Monday, April 29, 2024

-->

‘फेस्टिभलमा प्रदर्शित फिल्म ओटीटीमा चलायमान बनाउनु दीर्घकालीन ग्लोबल होमवोर्क हो’

कर्मसियल रूपमा सफल फिल्म आर्टिस्टिक हुनसक्छ तर आर्टिस्टिक रूपमा सफल चलचित्र सधैँ कर्मसियल रूपमा सफल हुन्छन् भन्ने छैन।

‘फेस्टिभलमा प्रदर्शित फिल्म ओटीटीमा चलायमान बनाउनु दीर्घकालीन ग्लोबल होमवोर्क हो’

सातौँ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)–२०२४ काठमाडौँमा जारी छ। जारी निफ फिल्म फेस्टिभलको ‘सर्ट फिल्म तथा डकुमेन्ट्री’ विधातर्फ दक्षिण कोरियाकी मिमी एमजी पार्क ‘हेड अफ जुरी’ छिन्। दक्षिण कोरियास्थित सिओलमाकी उनी फिल्म निर्देशन, कार्यक्रम क्युरेटर तथा निर्मातासमेत हुन्। छेन्गम इन्टरनेसनल कल्चर टेक्नोलोजी इन्डस्ट्री– फिल्म काउन्सिलको सल्लाहकार रहेकी पार्कसँग निफ–२०२४ मा ‘हेड जुरी’ भूमिका निभाउँदाको अनुभव तथा फिल्म फेस्टिभलका बारेमा उकालोकर्मी प्रबिता श्रेष्ठले गरेको कुराकानी:

हेड अफ जुरीका रूपमा निफको अनुभव कस्तो भइरहेको छ?
निफभन्दा पहिले म नेपाल, विशेषतः काठमाडौँका बारेमा केही बताउन चाहन्छु। काठमाडौँमा मेरो यात्रा तथा बसाइँ पहिलोचोटि हो। यद्यपि काठमाडौँ चिरपरिचितजस्तै लाग्यो। यहाँका सडक, पसल, वातावरणले सन् १९७० दशकको दक्षिण कोरियाको स्मरण गरायो। शहर समृद्ध नदेखिए पनि ऊर्जाशील देखिन्छ।

अब कुरा गरौँ, निफका बारेमा। निफमा ‘हेड अफ जुरी’को भूमिका निभाएको पनि पहिलो पटक नै हो। मलाई आमन्त्रणा गर्ने आयोजक केपी पाठक, खगेन्द्रलगायत बोर्ड सदस्य सबैप्रति आभारी छु। यहाँ आउनुअघि मैले एक हप्ताको अवधिमा ७२ वटा फिल्म हेरेँ। केही फिल्म दोहोर्‍याए पनि हेरेँ। फिल्म हेर्दा मलाई ऊर्जा महसुस हुन्छ, जसले मलाई अझ धेरै फिल्म हेर्न उत्साह थप्छ। फिल्मले मभित्र अनगिन्ती भावना जगाउँछन्। यद्यपि यी फिल्महरू हेरिरहँदा पहिलो पटक मलाई ‘होमवर्क’ गरेजस्तो लाग्यो। जुरी हेड गहन भूमिका हो। फिल्मलाई ‘जज’ गर्नु अझ गाह्रो काम हो।

हेर्नुभएका ७२ वटा फिल्मले तपाईंमा कस्तो प्रभाव पारे?
सर्ट फिल्म र डकुमेन्ट्रीमा नेसनल र इन्टरनेसनल गरी दुई विधा छन्। यो यात्रा रमाइलो रह्यो। निर्देशक र कलाकारका कलालाई हेर्न सधैँ रमाइलो हुन्छ। तर ७२ वटा फिल्ममा कोरियन चलचित्र एउटा पनि रहेनछ। त्यो देख्दा अचम्म लाग्यो। 

निफ भन्दाअगाडि फिल्म फेस्टिभलका बारेमा के–कस्ता अनुभव बटुल्नुभएको छ?
यसअघि कान्स, बर्लिन, हङकङ, सनडान्स लगायतका फिल्म फेस्टिभलमा सहभागी हुने मौका मिल्यो। यद्यपि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको धेरै अनुभव भने मसँग छैन। कोरियामा स्थानीय तथा साना फिल्म फेस्टिभल हेर्ने गरेकी थिएँ। हरेक फेस्टिभलको आफ्नै ‘कन्सेप्ट’ छ। निफको आफ्नै ‘युनिक कन्सेप्ट’ छ। मैले यहाँका फिल्म मेकर्स ‘प्यासनेट’ देखेँ, जुन कोरियामा फरक छ। हाम्रा फेस्टिभलमा ‘फिल्म म्यानिक’ हुन्छन्। यहाँ भने ‘अनलिमिटेड प्यासन’ भएका मेकर्स तथा फिल्म प्रशंसक देखेँ। निफको यो बसाइँमा मैले यही पत्ता पाएँ। 

निफजस्ता फिल्म फेस्टिभल किन आवश्यक छन्?
फिल्म मेकर्स, उद्योग र मिडिया सम्पूर्ण पक्षलाई एकत्रित गराउनु नै फिल्म फेस्टिभलको मौलिक र महत्त्वपूर्ण तत्त्व हो। फिल्म भनेको ‘भिजुअल कन्टेन्ट’ हो, जसमा कथा, तस्वीर, भावना, चेतनाका समष्टिगत स्वरूप पाइन्छन्। यो एउटा शैक्षिक, सांस्कृतिक तथा ज्ञानको विद्यालय नै हो। फिल्म फेस्टिभलबाट धेरै कुरा सिक्न सकिन्छ। यसको अर्थ फिल्म फेस्टिभल मात्र ज्ञान, शिक्षा, मनोरञ्जनको एक माध्यम हो भन्दिनँ। फिल्मजस्तै पुस्तक, नाटक, ओटीटी, सर्ट रिल्यसबाट पनि ज्ञान पाउन सकिन्छ। यद्यपि फिल्म फेस्टिभलमा भने ती दुई गुण हुन्।

म हरेक फिल्ममा विविधता पाउँछु। मेरो विचारमा, पृथ्वीका हरेक मानिस साझा हुन् भन्ने अवधारणा विद्यालयको औपचारिक शिक्षापश्चात् फिल्ममार्फत प्रभावकारी रूपमा सञ्चार हुन्छ। गरिब, धनी, स्ट्रेट, समलिंगी, जातजाति अनेक विषयलाई फिल्ममा अँगालिएको हुन्छ। यी सबै फिल्म फेस्टिभलबाटै पाएको छु। फिल्ममार्फत हामी एकत्रित भएर संवाद, सञ्चार गर्छौं, हामीमा ‘एम्पेथी’ भर्छ, एकअर्कोलाई बुझ्न सघाउँछ। 

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलजस्तै स्थानीय (लोकल) फिल्म फेस्टिभलहरूको महत्त्व कत्तिको देख्नुहुन्छ?
कोरियाको सन्दर्भमा बुसान, पुच्चछन, छोन्जु, छेछन लगायतका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल छन्। तर अहिले स्थानीय (लोकल) फिल्म फेस्टिभल पनि आयोजना हुन थालेका छन्। हाम्रोमा यो ‘ट्रेन्ड’ बनेको छ, जसका कारण म खुशी छु।गत वर्ष मैले केही स्थानीय फेस्टिभल हेरेँ। दक्षिण कोरियामा लोकल एप ‘ह्वाट–सट’ छ। यस्ता फिल्म फेस्टिभलमा स्थानीय तबरबाट संवाद, सञ्चार, मनोरञ्जन तथा शिक्षा लिन सकिन्छ। म कोरियन समाजका लागि खुशी छु।

यद्यपि यस्ता फिल्मका लागि प्रसारणको पर्याप्त प्लेटफर्म छैन। केही लोकल ओटीटी प्लेटफर्म सीमित रूपमा चलायमान छन्। फेरि दर्शकलाई पनि धेरै कुरा थाहा छैन। दर्शकले ती चलचित्रमा पहुँच पाउन सकेको हुँदैनन्। यसमा सबै फिल्मकर्मीको दीर्घकालीन ‘ग्लोबल होमवोर्क’ आवश्यक छ। 


सिनेमाको पर्दामा हेरिने फिल्म फेस्टिभलमा सहभागी हुने फिल्ममा के भिन्नता छन्?
फेस्टिभलमा स्क्रिन हुन समाजका सीमान्तकृत, भुईं मान्छे, लैंगिक पहिचान, समाजका समस्या, लघु तथा मिहिन तत्त्वलाई मध्यनजरमा राखेर बनेका फिल्म आउने गर्छन्। आममानिसको जीवनको धेरै नजिक हुन्छ। यसले फेस्टिभलका फिल्ममा विविधता ल्याउँछ। फिल्म फेस्टिभलको शक्ति यही हो। फिल्म फेस्टिभलको महत्त्व नै म त्यहाँ देख्छु। तर कर्मसियल तथा थिएटरमा लाग्ने फिल्ममा सामान्य रूपमा यस्ता तत्त्व पाइँदैन। सामान्य हेराइमा, कर्मसियल फिल्ममा अर्थोपार्जनको विषय प्राथमिकतामा पर्दा यस्ता विषयमा सम्बोधन भएको हुँदैन।

फेस्टिभलमा प्रदर्शित हुने आर्टिस्टिक फिल्म कर्मसियल हुन सक्छन् या सक्दैनन्?
केही हुन सक्छन्, तर अधिकांश सफल हुँदैन। कर्मसियल रूपमा सफल फिल्म आर्टिस्टिक हुनसक्छ। आर्टिस्टिक रूपमा सफल चलचित्र सधैँ कर्मसियल रूपमा सफल हुन्छन् भन्ने हुँदैन।

फेस्टिभलमा लाग्ने फिल्म आममानिसभन्दा पनि फिल्म लभर्स या फिल्मलाई गहन रूपमा बुझेका लागि मात्र हुन् भन्ने बुझिन्छ, यसमा तपाईंको भनाइ के छ?
फिल्म मेकर्सले कुनै पनि फिल्म बनाउँदा आफ्नो आइडिया तथा सिर्जनशीलताबाट बनाएको हुन्छ। त्यसको विषयवस्तु बुझ्ने/नबुझ्ने दर्शकमा भर पर्ने कुरा हो। यस्ता फिल्म सानो वृत्तले मात्रै पनि हेर्न सक्छ। तर हरेक मेकर्सले हरेक सर्जकले बृहत् दर्शक समेट्न चाहन्छन्, आफ्नो कामलाई धेरैभन्दा धेरै हेरिदियोस् भन्ने चाहन्छन्। यसमा कोही सफल हुन्छन् त कोही असफल। सोही कारण फेस्टिभलको महत्त्व हुन्छ, जहाँ यस्ता फिल्मले स्थान पाउँछन्।

फिल्म फेस्टिभलका अवार्ड विजेता कसरी चयन हुन्छ?
सर्ट मुभी र डकुमेन्ट्रीभित्र नेसनल र इन्टरनेसल गरी दुई/दुई विधा विधा छन् भने एउटालाई स्पेसल मेन्सन अवार्डको व्यवस्था छ। यसमा भने कुनै पुरस्कार राशि छैन।

जुरीका रूपमा विदेशमा पहिलो अनुभव भएकाले थोरै डर लागिरहेको थियो। जुरी सदस्यहरूले मेरो चयनलाई कसरी हेर्नुहोला, मेरा चयन जायज र न्यायिक हुन्छ या हुँदैन भन्ने लागेको थियो। तर हामी सबैको चयन साझा देखियो। हामीले फिल्मलाई ‘जज’भन्दा पनि ‘माइनिङ’ गरिरहेका थियौँ। ‘जजिङ’ गर्ने काम गाह्रो हो, माइनिङको दृष्टिकोणबाट फिल्मलाई हेर्दा सहज र सजिलो भएको महसुस भयो। 

अवार्डले फिल्म मेकर्सलाई प्रोत्साहन गर्छ?
यहाँ अवार्ड जितेबापत धेरै रकम उपलब्ध गराइने छैन। यद्यपि अवार्डको उपलब्धि मूल्यवान् हुन्छ। अवार्डले मेकर्सलाई महत्त्व राख्छ, ‘चियर–अप’ गर्छ। अवार्ड उनीहरूको कामको लगाव, सम्मान पनि हो।


सम्बन्धित सामग्री