Saturday, April 27, 2024

-->

सय किलो सुन बरामद प्रकरण: अब के होला?

यस पटकको सुन तस्करी प्रकरणको अनुसन्धान यसअघि जस्तो बीचमै नतुहिने, अन्तिमसम्म पुर्‍याएरै छोड्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको भनाइ छ।

सय किलो सुन बरामद प्रकरण अब के होला

काठमाडौँ– राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास गरेर बाहिर पुर्‍याइसकिएको करिब सय किलो सुन बरामद गर्‍यो। मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको सुन भन्सार जाँच पास गरेर विमानस्थलबाट सिनामंगल पुर्‍याइसकिएको अवस्थामा ट्याक्सीबाट बरामद गरिएको हो।

सुन बरामद भएसँगै सुन ओसार्ने काम संलग्न भएको आशंकामा हालसम्म दुई विदेशी नागरिकसहित १० जना पक्राउ परेका छन्। ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, हर्क राई, रामकुमार भुजेल, दिलीप भुजेल, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ चिनियाँ मूलका भारतीय नागरिक थुक्टिन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लिन गरी १० जना पक्राउ परेका छन्।

उनीहरूमध्ये सात जनालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ। बाँकी तीन जनाको हिरासतमा राखेर अनुसन्धान गर्नका लागि शुक्रबार मात्रै अदालतमा अनुमतिका लागि लगिने छ। पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभागको हिरासतमा राखिएको छ।

सुन बरामद भएको १२ घण्टामा एक जना चिनियाँ मूलका भारतीय नागरिकसँगै ६ जनालाई पक्राउ गरिएको थियो भने बिहीबार चिनियाँ नागरिकसहित चार जना पक्राउ परेका थिए। पक्राउ परेकामध्ये चिनियाँ नागरिक लिन सात महिनादेखि नेपालमा बसेको खुलेको छ। चीन जान लागेका बेला उनी पक्राउ परेका थिए।

अनुसन्धानमा संलग्न अधिकारीहरूले उनले सुन तस्करीको धन्दा चलाइरहेको आशंका गरेका छन्। उनीहरूका अनुसार यी चिनियाँ नागरिक नै यो सुन तस्करी प्रकरणको मुख्य नाइके मानिएका छन्। तर, उनका कारण थप चिनियाँहरू पनि पक्राउ पर्ने अधिकारीहरू बताउँछन्। लगत्तै साँझ विभागले थप दुई जनालाई पक्राउ गरेको हो।

सुन तस्करीमा नेपाल, भारत मात्रै होइन चीनका नागरिक पनि पक्राउ परेपछि नेपाललाई ट्रान्जिट बनाइ अन्तर्राष्ट्रिय गिरोहबाट सुन तस्करी भइरहेको आशंका गरिएको छ। पछिल्लो घटनासँगै यसअघि पटक–पटक भएका चर्चित सुन तस्करीका घटनाहरूबारे पनि चर्चा शुरू भएको छ।

यो पनि : अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद, नौ वर्षमा बरामद सुन ६०० किलो पुग्यो

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको करिब एक अर्ब रुपैयाँ बराबरको यति ठूलो परिमाणको सुन रेडी ट्रेड प्राइभेट लिमिटेका सञ्चालक दिलीप भुजेलको नाममा आयात भएको राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भुजेललाई पनि नियन्त्रणमा लिएकाले सुन प्रकरणबारे भुजेलबाट थप खुलासा हुने विभागका अधिकारीहरूको विश्वास छ।

विभागले बरामद गरेको सुनको वास्तविक तौल यकिन गर्न बिहीबार नै नेपाल राष्ट्र बैंकमा पठाएको थियो। राष्ट्र बैंकअन्तर्गत टक्सार महाशाखामा सुनसहितको ब्रेक शु जोख्दा १ सय ५५ किलो तौल रहेको पाइएको छ। अब ब्रेक शुबाट सुन मात्रै निकालेर जोखिने छ। यो काम शुक्रबार हुने छ। राष्ट्र बैंकबाट सुनको तौल यकिन गरेर विभागमै पठाउने तयारी भएको छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार विमानस्थल परिसरमा थप सय किलो सुन लुकाएको आशंकामा त्यसको अनुसन्धानका लागि विशेष टोली निरन्तर खटिरहेको छ।

“हामीले बुधबार बरामद भएको सुन कसको हो? यो तस्करी कसको संलग्नतामा भइरहेको छ भन्नेबारे एकातिर अनुसन्धान तीव्र बनाएका छौँ,” उनले भने, “अर्कोतिर थप सुन लुकाइएको आशंकामा खोजीका लागि विशेष टोली विमानस्थलमा निरन्तर खटाइरहेका छौँ। यसबाट थप नतिजा आउने अनुमान गरेका छौँ।”

सुन बरामद भएको भोलिपल्टै बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले भिन्दाभिन्दै समयमा विभागका महानिर्देशक ढुंगानालगायत अन्य सरोकारवाला निकायका प्रमुखहरूलाई बोलाएर छलफल गरेका थिए।

यो पनि : १० दिन पहिलेदेखि नै यो सुनकाण्डकाे अनुसन्धान शुरू गरेका थियौँ: महानिर्देशक ढुंगाना [अन्तर्वार्ता]

प्रधानमन्त्री तथा गृहमन्त्री दुवैले आफूलाई सुन तस्करीको अनुसन्धान तीव्र रूपमा अघि बढाउन र कुनै पनि कुराले विचलित नहुन निर्देशन दिएको महानिर्देशक ढुंगानाले बताए। यस पटकको सुन तस्करीको अनुसन्धान यसअघि जस्तो बीचमै नतुहिने, अन्तिमसम्म पुर्‍याएरै छोड्ने ढुंगानाको भनाइ छ।

बिहीबार नै गृहमन्त्री श्रेष्ठले सुरक्षा निकायका पूर्वउच्च अधिकारीलाई बोलाएर पनि सुन तस्करी लगायतका विषयमा छलफल गरेका थिए। “गृहमन्त्रीज्यूले सुन तस्करीका विभिन्न विषयमा केन्द्रित रहेर कसरी नियन्त्रण गर्ने लगायतका विषयमा हामीसित छलफल गर्नुभएको हो,” छलफलमा सहभागी एक पूर्व एआईजीले भने, “हामीले यसअघि तस्करी भएको सुन लगायत पछिल्लो पटक भइरहेको तस्करी लगायतको विषयमा कुरा राख्यौँ। उहाँले आफू यसमा कडाइका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो।”

सुरक्षा निकायका पूर्व अधिकारीहरूसँगको छलफलमा गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणमा निष्पक्षमा रूपमा छानबिन हुने बताएका छन्। उनले यसमा कुनै पनि किसिमको शंका नगर्न पनि आग्रह गरे।

प्रधानमन्त्री दाहालले यही असार १२ गते राजस्व चुहावट रोक्नका लागि भन्दै आफ्नो निजी सचिव रहेका ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए। यो विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत छ।

बरामद भएको सुन व्यवसायी दीपक मलहोत्राको रहेको आशंकामा विभागले अनुसन्धान गरिरहेको छ। यद्यपि, व्यवसायी मलहोत्राले सार्वजनिक रूपमा आफू सुन तस्करी प्रकरणमा संलग्न नभएको र सुनको व्यापार पनि २०५५/०५६ सालमै छाडिसकेको स्पष्टीकरण दिएका छन्।

सुन बरामद गर्न कसरी सफल भयो विभाग?
सुन तस्करी नेपालका लागि नौलो घटना भने होइन। विगतमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सुन तस्करी हुँदै आइरहेको थियो। तर, राजनीतिक प्रभाव र दबाबका कारण सुन तस्करीका घटनाको अनुसन्धान बीचमै तुहिने गरेको थियो। यही यर्थाथलाई ख्याल गर्दै यसपटक आफूले विवेकपूर्ण ढंगबाट सरोकारवाला निकायसँग छलफल गरी सुन तस्करीको जालो तोड्ने योजनामा रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाले बताए। यसपटक पहिलो चरणमै सुनसँगै पहिलो तहका तस्करलाई नियन्त्रणमा लिने योजना सफल भएको उनी बताउँछन्।

दोस्रो तहका व्यक्तिको खोजी कार्य पनि तीव्र पारेको उनको भनाइ छ। यसपटक सुन बरामद गर्न १० दिन अघिदेखि नै विमानस्थल गेट भित्र, बाहिर, परिसर लगायत स्थानमा २४सै घण्टा आफ्नो टिमले निगरानी गरेको सुनाउँछन्। “यसपटक हामीले परिस्थितिको विश्लेषण गर्दै सरोकारवाला निकायसँग छलफल गर्दै अपरेसन शुरू गरेका थियौँ। त्यसमा हामी केही हदसम्म सफल भएका छौँ। भने केही चुनौतीको सामना गर्नुपर्नेछ,” उनले भने।

यो सुन तस्करी प्रकरणमा हाइप्रोफाइल व्यक्तिहरू तानिने सम्भावना कति छ भन्ने प्रश्नको जवाफमा उनले अनुसन्धान गर्दै जाँदा को–को तानिन्छन् भन्ने यकिन अहिले नै गर्न नसकिने बताए। उनले भने,“अनुसन्धान भरखरै शुरू भएको छ। अनुसन्धान गर्दै जाँदा जोसुकै पनि पर्न सक्छन्। हामी निष्पक्ष हिसाबले काम गर्नेछौँ।”

अब के हुन्छ?
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि अब विभागले अनुसन्धान अधिकृत तोक्ने छ। राजस्व चुहावट अनुसन्धान नियन्त्रण ऐन २०५१ अनुसार अनुसन्धान सकिएपछि विभागले अनुसन्धान प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा बुझाउनेछ। त्यसपछि सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गर्ने छ। 

“हामीले अहिलेसम्म १० जना पक्राउ गरेर सात जनाविरुद्ध थप अनुसन्धानका लागि अदालतबाट समय लिइसकेका छौँ। थप केहीविरुद्ध पक्राउ पुर्जी पनि लिएर अनुसन्धान भइरहेको छ,” विभागका महानिर्देशक ढुंगानाले भने, “यो सुन बरामदको विस्तृत कुरा अनुसन्धानपछि मात्र खुल्नेछ।” 


सम्बन्धित सामग्री