Friday, April 26, 2024

-->

मूर्ति चोरहरूको ‘उपहार’ : ५३ वर्षदेखि शरीरमा गोली

५३ वर्षअघि साँखुस्थित बज्रयोगिनीको लोकेश्वर मूर्ति चोरिनबाट जोगाउँदा दुई जनाको ज्यान गयो। सूर्यमानको शरीरमा गोली दागियो। तर, सरकारले पक्राउ परेका चोरसमेत सार्वजनिक गरेन।

मूर्ति चोरहरूको ‘उपहार’  ५३ वर्षदेखि शरीरमा गोली
तस्वीरहरू : अमित मचामसी

काठमाडौँ– देब्रे तिघ्रामा गोली लागेर पनि सूर्यमान श्रेष्ठले थाहा पाएकै थिएनन्, उनी चोर लखेट्ने ध्याउन्नमा थिए। रगत बगेर पाइन्टको देब्रे बाहुला लफक्कै भिजेको थियो। दौडिन अप्ठ्यारो भएपछि उनले टर्च लगाएर यसो हेरे। आहो! रगतले लुछुप्पै भिजेको। बल्ल पो बेस्सरी दुखेको महसुस भयो। अनि पाइन्ट सारेर टर्च घाउतिर लगाए। त्यसपछि मात्र गोली लागेको थाहा पाए।

“त्यो रात लागेको गोली अझै मेरो शरीरभित्रै छ”, सूर्यमान श्रेष्ठ (८२) भन्छन्, “बज्रयोगिनी मन्दिरको मूर्ति त चोरबाट जोगाइयो, तर दुई जनाको ज्यान गयो। गोली लागेर बाँचेको मलाई पनि जिन्दगीभरि घाइते भएर बस्नुपरेको छ।”

साँखुस्थित बज्रयोगिनी मन्दिरको मूर्ति चोरबाट जोगाउँदा उनीसहित दुई जनालाई गोली लागेको थियो। २०२६ पुस १८ गते राति भएको उक्त घटनाको एक वर्षपछि गोली लाग्ने अर्का स्थानीय अष्टमान श्रेष्ठको मृत्यु भयो। मूर्ति चोरको गिरोह कतिसम्म शक्तिशाली थियो भने, चोरहरू पक्राउ गर्न अग्रमोर्चामा सक्रिय भूमिका खेल्ने साँखुकै कृष्णमान श्रेष्ठलाई केही वर्षपछि ठमेलको सातघुम्ती चोकमा गोली हानी हत्या गरियो।

चोरीबाट जोगिएको लोकेश्वरको मूर्ति

उनको हत्या चोरहरूकै गिरोहले गरेको साँखुबासीको दाबी छ। यो घटनाबारे प्रहरीले न अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्‍यो, न त परिवारलाई केही जानकारी नै गरायो। गोली लागेपछि सूर्यमानले भने चोर समात्न पाएनन्। ५३ वर्षअघिको घटना सम्झँदै उनी भन्छन्, “रगतले पाइन्ट भिजेको देखेपछि टर्चले घाउ नियालेँ। घाउ देख्ने बित्तिकै म ढलेँ। अर्धचेत अवस्थामा थिएँ होला, मानिसहरू मेरो शरीर कुल्चिएर हिँडेको थाहा पाइरहेको थिएँ। त्यसपछि भने निस्पट्ट अँध्यारो मात्र देखेँ। होस् खुल्दा वीर अस्पतालको बेडमा रहेछु।”

जब घण्टको आवाजले ब्युँझायो

५३ वर्षअघिको पुस १८ गते राति चिसो धेरै बढेको थियो। साँखुबासी न्यानो विछ्यौनामा घुस्रिएका थिए। धेरैजसो मस्त निन्द्रामा थिए। सूर्यमान भने सुतिसकेका थिएनन्। उनी अबेरसम्म उपन्यास पढेर बल्ल सुत्ने तरखर गर्दै थिए। मध्यराति अचानक बज्रयोगिनीको घण्ट तीन पटक बज्यो।

“त्यो बेला म उपन्यास पढ्न रुचि राख्थेँ। राति अबेरसम्म पढेर बसेको हुन्थे। त्यसदिन सुत्ने तरखर गर्दा तीन पटक घण्ट बजेको आवाज सुनियो। आमाले नजान भन्दै हुनुहुन्थ्यो। तर मैले जिद्दी गरेर टर्च बोकेर निस्किएँ”, उनी भन्छन्, “त्यहाँ हामीसँगै सात गाउँका मानिस जम्मा भएछौँ।”

घण्टको आवाजले साँखु मात्र नभई थली, डाँछी, भद्रावास, चाँगुसमेतका मान्छेहरू बज्रयोगिनी मन्दिरतर्फ हानिएका थिए। अनिष्ट हुन लागे उक्त घण्ट आफैँ बज्ने जनविश्वास छ। “बूढाबूढी, केटाकेटी र अशक्तबाहेक अरू मान्छे घण्ट बजेको सुनेर पनि मन्दिर नगए रगत छादेर मर्ने जनविश्वास छ। त्यस रात कसले घण्ट बजायो कसैलाई थाहा छैन। तर, सुन्ने जति सात गाउँका मानिस एकैपटक भेला भए”, उनी भन्छन्। 

उनले मन्दिर पुगेपछि थाहा पाए, त्यहाँ रहेको लोकेश्वरको मूर्ति चोरेर एक समूह भाग्न लागेको थियो। वरिपरिका धेरै मानिस भेला हुँदा चोरहरूले उल्टै गाउँलेमाथि आक्रमण गरेका थिए। तर, गाउँले पछि हट्ने सुरमा थिएनन्। चोरहरूमाथि जाइ लागे। चोर्न आएकाहरूले ज्यान जोगाउन गोली चलाए। एउटा गोली सूर्यमान श्रेष्ठको देब्रे तिघ्रामा पसेर त्यहीँ अड्कियो। अर्को गोलीले साँखुकै अष्टमान श्रेष्ठको हात छेड्यो। 

सूर्यमानले अस्पतालबाट फर्किएपछि मात्र थाहा पाए, साँखुबासीले मूर्ति जोगाएछन्। मूर्तिचोरसहित गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएछन्। स्थानीय प्रकाशमान श्रेष्ठका अनुसार, चोरहरू भाग्ने क्रममा गाडी साँखुकै धुँला टोलमा दुर्घटनामा परेको थियो। स्थानीयले चोरहरूलाई त्यहीँ समाते। चोर्न ल्याएको टोयोटा गाडीको नम्बर प्लेट नक्कली राखिएको त्यसपछि खुलेको थियो। बेकु नकर्मीले चोर समातेबापत दरबारबाट सय रुपैयाँ र कदरपत्र पाएका थिए।

बा अ ६७५ नम्बरको सक्कली नम्बर प्लेटलाई बा अ ४९७ नम्बरको नक्कली प्लेटले छोपिएको थियो। प्रहरी नियन्त्रणमा पुगेका ती व्यक्ति को थिए भनेर सरकारले कहिल्यै सार्वजनिक गरेन। न त त्यो मुद्दा अदालतमा नै पुग्यो।

चोरको समूह चोरीको लागि राम्रै तयारीका साथ आएको थियो। गाडीमा बँदेलको मासु र पैसा प्रशस्तै थियो। “सायद, मानिसलाई पैसा र कुकुर वा अन्य जन्तुलाई भए मासु दिएर अलमल्याउने योजना उनीहरूको थियो”, साँखुका स्थानीय प्रकाशमान भन्छन्।

नेपालको मूर्ति चोरीको इतिहासमा यो सबैभन्दा ठुलो घटना भएको मल्ले के सुन्दरले कान्तिपुरमा लेखेको ‘हराएका मूर्ति, फेला परेका मूर्ति’ शीर्षकको लेखमा उल्लेख गरेका छन्।

राजासमेत हेर्न आए, तर उपचार भएन

गोली लागेर बेहोस भएका सूर्यमानलाई स्थानीयले राति नै वीर अस्पताल पुर्‍याएका थिए। होसमा आउँदा उनको घाउमा सामान्य मलमपट्टी मात्र गरिएको थियो। रगत बग्नसमेत रोकिएको थिएन। गोली निकाल्ने त सुरसार नै थिएन।

गोली लाग्ने उनी र अष्टमान दुवैलाई वीर अस्पतालमा राखिएको थियो। भर्ना भएको चार–पाँच दिनपछि तत्कालीन राजा वीरेन्द्र पनि हेर्न गएका थिए। त्यसपछि राम्रो उपचार हुने आशा थियो। “तर, त्यहाँ राम्रो उपचार हुने छाँटकाँट नै देखिएन। गोली ननिकाल्दा रगत बग्न रोकिएको थिएन। हामी अधुरो उपचार पाएर फर्कियौँ”, सूर्यमान भन्छन्।

त्यसताका साँखुकै जोगमेहर श्रेष्ठ सहायक मन्त्री थिए। उनीसँग पनि कुरा पुर्‍याइएको थियो। उपचारको आश्वासन पनि पाएका थिए। त्यसैले दुवै घाइते केही आशावादी थिए। त्यो आशा यथार्थमा भने कहिल्यै परिणत भएन। बरु, गोली लागेका अष्टमानले केही वर्षपछि त्यही चोटको कारण ज्यानै गुमाए।

सूर्यमानलाई लाग्छ, मूर्ति चोरहरूले दुवै जनाको मृत्यु चाहेका थिए। त्यसो हुँदा घटनाको बलियो प्रमाण नष्ट हुन्थ्यो। उनीहरूको पहुँच राज्यका उच्च पदाधिकारीसम्मै भएको ठहर सूर्यमानको छ। “राज्य नै नलागेको भए बहुमूल्य मूर्ति जोगाउने हाम्रो उपचार र सम्मान दुवै हुन्थ्यो होला। हामी त मर्न पो छाडिएका रहेछौँ”, उनी भन्छन्, “बिनासुबिस्ता कष्टसँग भए पनि यति लामो बाँच्न पाउनु उनै बज्रयोगिनी माईको कृपाले हो।”

घटना भएको साल उनले राजा वीरेन्द्रबाट तक्मा र प्रमाणपत्र पाए । उपचार हुन नसकेको पीडा छँदै थियो। वीर अस्पतालबाट फर्किएपछि उनले मन्त्री जोगमेहर श्रेष्ठलाई उपचार गरिदिन पटकपटक अनुरोध पनि गरे। आश्वासन पनि पाए। तर न उपचार पाए, न त आर्थिक सहयोग नै।

व्यक्तिगत रूपमा उपचार गराउन अस्पताल जाँदा पनि उनी निराश हुनुपर्‍यो। अस्पतालहरूले ‘माथिको आदेश’ भन्दै उपचार गर्न मानेनन्। तर, माथिबाट आदेश दिने को थियो उनले थाहै पाएनन्।

चोरी गर्ने समूहले पनि उनलाई उपचारको लोभ देखाएको थियो। उपचारका लागि १० लाख रुपैयाँ दिने, तर उनले चोरीको घटनाबारे कतै बयान नदिने शर्त राखिएको थियो। यो प्रस्तावबारे उनले मन्त्री श्रेष्ठसँग छलफल पनि गरे। सरकारले नै उपचार गर्ने आश्वासन पाएपछि उनी चुपचाप बसे। “मूर्ति चोरीमा दरबारकै हात थियो भन्ने पनि सुनेको छु”, उनी भन्छन्, “उपचार नहुँदा म त जेनतेन काम गर्न सकेँ, तर मेरो सखा अष्टमानलाई अझ अन्याय भयो। किसानी गरेर पेट पाल्दै आएका उनको हात काम नलाग्ने भएको थियो। काम गर्न नसक्दा गाउँमा माग्दै खानेबाहेक उनीसँग विकल्प भएन।”

केही समयपछि एक जना चिनजानको व्यक्तिबाट सैनिक अस्पतालमा उपचारको लागि सिफारिस भयो। तर, चिकित्सकले गोली निकाल्न नसकिने हुँदा त्यतिकै छाड्न सुझाव दिए। “तिघ्रा छेडेको गोलीले हड्डीलाई नछोइ मासुभित्रै खाँदिएर बसेको रहेछ”, सूर्यमान भन्छन्, “त्यसपछि मैले गोलीलाई पनि मेरो शरीरकै एउटा भाग स्वीकार गरेँ। म गोलीसहितको मान्छे भएर बाँचेको छु।” 

त्यसपछि उनले अस्पतालमै जागिर गर्न थाले। तर, केही समयमा नै उनको सरुवा भयो। कामको चाप पनि बढ्दै गयो। उनले हिम्मत हारे, र राजीनामा दिए। अनि, इन्द्रचोकमा चिनजानका साहूको घडी पसलमा काम गर्न थाले। करिब तीन वर्ष काम गरेपछि खेतीकिसानीतिरै फर्किए। 

आठ वर्षयता उनी नारायणटारमा जुत्ता तथा कपडा पसल खोलेर बसेका छन्। अहिले त उनको दाहिने खुट्टा पनि पूर्ण सबल छैन। २०७१ सालमा दुर्घटनामा परेर गम्भीर चोट लाग्यो। दाहिने भागको कम्मरदेखि खुट्टासम्मै स्टिलको पाता राखिएको छ।

मूर्ति जोगाउन खाली हात बन्दुकधारीको पछि दगुर्दा उनी अल्लारे थिए। अहिले उमेरले ८० वर्षको नेटो कटिसकेको छ। ५३ वर्ष दुःखकष्टमा बिताए। उनले राज्यबाट धन–सम्पत्ति होइन उपचार मात्र खोजेका थिए।

“देशको पुरातात्त्विक सम्पदाको संरक्षणमा हामीले देखाएको साहसको मूल्य यही नै हो त?” उनी प्रश्न गर्छन्।


सम्बन्धित सामग्री