Saturday, May 04, 2024

-->

‘फिल्मको विधा होइन कथाले दर्शक तान्न थालेको छ’

‘दर्शकले मसला मिक्स, डाइलग, पन्चलाइन भएका फिल्म आशा गरिरहेको बेला वैकल्पिक धारका फिल्म केही ढिला गतिका हुन्छन्। ७०–८० मिनेटभन्दा लामा आर्ट मुभीले दर्शकलाई बाँधिराख्न सक्दैनन्।’

‘फिल्मको विधा होइन कथाले दर्शक तान्न थालेको छ’

‘ढोरपाटनः नो विन्टर होलिडेज’ वृत्तचित्र सीडीसी सिनेमा हलमा दोस्रो हप्तामा चलिरहेको छ। व्यवसायिक फिल्मले दर्शकको साथ पाउन संघर्ष गरिरहँदा हलमा वृत्तचित्रले दर्शक पाउनु नेपाली चलचित्र क्षेत्रमा विरलै हुने घटना हो। यो वृत्तचित्र सीडीसी सिनेमा हलमा मात्रै प्रदर्शनी भइरहेको छ। सीडीसीले यसअघि पनि वृत्तचित्र प्रदर्शन गर्ने गरेको थियो। सन् २०१८ मा ‘डाइङ क्यान्डल’ प्रदर्शन गरेसँगै सानो ब्यानरमा स्वतन्त्र रूपमा बनेका फिल्मलाई पनि ‘प्राइम टाइम शो’ दिइरहेको सीडीसी हल संचालक जीवन शाक्य बताउँछन्। यो हलमा अहिलसम्म २० वटा भिन्न धारका फिल्म प्रदर्शन भइसकेका छन्। भिन्न धारका फिल्म प्रदर्शनीका चुनौती र अवसरका विषयमा उकालोका लागि प्रबिता श्रेष्ठले हल सञ्चालक शाक्यसँग गरेको कुराकानीः

कतिपय व्यवसायिक नेपाली चलचित्रले हलमा संघर्ष गरिरहँदा ‘ढोरपाटनः नो विन्टर होलिडेज’ वृत्तचित्रले दर्शकको साथ पाउनुको कारण के हो?
‘ढोरपाटनः नो विन्टर होलिडेज’ डकुमेन्ट्री दोस्रो हप्तामा प्रवेश गरेको छ। सर्वप्रथम त ‘ढोरपाटनः नो विन्टर होलिडेज’ लाई माया गर्ने सम्पूर्ण दर्शकलाई धन्यवाद दिन चाहन्छौँ। दोस्रो हप्ता आइपुग्दा शोको ५० प्रतिशत हल अकुपेन्सी कायमै छ। हामीले शो टाइम साँझ ५ बजे राखेका छौँ। दर्शककै साथको कारण शनिबार दिउँसो २ः३० र साँझ ५ बजे गरी दुई शो राखेका थियौँ। फोन कल, मेसेजमार्फत फिल्मबारे सोधपुछ र टिकटका लागि फोन आइरहेका छन्। दर्शकको अथाह माया पाइरहेको छ।

दर्शकहरूले यस्ता ‘इन्डी’ फिल्म खोजीखोजी ल्याउनुस् भन्नुहुन्छ। कतिले युरोपियन तथा विदेशी इन्डी फिल्मको नामसमेत दिएर हामीलाई सिफारिस गर्ने, इन्स्टालगायत सामाजिक सञ्जालमा सोधखोज गर्ने गर्नुहुन्छ। तर विदेशी फिल्म ल्याउन अप्ठ्यारो छ। भारतमा धेरै चलेको र युट्युबमामा धेरै हेरिएको ‘टुबेल्थ फेल’जस्ता फिल्म मिस भइदिँदा भने हामीले गालीसमेत खाएका छौँ।

दर्शकले हलको पर्दामा देखिएको फिल्ममा आफू नै पात्र भएको महसुस गर्न चाहन्छन्। फिल्मको स्टोरीले दर्शकलाई छुन्छ, छुँदैन भन्ने अर्को प्रश्न खडा हुन थालेको छ। एक्सन फिल्म त एक समय आउँछ, दर्शकले हेर्छन् जान्छन्। तर ‘ढोरपाटन’ जस्ता फिल्म चल्नुको पछाडि स्टोरी, सिनेमोट्रग्राफीलगायत कारण छन्। वास्तविकतालाई उतार्नु अर्को कारण हो।

केही वर्ष यता सीडीसी हलले ‘आर्ट’, इन्डी तथा ‘सर्ट फिल्म’लाई थिएटर रिलिज तथा शो दिइरहेको छ। यस्तो सोच कसरी आयो?
सन् २०१८ मा हामीले ‘डाइङ क्यान्डल’बाट यस प्रकारका फिल्मलाई ठाउँ दिन शुरू गरेका थियौँ। त्यसबेला त्यति दर्शक आएनन्। सायद टिकटको मूल्य उच्च भएर थियो अथवा दर्शकहरूलाई यस्ता फिल्म लाग्छ भनेर थाहा भएन। अहिले सामाजिक सञ्जालमा विभिन्न समूह छन् जहाँ फिल्मबारे चर्चा हुन्छ। 

यस खालको फिल्महरूलाई माया गर्नु पर्छ। कमर्सियल कलाकार लिएर खेलाउनुभन्दा पनि स्थानीयलाई कलाकार बनाउनु ठूलो चुनौती हुन्छ। उहाँहरूका लागि ठूला ब्यानरका निर्माताको लगानी हुँदैन। आफ्नै लगानी र लगनमा यस्ता फिल्म बनाइरहनु भएको छ, जसलाई पर्दामार्फत दर्शकमाझ पुर्‍याउनु पर्छ भन्ने लागेर शुरू गरेका हौँ।

यस खालका फिल्मलाई शो दिँदा भइरहेका चुनौती र अप्ठ्यारा के–के छन्?
व्यापारिक फिल्म नै नचलिरहेको अवस्थामा यस्ता चलचित्र हाउसफुल हुनु, दोस्रो हप्तामा टेक्नु चानचुने कुरा होइन। ढोरपाटन डकुमेन्ट्रीको हल अकुपेन्सीले मलाई ढोरपाटनजस्तै अन्य फिल्म प्रदर्शनको लागि चुनौती थपिदिएको छ। यद्यपि सबै इन्डी फिल्मले ढोरपाटनसरहकै व्यापार गर्छन् भन्ने हुँदैन। सन् २०१८ मा शुरूआत गर्दा हामी संचालकलाई पनि गाह्रै भएको थियो। हलले शो त दियो तर दर्शकलाई कसरी ल्याउने? यसबीच यस्ता चलचित्र मन पराउने जमातबारे अध्ययन गर्‍यौँ। ‘मुभी लभर्स’ भन्ने फेसबुक पेज तथा इस्टाग्राममा ६ हजार फलोअर्स छन्। उहाँहरूबाट माउथ पब्लिसिटी हुन्छ। यसका साथै सञ्चार माध्यमको पनि राम्रो भूमिका छ। 

दर्शकहरूको रुचि व्यावसायिकसँगै यस्ता फिल्ममा पनि सर्दै गएको भन्न मिल्छ?
नेपाली व्यावसायिक फिल्ममा स्टोरी एकै खालको हुन थालेका कारण दर्शक वाक्क भइसके। दर्शक अहिले अथेन्टिक र जीवन्त फिल्म हेर्न चाहिरहेका छन्। नेटफ्लिक्सजस्तो ओटीटी प्याटफर्ममा आउने वेब सिरिजहरूले दर्शकको स्तर बढाइदिएको छ। वेब सिरिज यति राम्रो बन्न थालेका छन् कि सोही स्तरका फिल्म बने भने मात्र दर्शक हलसम्म आउन सक्छन्।

अबको लागि हलमा फिल्म चलाउन गाह्रो छ, केही हिन्दी चलचित्रले मात्र बिजनेश दिएका छन्। दीपकराज गिरी, जात्रा, बाँसुरी फिल्मस् लगायतका ४–५ वटा निर्माता तथा ब्यानरका फिल्म मात्र चलिरहेको हुन्छ। त्यसमा पनि सबै दयाहाङ राई, मिरुना मगरलाई कलाकारको रूपमा लिन चाहान्छन्। कलाकार दोहोरिरहँदा पनि दर्शकलाई मोनोटोनस लाग्न सक्छ। 

ढोरपाटन अलग्गै डकुमेन्ट्री भयो। सर्ट मुभी हल्कारा पनि राम्रो थियो। बसेनजी हलमा त्यति रुचाइएने तर कुनै हलमा भने ५१ दिन पनि मनायो। अहिले हामीले रिर्सच एन्ड डेभलप्मेन्ट (आर एन्ड डी)अन्तर्गत नेपालका सर्ट मुभीहरूको सम्भाव्यताको अध्ययन गरिरहेका छौँ। कस्ता दर्शकले कस्ता मुभी मन पराउँछन् र कस्तो समयमा प्रदर्शन गर्ने भन्ने अध्ययन भइरहेको छ। यसले हल संचालक तथा फिल्म मेकर्सलाई दर्शकको स्वाद बुझ्न सहयोग गर्नेछ।

फरक धारमा बनेका फिल्म विशेषगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन गरिन्छन्। त्यहाँ पुगेर हेर्ने दर्शक सीमित हुन्छन्। सिनेमा हलमा यस्ता फिल्म हेर्न कस्ता दर्शक आइरहेका छन्?
अनौठो कुरा, यस्ता फिल्म हेर्न कुनै तप्काभन्दा पनि सबै खालका दर्शक आएका छन्। वृद्धवृद्धादेखि कलेज पढ्ने केटाकेटी आइरहेका छन्। गत हप्ताको एक शोमा १०८ जनामध्ये १२ जना फिल्म हेर्नै गोरखाबाट आएका थिए। हामी आफैँलाई पनि अनौठो लागिरहेको छ। फिल्मको माउथ पब्लिसिटी राम्रो छ। पोखरा, इटहरी, पर्सालगायत स्थानबाट पनि शोका लागि माग गरिरहेका छन्। हामी लैजाने सोचमा छौँ।

वैकल्पिक खालका फिल्मका चुनौती के हुन्? 
नेपालमा धेरै वर्षअघि आर्ट मुभी हेर्ने राम्रो जमात थियो। अहिले यस्ता फिल्म निकै कम बन्छन्। दर्शकले मसला मिक्स, डाइलग, पन्चलाइन भएका फिल्म आशा गरिरहेको बेला यस्ता फिल्म केही ढिला गतिका हुन्छन्। ७०–८० मिनेटभन्दा लामा आर्ट मुभीले दर्शकलाई बाँधिराख्न सक्दैनन्। केही समयअघि गुलाब आएको थियो, त्यसमा पनि राम्रा मान्छे थिए। यी फिल्मले दर्शकलाई करी बाँध्ने भन्ने मेकर्सको हातमा हुन्छ। 

एक मिनेटको टिजर, ट्रेलर हेरेर फिल्म कस्तो हुनसक्छ अनुमान लगाउने दर्शक बनिसकेका छन्। ढोरपाटनजस्ता जीवन्त कथा बोल्ने फिल्मको ट्रेलर, टिजर केही हुँदैन, सानो क्लिप्स हुन्छ। यस्ता फिल्मको कथा फिल्म हेरिसकेका दर्शकले बताउन त्यही रूपमा बताउन सक्दैनन् वा चाहँदैनन्। हल पुगेर आफैँ हेर्न सुझाव दिन्छन्। 

सन् २०१८ मा, डाइङ क्यान्डलदेखि हाल ढोरपाटनसम्म आउँदा सीडीसी हलले चुनौती मोल्दैछ भन्ने लागेन?
डाइङ क्यान्डल हलमा चलाउँदाको अवस्था साइकल भर्खर चलाउन सिकेकोे अवस्थाजस्तो थियो। उक्त फिल्म हलमा सफल भएन तर विदेशी फेस्टिभलमा धेरै अवार्डहरू जित्यो। अहिलेको माहोलमा उक्त फिल्म पुनः एक पटक देखाउने कुरा भइरहेको छ। सन् २०१८ मा अहिलेजस्तो सामाजिक सञ्जालको पब्लिसिटी दमदार थिएन। पहिलो फिल्म भएकाले माहोल पनि थिएन। यो खालको दर्शक स्थापित गर्न आफूले जग बसाल्न पाउँदा खुशी लाग्छ।

हल संचालनकको दृष्टिकोणबाट हेर्दा इन्डी फिलम मेकर्सले सुधार्नु पर्ने पक्ष के हुन्?
यसमा साधारण कुरा छ। सगरमाथा, पोखरा, ढोरपाटनलगायत स्थानका दृश्य जीवन्त उतार्न भिडियो मात्र खिचेर हुँदैन। लोभलाग्दा दृश्य युट्युबतिर प्रशस्त पाइन्छन्। अबका चलचित्रमा कथा हुनु पर्छ। कर्मसियल होस् वा इन्डी फिल्म, दुवैको हकमा लागू हुन्छ। ‘जारी’ नेपालको नम्बर वान फिल्म बन्नुको कारण त्यसको मौलिक कथावस्तु हो। इन्डी फिल्म मेकर्सले पनि यस्ता विषयमा ख्याल राख्न जरुरी छ। 

डकुमेन्ट्री अथवा सर्ट मुभीले कालान्तरमा सिनेमा हलमा आफ्नो स्थान बनाइरहन सक्लान्?
अवश्य नै सक्छन्। उहाँहरूले राम्रो मेकिङ गर्नु भयो भने हुन्छ। चलचित्र उद्योगलाई राम्रो बनाउन एकेडेमिसियन तथा मानवअधिकारवादी र मानवशास्त्रीहरूसँग हामी छलफल गरिरहेका छौँ। कारण, यस्ता फिल्म मेकिङका हिसाबले मात्र नभई मानवशास्त्रीय, समाजशास्त्रीय दृष्टिकोणबाट पनि महत्वपूर्ण छन्। हल संचालककले पनि दिनको दुई घण्टाको प्राइम समय यस्ता फिल्मलाई दिनुपर्छ। सीडीसीले एक महिना दुई वटा अथवा दुई महिनामा एउटा राम्रो डकुमेन्ट्री तथा सर्ट फिल्मलाई स्थान दिने गरेको छ। 

चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन–२०२६ तथा राष्ट्रिय चलचित्र नीति–२०७१ मा वैज्ञानिक आविस्कार, शिक्षा वा संस्कृतिसम्बन्धी तथा जनचेतनामूलक छोटा फिल्मलाई व्यवसायिक फिल्मको शो शुरू हुनअघि अथवा मध्यान्तरपछि स्थान दिनु पर्ने प्रावधान छ। उक्त नीति सिनेमा हलमा लागू भएको देखिँदैन नि?
पहिला सेलुलोइड सिनेमा हुँदा शुरू वा बीचमा छोटा डकुमेन्ट्री, सर्ट फिल्म राख्ने व्यवस्था लागू भएको थियो। विशेषगरी, धुम्रपान, मद्ययपान सेवनबाट हुने स्वास्थ्यको क्षतिलगायतका जनचेतनामूलक छोटा चलचित्र चलाए बापत् सूचना तथा संचार मन्त्रालयले हललाई दिने निश्चित रकम दिने गर्थ्यो। अहिले त्यस्तो छैन। मन्त्रालयले आदेश दिन्छ, आदेशले मात्र कुरा मिलेन।

कुनै डकुमेन्ट्री मन्त्रालयले पैसा खर्च गरेर बनाएको हुन्छ। त्यसमा कुन फिल्मलाई कति दिने भागबन्डा नमिल्दा यस्तो भएको मलाई लाग्छ। कोरोना महामारीबीचमा कोभिडबाट कसरी बच्ने भन्ने दुई मिनेटका जनचेतनामूलक डकुमेन्ट्री आए। हल संचालकले ती सामग्री विभिन्न चलचित्रका शोका बीचमा चलाए र रकम पनि पाए। पहिले उक्त नीति थियो चलेको पनि थियो। अहिले चलचित्र विकास बोर्डको चुस्तता पनि नदेखिएको जस्तो लाग्छ। 

युट्युब तथा ओटीटी प्लेटफर्ममा विभिन्न वेब सिरिज र फिल्म चलिहरहँदा यसले सिनेमा हललाई कस्तो असर पारिरहेको छ?
यसमा भने हल संचालक तथा मेकर्सको चलाखीले काम गर्छ। हामीले ‘ढोरपाटन’ रिलिजको क्रममा समग्र साथीभाइसँग कुरा गरी फिल्मलाई कमर्सियल हिसाबमा नगई अहिले चलिरहेको ट्रेन्ड र रेटमा चलाउने निर्णय गरेको थियौँ। रंगमञ्चमा ३०० रुपैयाँमा नाटक हेर्न जाने दर्शकलाई एसीसहितको फूल कम्फर्टेबल सिटमा न्यून रकमा फिल्म देखाउँदा उसको रुचि हुन्छ। दर्शक तान्न सकिन्छ।

नेपाली इन्डी तथा सर्ट फिल्मले विदेश फिल्म फेस्टिभलका अनेक अवार्ड जितेका छन्। यसको अर्थ यस्ता धारका नेपाली फिल्म विदेशी इन्डी तथा सर्ट फिल्म जतिकै स्तरीय छन् भन्ने मान्न सकिन्छ?
लोरी, रेडसुट केश, गाउँ आएको बाटो, द सिक्रेस्ट्स अफ राधालगायतका नेपालका अन्य इन्डी फिल्मले अवार्ड जितेका छन्। यस्ता नेपाली फिल्म विदेशीसँग दाँज्न सकिने अवस्थामा छन्। तर दुःखलाग्दो कुरा, उहाँहरूको मिहिनेतसँगै फिल्म बनाउने पैसा पनि आफैँले खोज्नु पर्ने अवस्था छ। यसमा नेपाल सरकारले साथ दिए सुनमा सुगन्ध हुने थियो। 

त्यस्तै हरेक फिल्म हलमा रिलिज हुनुअघि सेन्सर हुन्छ। एउटा सेन्सरको लागि ३५ हजार खर्च हुन्छ। करोडौँको हिन्दी, नेपाली, कमर्सियल फिल्मदेखि यस्ता सानो बजेटमा बन्ने फिल्मको सेन्सर रकम उति नै छ। यस्ता फिल्मलाई सेन्सरमै पनि सरकारले केही सहुलियत दिनु पर्छ।

फिल्म चलाउन मार्केटिङको भूमिका कस्तो हुन्छ? 
कुनै पनि हलले प्राइम समय दिने भनेको धेरै रिसर्च गरेर दिने हो। कारण, यसबेला दर्शकको चाप बढी हुन्छ। फरक धारका फिल्म हेर्ने दर्शक बुझेर मात्र हलसम्म पुगेका हुन्छन्। अनलाइनमा समाचार हेरेर ‘कस्ता धाराका फिल्म चलेको छ, के भिन्न छ’ थाहा पाएर मात्र आउँछन्। यस्ता दर्शक कति छन् र के चाहन्छन् भन्ने विषय निर्माता र हल सञ्चालकले पनि बुझ्नुपर्छ। उदाहरणका लागि डोरबहादुर विष्टको जीवनीमा आधारित डकुमेन्ट्री सीडीसीले दुई शो गर्दा राम्रो फिडब्याक आयो। त्योबेला बाबुराम भट्टराई, हिसिला यमीले समेत टिकट काटेर फिल्म हेरे। त्यसपछि यस खालका फिल्मलाई स्थान दिन मलाई हौसला मिल्यो। फिल्मको विधा होइन कथाले दर्शक तान्ने रहेछ भन्ने अनुभूति भयो।


सम्बन्धित सामग्री