Saturday, April 27, 2024

-->

बादलमा चाँदीको घेरा ‘महाजात्रा’

पर्दामा अकारण संवाद/घटना देखाइनु हुँदैन भन्ने मान्यतामा खरो उत्रिन कथामा महत्त्वपूर्ण कडी हुने पात्र र संवादलाई पहिलेदेखि नै विकसित गर्दै लगिएको छ। यसले कथा प्रस्तुतिलाई फितलो बन्न दिएको छैन।

बादलमा चाँदीको घेरा ‘महाजात्रा’
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

जुनसुकै देशमा बनेको र जुनसुकै भाषाको फिल्म विश्व मनोरञ्जन बजारको हिस्सा मात्र होइन। अझ ‘ओभर दि टप’ (ओटीटी)जस्तो ‘अनलाइन प्लेटफर्म’ले फिल्मलाई विश्वव्यापी रूपमै प्रतिस्पर्धा थपिएको छ। यस्तोमा विदेशी चलचित्रका लागि नीतिगत प्रतिरोध खडा गरी दर्शकको ‘रोज्न पाउने अधिकार’ कुण्ठित गर्नुभन्दा घरेलु उत्पादन उकास्नु उत्तम हुन्छ भन्ने बाटो ‘महाजात्रा’ले देखाइदिएको छ। 

‘जात्रा’ शृंखलाको तेस्रो कडी हो– महाजात्रा। यस शृंखलाको पहिलो कडी ‘जात्रा’ र दोस्रो ‘जात्रैजात्रा’ दर्शकले मन पराइदिएको कारण हौसिएको निर्माण पक्षले ‘महाजात्रा’लाई विश्वका विभिन्न देशमा बेग्लाबेग्लै वितरकमार्फत एकै साथ प्रदर्शन शुरू गरेको छ। प्रदीप भट्टराईको निर्देशन र कथा लेखनमा बनेकोको महाजात्रा शुक्रबारदेखि नेपाल र देशबाहिर एकसाथ प्रदर्शनमा आएको छ।

उही तीन शीर्ष पात्र फणीन्द्र (विपिन कार्की), जोयस (रबिन्द्र सिंह बानियाँ) र मुन्ना (रबिन्द्र झा) छन् कथाको केन्द्रमा। जीवनलाई उकास्न पैसा प्राप्तिको प्रयत्नमा रहेका उनीहरू यसपालि जब कालोधनको रूपमा आर्जित अरूको पैसासँग जोडिन्छन् तब परिस्थिति अनपेक्षित रूपमा फेरिन्छ। पात्रको चरित्र, घटनाक्रम र कथावस्तुको सिर्जना हुन्छ। पैसासँग साँचिएको उनीहरूको खुशीको मूल्य मानवीय संवेदनासँग जोडिन पुग्छ। अभिनेता कार्कीले आफ्नो पहिचानअनुसार नै पात्रलाई पर्दामा उतार्न बेजोड अभिनय गरेका छन्। झा र बानियाँ पनि प्रायः दृश्यमा सशक्त छन्। 


समाजमा राजनीतिक पात्रहरूले गरिरहेको भूमिकाको वास्तविकतासँग मेल खाने विरूप पाटो फिल्ममा मज्जासँग उजागर गरिएको छ। कथाको विषयवस्तुलाई ठूला नेताको भूमिकामा देखिएका हरिवंश आचार्यको अभिनय जीवन्त छ। उनको दमदार अभिनयले सशक्त खलपात्रको भूमिकालाई न्याय मिलेको छ। यसअघि हास्यव्यंग्य कलाकारको रूपमा दर्शकको मानसपटलमा बसेका आचार्यले यस फिल्ममा आफ्नो भूमिकालाई साबिक छविसँग दाँज्ने मौका दर्शकलाई दिएका छैनन्। हास्यव्यंगबाट स्थापित आचार्यलाई गैरहास्य र खलपात्रमा उतारेर निर्माण पक्षले ‘नेपाली चलचित्र नयाँ प्रयोगका लागि नडराउने अवस्थामा आइपुगेको’ सन्देश दिन्छ।

त्यस्तै घर परिवारका लागि आफूलाई समर्पित गरिदिने नेपाली समाजका औसत महिलाहरूको भूमिकालाई उजागर गर्न वर्षा राउतको अभिनय कुशल देखिन्छ। कलाकारहरू अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङलगायतको अभिनय प्रशंसायोग्य छ। 

कथाले मागेअनुसार पात्रहरूको सिर्जना जसरी न्यायोचित छ त्यसरी नै संवाद पनि सन्दर्भपूर्ण छन्। काठमाडौँको ठाउँको नाम लिँदा ‘बत्तीसखुट्टे’ र ‘सोह्रपुतली’ भन्नु एकातिर पात्रको हताश मानसिकता हो भने अर्कोतिर दर्शकलाई काउकुती पनि लगाउँछ। दृश्यपिच्छे नै दर्शकलाई हाँस्न बाध्य पारिरहेका संवादमा लुकेका सन्देशहरूले पनि फिल्मलाई अब्बल बनाएका छन्। 


पर्दामा अकारण संवाद/घटना देखाइनु हुँदैन भन्ने मान्यतामा खरो उत्रिन खोजेका कारण कथामा महत्त्वपूर्ण कडी हुने पात्र र संवादलाई पहिलेदेखि नै विकसित गर्दै लगिएको छ। यसले फिल्मको विवेकपूर्ण बुनाइलाई देखाउँछ, कथा प्रस्तुतिलाई फितलो बन्न दिँदैन। 

मध्यमवर्गीय परिवारमा छोराछोरीका लागि बाबुआमाले देख्ने सपना र संघर्षको एउटा बिम्ब पनि फिल्मले उजागर गर्छ। मित्रता, प्रेम, पुत्रमोह, परिवारमा सदस्यहरूबीचको आपसी सम्बन्ध र सन्तानको नजरमा बाबुको ‘हिरो’ छविजस्ता मसिना विषयलाई निर्देशक प्रदीप भट्टराईले चित्रण गर्ने प्रयास गरेका छन्। अनावश्यक रूपमा तन्किएको कथा घटाउन भने उनी सफल देखिँदैनन्। 

पात्र चयनको दृष्टिकोणले नेपाली महाजात्रा अन्य नेपाली फिल्मको तुलनामा प्रगतिशील देखिन्छ। मुख्यमध्येको पुरुष पात्रको श्रीमती वा प्रेमिकाको भूमिकामा पातलो शरीर भएको महिला पात्र राखिने अभ्यास पाइए पनि ‘महाजात्रा’ले भने एक जना मुख्यपात्र जोयस (रबिन्द्र सिंह बानियाँ)को प्रेमिकाको रूपमा भारी जिउडाल भएकी रोहिया महर्जनलाई उतारेको छ। छोटो भूमिका भए पनि महर्जनले अभिनयमार्फत आफ्नो प्रभावशाली उपस्थिति देखाएकी छन्। बाल कलाकारहरू अरविन खड्का, सिद्धिका चौहान र कायिरा कार्कीले राम्रो अभिनय गरेका छन्।  

दृश्यसँग ध्वनिको समायोजन धेरैजसो नेपाली फिल्मको भन्दा उम्दा छ। सीमित केही दृश्य प्रसंगवस मधेशको पृष्ठभूमिमा पुगे पनि मूलतः काठमाडौँकै सेरोफेरोमा सीमित छ। केही ठाउँमा वास्तविक दृश्यहरू चलाखीपूर्ण रूपमा क्यामराले फिल्ममा उतारेको छ। दर्शकले महाजात्रालाई प्रारम्भिक रूपमा दिएको प्रतिक्रियाबाट फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ उत्साही छन्।

अन्तिम गाँसमा ढुंगा
महाजात्राका कमजोरी नभएका होइनन्। फिल्मको अन्तिम दृश्यतिर बलजफ्ती ‘आइटम’ गीत छिराइएको छ। दर्शकलाई उत्कर्षतिर डोर्‍याइरहेको कथालाई आइटम गीतले अलमलाइ दिएको छ। ठूलो नृत्य मण्डलीसहितको आइटम गीत हटाइदिँदा कुनै फरक पर्ने थिएन। बरु, दृश्य लय बिग्रनबाट जोगिने थियो भन्ने दर्शकहरूको प्रतिक्रिया छ। निर्माण पक्षको दृष्टिकोणबाट पनि आइटम गीत नभएको भए खर्च कटौती हुने थियो। यससँगै अनावश्यक रूपमा तन्किएको २ घण्टा ४९ मिनेटको फिल्मलाई केही मिनेट घटाउन सकिन्थ्यो। फिल्ममा समावेश अरू गीत र तिनका संगीतले भने कथालाई बल पुर्‍याएका छन्। आइटम गीत दर्शकको जिब्रोमा झुन्डिने, फिल्म प्रोमोसनमा भूमिका खेल्ने वा पछि प्रभाव छोड्ने खालको पनि देखिँदैन। 

त्यस्तै, पात्रहरूको परिचय गराउने सवालमा एउटा उल्लेखनीय कमजोरी छ। शीर्ष पात्रहरू पर्दामा शुरूमा आउँदा दर्शकले ताली र सिटी बजाएर मनोरञ्जन गरे पनि महाजात्राको मूल कथावस्तु डोर्‍याउने र अभिनय पनि बेजोड गरेका आचार्य आउँदा त्यसो हुन सकेको छैन। उनको पात्र–परिचय फितलो छ। उनको पहिलो दृश्य आगमनमा दर्शक उत्साहित हुँदैनन्। यसरी एक जना शीर्ष पात्रसँग न्याय गर्ने सवालमा फिल्म चुकेको छ। 


त्यस्तै, ‘सुपर हिरो’को बिम्बको रूपमा प्रयोग गरिएको प्रतिमा कथामा व्यक्त गरिएको विषयवस्तुअनुसार ढलेको देखाइएको छ। उक्त सुपर हिरोको चरित्र जब साँच्चिकै स्थापित हुन्छ, बिम्बको रूपमा प्रयोग गरिएको प्रतिमा उठेको देखाइनु पर्ने थियो। 

अर्को एउटा दृश्यमा निश्चित प्रयोजनमा देखाइएको ‘पिकअप गाडी’ र ‘पानी ओसार्ने ट्यांकर’को प्रयोगमा उल्लेखनीय त्रुटि छ। ‘पिकअप’बाट बक्साहरू ‘ट्यांकर’मा सारिएको चित्रण गरिए पनि पुनः पिकअपमा फर्काइएको दर्साइएको छैन। अर्कोतिर पिकअपको प्रयोग भने दर्शकलाई ‘कन्फ्युज’ पार्ने गरी निरन्तर गरिएको छ।

त्यस्तै, फिल्मको शुरूमै ‘फाइट सिन’ले दर्शकलाई अलमलाउने काम गरेको छ। पहिलो १५ मिनेट कथा लय समात्ने प्रतीक्षामै बितेको छ। निर्देशनको क्रममा र पछि सम्पादन गर्दा कैँची लगाउने ठाउँ खोजेको भए समय घटाउने प्रशस्त ठाउँ छन्। यस्ता कयौँ त्रुटि हुँदाहुँदै पनि दर्शकलाई तार्किक रूपमा मनोरञ्जन प्रदान गर्न सफल भएको कारण महाजात्रा नेपाली  फिल्म क्षेत्रको बादलमा चाँदीको घेराजस्तै चम्किएको छ।  

षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयुक्त निर्माणमा तयार भएको फिल्ममा आशिष अविरलको संगीत छ। जितबहादुर रुवाली एसोसिएट निर्देशक छन्। पुरुषोत्तम प्रधानले छायांकन, कुमार महर्जनले द्वन्द्व निर्देशन र कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्।


सम्बन्धित सामग्री