Saturday, April 27, 2024

-->

अभिलेखन प्रदर्शनी : भित्तामा सम्पदाका पुस्तक अर्थात् ‘हेरिटेज मिरर’

तारागाउँ म्युजियमको एउटा ठूलो पर्खालको भित्तोमा अनेक पुस्तकका गाता छन्। नेपालको सम्पदा र इतिहासबारे लेखिएका ती पुस्तक सन् १९५० देखि २००० सम्ममा प्रकाशित भएका हुन्। यो भित्तोको नाम हो– हेरिटेज मिरर।

अभिलेखन प्रदर्शनी  भित्तामा सम्पदाका पुस्तक अर्थात् ‘हेरिटेज मिरर’
तस्वीर: प्रबिता/उकालो

काठमाडौँ– विभिन्न कला प्रदर्शनी भइरहने बौद्धस्थित तारागाउँ म्युजियमको तारागाउँ हलभित्र पश्चिमतर्फको एउटा ठूलो पर्खालको भित्तो प्रायः खाली हुन्थ्यो। यही म्युजियममा कार्यरत अर्काइभिस्ट (अभिलेखनकर्ता) अस्मिता नेपाल खाली भित्ता नियालिरहन्थिन्। कुनै दिन त्यस भित्तालाई सजाउने उनको इच्छा थियो।

पश्चिमतर्फको त्यो भित्तो अब खाली छैन, नेपालका सम्पदाबारे लेखिएका किताबका गाताले भरिएको छ। डा. डिल्लीरमण रेग्मीको ‘मोडर्न नेपाल’, एच एम्ब्रोस ओल्डफिल्डको स्केचेज फ्रम नेपाल, निल्स गुस्चोव र बर्नार्ड कोल्वरको भक्तपुर, चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल लगायत धेरै पुस्तकका गाता त्यहाँ छन्। उनले यो भित्ताको नाम राखेकी छन्– हेरिटेज मिरर।

गएको फागुन ३ गतेबाट शुरू भएको यो प्रदर्शनी एक महिना चल्नेछ। त्यहाँ पुराना पोस्टर, पोस्टकार्ड, निमन्त्रणा पत्र, पत्रिका, फोटोग्राफ, विज्ञापनलगायत सामग्री पनि छन्। उनले यो प्रदर्शनीको नाम ‘द हेरिटेज बज’ जुराएकी छन्।

“हरेक प्रदर्शनीमा यो स्थान खाली देख्थेँ, आफैँ असन्तुष्ट हुन्थेँ। अहिले मैले मेरो सबैभन्दा मिहिनेत परेको सामग्री यहाँ राखेको छु,” उनी भन्छिन्, “स्थानहरूको आफ्नै विशेषता र महत्त्व हुन्छ। मैले त्यसको भरपुर उपयोग गरेँ।”

अभिलेखनकर्ताको रूपमा करिअरको उकालो ग्राफ चढ्दै गरेकी अस्मिताको यो पहिलो प्रदर्शनी हो। प्रदर्शनीमा उनले सन् १९५० देखि २००० सम्म प्रकाशित सामग्री राखेकी छन्। प्रदर्शनीको सहजकर्ता बनेर उनलाई रश्मि गौतमले साथ दिइरहेकी छन्।

तारागाउँ हल पसेपछि सबैभन्दा पहिला दाहिने पर्खालमा राखिएको ‘विकास र विनाश’ पुस्तकको सानो अंशमा आँखा पर्छ। यो पुस्तक सन् १९८४ मा लेखिएको हो। यही पर्खालमा सम्पदाका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा विचारका टुक्रा पनि राखिएका छन्।

प्रदर्शनीस्थलमा फागुन १७ गते भएको ‘सम्पदा र मिडियाको भूमिका छलफल’मा वरिष्ठ पत्रकार कुन्द दीक्षितले उक्त पुस्तकको स्मरण गरे। प्रदर्शनीमा राखिएको त्यस पुस्तकको नक्कल प्रति मात्र हाल उपलब्ध भएको उनी बताउँछन्। उनले पुस्तकको विषयलाई अहिलेको सन्दर्भमा जोड्दै भने, “अन्धाधुन्ध आधुनिकीकरणले त्यस समय सम्पदामा ठूलो क्षति भएको थियो। सम्पदाको ह्रासदेखि मूर्ति चोरीबारे समाचार, विचार, पुस्तक लेखिन थाले। शायद अझ त्यसै प्रभावका कारण मूर्तिहरू धमाधम फिर्ता आइरहेका छन्।”

दीक्षित बोलिरहँदा लेखक नरेश नेवार उनैको आडमा थिए। नेवारको पुस्तक ‘पोभर्टी अफ अर्बनाइजेसन’लाई पनि फ्रेममा राखिएको छ, जसमा सन् १९८० को दशकमा भएको अन्धाधुन्ध शहरीकरणको प्रभावबारे लेखिएको छ। एक कथित दलित (नेवार) समुदायकी महिलाले गरेको पाटनको गल्लीदेखि अमेरिकासम्मको यात्राको कथा त्यसमा छ। 

सम्पदा विषयमा लेखिएका विविध पुस्तकको अभिलेख राख्नु पर्ने अस्मिता बताउँछिन्। “डकुमेन्टेसन भन्ने बित्तिकै हामी पुराना खिचिएका फोटो अथवा लामो अध्ययन पत्रलाई मात्र मान्छौँ,” उनी भन्छिन्, “एक अभिलेखकर्ताको हिसाबले यसको दायरा फराकिलो हुनु पर्छ। यस प्रदर्शनीबाट टाइम ट्राभल भन्दा पनि तत्कालीन समयका घटनाको सटिक अभिलेखन गर्ने उद्देश्य राखेकी छु।” 

प्रदर्शनीमा राखिएका समाचार, तस्वीर, विज्ञापनलगायत सामग्री इतिहासको अभिलेखन भएको उनी बताउँछिन्। कुनै समय पोस्टर, विज्ञापन वा निमन्त्रणा पत्र सीमित उद्देश्यले बने पनि अहिले घटनाको तथ्य र मिति जान्न महत्त्वपूर्ण हुने उनको भनाइ छ। काठमाडौँ उपत्यकाभित्र सन् १९५० देखि २००० सम्मका विभिन्न ‘प्रोजेक्ट’बारे सूची तयार पारेर प्रदर्शनीमा राखेको पनि उनले जानकारी दिइन्।

अवलोकनकर्तालाई कुनै प्रोजेक्टमा रुचि भए म्युजियममा रहेको अर्काइभमार्फत थप जानकारी प्रदान गर्न सक्ने उनले जानकारी दिइन्। त्यसैगरी, ‘बिजनेश कार्ड’बाट कुनकुन प्रोजेक्ट कहाँकहाँ गरिएको थियो थाहा पाउन सकिन्छ। 

सम्पदा संरक्षणकर्मी रोहित रञ्जितकार यस्ता प्रदर्शनीले सतही रूपमा भए पनि इतिहासका घटनाको उजागर गर्ने बताउँछन्। प्रदर्शनीले अवलोकनकर्ताको रुचिअनुसार छोटो झलक दिने उनको भनाइ छ। “कसैले कुनै डकुमेन्ट लामो समय हेरेर बस्दैन। त्यस्तोमा अस्मिताजीले गर्नु भएको जस्तो प्रदर्शनीले विगतमा भएका कार्यक्रमबारे जानकारी दिएको छ। विस्तृत जानकारी आवश्यक परे म्युजियममा अभिलेख छँदैछ, इच्छुकले आएर विस्तृतमा पढ्न सक्नु हुन्छ,” उनले भने।

प्रदर्शनीमा राखिएका अधिकांश सामग्री तारागाउँ म्युजियमकै आर्काइभका भएको अस्मिता बताउँछिन्। त्यसबाहेक पुरातत्व विभाग, विभिन्न मन्त्रालय, काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी)लगायत संस्थाको सहयोग लिएर सामग्री संकलन गरिन्।

प्रदर्शनीको लागि उनले सन् २०२२ बाट तयारी थालेकी थिइन्। यसबीच म्युजियम तथा पुरातत्व विभागले निकालेको ‘एन्सियन्ट नेपाल’ जर्नलको अध्ययन गरिन्। त्यो समय थकानयुक्त भए पनि ज्ञानबर्धक भएको उनी बताउँछिन्।

सम्पदाका विषयमा हुने यस्ता प्रदर्शनी प्रायः काठमाडौँमै हुन्छ। यसबारे अस्मिता पनि चासो व्यक्त गर्छिन्। उनी भन्छिन्, “काठमाडौँ उपत्यकाका सम्पदाको अध्ययन वृहत छ। परिवेश र दर्शक केन्द्रित हुँदा यसपटकको प्रदर्शनीलाई उपत्यकाका सम्पदामा सीमित गरेँ। उपत्यकाबाहिरको अध्ययनलाई अर्को प्रोजेक्टमा समेट्ने छु।” 

उनले दुई वर्षअघि तारागाउँ म्युजियममा अभिलेखनकर्ताको रूपमा काम शुरू गरेकी थिइन्। त्यसपछि उनलाई अभिलेखनकै क्षेत्रमा केही गर्ने रुचि पलायो। पहिलो प्रदर्शनीले अभिलेखनतर्फको यात्रामा आफूलाई थप जिम्मेवार बनाएको उनी बताउँछिन्।

आफूले भोगेको बाल्यकालका गतिविधिले पनि अभिलेखनतर्फ रुचि जागेको अस्मिता बताउँछिन्। बाल्यकालमा उनी पोस्टकार्ड संकलन गर्थिन्। परिवारिका ज्येष्ठ सदस्यसँग पुराना स्मृति सुन्थिन्। “म हजुरबा, आमा, काकीसँग बस्दा उहाँहरूको समयको कहानी जान्न मन गर्थें। शायद हिजोको मेरो रुचिले नै आज करिअरको बाटो डोहोर्‍याउने माध्यम बन्यो।”


सम्बन्धित सामग्री