Saturday, April 27, 2024

-->

‘बीवाईडी’ आयातमा राजस्व छल्ने नेपाली कम्पनी साइमेक्सलाई कारबाही, जरिबानासहित असुल गरिँदै

साइमेक्सले दुई वर्षअघि तीन महिनाको फरकमा ४१ वटा बीवाईडी कार आयात गर्दा अघिल्लो लटका २० वटाको मूल्य प्रतिगाडी १७ हजार १५० अमेरिकी डलर कम थियो। तर उपभोक्तालाई दुवै लटका गाडी एउटै मूल्यमा बेचिएको थियो।

‘बीवाईडी’ आयातमा राजस्व छल्ने नेपाली कम्पनी साइमेक्सलाई कारबाही जरिबानासहित असुल गरिँदै

काठमाडौँ– ‘बीवाईडी’ ब्रान्डको विद्युतीय कार (ईभी) आयातमा राजस्व छली प्रमाणित भएपछि भन्सार विभागले आयातकर्तासँग जरिबानासहित बक्यौता राजस्व असुलउपर गर्ने प्रक्रिया अघि बढाएको छ। चिनियाँ सवारी उत्पादक कम्पनीले बनाउने बीवाईडी गाडीको २० वटा ई–सिक्स मोडेल कार आयात गर्दा राजस्व छली भएको हो।

भन्सार विभागका अधिकारीका अनुसार काठमाडौं–३ स्थित साइमेक्स प्राइभेट लिमिटेडले राजस्व छलेर गाडी भित्र्याएको थियो। सन् २०१५ मा बनेका २० वटा ई–सिक्स मोडेल कार आयातमा १ करोड ८४ लाख रुपैयाँ न्यून बिजकीकरण ठहर भएको विभाग स्रोतले जनाएको छ। चीनको बीवाईडी अटो कम्पनीले २०७८ भदौ १७ मा जारी गरेको बिलको आधारमा बीवाईडी ई–सिक्स नेपाल भित्र्याउँदा भन्सारको प्रज्ञापनपत्रमा घोषित मूल्य वास्तविक नभएको विभागले फेला पारेको थियो।

छली भएको राजस्व र जरिबाना भुक्तानीका लागि मंसिर तेस्रो साता विभागले आयातकर्ता साइमेक्सलाई पत्र पठाएको थियो। विभागका महानिर्देशक शोभाकान्त पौडेलले पनि बीवाईडी बिक्रेता साइमेक्सलाई दुई हप्ताअगाडि नै पत्र पठाइएको बताए।

साइमेक्सले गाडी आयातको क्रममा ‘एसी फास्ट चार्जर’को ७ लाख र गोदाम शुल्कको २ लाख २० हजार गरी प्रतिगाडी ९ लाख २० हजार रुपैयाँ मूल्यांकन लुकाएको थियो। जसअनुसार त्यस ‘लट’को २० वटा ई–सिक्स मोडेल कार आयातमा १ करोड ८४ लाख रुपैयाँ न्यून बिजकीकरण भएको हो। विभागले छुटेको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र सडक निर्माण दस्तुरसहित जरिबाना असुल गर्ने प्रक्रिया थालेको छ।

१ करोड १२ लाख असुलिने
भन्सार विभागले थप निर्धारण भएको भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), सडक निर्माण दस्तुरको रकम र जरिबाना भुक्तानीका लागि पत्र पठाए पनि साइमेक्सले रकम तिरिसकेको छैन। उक्त पत्रलाई उदृत गर्दै विभाग स्रोतले दिएको जानकारीअनुसार भन्सार ऐन २०६४ को दफा ३४ का आधारमा १ करोड १२ लाख २९ हजार रुपैयाँ असुलउपर गर्न लागिएको छ।

न्यून बिजकीकरण भएको कुल रकम १ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने भन्सार महसुल १८ लाख ४० हजार साइमेक्सले तिर्नुपर्ने छ। त्यस्तै, न्यून बिजकीकरणको उक्त करयोग्य रकममा भन्सार महसुल जोड्दा हुन आउने २ करोड २ लाख ४० हजार रुपैयाँमा थप १३ प्रतिशत भ्याटबापत २६ लाख ३१ हजार २०० रुपैयाँ पनि तिर्नुपर्नेछ। करयोग्य रकम, भन्सार महसुल र भ्याट तीन वटै जोड्दा हुने २ करोड २८ लाख ७१ हजार २०० मा सडक निर्माण दस्तुरको ५ प्रतिशत अर्थात्, ११ लाख ४३ हजार ५६० रुैपैयाँ पनि साइमेक्सले तिर्नुपर्नेछ।

यसरी समग्रमा भन्सार अभिलेख, प्रज्ञापनपत्र र मूल्यसम्बन्धी अन्य दस्तुरका आधारमा साइमेक्सले ५६ लाख १४ हजार ७०० रुपैयाँ राजस्व मात्र तिरे हुने थियो। तर राजस्व छलीका लागि कम मूल्य घोषणा गरी गाडी भित्र्याएपछि तिर्नुपर्ने राजस्वबराबर जरिबानासमेत निर्धारण गरिएको छ।

२०७८ भदौ १७ गते निर्यातकर्ताबाट बिल बनाइएको बीवाईडी ई–सिक्स २०१५ मोडेलको २० वटा ईभी प्रतिगाडी १० हजार अमेरिकी डलरमा साइमेक्सले आयात गरेको भन्सारको अभिलेखमा देखिन्छ। २०१५ मोडेलकै बीवाईडी ई–सिक्स अर्को लट २१ वटा कार आयात गर्दा उक्त कम्पनीले २०७८ मंसिर ५ मा निर्यातकर्ताबाट बिल बनाएअनुसार प्रतिगाडी मूल्य २७ हजार १५० अमेरिकी डलर छ। करिब तीन महिनापछि आयात गरिएका उही मोडेलमा प्रतिगाडी १७ हजार १५० अमेरिकी डलर मूल्य फरक छ। 

यी दुवै लटका कार आयातकर्ता साइमेक्सले नेपाली उपभोक्तालाई अधिकतम खुद्रा मूल्य ५७ लाख ५० हजार कायम गरेर बिक्री गरेको थियो। साइमेक्सका प्रतिनिधि समीर श्रेष्ठ सन् २०१५ मै बनेका गाडी पुरानो हुन लागेको हुँदा निर्माता कम्पनीले कम मूल्यमै उपलब्ध गराएको दाबी गर्छन्। यसै कारण कम मूल्य देखिएको उनको भनाइ छ। भन्सार विभागले तय गरेको राजस्व र त्यसमा लाग्ने जरिबानाबारे कम्पनीले विभागसँग छलफल गरिरहेका कारण तत्काललाई रकम नतिरिएको उनको भनाइ छ।

उपभोक्तासँग ठगी!
आयातकर्ताले प्रज्ञापनपत्रमा घोषणा गरेको १० हजार डलरलाई आधार मान्दा प्रतिगाडी परल मूल्य ११ लाख ६९ हजार रुपैयाँ (तत्कालीन विनिमय दरअनुसार) हुन्छ। यसमा थपिने १० प्रतिशत भन्सार महसुल, १३ प्रतिशत भ्याट र ५ प्रतिशत लागत जोड्दा गाडीको मूल्य १५ लाख २५ हजार हुन्छ।

परल मुल्यमा ढुवानी, बिमा र गोदाम शुल्क गरेर अधिकतम १० प्रतिशत थप खर्च जोड्दा काठमाडौँको ‘शो रुम’ आइपुगेको गाडीको लागत १६ लाख ७७ हजार रुपैयाँ हुन्छ। शो रुम संचालन र जनशक्तिको खर्च थप ५ प्रतिशत जोड्दा १७ लाख ६१ हजार हुन्छ। यसमा आयातकर्ताले आफ्नो नाफा जोडेर बिक्री गर्छ। 

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले निर्धारण गरिदिएको २० प्रतिशत नाफा लिन पाउने व्यवस्था पालना गराउँदा उक्त गाडीको मूल्य २१ लाख १३ हजार ४७० रुपैयाँसम्ममा बिक्री हुनुपर्ने हो। अन्य प्रशासनिक र विविध खर्च थप गर्दा पनि २२ लाख रुपैयाँभित्र बीवाईडीको उक्त लटको ई–सिक्स उपभोक्ताले पाउनुपर्ने हो।

तर आयातकर्ता साइमेक्सले नेपालमा उक्त गाडीको अधिकतम खुद्रा मूल्य ५७ लाख ५० हजार कायम गरेको छ। २०७८ मंसिर ५ मा निर्यातकर्ताबाट बिल बनाइएअनुसार एउटा गाडी २७ हजार १५० अमेरिकी डलरमा झिकाइँदा पनि लागत मूल्य र सरकारलाई तिर्नुपर्ने कर जोड्दासमेत हाल तोकिएको मूल्य अधिक हुन्छ। प्रत्येक गाडीको अधिकतम मूल्य ३५ लाख ९० हजार मात्र पर्छ।

नाम चलेका ब्रान्डका ईभीमा झेल
बीवाईडी अटो कम्पनी लिमिटेड भनेको अटोमोबाइलमा परिचित र चिनियाँ बहुराष्ट्रिय कम्पनी बीवाईडीको भगिनी कम्पनी हो। बीवाईडी अटोले ईभी कार, बस, ट्रक, साइकल, फोर्कलिफ्ट र विद्युतीय सवारी साधनको ब्याट्री उत्पादन गर्छ। ब्याट्रीले चल्ने र पेट्रोलिय इन्धन पनि प्रयोग हुने ‘हाइब्रिड’ सवारी साधन पनि उत्पादन गर्छ। युरोपियन युनियन, दक्षिणपूर्वी एशिया र ल्याटिन अमेरिकी मुलुकसहित विभिन्न देशहरूमा कारहरूको बजार विस्तार गरिरहेको कम्पनी नेपालमा पनि हुनुलाई अहिले राम्रो मानिएको जानकारहरू बताउँछन्।

विश्वबजारमा राम्रो स्थान ओगट्दै गएको ब्रान्डमा नेपाली आयातकर्ताले झेल गर्नु भनेको देशको राजस्व छलीसँगै गम्भीर व्यवसायिक विचलनसमेत भएको भन्सारका अधिकारी बताउँछन्। “पेट्रोलिय इन्धनपछि देशलाई सबभन्दा बढी राजस्व दिने भनेको अटोबोबाइल नै हो। यस्तोमा अहिले न्यूनतम राजस्व लिएर विद्युतीय सवारी बजारमा आयात गर्न दिनु भनेको सरकारको भारी परिमाणमा कर त्याग गर्ने इच्छाशक्ति हो,” ती अधिकारी भन्छन्, “यस्तोमा पनि विद्युतीय सवारी आयातमा राजस्व छली देखिन्छ भने यो गैरव्यवसायिक प्रवृत्ति हो।” 

यसअघि, अमेरिकी विद्युतीय सवारी कम्पनी टेस्लाको आयात नेपालमा अवैध तरिकाले भइरहेको खुलेको थियो। नेपालमा १ करोड ३५ लाखदेखि २ करोड १० लाख रुपैयाँसम्म बिक्री गरिएका टेस्लाका गाडी कानूनी प्रावधान मिचेर निर्वाध आयात र बिक्री भइरहेको उकालोले उजागर गरेको थियो। उक्त कम्पनीले नेपाल वा भारतमा समेत कसैलाई पनि आधिकारिक बिक्रेता बनाएको टेस्लाको आधिकारिक वेबसाइट वा कुनै कागजातमा देखिँदैन।

आर्थिक अध्यादेश २०६७ ले सवारी साधन बिक्री गर्न आधिकारिक बिक्रेता अनिवार्य चाहिने व्यवस्था गरेको छ। काठमाडौँ–५, नक्सालको ठेगानामा दर्ता रहेको अरेत इन्टरनेसनल प्रालिले यो गाडी आयात गर्छ। कानूनले रोके पनि नेपालमा भने निर्धक्क भन्सार पास भएर टेस्ला भित्रिइरहेको पाइएको थियो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कम्पनीको एजेन्सी दर्ता गरेको प्रमाणका आधारमा अरू गाडीसरह उक्त ब्रान्डका गाडी आयात गर्न दिएको भन्सार विभागले जनाएको छ। 

तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातकर्ता कम्पनी अरेत इन्टरनेशनल प्रालि फर्मको रूपमा दर्ता भएको र एजेन्सी दर्ता गराएको प्रमाण फेला नपरेको जनाएको थियो। अरेत इन्टरनेसनलका मुख्य संचालकमा नागार्जुन नगरपालिका–१० का विनोद श्रेष्ठको नाम छ। भन्सारको अभिलेखअनुसार अरेत इन्टरनेसनलले हङकङमा दर्ता भएको देखिने साउथ चाइना एक्जिम कम्पनीबाट टेस्लाका गाडी आयात गर्छ।

हङकङस्थित साउथ चाइना एक्जिमका संचालक नेपालमा व्यापार व्यवसाय गर्दै आएका राकेशकुमार अडुकिया हुन्। स्रोतका अनुसार नेपालमा टेस्लाको कारोबार पनि पर्दा पछाडिबाट उनले नै गर्छन्। सवारी उत्पादनकर्ता वा त्यसको भगिनी कम्पनीसमेत नरहेको ‘साउथ चाइना एक्जिम’ नेपालको कानूनअनुसार यहाँ गाडी निर्यात गर्न योग्य मानिँदैन।


सम्बन्धित सामग्री