हेरेर महरा बाबुछोराको संलग्नताबारे प्रहरीलाई थप प्रमाण जुटाउन निर्देशन दिन सक्थ्यो। 


जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख, सहन्यायाधिवक्ता अच्यूतमणी नेउपाने यो मुद्दाको अनुसन्धान नटुंगिएको बताउँछन्। “हामीले अभियोग–पत्रमा पनि यस विषयमा उल्लेख गरेका छौँ। यो मुद्दासँग जोडिएका व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानका लागि तत्कालै बलियो प्रमाण नभेटिएकाले निरन्तर अनुसन्धान गर्न भनिएको हो,” उनले भने, “यसमा थप अनुसन्धान जारी छ।” 

प्रहरीले पनि महरा बाबुछोराको संलग्नताबारे तत्काल बलियो प्रमाण नभेटिएकाले अनुसन्धान निरन्तर गर्ने विषयमा परामर्श गरेको उनले बताए। “यो मुद्दा अहिले नै टुंगिएको छैन। यसमा माथिसम्मको कनेक्सन छ। विदेशीको पनि कनेक्सन हुनसक्छ भन्ने देखिएकाले निरन्तर अनुसन्धानकै क्रममा छ,” उनले भने।    

भन्सारको गोदाममा रहेको इलेक्ट्रिक सिगरेट (भेप) भित्र रहेको सुन झिकेर त्यहाँ अरू सिगरेट राखिएको, त्यो सुन न्युरोडका व्यापारी वेदप्रकाश अग्रवालमार्फत चार–पाँच जना भारतीय नागरिकलाई बिक्री गरिएको प्रहरी अनुसन्धानले देखाएको थियो। मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरूले सुन बिक्री गरेको रकम बाँडफाँट गरी कसैले जग्गा खरिद गरेको, कसैले बैंकमा जम्मा गरेको अभियोग–पत्रमा उल्लेख छ। 


सम्बन्धित सामग्री