Wednesday, May 01, 2024

-->

पोखरामा सिनेमा हलको ६४ बर्षे यात्राः अझै छ त्यो ‘ऐतिहासिक’ घर

पोखराको पुरानो बजार नालामुख चोकमा उभिएको साढे एकतले घरमा अहिले चमेनागृह छ। यही घरमा कुनै बेला पहिलो सिनेमा हल खुलेको थियो, जसको इतिहास बीपी कोइरालासँग पनि ठोक्किन्छ।

पोखरामा सिनेमा हलको ६४ बर्षे यात्राः अझै छ त्यो ‘ऐतिहासिक’ घर
तस्वीरहरू सौजन्य: बाराही र श्रीकृष्ण हलको अर्काइभबाट।

पोखरा– कुनै बेला पोखराका फिल्म हलमा खचाखच दर्शक हुन्थे। एउटै फिल्म ५०–६० दिनसम्म देखाइन्थ्यो। हल सञ्चालकले राम्रो आम्दानी गर्थे। ‘ब्ल्याक’मा टिकट बेच्ने पनि मालामाल हुन्थे। हलभित्र कफी र चिया बेच्ने पसल चलाउनेको आम्दानी पनि राम्रो थियो।

फिल्म निर्देशक घनश्याम लामिछाने तीन दशक अघिसम्म फिल्म हललाई चाँडो र हाताहाती आम्दानी गर्ने व्यवसायको रूपमा लिने गरिएको बताउँछन्। हल पनि धेरै थिएनन्। भएकामा व्यापार राम्रो थियो। “हल मालिक फाइदामा थिए। म्यानेजर, टिकेटिङमा बस्नेहरू पनि मोटाएका थिए,” लामिछाने भन्छन्, “२५/३० रुपैयाँमा फिल्म हेर्न पाइन्थ्यो। हामी स्कुल छोडेर फिल्म हेर्न जान्थ्यौँ।”

५० को दशकतिर पोखरामा फिल्म हलको व्यापार यसरी उकालो लाग्यो कि कुन हलले फिल्म भित्र्याउने भन्ने प्रतिस्पर्धा नै चल्यो। जसले फिल्म भित्र्यायो त्यही हलले दर्शक तान्थ्यो। त्यो बेला फिल्म प्रदर्शनमा एकाधिकार भएको लामिछाने सम्झन्छन्। पोखरा फैलिँदै आउँदा फिल्म हलहरूले नशा नै लगाइदिए। फिल्म हल मनोरञ्जन लिन मात्रै होइन, भेटघाट गर्ने गतिलो ‘जंक्सन’ नै बन्यो। 

आधुनिकता समात्दै गरेको पोखरामा सिंगल स्क्रिन हललाई विस्थापित गर्दै सुविधासम्पन्न मल्टिप्लेक्स हल पनि भित्रिइसकेको छ। पुराना हल भत्काएर नयाँ व्यवसाय विस्तार गरिँदै छ। 

तर ६४ वर्षअघि भाडा तिरेर शुरू भएको पोखराको पहिलो हल ‘कल्पना सिनेमा घर’को भवन भने अझै उस्तै छ।  पोखराको पुरानो बजार नालामुखे पूर्वतर्फ फर्किएको साढे एकतले यही घरमा पोखरेलीले पहिलो पटक फिल्म हेरेका थिए। त्यो घर अहिले पनि जस्ताको तस्तै छ। घरको पहिलो तलामा चमेनागृह छ। धीरबहादुर गुरुङसहित तीन जनाले ६४ वर्षअघि यही घरमा कल्पना सिनेमा हल सञ्चालनमा ल्याएका थिए। 

पोखराको पहिलो फिल्म हल भएको घर।

यो पुरानो घरको होँचो दलिनमा ठोकिनबाट जोगिन गल्लीबाट निहुरिएर घरपछाडि छिरेपछि पटांगिनी छ। पटांगिनीअगाडि घरमा साँघुरो झ्याल देखिन्छ। त्यही झ्यालबाट प्रोजेक्टर पर्दामा लगाएर फिल्म देखाइन्थ्यो। दर्शकहरू पटांगिनीमा बसेर फिल्म हेर्थे।

हलका संस्थापक सञ्चालकमध्येका एक खड्गबहादुर गुरुङ भन्छन्, “२०१६ सालमा हल खुलेको हो, ठ्याक्कै महिना र दिन याद भएन। साल भने त्यही हो। हामीले १६ एमएमको सानो प्रोजेक्टर र जेनरेटर ल्याएर फिल्म हल चलाएका थियौँ।”

कल्पना सिनेमा घरले पोखरेलीलाई फिल्म हेर्ने बानी पार्‍यो। खड्गबहादुरका अनुसार फिल्म हलमा दिनमै १२–१५ सयदेखि तीन हजार रुपैयाँसम्मको टिकट बिक्री हुन्थ्यो। पुरानो घरमा दर्शक अटाउन छाडेपछि २०२० सालमा यो हल नदिपुरस्थित आफ्नै भवनमा सर्‍यो। त्यसपछि भने निर्देशक लामिछानेले पनि त्यहाँ फिल्म हेर्न पाएका थिए।

पोखराको पहिलो फिल्म हलमा सानो छँदा फिल्म हेरेको सम्झना कृषिविज्ञ डा. अनिल सुवेदी यसरी गर्छन्, “त्यो बेला धेरै पटक रिल काटिने र बत्ती झ्याप झ्याप जाने हुन्थ्यो। बत्तीको रेगुलर सप्लाई थिएन। बत्ती गएपछि दर्शकहरू कराउँथे। ‘धीरे, धीरे’ भनेर गाली गर्थे, कोहीचाहिँ ‘धीरे फिल्म चला’ भन्दै कराउँथे।”

तर सञ्चालकहरूसँग उपाय थिएन। बत्ती नआउञ्जेल पर्खनै पर्थ्यो। “दुनियाँको गाली खानुभयो, तर पोखराको इन्टरटेनमेन्टको दुनियाँमा उहाँ (धीरबहादुर)ले पहिलो योगदान गर्नुभएको हो,” सुवेदी सुनाउँछन्। 

अहिले कल्पना सिनेमा हल बन्द भइसकेको छ। नदिपुरस्थित आफ्नै भवनमा सरेको करिब आधा शताब्दीपछि यो हल बन्द भयो। केही महिनाअघि हल भएको घर पनि भत्काइसकिएको छ।

योगेन्द्रमान शेरचनको सुझावमा हल
पृथ्वीनारायण क्याम्पस (तत्कालीन महाविद्यालय)का संस्थापक प्राचार्य जर्ज जोनका अनुसार २०१७ सालमा पोखराको जनसंख्या जम्मा पाँच हजार मात्रै थियो। अहिले पोखराको जनसंख्या झन्डै ६ लाख छ। 

थोरै जनसंख्या हुँदै पोखरामा फिल्म हल चलाउने योजनाको बिजारोपण कवि भूपि शेरचनका दाइ योगेन्द्रमान शेरचनले गरेको धीरबहादुरका व्यावसायिक साझेदारसमेत रहेका भतिजा खड्कबहादुर बताउँछन्। योगेन्द्रमानले नै धीरबहादुरलाई हल चलाउने उपाय सुझाएका थिए।

कांग्रेसी राजनीतिमा सक्रिय धीरबहादुर र योगेन्द्रमान निकट मित्र थिए। घान्द्रुकका धीरबहादुर बीपी कोइरालासँग नजिक थिए। २०१५ सालको चुनावमा उनले टिकट पाउने आश्वासन पाएका थिए। तर कांग्रेसबाट अर्कैले टिकट पायो। टिकट नपाएको झोँकमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

“योगेन्द्रमान मेरो कान्छो बुवा (धीरबहादुर)जस्तै कट्टर कांग्रेस। कान्छो बुवाले योगेन्द्रमानसँग ‘ए योगेन्द्रमान, मलाई टिकटमा छलिहाल्यो, मैले अब बडाहाकिम मागम्?’ भनेर सोधेछन्,” खड्कबहादुर भन्छन्, “हत्तेरी! बडाहाकिम छोड्देऊ। पोखरामा फिल्म हल बेस्सरी चल्छ। पद त आज पायो भने भोलि फुत्किहाल्छ। बरु तिमीले सिनेमा हलको लाइसेन्स माग्नू भनेर योगेन्द्रमानले सुझाव दिएछन्।”

चुनावपछि बीपी कोइराला प्रधानमन्त्री भए। धीरबहादुर काठमाडौँबाट फिल्म चलाउने लाइसेन्स लिएर पोखरा फर्किए। उनले भतिजा खड्कबहादुर लगायतलाई साझेदार बनाएर ६० हजार लगानीमा कल्पना सिनेमा हल शुरू गरे। खड्कबहादुर १० वर्षसम्म साझेदारको रूपमा रहे। उनी २०२६ मा उक्त व्यवसायबाट अलग भए।

कलाकार तथा निर्देशक माओत्से गुरुङ कल्पना हलपछि पोखरामा फिल्म हलहरू धेरै नै खुलेको बताउँछन्। विभिन्न समयमा दीपज्योति, पूर्णिमा, विन्ध्यबासिनी, बाराही (क) र (ख), श्रीकृष्ण, मन्दिप सिनेमाघर (लेखनाथ) लगायतका हल सञ्चालन भए। रामबजार र बागलुङ बसपार्कमा ‘हाइभिजन हल’ खुले पनि स्थापनाको छोटो अवधिमै बन्द भए।

कुनै बेला पोखराका फिल्म हलमा टिकट लिन हत्ते हुन्थ्यो। “मान्छेमाथि मान्छे चढेर टिकट काट्नुपर्ने अवस्था हुन्थ्यो,” कलाकार तथा निर्देशक गुरुङ सम्झन्छन्, “एउटा सिनेमा लाग्दा मेला महोत्सव नै लागेजस्तो हुन्थ्यो, चाहे नेपाली सिनेमा होस्, चाहे हिन्दी।”

अहिलेजस्तो प्रविधिको जमाना थिएन। फिल्मका पोस्टर छापिएर आउँदैनथे। फिल्म प्रचारका लागि आर्टिस्टहरूले पोस्टर तयार पारेको सम्झना उनलाई ताजै छ। गुरुङ भन्छन्, “महेन्द्रपुलमा जहाँ आर्ट ग्यालरी र पुस्तकालय थियो त्यसको माथि ठूल्ठूलो पोस्टर टाँस्थे। मैले थाहा पाएसम्म ती पोस्टर हस्तलिखित हुन्थे। कलाकारहरूको भावभंगिमा पूरै आर्टिस्टले स्केच गर्थे।”

हलभित्र पहिलो, स्पेशल, बाल्कोनी, ड्रेसकल, क्याबिन भनेर सिटको वर्गीकरण गरिएको थियो। अघिल्लो सिटमा टिकट दर कम हुन्थ्यो। तर स्क्रिनमा हेर्दा भने चक्कर लाग्ने सम्भावना हुन्थ्यो।

पोखरा–४, नालामुख

कवि तीर्थ श्रेष्ठका अनुसार फिल्म प्रदर्शन हुन लागेपछि भैरवटोल, नालामुख, बागबजार क्षेत्रमा ‘ह्यान्ड माइक’बाट जानकारी दिइन्थ्यो। “पछि ट्याक्सीमा पनि हलमा फिल्म परिवर्तन भएको सूचना दिन थाले,” कवि श्रेष्ठ भन्छन्, “सामाजिक जमघटको स्थल पनि फिल्म हल नै थियो। झट्टै कहाँ भेट्ने भन्दा फिल्म हलमा भेटौँ भन्ने हुन्थ्यो।”

भारतीय र चिनियाँले देखाए फिल्म
कल्पना हलपछि पोखरामा भारतीय पेन्सन क्याम्प र पोखरा सिँचाइ आयोजनामा काम गर्न आएका चिनियाँ कामदारले पोखरेलीलाई फिल्म देखाए। कवि श्रेष्ठका अनुसार पोखरा सिँचाइ आयोजनामा काम गर्न आएका चिनियाँको क्याम्प नदीपुरमा अहिले पीएन क्याम्पसको हाताभन्दा दक्षिणतर्फ थियो। फुर्सदमा उनीहरू त्यही ठाउँमा फिल्म हेर्थे र स्थानीयलाई पनि देखाउँथे।

पोखरामा सन् १९५५ मा भारतीय पेन्सन क्याम्प स्थापना भएको थियो। विभिन्न गाउँबाट पेन्सन बुझ्न आएका लाहुरे र उनीहरूका परिवारलाई पछि क्याम्पमै फिल्म देखाउने व्यवस्था भयो।

भारतीय पेन्सन क्याम्प अहिले जिल्ला प्रहरी कार्यालयको भवन रहेको गैह्रापाटनको खाली चौरमा पनि फिल्म देखाउँथ्यो। त्यस्तै, अमरसिंह स्कुल (तत्कालीन सोल्जर बोर्डिङ स्कुल) अगाडिको चौरमा फिल्म देखाउने गरिएको कृषिविज्ञ अनिल सुवेदी बताउँछन्। “अमरसिंह चोकको चौरमा छाप्रो बनाएर पेन्सन बाँडिन्थ्यो। पछि रामबजारमा क्याम्प बन्यो। त्यसपछि त बजारै रामबजारतिर सरेर गयो। हलै नभए पनि प्रोजेक्टरबाट फिल्म देखाउँथे।”

दोस्ती, मधुवती लगायतका पुराना हिन्दी फिल्म सुवेदीले भारतीय पेन्सन क्याम्पमै हेरे। त्यो बेला मनोरञ्जनको आधुनिक माध्यम थिएनन्। टाढाका बस्तीबाट पनि फिल्म हेर्न साँझपख मानिस जम्मा हुन्थे।

फिल्म देखाउन नपाएको त्यो हल
पीएन क्याम्पसका संस्थापक प्राचार्य जर्ज जोन २०१३ सालमा पहिलो पटक पोखरा आएका थिए। त्यसबेला उनले बस्तीभन्दा बढी खाली चौर र पाटन देखेका थिए।

२०१७ सालमा क्याम्पस सञ्चालन गर्ने तय भएपछि त्यही साल भदौ १६ गते उनी फेरि पोखरा आए। आएको भोलिपल्ट १७ गतेबाटै कक्षा सञ्चालन भयो। यो क्याम्पससँग एउटा असफल फिल्म हलको कथा जोडिन्छ।

क्याम्पसमा नेपाली, अंग्रेजी, अर्थशास्त्र र राजनीतिशास्त्रको पढाइ शुरू भएको थियो। तर आफ्नै भवन थिएन। तत्कालीन रत्नराज्य कन्या प्राथमिक विद्यालय (अहिलेको कन्या क्याम्पस)मा दिउँसो कक्षा सञ्चालन हुन्थ्यो। त्यसैमा बेलुकी ६ बजेदेखि ९ बजेसम्म क्याम्पसको पढाइ हुन थाल्यो।

क्याम्पस सञ्चालन अनुमति लिन २५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्थ्यो। तर १८ हजारको मात्र सहयोगको वचन आएको थियो। त्यही रकम पनि संकलन नभएको जर्ज जोन बताउँछन्। पछि मुस्किलले रकम जुटाएर अुनमति मिलेको थियो।

कन्या स्कुलमा राति पढाउने गरी कक्षा शुरू भएको केही महिनामै झमेला हुन थाल्यो। विद्यार्थीहरूले क्याम्पसका लागि छुट्टै ठाउँ माग गर्न थाले। कन्या स्कुलभन्दा तल नारायणथानस्थित पौवामा केही समय पढाइ चल्यो।

त्यहाँ पनि पढाइ सम्भव नहुने भएपछि विद्यार्थीहरूकै सक्रियतामा सांस्कृतिक कार्यक्रम गरेर भवन बनाउने योजना बन्यो। त्यसका लागि कल्पना सिनेमा हल भएको नालामुखमै ‘जयरामजी सिनेमा घर’ चलाउने तयारी थालियो। विद्यार्थीले घर–घरबाट बाँस र खर ल्याएर २०१८ सालमा तीन, चारवटा छाप्रो तयार पारे। “गारो लगाइएको थियो, छानो भने राखिएको थिएन। त्यहाँ कार्यक्रम गरेर विद्यार्थीले १८ सय रूपैयाँ जति उठाए,” जर्ज सुनाउँछन्।

तर त्यो हलले स्वीकृति नै पाएन। स्वीकृति नपाउनुको एउटै कारण व्यापारिक द्वन्द्व थियो। कांग्रेसको शीर्ष नेतृत्वसँग पहुँच राख्ने धीरबहादुरले हल सञ्चालन अनुमति दिन रोकेको कल्पना हलका व्यावसायिक साझेदार खड्क बताउँछन्। “नामचाहिँ मलाई थाहा भएन। पोखराका व्यापारीहरू अर्को सिनेमा हल चलाउने तयारी गर्दै थिए। कान्छो बाउ गएर रोकिदियो। उनीहरूले चलाउन सकेनन्,” उनी भन्छन्।

मल्टिप्लेक्ससँग टिकिरहेका छन् ‘सिंगल स्क्रिन’
कुनै बेला शहरमा एकछत्र राज गरिरहेका फिल्म हल प्रविधिको तीव्र विकाससँगै ओरालो लाग्न थाले। फिल्म प्रदर्शनका लागि नयाँ प्रविधि विकास भए। अब पुराना हलहरू देख्न मुस्किल हुन थालेको छ। कतिपय अस्थिपञ्जरजस्तै ठडिएका छन् तर फिल्म प्रदर्शन हुँदैन।

फिल्मसम्बन्धी जानकार जितेश प्रधान मनोरञ्जनका लागि धेरै विकल्प दर्शकसामु हुँदा फिल्म हेर्न हलसम्म जानैपर्ने बाध्यता हटेको बताउँछन्। “हलमा बसेर पूरै फिल्म हेर्न मान्छेसँग समय कम छ। कसैले एकदम राम्रो छ नभनेसम्म फिल्म हेर्नै नजाने बानी लागिसक्यो,” उनी भन्छन्। 

नेपाली फिल्म निर्माणमा पनि कमी आइरहेको उनको भनाइ छ। पोखरेली फिल्म निर्माता, निर्देशकले त फिल्म नै बनाउन नसकेको उनी बताउँछन्। करोडौँ खर्च गरेर सञ्चालनमा ल्याइएका हललाई युट्युब, नेटफ्लिक्स जस्ता प्लाटफर्मले चुनौती थपिरहेका छन्। प्रविधिको बढ्दो चुनौतीका बाबजुद पोखरामा दुई वटा सिंगल स्क्रिन हल अहिले पनि छन्। नदिपुरस्थित बाराही (क) र (ख) तथा श्रीकृष्ण चलचित्र मन्दिर अहिले मल्टिप्लेक्ससँग प्रतिस्पर्धा गरिरहेका छन्।

४३ वर्षअघि खुलेको विन्ध्यबासिनी हल अहिले बन्द भइसकेको छ। हल सञ्चालक निकेश द्वा हल खोल्दा यो व्यवसाय अहिलेसम्म सञ्चालन हुने कल्पना नभएको बताउँछन्। “म त तेस्रो पुस्ताको परेँ। हजुरबुवाले थाल्नुभयो, काकाले व्यवस्थापन सम्हाल्नुभयो,” उनी भन्छन्। 

दर्शकको रुचि बदलिँदै जाँदा त्यहीअनुसार सुविधा थपेर हल सञ्चालनमा ल्याउनुपर्ने खाँचो रहेको उनको बुझाइ छ। मल्टिप्लेक्स हलले दर्शक तानिरहेको अवस्थामा सिंगल स्क्रिनले सञ्चालन खर्च जुटाउनु नै ठूलो उपलब्धि मान्छन् उनी।

२०४३ सालमा निकेशका हजुरबुवा जितप्रसाद द्वाले विन्ध्यवासिनी चलचित्र मन्दिर सञ्चालनमा ल्याएका थिए। त्यसको सफलतापछि १२ वर्षको अन्तरालमा जितप्रसादले २०५५ सालमा श्रीकृष्ण चलचित्र मन्दिर र २०५८ सालमा बाराही चलचित्र मन्दिर (क) र (ख) सञ्चालनमा ल्याए।

श्रीकृष्ण र बाराही हलमा अझै फिल्म देखाइँदै छ। करिब तीन हजार सिट क्षमताको हलमा एकै दिनमा १० हजार दर्शकले फिल्म हेरेको निकेशले हजुरबुवाबाट सुनेका थिए। 

पोखरामा हल सञ्चालन गरेर राम्रै सफलता पाएको द्वा परिवारले सभागृहचोकमा मिडटाउन सिनेमा नामक मल्टिप्लेक्स पनि सञ्चालनमा ल्याएको छ। त्यसबाहेकका दुई मल्टिप्लेक्सहरू सिनेप्लेक्स पोखरा र हिमाज सिनेमाले पनि पोखरामा फिल्म देखाइरहेका छन्।

“त्यो बेलाको उत्साह नै बेग्लै थियो, बिजनेश मोडल पनि छुट्टै थियो,” उनी भन्छन्, “मिडटाउनमा त टिकटको भाउले खर्च पनि धान्न मुस्किल छ। पपकर्न, कफीको व्यवसायले धानिने हो। हलको मात्रै बिजुली, बत्तीसहित मासिक ६–७ लाख रुपैयाँ खर्च उठ्छ। त्यति महँगो छ।” 

मुस्किलले चलिरहेका सिंगल स्क्रिन हल कहिलेसम्म धानिन्छन् टुंगो नभएको उनी बताउँछन्।


सम्बन्धित सामग्री