Saturday, April 27, 2024

-->

धरानमा विमानस्थल बनाउने मन्त्री किरातीकाे जोडबललाई प्राधिकरणकै ‘रेड सिग्नल’

राजनीतिक लाभ र लाेकरिझ्याइँका लागि पर्यटनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल बनाउन जोडबल गरे पनि क्यानले नै त्यो सम्भव नभएको निष्कर्ष निकालेको छ।

धरानमा विमानस्थल बनाउने मन्त्री किरातीकाे जोडबललाई प्राधिकरणकै ‘रेड सिग्नल’

काठमाडौँ– “सुदन किराती मन्त्री नै हुन् कि पोचा लगाउने कूचीकार? खोइ त प्राधिकरणलाई तह लगाको? कुलको बदनामी।” धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले फेसबुकमा व्यक्त गरेको टिप्पणी हो, यो। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मंगलबार धरानमा विमानस्थल बनाउन नसकिने निष्कर्ष सार्वजनिक गरेको केही घण्टामै बेलुकी ७ बजेतिर मेयर साम्पाङले फेसबुकमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीप्रति टिप्पणी गरेका हुन्।

मेयर साम्पाङले उनै हुन् जसले गत कात्तिक २३ गते सामाजिक सञ्जालमार्फत नै धरानमा विमानस्थल निर्माण गर्न मन्त्री किरातीलाई खुल्ला अनुरोध गरेका थिए। मेयर साम्पाङको अनुरोधलाई गम्भीरतापूर्वक लिँदै मन्त्री किरातीले विज्ञहरूसँग सल्लाह नै नगरी धरानमा विमानस्थल बनाउने निर्णय गरेका थिए। 

मन्त्री किरातीले धरानमा विमानस्थल निर्माण गर्ने एकलौटी निर्णय मात्रै गरेका थिएनन्, आफ्नो निर्णय कार्यान्वयनका लागि क्यानका अधिकारीलाई गृहकार्य गर्न निर्देशनसमेत दिएका थिए। तर मन्त्री किरातीको निर्णयको चर्को विरोध भयो, किनभने उनको निर्णय हवाई नीति, २०६३ विपरीत थियो।

उक्त नीतिअनुसार चलिरहेको निकटस्थ विमानस्थलबाट प्रस्तावित (नयाँ) विमानस्थलको दूरी हिमाली र पहाडी क्षेत्रमा २० नटिकल माइल (करिब ३७ किलोमिटर) र तराई तथा भित्री मधेशमा कम्तिमा ४० नटिकल माइल (करिब ७४ किलोमिटर) हुनुपर्छ। विराटनगर विमानस्थलबाट प्रस्तावित धरान विमानस्थल मात्रै ३८ किलोमिटर दूरीमा छ। 

हवाई नीतिविपरीत निर्णय गरेको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्री किरातीले तत्कालै विमानस्थलको सम्भाव्यता अध्ययन गर्न क्यानका प्रबन्धक, इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए। समितिले प्राविधिक रूपमा धरानमा विमानस्थल निर्माण असम्भव भएको निष्कर्ष सुनाएपछि क्यान नेतृत्व पनि यसमा सहमत भयो र मंगलबार यसबारे सार्वजनिक सूचना जारी गर्‍यो।

“नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययनअनुसार सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यमान हवाई नीति, २०६३ मा भएको ‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तिमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था विपरीत हुने, आर्थिक विश्लेषणपश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वान वे एपरोच मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको तथा अन्य विविध टेक्निकल तथा अपरेसनल कन्स्ट्र्यान्ट्सले गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न फिजिबल नरहेको प्राधिकरणको निष्कर्ष छ,” क्यानले जारी गरेको सूचनामा भनिएको छ।

क्यानका उपप्रबन्धक एवं सूचना अधिकारी ज्ञानेन्द्र भूल पनि समितिको निष्कर्षलाई नै क्यानले ग्रहण गरेको बताउँछन्। “कुनै पनि किसिमले धरानमा विमानस्थल निर्माण सम्भव नभएको समितिले सुनाएको निष्कर्षका आधारमा क्यानको उच्च व्यवस्थापनले बैठक गरेर यस्तो निर्णय गरी सार्वजनिक गरेको हो,” भूलले उकालोसँग भने, “अब क्यानको निर्णय कार्यान्वयन हुनुको विकल्प छैन। दबाबले मात्रै विमानस्थल बन्ने स्थिति हुँदैन।”

तर मन्त्री किराती धरानमा विमानस्थल बनाउनु पर्छ भन्ने अडानमै हुनुहुन्छ होइन र? भन्ने प्रश्नमा भूलले भने, ”मन्त्रीज्यूलाई धरानमा विमानस्थल बनाउनुपर्छ भन्ने दबाब परेको थियो। तर, प्राविधिक समितिले नै उक्त स्थानमा विमानस्थल निर्माण सम्भव नभएको निष्कर्ष निकालेपछि मन्त्रीज्यूले पनि यसलाई सकारात्मक रूपमा लिनुहुन्छ होला।”

भूलका अनुसार धरानमा विमानस्थल बनाउने न सरकारको योजना थियो न क्यानको। राजनीतिक जोडबलका कारण धरानमा विमानस्थल बनाउन क्यानलाई वर्षौंदेखि दबाब पर्दै आएको भूलले सुनाए।

यसअघि उकालोले ठूलो धनराशि खर्चेर बनाइएका करिब दुई दर्जन विमानस्थल उडान अभावले बन्दप्रायः रहँदा नेताहरूको स्वार्थ र जग्गा कारोबारीहरूको लाभका निम्ति ठाउँ–कुठाउँ नयाँ विमानस्थल बनाउन सरकारी ढुकुटी कसरी खर्च गरिँदैछ भन्नेबारे विशेष रिपोर्ट प्रकाशन गरेको थियो।

मन्त्री किराती धरानमा विमानस्थल किन चाहन्थे?
मन्त्री किरातीको गृहजिल्ला भोजपुर आवतजावतका लागि अरूभन्दा सहज ठाउँ धरान नै मानिन्छ। धरानमा विमानस्थल बनाउने भन्दै उनले निर्वाचनताका मत माग्ने गरेका थिए। त्यसमाथि धरान उपमहानगरको मेयर साम्पाङले धरानको विकासका लागि भन्दै उनलाई विमानस्थल बनाउन दबाब दिएका थिए। तर, आफ्नो राजनीति जोगाउन र साम्पाङको पनि मन राख्न मन्त्री किरातीले हवाई नीतिविपरीत धरानमा विमानस्थल निर्माण गर्ने निर्णय गरेका थिए। जुन निर्णय कार्यान्वयन असम्भव भएको क्यानको समितिले निष्कर्ष निकालेको हो।

मन्त्री किरातीले धरानमा विमानस्थल बनाउने निर्णय गरेपछि क्यानका एक इन्जिनियरले मन्त्री किरातीलाई लक्षित गर्दै उकालोसँग भनेका थिए, “राजनीतिक स्वार्थका निम्ती मन्त्रीज्यूले धरानमा विमानस्थल बनाउने निर्णय गर्नु भएको छ। यो निर्णय कार्यान्वयन गर्न सम्भव नै छैन।” 

ती इन्जिनियरले नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने सम्भावना बोकेको र व्यावसायिक फड्को मार्दै गरेको विराटनगर विमानस्थल भएकाले र धरान–विराटनगर ६ लेनको सडक बन्दै गरेकाले धरानमा विमानस्थल बनाउन उपयुक्त नहुने बताएका थिए।

तर मन्त्री किरातीले मात्रै धरानमा विमानस्थल बनाउन पहिलो प्रयास गरेको भने होइन। यसअघि पर्यटनमन्त्रीले पनि धरानमा विमानस्थल बनाउन निकै प्रयत्न गरेका थिए। २०७४ सालमा प्रारम्भिक सम्भाव्यता अध्ययन गरेपछि क्यान आफैँ पनि त्यसबाट पछि हटेको थियो। 

आर्थिक वर्ष २०७३ र ७४ मा सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायतका लागि दुई करोड रुपैयाँ विनियोजन गरेर अध्ययन गरिसकेपछि विमानस्थल नबनाउने निधो क्यानले गरेको थियो। 

त्यसअघि सुनसरीकै एमाले नेता भीमप्रसाद आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थल निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर आचार्य मन्त्रीबाट हटेपछि त्यो प्रयत्न अघि बढेको थिएन। 

त्योभन्दा पहिले २०६० सालमा विमानस्थल निर्माणका लागि  भन्दै यति इन्कर्पोरेटेडले स्थानीयसँग सस्तो मूल्यमा जग्गा खरिद गरेको थियो। तर, अहिलेसम्म पनि विमानस्थल निर्माण नभएको भन्दै जग्गा धनीले जग्गा फिर्ता माग्न थालेका थिए। धरान उपमहानगरपालिकाका मेयर साम्पाङले भने विमानस्थल बनाएरै छोड्ने जग्गाधनीसँग प्रतिबद्धता जनाएका थिए। तर त्यसबेला विमानस्थल निर्माण नभए खरिद गरेको मूल्यमै जग्गा फिर्ता गर्ने शर्त राखिएको थियो।


सम्बन्धित सामग्री