Saturday, April 27, 2024

-->

टुवेल्थ फेल रिस्टार्टः हार्न नजान्नेहरूको कथा

भर्खरै एनिमल, जवान, पठान, गदर–२ लगायत लडाइँ, मारकाट र बदलाको भावना भरिएका फिल्मबाट अमन भएका दर्शक केही यस्ता फिल्मको पर्खाइमा थिए, जसमा जीवनका वास्तविकता जोडियोस्।

टुवेल्थ फेल रिस्टार्टः हार्न नजान्नेहरूको कथा

“मनोज तिमी चाहे आईपीएस अफिसर बन या कलमा चक्कीआँटा पिन, म सारा जिन्दगी तिमीसँग बिताउन चाहन्छु। के तिमी मलाई विवाह गछौँ?”

फिल्म ‘टुवेल्थ फेलः रिस्टार्ट’को उत्तरार्धमा आउने यो संवादसहितको दृश्यले करिब एक हप्तादेखि सामाजिक संजालमा चर्चा बटुलिरहेको छ। गत हप्ता सामाजिक सञ्जाल ‘एक्स’को नेपाल ‘ट्रेन्डिङ’मा ‘टुवेल्थ फेलः रिस्टार्ट’ थियो जसमा फिल्मकी पात्र श्रद्धालाई लिएर विभिन्न मिम तथा पोस्ट बर्सिरहेका छन्। यो दृश्यलाई बुझ्न यसको पृष्ठभूमि खोतल्नुपर्छ।

आईपीएसको अन्तिम मौका (चौथो)को अन्तर्वार्ता कक्षमा हुन्छन्, मनोजकुमार शर्मा। उनलाई वर्षौंदेखिको अध्ययन अनि पटकपटकको असफलता, दिनरात नभनी गरेको मिहिनेत सम्झना हुन्छ। अब उनीबाट एक कदम टाढा मात्र छ आईपीएस जागिर। यो उनको लागि अन्तिम मौका हो। उनलाई प्रेमिका श्रद्धाको आडभरोसा छ जो अन्तर्वार्ता हुने भवनबाहिर पर्खिरहेकी छन्।

यद्यपि मनोजको सपना र यथार्थबीच विगतमा भोग्नु परेको असफलताको एउटा खाडल देखिन्छ। अन्तर्वार्तामा पुग्नुअघि उनलाई कसैले सुनाउँछ, अन्तर्वार्ताका प्रमुख व्यक्ति हिन्दी भाषा बोल्ने र विगतमा फेल भएका प्रतियोगीप्रति सकारात्मक छैनन्। सोही कारण पनि फेल हुनुको केही विश्वसनीय कारण दिन मनोजलाई सल्लाह दिइन्छ।

अन्तर्वार्तामा उनले आफ्नो वास्तविकता नै पेश गर्छन्। जसकारण अन्तर्वार्ता शुरू भएको केही मिनेटमै उनलाई बाहिर जान लगाइन्छ। उनी तनावमा पर्छन्। अन्तर्वार्ताअघि आफ्नी प्रेमीकाले दिएको कागजको टुक्रा हेर्न पुग्छन्, जसमा उनको असफलत, सफलता दुवैमा साथ हुने श्रद्धाको वाचा हुन्छ उनले लेखेकी हुन्छिन्, “...के तिमी मलाई विवाह गर्छौ?”

गत अक्टोबर २७ मा भारतको करिब ६०० सिनेमा हलमा ‘टुवेल्थ फेलः रिस्टार्ट’ ‘रिलिज’ भएको थियो। त्यसपछि डिसेम्बर १ मा रिलिज भएको शाहरुख खानको यो वर्षको तेस्रो फिल्म ‘डंकी’ र डिसेम्बर २१ मा रनवीर कपुरको ‘एनिमल’ले दर्शक तान्यो। स्टार कास्ट र बिग बजेटमा बन्ने यी फिल्मले भारत मात्र नभई नेपालमा पनि दर्शकको राम्रै साथ पाए।

यद्यपि सीमित हल र शो टाइमका बावजुद पनि ‘टुवेल्थ फेल’ले ५२ दिन मनाइसकेको छ। फिल्मले अझै पनि हलमा दर्शक तानिरहेको विभिन्न भारतीय मिडियाले उल्लेख गरेका छन्। आईपीएस मनोजकुमार शर्माको जीवनमा आधारित फिल्मको विषयवस्तु र बलियो ‘वर्ड अफ माउथ’ले दर्शकलाई हलसम्म तानिरहन सफल भएको छ।

हलहरूपछि यो फिल्म गत डिम्सेबर २९ मा ‘डिज्नी हटस्टार’ नामक ओटीटीमा पनि रिलिज गरियो। डिज्नी हटस्टारका प्रमुख गौरव ब्यानजीका अनुसार केवल तीन दिनमा सन् २०२३ को सबैभन्दा बढी हेरिएको फिल्म बनेको छ। मध्य बजेट र ‘सुपर स्टार’ नहुँदा पनि फिल्मले पाएको सफलताको कारण यसलाई धेरैले ‘सरप्राइज हिट’ भनेका छन्। २० करोड भारुमा बनेको फिल्मले ६६ करोड व्यापार गरेको भारतीय बक्स अफिसले जनाएको छ।

अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जाल इन्स्टाग्राममा २०औँ गुणा बढी लगानी रहेका डंकी, पठानलगायतका फिल्मको तुलनामा टुवेल्थ फेलले लगानी अनुरुप हासिल गरेको सफलता प्रशंसनीय भएको लेखेका छन्। 

त्यसो त, सन् २०२३ मा शाहरुख खानका तीन फिल्म पठान, जवान र डंकीले नै भारतीय सिनेमा बजारलाई चलायमान बनाइरहँदा रनवीर कपुरको एनिमलले विश्वव्यापी ‘हाइप’ दियो। यसबाहेक, ‘गदर–२’, ‘रकी और रानी कि प्रेम कहानी’, ‘ओ माइ गड–२’लगायत फिल्मले पनि दर्शकको साथ पाए। यस मानेमा भारतीय सिनेमा क्षेत्रको लागि २०२३ सुखद रह्यो। वर्षको अन्तिम हप्तामा रिलिज भएको टुवेल्थ फेलले पनि निराश बनाएन।

किन रुचाइयो टुवेल्थ फेल?
मध्यम, न्यून र मध्य वर्गको ठूलो संख्या भएका नेपाल, भारतलगायत देशका लागि मनोज शर्मा एक प्रतिनिधि पात्र हुन् जसले आफ्नो जन्म र कर्मको आधारमा अनेक अप्ठ्यारा पार गरेका छन्। घरपरिवारको जिम्मेवारी, अनवरत मिहिनेत र दुःखका बीच आफ्नो सपना पच्छ्याइरहेका छन्। 

हजुरआमाले मनोजलाई पेन्सनको पैसा दिएर पढ्न पठाएकी हुन्छिन्। तर उनको ब्याग चोरी हुँदा पैसासमेत हराउँछ। त्यहाँबाट उनको संघर्षको नयाँ पाटो शुरू हुन्छ। उनी भोकै बसेको र कयौँ पटक सडकमै सुतेको मनोजले एक अन्तर्वार्तामा सुनाउँछन्। यस्ता अनुभव नेपालमा पनि ग्रामीण भेगबाट काठमाडौँ आएर संघर्ष गरेका र अहिले सफलता हासिल गरेका कतिपयसँग पनि होला। 

मनोज उक्त शहरमा ट्वाइलेट सफा गर्ने, पुस्तकालयको सहयोगी, कलमा चक्कीआँटा पिन्नेलगायत आफ्नो भरथेगले सक्ने हरेक काम गर्छन्। रातको समयमा पढ्ने काम गर्छन्। यसबीच आकस्मिक भेटिएको साथी प्रितम पाण्डेको सहयोगले उनी दिल्लीसम्म पुग्छन्। त्यहाँ भेटिने गौरी भौर, श्रद्धालगायत पात्रले उनको कठिन जीवनमा केही सुवास ल्याउँछन् जसले मनोजलाई सदैव आफ्नो मुकामको लागि प्रेरित गर्छ। 

यी घटना वास्तविक जीवनबाट पक्कै पनि पर छैनन्। हाम्रो जीवनमा पनि यस्ता साथीभाइ भेटिन्छन् जसले बिनास्वार्थ, बिनाप्रश्न सुखदुःखमा साथ दिइरहेका हुन्छन्। सोही कारण पनि हुनसक्छ मनोजको कथा हामी अधिकांश आममानिसको कथा बनेको छ जसले हार्न जानेनन्, हरेस खाएनन् र फेरि आफूलाई रिस्टार्ट गरे। 
यो फिल्म एउटा पुस्तकको आधारमा बनाइएको हो। अनुराग पाठकले मनोज शर्माको जीवनीलाई पुस्तकको आकार दिएका थिए। आममानिसको जीवनबाट पर नभएको कथा र जो कोहीले आफूलाई मनोजको चरित्रमा पाउने कारण हुनसक्छ, फिल्मले राम्रो चर्चा कमायो।

‘द इकोनोमिक टाइम्स’ले फिल्मको सफलता कन्टेन्टको कारण भएको उल्लेख गरेको छ। मनोजले गरेको संघर्ष, उनको जीवनको उतारचढाव र अठोट सोचलाई ‘कन्टेन्ट इज द किङ’ उल्लेख गरिएको छ।

फिल्म समीक्षक सुभ्रा गुप्ताले फिल्मलाई ‘स्लिपर हिट’ भनेकी छन्। उनका अनुसार, दैनिक जीवनका नकारात्मक अवस्था परिस्थिति भोगिरहँदा, हेरिरहँदा यस खालका फिल्मले केही सकारात्मक आशा जगाउँछ। साथै, हारपश्चात हरेस होइन थप उर्जासहित अघि बढ्नु पर्ने सन्देशले पनि धेरै मानिसमा ताजगी र न्यानोपन प्रदान गर्छ। 

यसबाहेक, भर्खरै एनिमल, जवान, पठान, गदर–२ लगायत लडाइँ, मारकाट र बदलाको भावना भरिएका फिल्मबाट अमन भएका दर्शक केही यस्ता फिल्मको पर्खाइमा थिए, जसमा जीवनका वास्तविकता जोडियोस्। आफ्नो दुःख झल्कियोस् र आशावादी हुन सकियोेस्। स्क्रिनमा यो फिल्मका पात्रहरूको अनुभूति निकै इमानदार र स्वच्छ देखिन्छ। 

को हुन् मनोज शर्मा?
डीआईजी मनोज शर्मा भारतको मध्य प्रदेश मोरेना जिल्लाको चंम्बलमा जन्मिएका थिए। उनी सानैदेखि आईपीएस अफिसर बन्न चाहन्थे। तर कक्षा १२ मा फेल भए। गरिबीमा बाँचेको उनको परिवारमा आर्थिक समस्या यतिसम्म चरम थियो कि, उनको घरमा छाना छाउनसमेत पैसा थिएन। 

अफिसर बन्ने सपना त थियो, तर १२ पास भए चप्रसी अथवा क्लकको काम निश्चित रूपमा पाउनेवाला थिए। एक अन्तर्वार्तामा उनले भने अनुसार, उनको विद्यालयमा चिट पनि बोर्डमै शिक्षकहरूले लेखिदिन्थे। त्यसो हुँदा पास हुन समस्या थिएन। तर एक दिन गाउँमा आएका नयाँ डीएसपी दुस्यन्त सिंहको इमानदारीबाट उनी निकै प्रभावित हुन्छन्। दुस्यन्त जहाँ जान्थे, गलत काम सबै बन्द हुन्थ्यो। सोहीकारण उनले चिट चोर्न छाडेर इमानदारिताका साथ पढे। जसले गर्दा एक वर्ष उनको ‘ब्याक’ भयो। यद्यपि उनले हरेस खाएनन्। 

मनोजकुमार शर्माले एक अन्तवार्तामा भनेका छन्, “भोक, प्रेम र सम्मान जीवनका तीन सत्य हुन्।” तर उनले आफ्नो भोकका लागि कहिले पनि सम्झौता गरेनन्। यो उनले आफ्नै पिताबाट सिकेका हुन्। “मेरो बुबालाई लाग्छ उहाँभन्दा इमानदार मानिस अरू कोही छैन,” एक अन्तर्वातामा उनले भनेका छन्। 

उनका पिता ओमप्रकाश शर्मा कृषि विभागअन्तर्गत आफ्नो गाउँको सानो अफिसमा काम गर्थे। अफिसमा हुने सानोतिनो गलत कार्यको पनि उनी विरोध गर्थे। यसबीच बाबु आफूमाथि भएको अन्यायको लागि अदालत धाउन पर्ने भयो। त्यसपछि घरको सम्पूर्ण जिम्मेवारी उनी र उनको दाइमाथि आयो। गाउँमा कन्डक्टरदेखि शहरमा शौचालय सफा गर्नेसम्मको काम गरेको उनी सम्झन्छन्।

आफ्नी श्रीमती श्रद्धा र यूपीएससीको तयारीको समयमा रहेको साथीहरूबिना आजको मुकाम सहज नहुने पनि उनी बताउँछन् जसलाई फिल्ममा पनि दुरुस्त उतारिएको छ। श्रद्धा, प्रितम पाण्डे, गौरी भैया दर्शकका प्यारा भएका छन्।

१२औँ कक्षा फेलदेखि लाखौँले प्रतिस्पर्धा गर्ने युपीएससीमा उनले चौँथो र अन्तिम मौकामा सफलता पाएको बास्तविक कथामा बनेको हो फिल्म टुवेल्थ फेलः रिस्टार्ट। उनले आफ्नो नाम १२१औँ स्थानामा सुरक्षित गर्न जीवनका कष्टकर यात्रा तय गरेर सन् २००५ यता महाराष्ट्र क्यारेडमा कार्यरत छन्।


सम्बन्धित सामग्री