Sunday, April 28, 2024

-->

किन अधिक चोरिन्छन् उमामहेश्वरका मूर्ति?

सयौँ वर्ष पुराना उमामहेश्वरका मूर्ति अधिक चोरी भएका, तर कम फर्किएकामा पर्छन्। यी मूर्तिले रसिक दाम्पत्य जीवनको भाव दर्साउँछन्। उमामहेश्वरका मूर्ति कुनै समय राजपरिवार वा उच्च वर्गले घरमा राख्ने गर्थे।

किन अधिक चोरिन्छन् उमामहेश्वरका मूर्ति

काठमाडौँ– पाटनस्थित टंगल टोल सुधार समितिका कोषाध्यक्ष विश्वभक्त श्रेष्ठलाई करिब ६ वर्षअघि पुरातत्व विभागबाट फोन आयो। फोन गर्ने कर्मचारीले चार दशकअघि टंगल टोलबाटै हराएको उमामहेश्वरको मूर्ति फिर्ता भएको भन्दै पहिचानका लागि आउन आग्रह गरेका थिए। तर यस्तो आग्रहले उनी अलमलमा परे।

त्यस मूर्तिबारे श्रेष्ठले बाजेहरूबाट सुनेका मात्र थिए। रातको समय हिटीबाट हराएको ८०० वर्ष पुरानो मूर्तिको चर्चा बेलाबखत हुने गरेकै थियो। लैनसिंह बाङदेलको पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’मा उक्त मूर्ति १२–१३औँ शताब्दीको भएको उल्लेख छ। 

सुखासनमा रहेको उक्त मूर्तिमा महेश्वरको एउटा हात उनकै तिघ्रामा र अर्को उमाको काँधमा छ। यो मूर्ति फिर्ता आएको चार वर्षपछि २०७८ सालमा मात्र पुरानै ठाउँमा प्रतिस्थापन गरिएको छ। सुरक्षाका कारण मूर्ति टंगलमै फर्काउन ढिला भएको टोल सुधार समितिका कोषाध्यक्ष श्रेष्ठ बताउँछन्।

“हराएको मूर्ति फिर्ता भएपछि उनीहरू (टोलबासी) खुशी त थिए, तर वषौँ देशबाहिर रहेको मूर्ति यसरी फिर्ता आउँदा प्रचार भयो। प्रचारले मूर्तिको महत्त्वसँगै मूल्यको पनि चर्चा चुलियो। त्यसैले पहिलाकै ठाउँमा राख्नु हर्षसँगै चुनौतीपूर्ण पनि थियो,” श्रेष्ठ बताउँछन्। 


धुलिखेलको वः टोलबाट हराएर २४ वर्षअघि फर्किएको उमामहेश्वरको मूर्ति अझै पुरानै स्थानमा फर्किन सकेको छैन। उक्त मूर्ति ४० वर्षअघि हराएको थियो। सुरक्षाको कारण मूर्तिलाई पुनर्स्थापना गर्न नसकिएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक बेन्जुले केही महिनाअघि उकालोसँग बताएका थिए।

वः टोलमा रहेको हिटीको माथिल्लो भागमा रहेको मूर्ति बत्ती गएको बेला हराएको थियो। ललितआसन मुद्रामा रहेको त्यो मूर्ति १२औँ शताब्दीको थियो। उमामहेश्वरको मूर्तिमध्ये सबैभन्दा बढी ललितआसनमा छन्। यसलाई रसिक आसन पनि भनिन्छ।

पुराणहरूलाई उद्धृत गर्दै संस्कृतिविद् प्राडा वीणा पौड्यालले बताएअनुसार शिवको वैवाहिक सम्बन्ध दर्साउन उमामहेश्वरका मूर्ति बनेको मान्यता छ। शिवले निकै ढिला विवाह गरेको र विवाहपछिको गृहस्त आश्रमको धर्म निभाउनु पर्ने विषय उमामहेश्वरको मूर्तिको फलकमा देखिने उनको भनाइ छ।

यो पनि: कसले चोरेर विदेश लैजान्छ नेपालका मूर्ति?

उमामहेश्वरका विभिन्न आसनका मूर्ति छन्, जसमध्ये बढी रसिक मुद्राकै छन्। ललितआसन महेश्वरले उमाको स्तनमा हात राखेको लगायत मुद्रा रसिक आसन भएको पौड्याल बताउँछिन्। “यस्ता मूर्तिको कलात्मक पक्ष धार्मिक तथा संस्कृतिविद्का लागि मात्र नभई कला पारखीका लागि पनि महत्त्वपूर्ण र आकर्षक हुन्छ,” प्राडा पौड्याल भन्छिन्।

फर्किएको उमामहेश्वरको मूर्तिको यही महत्त्वका कारण टंगल टोल सुधार समितिका सदस्य पुनस्र्थापना गर्न हच्किएका थिए। फर्किएको मूर्ति फेरि सुरक्षित हुन नसक्ने समिति सदस्यहरूको चिन्ता थियो। स्थानीयको जोडबलमा चार वर्षपछि बल्ल मूर्ति टंगलहिटीमै राखियो।

केही महिनाअघि बार्बर फाउन्डेसनले गरेको मूर्ति चोरीसम्बन्धी कार्यक्रममा सम्पदा संरक्षण अभियन्ता रवीन्द्र पुरीले फ्रान्सको गुमेट म्युजियमबाट उमामहेश्वरको मूर्ति फिर्ता ल्याउन गरिएको पहल र कठिनाइबारे उल्लेख गरेका थिए। मूर्ति फिर्ताको लागि फ्रान्सको संसद्ले अनुमति दिनुपर्ने पुरीले जानकारी दिएका थिए। हाल फ्रान्सको संसदमा मूर्ति फिर्ता गर्ने वा नगर्ने विषयमा बहस भइरहेकाले पहिचान गरेर पनि मूर्ति ल्याउन असहज भएको उनको भनाइ थियो।


नेपालका सयौँ वर्ष पुराना उमामहेश्वरका मूर्ति अधिक चोरी भएका, तर कम फर्किएकामध्ये पर्छन्। लैनसिंह बाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ र योर्गन सेकको ‘द गड्स आर लिभिङ द कन्ट्री’ पुस्तकमा पनि हराएका करिब १९ वटा उमामहेश्वर मूर्तिको अभिलेख छ।

यसबाहेक, लोकेश्वर, श्रीधर विष्णु, सूर्यलगायत मूर्ति पनि अधिक चोरी हुनेमा पर्छन्। पुरातत्व विभागको तथ्यांकअनुसार २०४२ सालयता १४३ वटा मूर्ति नेपाल फर्किएका छन्, जसमध्ये केवल तीन वटा मात्र उमामहेश्वरका छन्।

 

Made with Flourish


सम्भ्रान्तको घरमा उमामहेश्वरको मूर्ति!
कलाकौशलतर्फ अनुपम उदाहरण मानिने उमामहेश्वरको फलक मूर्ति प्रायः मन्दिरको बाहिरी साजसज्जको लागि स्थापना गरिने संस्कृतिविद् डा.गोविन्द टण्डन बताउँछन्। बौद्ध स्तुपामा धर्मचक्रहरू साजसज्जाको लागि राखिएजस्तै उमामहेश्वरका मूर्तिको पनि त्यस्तै प्रयोजन भएको उनको भनाइ छ। “सजावटका लागि मन्दिरको बाहिर दायाँबायाँ (उमामहेश्वरका मूर्ति) राखिन्छन्। अनुपम कला र खुला  स्थानमा रहँदा चोरीका लागि अझ सहज भएको हुनसक्छ,” उनी भन्छन्। 

संस्कृतिविद् प्राडा पौड्यालको भने भिन्न मत छ। इतिहासका कालखण्डमा बनेका र पूजिएका जुनै मूर्तिको मन्दिर भए पनि पछि भत्किएर मूर्ति मात्र बाँकी रहेको उनको तर्क छ। “कालक्रममा मन्दिर भत्किँदा, मन्दिर संचालनको लागि रहेका गुठी विलीन हुँदै जाँदा त्यस्ता मन्दिरको संरचना हराउँदै गएर अन्ततः मूर्ति मात्र रहे,” उनी भन्छिन्, “सुरक्षाको हिसाबले संरक्षण नहुँदा चोरी, पैठारी भयो।”


पौड्यालका अनुसार शिवलिंग र उमामहेश्वरका मूर्ति कुनै समय राजपरिवार वा उच्च वर्गको परिवारमा मात्र हुन्थे। त्यस्तै, विदेशमा रहेका उच्च आर्थिक स्थिति भएका, कला पारखी र अन्यको आस्थामा संवेदशनशीलता नभएकाले यस्ता मूर्ति माग गर्ने उनको भनाइ छ।

संस्कृतिविद् ओम धौभडेल भने उमा महेश्वरको मूर्ति युगलमध्येको सुन्दर मूर्तिमा पर्ने बताउँछन्। “राधाकृष्ण, रामसीता, लक्ष्मीनारायणलगायत युगल मूर्ति छन्। तर उमामहेश्वरको मूर्ति फलकमा अझ आर्कषक र धेरै पात्र वस्तु समेटिएको छ,” उनी भन्छन्, “उक्त फलकमा उमामहेश्वरसहित कुमार, गणेश, कैलाश पर्वत, महादेवका गण र पार्वतीका सेविकालगायतका हुन्छन्।”

ललितआसनको उमामहेश्वरको मूर्ति सुन्दा वा हेर्दा अश्लीलजस्तो लागे पनि यो आसनमा महेश्वरको काखमा उमा आड लागेर बसेको शैली विदेशमा बढी माग हुने गरेको सुनिने धौभडेल बताउँछन्। उनको भनाइमा अर्का संकृतिविद् डा.गोविन्द टण्डन पनि सहमत छन्। डा. टण्डन शिवका मूर्ति विभिन्न तहमा फरकफरक शैलीको भएका बताउँछन्। शिवलिंगजस्तो हराउन नपर्ने एकल मूर्ति हराइरहँदा उमामहेश्वर मूर्ति हराउनु अनौठो नभएको उनले उकालोलाई बताए। 

“हामी कहाँ पाइने उमामहेश्वरको मात्र यस्तो मूर्ति हो जुनमा उमा र महेश्वरको पूर्ण परिवारको चित्रण छ र फलक पनि ठूलो हुन्छ,” उनले भने, “त्यहाँ महेश्वर र उमा मात्र नभई उनीहरूको गण पनि छन्। नन्दी, भृङ्गी, सिंह, त्रिशूल, कैलाश पर्वत देख्न पाइन्छ। त्यो सबै बस्तु अटाएको हुँदा पनि बिक्री गर्नेलाई ‘यहाँ सबै चिज छन्’ भनेर देखाउन सहज होला।”


टण्डनका अनुसार भारतको मध्यकाल र नेपालको लिच्छविकालीन समयमा बनेका उमामहेश्वरको मूर्ति आर्कषक छन्। उमामहेश्वरका एक थरी मूर्ति मिति र अभिलेख भएका पाइन्छन् भने, अर्को थरी मिति र अभिलेख नभएका छन्। तर शैली, प्रस्तर र स्थानको हिसाबले मूर्तिको अभिलेख हुने प्राडा वीणा पौड्याल बताउँछिन्।

नेपालका उमामहेश्वरहरूमध्ये चामुण्डा मन्दिरको आँगनमा भएको सानो मूर्ति सबैभन्दा पुरानो मानिने पौड्याल बताउँछिन्। उक्त मूर्ति दोस्रो शताब्दीको हो। त्यस्तै पाटनको गचा ननिमा इस् १०३३ मा बनेको मूर्ति छ।

के छ उमामहेश्वर मूर्तिका विशेषत?
संस्कृतिविद् प्राडा पौड्यालका अनुसार पाटनस्थित चामुण्डा मन्दिरको उमामहेश्वरको मूर्तिमा उमा, महेश्वर र नन्दी मात्र पाइन्छ। शिवका अन्य परिवार देखिँदैनन्। “त्यसपछिका केही मूर्तिमा पशुपति क्षेत्रको रामचन्द्र मन्दिरको आँगनमा भएको मूर्तिमा शिव परिवारका सदस्य देखिँदैनन्, तर तल्लो भागमा थोरै उनको गण छन्,” उनी भन्छिन्।

शिवका परिवारका सम्पूर्ण सदस्यमध्ये सबैभन्दा माथि शिवको शिर (जटा)बाट गंगा ओर्लिएको चित्रण पाइन्छ। दायाँतर्फ शिवको पाश्र्वमा उनका रक्षक हुन्छन् भने, त्यहीँ नन्दी र कुमारलाई बालकस्वरूप बनाइएको हुन्छ। पार्वतीको तर्फ उनको सेविका हुन्छिन्। कोही उमाको पाउ मोलिरहेको, कसैले पंखा हम्काएको, कसले छाता ओढाएको लगायतका विभिन्न आकृति पाइन्छ। 

यो पनि- मूर्ति चोरहरूको ‘उपहार’: ५३ वर्षदेखि शरीरमा गोली

अभय मुद्रामा उमालाई महेश्वरले अंगालो मारेको देखाइन्छ। पार्वतीको दुई हातमध्ये एक शिवको तिघ्रामा राखेको र अर्को आफ्नै तिघ्रामा राखिएको पनि हुन्छ। ललितआसनमा शिवले आलिंगनमा लिँदा पार्वतीको स्तनमा हात राखेको पाइन्छ। कम्मर अथवा काँधमा हात राखेको पनि देखिन्छ। 

“मूर्तिको तल्लो भागमा उनीहरूको गणपति गणेश हुन्छन्। सँगै अन्धक, नन्दी, भृङ्गीलगायत प्रतिकात्मक ३, ४, ६, १९ गरी गण सदस्यको चित्रण गरिएको हुन्छ। शिवको गण भनेको समाजबाट अपहेलित, बिकलांग भएका, शरीरको विभिन्न भागमा आँखा, नाक, मुख भएको पनि चित्रण पाइन्छ जुन अन्य खालका मूर्तिभन्दा फरक रहन्छन्,” प्राडा पौड्याल भन्छिन्, “उमामहेश्वरको मूर्ति युगल मूर्तिमध्ये रसिक दाम्पत्य जीवनको भाव दर्साउने हुन्छ।”


सम्बन्धित सामग्री