Saturday, April 27, 2024

-->

सुक्खा बन्दरगाहमा बेवारिसे २१८ कन्टेनर मुचुल्का उठाएर खोलिँदै, शुरूआती ५८ वटामा प्रतिबन्धित छोकडा भेटियो

पाँच वर्षयता थुप्रिँदै गएका ती कन्टेनर अवैध सामान मगाएका व्यापारीले ‘भन्सारलाई मिलाएर’ वा ‘सरकारबाट खुला गराएर’ छुटाउन असफल भएपछि त्यत्तिकै छाडेको हुन सक्ने अनुमान गरिएको छ।

सुक्खा बन्दरगाहमा बेवारिसे २१८ कन्टेनर मुचुल्का उठाएर खोलिँदै शुरूआती ५८ वटामा प्रतिबन्धित छोकडा भेटियो

काठमाडौँ– विभिन्न समयमा नेपाली आयातकर्ताले विदेशबाट मगाएका मालसमानले भरिभराउ २१८ वटा कन्टेनर वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा वर्षौंदेखि बेवारिसे छन्। जाँचपास गराउन कोही नआएपछि थन्किएका ती कन्टेनरलाई सुक्खा बन्दरगाह भन्सार कार्यालयले सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा मुचुल्का उठाई खोलेर लिलामी प्रक्रिया शुरू गरेको छ।

कन्टेनर खोलेर त्यसभित्रका मालसमान जाँच गर्न लागिएको त्यहाँका प्रमुख भन्सार अधिकृत राम मैनालीले बताए। उनका अनुसार करिब पाँच वर्षदेखि आयातकर्ताले नलगेका कन्टेनर बन्दरगाहमा थन्किएका हुन्। बेवारिसे कन्टेनर दाबी गर्न सुक्खा बन्दरगाह भन्सार कार्यालयले मंसिर १० गते सातदिने सूचना प्रकाशित गरेको थियो। सूचनामा दिइएको म्याद सकिएपछि लिलामी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। 

प्रकाशित सूचनामा ‘कन्टेनरका मालवस्तुहरू भन्सार ऐन २०६४ को दफा ४७१ बमोजिमको प्रक्रिया पूरा गरी छुटाई लैजान र नलगेमा कानूनबमोजिम कारबाही अगाडि बढाइने’ भनिएको थियो। भन्सारमा भित्रिएको ६० दिनभित्र आयातकर्ताले आफ्नो मालवस्तु जाँचपास गरी नलगे त्यस्ता वस्तु लिलाम गर्न सकिने कानूनी व्यवस्था रहेको भन्सारप्रमुख मैनाली बताउँछन्। 

“म यहाँ आएदेखि पुराना समानहरू थन्क्याई राखिएको देखेर खोजी गर्दा पाँच वर्ष अगाडिदेखिका कन्टेनरहरू बेवारिसे भेटिए। ती सबैलाई व्यवस्थापन गर्न लागिरहेको छु,” उनले भने, “यसका लागि विभागबाट थप जनशक्तिसमेत मगाएर टोली खटाई कन्टेनरभित्र के कस्ता मालसामान छन् हेरिरहेका छौँ। हामीले सूचना प्रकाशित गर्दा कोही दाबी गर्न नआएको हुँदा साक्षी रोहबर राखेर हेरिरहेका छौँ।”

जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, वीरगन्ज उद्योग वाणिज्य संघ र खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिको रोहबरमा बेवारिसे कन्टेनरहरू खोलेर जाँच भइरहेको उनले जानकारी दिए। आयातकर्ताले जाँचपासका लागि स्वघोषणा नगरेका कन्टेनर लामो समय थन्किँदा बाहिरबाट खिया लागेर थोत्रिन थालेका थिए। 


बिहीबार साँझसम्म ६० वटा कन्टेनर खोली हेर्दा ५८ वटामा छोकडा फेला परेको र त्यो कुहिएर लिलामयोग्य पनि नरहेको भन्सार कार्यालयले जनाएको छ। बाँकी दुई कन्टेनरमध्ये एउटामा कोठाको भुइँ ‘पार्केटिङ’ गर्ने काठको परत र अर्कोमा ट्युबलेस टायरमा राखिने ‘लिक्विड’ फेला परेको र ती दुवै सामान लिलाम गर्न मिल्ने खालको रहेको भन्सारप्रमुख मैनालीले जानकारी दिए। 

धेरै कन्टेनरमा छोकडासँगै, केराउ, मरिच, पोस्तादाना र सुपारीजस्ता आयात नियन्त्रित गरिएका सामानहरू भएको आकलन गरिएको छ। तर जाँचपछि मात्र यकिन रूपमा भन्न मिल्ने भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए। 

नेपालमा मागभन्दा अत्यधिक परिमाणमा यी वस्तु आयात गरी भारततर्फ चोरी निकासी हुन लाग्दा वैदेशिक मुद्रा सञ्चितिमा असर पुगेर सरकारले आयात नियन्त्रित गरेको छ। खुला आयातमा बन्देज लगाइएका यी वस्तुहरू सीमित कोटा तोकेर कच्चा पदार्थको रूपमा सम्बन्धित उद्योगहरूले मात्र आयात गर्न पाउने वर्गका हुन्। आयात रोक्का भएको बेला ‘भन्सारलाई मिलाउन’ वा ‘सरकारबाट नै खुला गराउन’ सकिने आँट गरेर सामान मगाएका व्यापारीले पछि त्यसो गर्न सफल नभएपछि त्यत्तिकै छाडेको हुन सक्ने विभागका एक अधिकारीले बताए। 

यसबाहेक यी कन्टेनरमा खाद्य वस्तु, मोटर पार्ट्स, भटमास, फर्नेस आयल, सुकमेल लगायतका सामान पनि हुन सक्ने अनुमान गरिएको छ। सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्यालीका सञ्चालन प्रमुख अतुल शर्माका अनुसार बेवारिसे कन्टेनरहरू विभिन्न ‘सिपिङलाइन’का देखिएका छन्। जाँचपछि मालसामान लिलाम गर्ने र प्रयोग गर्न नमिल्ने अवस्थाको भएमा प्रक्रिया पुर्‍याएर नष्ट गर्ने भन्सार विभागले जनाएको छ। खाली हुन आएका कन्टेनरहरू भने सम्बन्धित सिपिङ कम्पनीहरूलाई फिर्ता दिएर ‘यार्ड’ खाली गराउने भन्सार कार्यालयको तयारी छ।


सम्बन्धित सामग्री