Tuesday, April 30, 2024

-->

सम्पदालाई केले जीवन्त राख्छ?

आममानिसले असनलाई नुनदेखि सुनसम्म पाइने व्यापारिक केन्द्र ‘ओपन डिपार्टमेन्टल स्टोर’को रूपमा बुझ्छन्। असनबासीका लागि आफ्नो बासस्थान र पर्व मनाउने स्थान हो। मीनरत्नका लागि भने क्यामराको ‘अब्जेक्ट’ हो।

सम्पदालाई केले जीवन्त राख्छ
तस्वीर: प्रबिता/उकालो

२०४६ सालको जनआन्दोलनका कारण प्रजातन्त्रको पुनर्बहाली घोषणा भयो र टुँडिखेल खुल्लामञ्च परिसरमा खुशियाली मनाउन आममानिसको भीड उर्लियो। सोही भीडबीच उठेर एक महिलाले नारा लगाइन्। फोटो पत्रकार मीनरत्न बज्राचार्यको क्यामराले भीडबाट जुरुक्क उठेर नारा लगाइरहेकी ती महिलालाई कैद गर्‍यो। 

मीनरत्नको करिअरको ‘बेन्चमार्क’ मानिने उक्त फोटोले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि चर्चा कमायो। त्यस फोटोलाई ‘पिपुल्स पावर’को सशक्त बिम्बको रूपमा लिइन्छ। मीनरत्नले उक्त फोटोलाई ‘डन अफ डेमोक्रेसी’ अर्थात्, ‘प्रजातन्त्रको उदय’ नाम दिएका छन्।

मीनरत्नले खिचेको तस्वीर।

गएको चैत ८ गते ‘हेरिटेज एज प्लेस मेकिङ इन्टरनेशनल स्प्रिङ स्कुल २०२४’ को दोस्रो सत्रमा मीनरत्नले सोही फोटोको अर्थ फरक रूपमा व्याख्या गरे। फोटो खिचिएको ठाउँ टुँडिखेलस्थित खुल्लामञ्च आफैँमा विभिन्न कालखण्डको राजनीतिक परिवर्तनको साक्षी हो। नेपाल भाषामा टुँडीखेललाई तिंख्य अर्थात् ‘तिं’ भनेको नर्कट र ‘ख्यः’ भनेको खुला स्थान हो। नर्कटको झाडी पाइने खुल्ला स्थानलाई टुँडिखेल भनिएको जानकारहरू बताउँछन्।

यो खुला ठाउँलाई काठमाडौँको भूमिगत जल भण्डारको पुनस्र्थापना स्रोत पनि मानिन्छ। त्यस्तै यसले महांकाल, दुईमाजु, गुरुमापालगायत अमूर्त सांस्कृतिक सम्पदालाई समेटेको छ। लामो समयदेखि टुँडीखेल अतिक्रमणविरुद्ध नागरिक अभियन्ताहरू आन्दोलनमा जुट्दा मीनरत्न पनि सँगै देखिन्छन्। 

‘प्लेस मेकिङ’ अर्थात् स्थान निर्माणबारे मीनरत्नले आफ्नै विगतलाई उदाहरण दिएर अर्थाए।

के हो प्लेस मेकिङ?
स्थानले भूगोललाई जनाउँछ। मान्छेसँग जोड्ने हो भने स्थानले हिँडडुल गर्न र बस्न पाउने धरातल र वातावरणलाई जनाउँछ। अमूर्त रूपमा परिभाषित गर्दा यो ‘सोच्न पाउने परिस्थिति’ पनि हो। 

सोही स्थानलाई सम्पदाको अवधारणाले हेर्दा कस्तो देखिन्छ र सम्पदालाई कसरी जीवन्त राख्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो, चैत ८ देखि भएको एक हप्ते ‘हेरिटेज एज प्लेस मेकिङ इन्टरनेशनल स्प्रिङ स्कुल २०२४’ कार्यक्रम।

‘प्लेस मेकिङ’को अवधारणाअनुसार कुनै पनि स्थानलाई पुनर्निर्माण, पुनःकल्पना अथवा पुनःआविष्कार गरी नवीन, सिर्जनात्मक तवरले जीवन्त, चलायमान सम्पदा बनाउनु हो। यस्ता स्थान सबैको लागि साझा र निरन्तर प्रयोगमा हुनुपर्छ।

मीनरत्नले असनको अन्नपूर्ण मन्दिरलाई उदाहरण दिए। उक्त मन्दिर परिसरलाई उनी विभिन्न स्वरूपमा देख्छन्। उक्त स्थान पाहांचःह्रे जात्रामा उल्लासमय बन्छ। त्यही स्थानमा दोस्रो जनआन्दोलन (२०६२/६३) मा तत्कालीन माओवादीहरू रुखका हाँगा बोकेर आउँदा मीनरत्नले फोटो खिच्न भ्याएका थिए।

असनको अन्नपूर्ण मन्दिर क्षेत्रमा मीनरत्नले खिचेका दुई फरक तस्वीर।

एउटै स्थान विभिन्न मानिसका लागि फरक बिम्बका रूपमा रहने उनी बताउँछन्। कतिपय बिम्ब साझा हुन्छन् भने कतिपय व्यक्तिगत। आममानिसले काठमाडौँको असनलाई नुनदेखि सुनसम्म पाइने व्यापारिक केन्द्रका रूपमा बुझ्छन्। अर्थात् यो ठाउँ ‘ओपन डिपार्टमेन्टल स्टोर’ हो। 

असनबासीका लागि आफ्नो बासस्थान र जात्रा, पर्व मनाउने स्थान हो। मीनरत्नका लागि क्यामराको लेन्समार्फत कहिले चाडको उल्लास त कहिले जात्रा र कहिले किनमेलमा आएको भीडको तस्वीर लिने ठाउँ हो। अर्थात्, क्यामराको ‘अब्जेक्ट’ हो।

हरिसिद्धिमा फागु र मोहमद्दिन सैफी
हरिसिद्धिको फागु पूर्णिमालाई स्थान विशेष विविध चरित्रको अर्को उदाहरण मान्न सकिन्छ। हरिसिद्धि भवानी मन्दिरमा योमरी पुन्ही र फागु पूर्णिमा गरी वर्षको दुई पटक ‘जल प्याँख’ अर्थात् जल नाच हुन्छ। बोलीचालीमा हरिसिद्धिलाई स्थानीयले ‘जल’ भन्छन्।

मन्दिरको परिसरबाट केही परको पोखरीमा बालबालिकाहरू फागु पूर्णिमा मनाउँदै थिए। पोखरीमा पौडी खेल्ने र एकअर्कालाई पानी छ्याप्ने गर्दै थिए। 
त्यहाँ नजिकै मोहमद्दिन सैफी बरफ बेच्दै थिए। फरक धार्मिक आस्थाका सैफीको लागि पनि जात्रा उत्तिकै महत्वपूर्ण थियो, जति हरिसिद्धिका स्थानीयका लागि। भारतको देहातबाट कामको खोजीमा ३० वर्षअघि सैफी नेपाल आएका थिए। अन्य समय असनमा पानमसला बेच्ने उनी जात्राको समयमा बरफको बाकस लिएर हिँड्छन्। 

सैफीलाई काठमाडौँ उपत्यकामा हुने जात्रा, पर्वहरूको नाम अझै कण्ठ भइसकेको छैन। तर कुन स्थानमा कहिले जात्रा हुन्छ थाहा छ। हरिसिद्धिपछि भोलिपल्टै बोडेको जात्रामा जाने उनले बताए। स्थानीयका चाडपर्व उनका लागि व्यापारको अवसर हो। अर्थात्, बजार हो। यस्ता अवसरमा दैनिकभन्दा बढी व्यापार हुने आशाले उनी त्यहाँ पुग्छन्। यसले पनि स्थान र स्थान निर्माणको महत्त्व देखाउँछ। 

के हो जीवन्त सम्पदाको अर्थ?
सामान्य भाषामा पुर्खौंदेखि चलिआएको परम्परा, चाडपर्व, नाच, भाषा, विभिन्न मठमन्दिर, कथा, लोकश्रुति, रीतिरिवाज, भौतिक संरचनालगायतलाई सम्पदामा राखिएको छ। संस्कृति र सम्पदामा काम गरिरहेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था युनेस्कोले भनेको छ, “हाम्रा पुर्खाहरूबाट परम्परागत रूपमा प्राप्त गरी हाम्रा सन्ततीहरूमा हस्तान्तरण हुँदै आएका परम्परा एवं जीवन्त अभिव्यक्तिहरू जस्तैः मौखिक परम्परा, प्रस्तुति कला, सामाजिक अभ्यास, रीतिरिवाज, चाडपर्व, प्रकृति र ब्रम्हाण्डसँग सम्बन्धित ज्ञान तथा अभ्यासहरू एवं परम्परागत शिल्पकला निर्माण गर्ने ज्ञान तथा सीपहरू पनि (सम्पदामा) समावेश हुन्छन्।”

आँखाले देख्न सक्ने, छुन सक्ने जात्रा, पर्व, पहिरन, भौतिक संरचना मूर्त सम्पदामा पर्छन्। महसुस मात्र गरिने रीतिरिवाज, जीवनशैली, पूजाआराधनाका विधि, मन्त्र, कथन आदि अमूर्त सम्पदा हुन्। मूर्त र अमूर्त सम्पदाभित्रका आयाम विविध र विशाल छन्। 

जीवन्त सम्पदाले भने तमाम भौतिक संरचना, जात्रा, पर्व, झाँकी, पहिरन, रीतिरिवाज आदिको ज्ञान, अभ्यास, सीप र मुख्यतः त्यसको अभिव्यक्ति एक पुस्तामार्फत अर्को पुस्तामा व्यक्तिगत, पारिवारिक तथा समुदायिक हुँदै राष्टियस्तरमा हुने हस्तान्तरण र निरन्तरतालाई जनाउँछ। ऐतिहासिक कालखण्डदेखि सामाजिक मूल्यमान्यता निरन्तर चलिरहेका छन्। यी मान्यता, चलन, संस्कृति, भौतिक संरचना कसरी जीवन्त रहन्छन् होला? 

भारत कोलकाताकी सुदत्ता घोस भारतकै नाच्नी समुदायको विषयमा साउथ एशियन युनिभर्सिटीबाट विद्यावारिधि गरिरहेकी छन्। स्प्रिङ स्कुलकी सहभागी उनी सम्पदाको जीवन्तता ‘रेसिस्टेन्स’ अर्थात् प्रतिरोध र ‘रेजिलियन्स’ अर्थात् अनुकूलनसँगै गरिने सामनाले सबल हुने बताउँछिन्। 

बढ्दो शहरीकरण र आधुनिकतालाई आत्मसात गर्दै परम्परागत शैली र रहनसहनलाई उनी निरन्तरता र चलायमानको उदाहरण मान्छिन्। नेपाल टेक्नुअघि दक्षिण एशियाली भूगोलमा रहेका नेपाल र भारतको संस्कृति उस्तै होला भन्ने उनको अनुमान थियो। काठमाडौँ बसाइको शुरूआतमा पाटन दरबार क्षेत्रका परम्परागत शैलीका भौतिक संरचनाले उनी दंग थिइन्। दरबार परिसरका मन्दिरदेखि आममानिसका घर, चोक, गल्लीको बनावटले उनी मन्त्रमुग्ध भइन्।

चर्या नाच।

यद्यपि, यहाँको बसाइको उत्तरार्द्धमा उनको अनूभूति भिन्न रह्यो। “यहाँका परम्परागत भौतिक संरचना जीवन्त तब मात्र हुन्छन् जब ती सम्पदालाई मानिसको उपस्थिति र दैनिकीले लय प्रदान गर्छ,” उनी भन्छिन्, “मेरो विद्यावारिधिको अध्ययन गरिरहेको नाच्नी समुदायको अवस्था र यहाँ चर्या नृत्यमा महिलाको स्थान भिन्न र सह्रानीय छ।”

कुनै समय चर्या नृत्य पुरुष प्रधान थियो। नेवाः समुदायको यो नृत्य अहिले विनिता मगैया र मन्जु आले (भिन्न जातीय समुदाय)का महिलाले सिकिरहेका छन्। यो रुढीवाढी विचारको प्रतिरोध भएको उनले बताइन्। बढ्दो शहरीकरणबीच उपत्यकाका दरबार क्षेत्रका परम्परागत भवन शैली, मठमन्दिरले नयाँ गगनचुम्बी टावरको प्रतिरोध गरिरहेको उनको तर्क छ। 

हेरिटेज एज प्लेस मेकिङकी सहजकर्ता मोनालिसा महर्जन यसमा एकमत छिन्। उनी आफ्नो वरपरका हरेक वस्तु र चाललाई ‘एभ्रिडे हेरिटेज’ भन्न रुचाउँछिन्। मानिसको जीवनको अभिन्न अंगको रूपमा रहेको सम्पदा दैनिकीसँग जोडिने कारण ‘एभ्रिडे हेरिटेज’को अवधारणालाई आफूले आत्मसाथ गरिरहेको उनले बताइन्। मूर्त रूपदेखि भौतिक संचरनामा गाँसिएका मानिस, उनीहरूको चालचलन, रीतिरिवाजले सम्पदालाई चलायमान पार्ने उनको भनाइ छ। 

कसरी जीवन्त हुन्छ सम्पदा?
सम्पदा आफैँमा पूर्ण हुन सक्दैन। प्राडा अभि सुवेदी सजीव, निर्जीव प्रणाली तथा परिवर्तनशील रहेको जीवन चक्रलाई सम्पदा मान्छन्। उनी सम्पदा कुनै स्थान नभई स्थान निर्माणको प्रक्रिया र त्यसको उपज मान्छन्। 

नेवार समुदायले डबलीमा प्रस्तुत गर्ने नाटक, नाच मात्र नभई साँझबिहान गफगाफमा झुमिने बालकदेखि वुद्धसम्मको दैनिकीलाई उनी ‘पर्फमेन्स हेरिटेज’ मान्छन्। यद्यपि नाटक मञ्चन जस्ता गतिविधिले स्थानको जीवन्तता अझ बढाउने उनको तर्क छ। 

हेरिटेज एज प्लेस मेकिङकी अर्की सहजकर्ता तथा हाइडलबर्ग युनिर्भसिटीकी प्रोफेसर मोनिका मोटिन चर्या नृत्य, विभिन्न देवीसँग सम्बन्धित नाच, झिझिया, समा चखेवालगायत ‘पर्फमेन्स आर्ट्स’ले डबली, सडकजस्ता सम्पदा क्षेत्रको औचित्य बलियो बनाउने बताउँछिन्। पर्फमेन्स आर्ट्सले सम्पदालाई पूर्ण, जीवन्त बनाउने उनको तर्क छ।

काष्ठमण्डप पुनर्निर्माणकी आर्किटेक्ट तथा स्प्रिङ स्कुलकी सहजकर्ता विनिता मगैया चर्या नृत्य प्रशिक्षक हुन्। उनी सम्पदाको जीवन्ततालाई चर्या नृत्य जस्तै आफ्नो दिनचर्यामा हेर्छिन्।

स्प्रिङ स्कुलकी सहभागी पाकिस्तानकी शाहिरा पेशनानी सम्पदा जीवन्त हुन मानिसको बसोबासको निरन्तरता हुनुपर्ने बताउँछिन्। आफनो पुर्खौली गाउँ पाकिस्तानको गोदार हाल मानववस्ती शुन्य हुँदा त्यहाँका संरचना, सीप मृतजस्तै देखिन थालेको उनको भनाइ छ। त्यसैले सम्पदाको हस्तान्तरण र पुस्तान्तरण जरुरी हुने उनको भनाइ छ। पाकिस्तानबाट परिवारसहित बेलायत बसाइँ सरेकी शाहिराले आफ्ना परम्परागत सीप, कौशललाई बेलायतमै पनि एक पुस्तामार्फत अर्कोमा हस्तान्तरण गरिरहेको बताइन्। 

शाहिराको तर्क साँखुका भूपेन्द्रमान श्रेष्ठको जीवनशैलीसँग मिल्छ। उनी चित्रकार समुदायका होइनन् तर कलासंस्कृतिप्रतिको रुचि र अध्ययनका कारण उनी पौराणिक तथा पराम्परागत कथाका आधारमा चित्र बनाउँछन्। चित्रकार समुदायले बिस्तारै छोडिरहेको परम्परागत पेसालाई उनले धानिरहेका छन्। 

सम्पदा जीवन्ततामा लोक स्मृति र महिला
स्प्रिङ स्कुलकी अर्की सहभागी अस्ट्रेलियाकी तानिया जोन्सले सम्पदालाई लोक स्मृतिसँग तुलना गरेकी छन्। “अस्ट्रेलियामा आदिवासीको लागि राम्रो व्यवस्था छ। हामी प्रवासीका रूपमा आएहरूले त्यहाँ आफ्नो स्थानको केही पनि लैजान मिल्दैन। हामीसँग हाम्रो लोक स्मृति मात्रै छ,” उनले भनिन्।

स्टुर्ट हलले आफ्नो लेख ‘हुज् हेरिटेज’मा लोक स्मृति उच्च रूपमा चयनात्मक हुने बताएका छन्। जहिल्यै पनि बहुसंख्यकले के रुचाए, केलाई मान्यता दिइयो भन्ने नै लोक स्मृतिको रूपमा स्थापित हुने उनले उल्लेख गरेका छन्। यसले तानियाजस्ता आप्रवासीभन्दा पनि अस्टे«लियाका आदिवासीको सम्पदामै जोड दिन सक्छ।

अर्को अर्थमा बुझ्दा लोक स्मृतिमा उपनिवेशको प्रभाव हुन्छ। इतिहास कसले र कसरी लेखायो त्यसमा भर पर्ने हलको भनाइ छ। के हामीले मान्दै आएका चालचलन, रीतिरिवाज सबै शासक वर्गबाटै लादिएका र मान्दै आएको त होइन भन्ने प्रश्न पनि उठ्छ। 

यस बुझाइलाई मान्ने हो भने काठमाडौँ उपत्यकाको मल्लकालीन संरचनाका शैलीमाथि प्रश्न गर्न सकिन्छ। शहरी योजना विज्ञ तथा संस्कृतिविद् पद्मसुन्दर जोशी लिच्छवि तथा मल्लकालीन समयमा स्थानको वर्गीकरण, सीमाबारे चैत ८ गतेको आफ्नो ‘पब्लिक लेक्चर’मा भनेका थिए, “विशेषतः खुला दरबार क्षेत्र फराकिला थिए। त्यहाँ शासक (राजा) वर्ग बस्थे भने बजार क्षेत्रमा उच्च वर्ग तथा व्यापारीहरूकोको बसाइ रह्यो।”

समुदाय तहमा शाक्य, बज्राचार्यजस्ता कथित उच्च जाती बहाः बहीमा बस्ने चलन भयो। गल्ली, ननिजस्ता क्षेत्रमा ज्यापु समुदायलाई राखियो। त्यसो त, राजा जयस्थिति मल्लले कामको हिसाबमा वर्गीकरण तथा स्थानान्तरण गरेको इतिहास छ। 

सम्पदालाई जीवन्त राख्ने सवालमा महिलाको उपस्थितिलाई केन्द्रमा राख्छिन् जनजाति संगीतकर्मी पुष्पा पलाञ्चोके। हरिसिद्धि मन्दिरको प्रांगणमा हुने नाचमा पुरुष विशिष्ट रहँदा महिलाहरू पूजापाठ र अन्यको सेवामा सीमित रहेको उनको निष्कर्ष छ। यस्ता अमूर्त सम्पदाका गतिविधिमा भाग लिए पनि महिलाहरू व्याख्या तथा सुक्ष्म विश्लेषण गर्न सक्ने स्थानमा नभएको उनको भनाइ छ।

यस्ता स्थानमा कोही दृष्टिविहीन पुग्दा पुरुषकै आवाज मात्र गुन्जायमान हुने स्प्रिङ स्कुलकी सहभागी इटालीकी लिसाले बताउँछिन्। जर्मनकी टोफीले पनि यौनिक तथा अल्पसंख्यकको विषय यस्ता स्थानमा धेरै नसुनिने बताउँछिन्।

तीन जनाको निश्कर्ष समान छ– सम्पदा क्षेत्र पुरुषप्रधान छ र यो लामो समयदेखि यसरी नै चलिरहेको छ।

सामाजिक अनुसन्धानकर्मी समेत रहेका हेरिटेज एज प्लेस मेकिङका प्रमुख निरीक्षक सबिन निंलेखु सम्पदास्थलमा लैंगिक विभेद हुने प्रश्न उठिरहँदा अहिले महिलाका लागि उपयोगी पनि हुन थालेको तर्क दिन्छन्। हरेक शनिबार हाँडीगाउँको कोर क्षेत्रमा सवारी साधन निषेध गरिन्छ। कारण हाँडीगाँउको उक्त स्थानमा स्थानीय समूह बनेको र डबली, चोक, सडक छेउ, फल्चामा नेवाः खाजा, खानपिनको हाट बजार जस्तै लाग्ने गर्छ। यस्ता ‘फुड कोर्ट’ र हाटमा महिलाको संख्या बढी पाइन्छ। 

विकास अर्थशास्त्री मोहमद् आय्युब हाम्रा कतिपय सम्पदामा असमानताको बाछिटा समाज विकासको क्रमसँगै निरन्तर चलिरहेको बताउँछन्। उनी भन्छन्, “हाम्रा आँखाअघि देखिने जति पनि भौतिक संचरना, मठमन्दिर, खोलानाला, कला, सीप, कौशल, खानपिन, जीवनशैली, लोक कथन, जात्रापर्व छन् यी सबै युगौँदेखि पुराना सभ्यताको अवशेष हुन्।” 

ती परम्परा अँगाल्दा कतिपय चलनलाई समय सापेक्ष बनाइन्छ भने कतिपयलाई छोड्दै जानु पर्छ। यद्यपि, आधारभूत पाटोलाई मेटिन दिन नहुने उनी बताउँछन्।


सम्बन्धित सामग्री