काठमाडौँ– भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि अक्रामुद्धिन खानले लुम्बिनीमा होटल खोले। अन्तराष्ट्रिय विमानस्थल बनेपछि रुपन्देही र कपिलवस्तुमा पर्यटकको भिडभाड बढ्ने उनको आशा थियो। त्यही कारण आफ्नो जायजेथा बिक्री गरी बैंकबाट ऋणसमेत लिएर १५ करोड रुपैयाँ लगानीमा ३५ कोठाको होटल बनाए।
अक्रामुद्धिनले २०७६ सालमा कोरोना महामारी शुरू हुनुभन्दा ६ महिनाअघि होटल सञ्चालनमा ल्याएका थिए। विमानस्थल सञ्चालनमा आएको करिब डेढ वर्ष बितिसक्दा पनि होटलमा उनले आशा गरेजस्तो पाहुना आएनन्। बरु, बैंकको ब्याजले सास्ती दिन थाल्यो। अहिले उनी होटल बिक्रीका लागि ग्राहक खोजिरहेका छन्।
“अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनीमा पर्यटकको भीड बढ्छ भनेर यहाँको होटल व्यवसाय फस्टाउने आशामा लगानी गरियो। सोचेजस्तो भएन,” अक्रामुद्धिन भन्छन्, “होटलबाट बैंकको ऋण तिर्नु त के, सञ्चालन खर्च पनि उठ्न सक्ने अवस्था भएन। हामी ऋणमुक्त भएर बस्न चाहन्छौँ।”
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अक्रामुद्धिनजस्तै होटलमा लगानी गर्ने कतिपय अहिले व्यवसाय नै छाड्ने तयारीमा छन्। त्यसमध्येका व्यवसायी पवन हलुवाईले लुम्बिनीमा २ अर्ब ५० करोड रुपैयाँ खर्च गरेर पाँचतारे होटल ‘पवन प्यालेस’ बनाएका छन्। तर अहिले बैंकको ब्याज र होटलको सञ्चालन खर्च नै धान्न नसक्ने अवस्था भएपछि बिक्री गर्नुपर्ने भएको उनको भनाइ छ। “बैंकको यातना सहेर कतिसम्म बस्ने? म ऋणबाट मुक्त भएर बस्न चाहन्छु। मान्छे पाए बिक्री गर्ने तयारीमा छु,” उनी भन्छन्।
व्यवसायीको गुनासो बैंक र सरकारसँग छ। होटल निर्माणका क्रममा ७ प्रतिशत ब्याजदरमा सम्झौता गरेर लिएको ऋणको ब्याज बैंकहरूले वृद्धि गरेर १६ प्रतिशत पुर्याउँदा आफूहरूले धान्न नसकेको अक्रामुद्धिन बताउँछन्। “बैंकहरूलाई मनलाग्दी गर्दा पनि सरकारले छुट दियो, ७ प्रतिशतमा सम्झौता गरेको ऋणको ब्याजदर वृद्धि गरेर १६ प्रतिशत पुर्याए,” उनी भन्छन्।
सिद्धार्थ होटल एसोसिएसनका अनुसार भैरहवा र लुम्बिनी क्षेत्रका होटलमा ७५ अर्ब रुपैयाँभन्दा बढी लगानी छ। एसोसिएसन अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सबै व्यवसायीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको काम शुरू भएपछि होटलमा लगानी गरेको बताउँछन्। विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीहरू पलायनको अवस्थामा पुगेको उनको भनाइ छ।
“यहाँबाट फ्लाइट भएर मान्छेको चहलपहल भएको भए यो अवस्था आउने थिएन। विमानस्थल बन्यो, तर उडान भएन,” अध्यक्ष श्रेष्ठ भन्छन्, “जुन आशा देखेर व्यवसायीले लगानी गरेका थिए, कुनै संकेतसमेत नदेखिएपछि निराशा बढ्यो।”
भैरहवाका एक व्यवसायी होटल नचलेपछि बिक्री गरेर देश नै छोड्ने तरखरमा छन्। नाम उल्लेख गर्न नचाहेका उनले होटल खरिदबिक्रीको अन्तिम कुराकानी भइरहेको बताए। उनले बैंकबाट लिएको २ करोड ऋण र आफ्नो जायजेथा बेचेको समेत ६ करोड रुपैयाँ होटलमा लगानी गरेका छन्। उनी भन्छन्, “२ करोड ऋण लिएर लगानी गरेको अहिले ब्याज, ब्याजको स्याज गरी ५ करोड तिर्नुपर्ने भएको छ। होटल बिक्री भए देशमै बस्दिनँ।”
व्यवसायीका अनुसार बैंकको ब्याज, कर्मचारीलाई तलबसहित सम्पूर्ण सञ्चालन खर्च उठ्न होटलको ३५ देखि ४० प्रतिशत कोठा भरिनुपर्छ। तर अहिले १५ प्रतिशत कोठा मात्र सञ्चालनमा छन्। यसले आधा खर्च पनि नउठेको होटल व्यवसायी बताउँछन्।
किन चलेन विमानस्थल?
भैरहवामा विमानस्थल निर्माण भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण हो यात्रु अभाव। यात्रु नहुँदा एयरलाइन्सहरूले उडानमा इच्छा देखाएका छैनन्। उडान थालेकाले पनि बन्द गरेका छन्।
भैरहवा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने कुवेतको जजिरा एयरलाइन्स थियो। तर उक्त एयरलाइन्सले उडान रोकेको सात महिना भइसकेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जजिराले पुनः उडान शुरू गर्नेबारे अहिलेसम्म कुनै जानकारी गराएको छैन।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७९ जेठ २ गते उद्घाटन भएदेखि जजिरा एयरलायन्सले कुवेत–भैरहवा–कुवेत उडान गर्दै आएको थियो। शुरूमा हप्ताको तीन दिन उडान गरेको जजिराले केही समय दैनिक उडान भर्यो। यात्रु नपाएपछि पुनः हप्ताको तीन दिन उडान गर्दै आएको थियो। तर हुस्सु लागेर उडान तथा अवतरणका लागि मौसम प्रतिकूल भएपछि गत मंसिर अन्तिम हप्ताबाट पहिलोपटक उडान रोकेको थियो।
तराईको मौसममा सुधार आएपछि गत फागुनबाट फेरि उडान थालेको जजिराले त्यसको एक महिनापछि नै पुनः उडान रोकेको थियो। त्यसपछि उडान गर्ने कुनै जानकारी प्राधिकरणलाई गराएको छैन।
नेपालको निजी वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले पनि २०७९ कात्तिकदेखि भैरहवाबाट मलेसियाको राजधानी क्वालालम्पुर चार्टर्ड उडान शुरू गरेको थियो। प्रतिकूल मौसमका कारण करिब एक वर्षअघि मंसिरमा उडान रोकेको हिमालयन एयरलाइन्सले त्यसयता फेरि सञ्चालन गरेको छैन।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपककुमार वज्राचार्य पर्याप्त यात्रु नपाएपछि जजिरा र हिमालयन एयरलाइन्सले उडानमा अनिच्छा देखाएको बताउँछन्। “जुनजुन कम्पनीले भैरहवाबाट उडानका लागि तत्परता देखाए, उनीहरूको लक्ष्य वैदेशिक रोजगारमा जाने–आउने यात्रुलाई सेवा दिने नै थियो,” उनी भन्छन्, “तर वैदेशिक रोजगारसँग सम्बन्धित सबै कार्यालयहरू यहाँ नहुँदा काठमाडौँ जानुपर्ने बाध्यता हटेन। काठमाडौँ नै जानुपर्ने भएपछि एयरलाइन्सले यहाँबाट जाने यात्रु पाएनन्।”
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भैरहवामा हप्तामा एउटा मात्र उडान गर्दै आएको छ। निगमको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीका अनुसार हरेक मंगलबार वायुसेवा निगमको ‘न्यारोबडी’ जहाज क्वालालम्पुरबाट सिधै भैरहवा विमानस्थलमा अवतरण गर्छ। अहिलेसम्म भैरहवामा यात्रु झारेर सिधा काठमाडौँ फर्किने गरेकोमा अब उक्त जहाज दिल्ली र हङकङका यात्रुलाई लिएर काठमाडौँ जाने लोहनी बताउँछन्।
दिल्ली र हङकङका ती यात्रु काठमाडौँलाई ट्रान्जिट बनाएर नेपाल वायुसेवाकै अर्को जहाजबाट गन्तव्यमा जाने छन्। तर जाडो बढेसँगै निगमको उडानमा पनि समस्या देखिएको छ। विमानस्थलमा उपकरणमा आधारित उडान र अवतरण नहुँदा (इन्सट्रुमेन्ट ल्यान्डिङ सिस्टम) हुस्सुका कारण उडान प्रभावित हुन थालेका छन्।
कार्तिक २१ गते बिहान मलेसियाबाट आएको वायुसेवा निगमको विमान अवतरणका लागि भिजिबिलिटी नपुगेपछि ४५ मीनेट आकासमै होल्ड भएर काठमाडौँ गएको थियो। १५७ सिटको उक्त विमानमा पूर्ण क्षमतामा यात्रु थिए। करिब आधा यात्रुलाई भैरहवा ओरालेर हङकङ जाने चार जना यहाँबाट लिएर काठमाडौँ जाने योजना थियो। भारतले स्वीकृति नदिँदा उक्त विमानस्थलमा इन्सट्रुमेन्ट ल्यान्डिङ सिस्टम जडान हुन सकेको छैन।
सडकको दुरवस्थाले रोकिए आन्तरिक पर्यटक
होटल व्यवसायी अक्रामुद्धिन लुम्बिनी र भैरहवाको होटल व्यवसाय थला पर्नुको कारण विमानस्थलसँगै राष्ट्रिय राजमार्गहरूको दुरवस्था पनि भएको बताउँछन्। उनका अनुसार यहाँका होटल आन्तरिक पर्यटकका कारण पनि धानिएका थिए। पूर्वी नेपालका स्थानीय ठूलो संख्यामा लुम्बिनी भ्रमणमा आउँथे। पछिल्लो समय नारायणी नदीदेखि पूर्व र उत्तरमा पर्ने गण्डकी प्रदेशबाट स्थानीय पर्यटक लुम्बिनी आउन नै छाडेका छन्। यसको मुख्य कारण, चार वर्षदेखि स्तरोन्नति थालिएको र निर्माण नसकिएको नारायणगढ–बुटवल सडकखण्डको दुरवस्था हो।
यो सडकको स्तरोन्नति २०७९ सालमा सम्पन्न गर्ने लक्ष्यसहित २०७५ चैतबाटै काम थालिएको थियो। तर निर्धारित मिति सकिइसक्दा आधा काम पनि भएको छैन। बरु, सडक बिगारिएपछि अत्यावश्यक कामबाहेक मानिसहरूले उक्त सडकखण्ड भएर यात्रा गर्न छाडेको अक्रामुद्धिन बताउँछन्।
नारायणगढदेखि बुटवल ११४ किलोमिटर दूरी करिब साढे दुई घण्टामा पुग्न सकिने भए पनि ६ देखि सात घण्टा लाग्छ। त्यसैगरी सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल खण्ड पनि अहिले स्तरोन्नति भइरहेको छ।
सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष श्रेष्ठ विमानस्थल र सडक पूर्वाधार पूर्णरूपमा ठीक नहुँदा पर्यटन व्यवसायमा असर पुगेको बताउँछन्। सरकारको नीति पनि पर्यटकमैत्री नभएको उनको भनाइ छ। “भारतीय पर्यटक आउँदा २५ हजारभन्दा बढी पैसा ल्याउन पाउँदैन। अध्यागमन कार्यालयमा तीन घण्टासम्म लाइनमा बस्नुपर्छ, अनि यस्तो भद्रगोलमा कहाँबाट मान्छे आउँछन्!” उनी भन्छन्, “सरकारले कमिकमजोरी सुधार गर्ने कुरा सोच्दै सोच्दैन।”
भारतको सुनौली भएर स्थलमार्ग हँुदै दुई वटा बसमा पर्यटक नेपाल आए अध्यागमन प्रक्रिया पूरा गर्न दुईदेखि तीन घण्टा लाइन बस्नुपर्छ। वेलहियास्थित अध्यागमन कार्यालयका एक कर्मचारीका अनुसार कार्यालयमा एउटा मात्र कम्प्युटर भएको कारण इन्ट्री गर्दा दुईदेखि तीन घण्टा लाग्छ। “पहिला दुईवटा कम्प्युटर थिए। विमानस्थल सञ्चालनमा आएपछि एउटा भैरहवास्थित विमानस्थलको अध्यागमन कार्यालय लगियो,” ती कर्मचारी भन्छन्, “हामीले भएको स्रोत साधनबाट काम चलाउने हो। ढिला हुँदा नरमाइलो लाग्छ, तर हामीले गर्न सक्ने केही छैन।”
महामारीले बिथोलेको लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण कोरोना महामारी पनि हो। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा वाह्य आगमन र प्रस्थान यात्रुको संख्या वार्षिक ९० लाख छ।
२०७६ मा कोरोना महामारी नआएको भए यात्रु संख्या बढेको अनुपातमा थप दुई वर्षपछि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चाप धान्न सक्ने अवस्था हुँदैनथ्यो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार कोभिड महामारीअघि हवाई यात्रुको वार्षिक वृद्धिदर आन्तरिकतर्फ २० र बाह्यतर्फ १२ प्रतिशत थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा बढी यात्रु हुँदा भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने गरी योजना बनाइएको थियो। तर कोरोना महामारीको कारण पूर्वयोजनाअनुसार काम हुन पाएन। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य यात्रु क्षमता ३५ लाख छ भने पोखराको १० लाख छ।
“काठमाडौँले धान्न नसक्ने यात्रुलाई भैरहवा र पोखरा डाइभर्ट गर्ने सोचका साथ काम भएको थियो,” प्राधिकरणका प्रवक्ता निरौला भन्छन्, “कोरोना महामारी र त्यसलगत्तैको विश्वव्यापी आर्थिक मन्दी नभएको भए पोखरा र भैरहवा दुवै विमानस्थल गुल्जार भइसक्थे।”