Tuesday, May 07, 2024

-->

हराएर साढे दुई दशकअघि नेपाल फर्किएको उमामहेश्वरको मूर्ति पुनःस्थापनाको पर्खाइमा धुलिखेलवासी

जर्मनीको बर्लिनबाट फर्काइएको मूर्ति काठमाडौँबाट २५ किलोमिटर दूरीमा पर्ने धुलिखेलको वः टोल पुग्न सकेको छैन। बर्लिनस्थित एक निजी संग्रहालयमा फेला परेको मूर्ति पाटन दरबार संग्रहालयमा राखिएको छ।

हराएर साढे दुई दशकअघि नेपाल फर्किएको उमामहेश्वरको मूर्ति पुनःस्थापनाको पर्खाइमा धुलिखेलवासी
उमामहेश्वरको असली मूर्ति र त्यसको प्रतिरूप। तस्वीर: किसन पाण्डे र कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– धुलिखेलकी सरस्वती श्रेष्ठ (६७) को जन्म धुलिखेल अस्पताल रहेको क्षेत्रमा भयो र विवाह यहीँको पुरानो नेवार बस्ती वः टोलमा भयो। वः टोल धुलिखेलको पुरानो बस्ती हो भने अस्पताल क्षेत्र मूल बजारभन्दा बाहिर पर्छ। यही टोलबाट ४० वर्षअघि उमामहेश्वरको मूर्ति हराएको थियो।

विवाहपछि श्रीमानको कामको सिलसिलामा २७ वर्ष धनुकटामा बिताएर सरस्वती पुनः धुलिखेल नै फर्किइन्। उनी धनकुटा जानुअघि नै वः टोलबाट हराएको मूर्तिको चर्चा हुन्थ्यो। विदेश पुर्‍याइएको उक्त मूर्ति नेपाल फर्काइएको करिब साढे दुई दशक भइसकेको छ। तर अझै धुलिखेल पुग्न सकेको छैन।

सरस्वतीले मूर्ति देखेकी छैनन्, त्यसबारे सुनेकी मात्र हुन्। उनलाई एकपटक मूर्ति देख्न र पूजा गर्न मन छ। “मूर्ति ललितपुर पाटनको एक ठाउँमा छ रे,” उनी भन्छिन्, “यहाँबाट केटाहरू लिन जाने भनेको त सुन्छु तर अहिलेसम्म ल्याएको छैन।” 

धुलिखेलको वः टोलको हिटी (धारा) बाट ४० वर्षअघि हराएको उमामहेश्वरको मूर्ति २४ वर्षअघि नेपाल फर्किएको हो। २०३९ सालमा रातको समयमा मूर्ति चोरी भएको थियो। जर्मनीको बर्लिनस्थित म्युजियम अफ इन्डियन आर्टबाट फर्काइएको मूर्ति काठमाडौँबाट करिब २५ किलोमिटर दूरीमा रहेको धुलिखेलको वः टोल पुग्न सकेको छैन। त्यसलाई पाटन दरबार संग्रहालयमा राखिएको छ। मूर्ति बर्लिनस्थित एक निजी संग्रहालयमा फेला परेको थियो।

उक्त मूर्ति लैनसिंह वाङ्देलको पहलमा फिर्ता भएको हो। वाङ्देलले मूर्ति पहिचान गरेपछि २०५६ सालमा लेखक तथा पत्रकार कनकमणि दीक्षितसमेतको प्रयासमा नेपाल फर्काइएको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु बताउँछन्। त्यतिबेला ब्यान्जु धुलिखेलका उपप्रमुख थिए। त्यहाँ राख्न सुरक्षाको समस्या हुने भन्दै मूर्ति पाटनको संग्रहालयमै राखिएको उनी सम्झन्छन्। 

उमामहेश्वरको यो मूर्ति लिच्छविकालीन हो। मूति १२औँ शताब्दीको भएको बताइन्छ। त्यसलाई फर्काएर ढुंगेधाराजस्तो खुला ठाउँमा राखिए फेरि नहराउला भन्न नसकिने प्रमुख ब्यान्जु बताउँछन्। सुरक्षाको विषयमा संवेदनशील हुनुपर्ने उनको भनाइ छ। “त्यत्तिकै खुला स्थानमा मूर्ति राख्न सकिँदैन। फिर्ता ल्याएर पनि कहाँ राख्ने? चोरी भएमा को जिम्मेवार हुने?” उनी भन्छन्।

मूर्ति चोरी भएको स्थान पहिलेदेखि नै खुला क्षेत्र रहेको स्थानीय सुजन गनेजु बताउँछन्। उक्त मूर्ति रहेको हिटी (धारो) उनको घरबाट सामुन्नेमा छ। 
गनेजुका अनुसार धाराको माथि लस्करै सूर्य, नारायण र उमामहेश्वरका मूर्ति छन्। अहिलेको उमामहेश्वरको मूर्ति तीन वर्षअघि राखिएको रिप्लिका (उस्तै देखिने गरी बनाइएको) हो। रिप्लिका मात्र देखेका उनले पनि वास्तविक मूर्ति देख्न पाएका छैनन्।

मूर्ति कहिले र कसरी चोरी भयो भन्ने कहानी मात्र सुनेको गनेजु बताउँछन्। २०५७ भदौ १२ गते मूर्ति फेला परेर नेपाल ल्याइएपछि पाटनस्थित संग्रहालयलाई हस्तान्तरण गरिएको समाचार पढ्न पाए पनि मूर्ति नदेखेको उनी बताउँछन्।

उत्खननपछि धुलिखेलको व: टोलस्थित पुरानो हिटी जहाँको पर्खालमा देखिने उमामहेश्वरको मूर्ति हराएको मूर्तिको प्रतिरूप हो। तस्वीर: किसन पाण्डे/उकालो

आफ्नो घरअघिको हिटीमा मूर्ति पुनःस्थापना भएको हेर्न उनी लालायित छन्। तर, सुरक्षाको विषयमा उनी विश्वस्त छैनन्। “बल्लबल्ल फर्किएको मूति कसैको मिलोमतोमा फेरि हरायो भने के गर्ने? यहाँबाट तल हरिसिद्धि मन्दिरभित्रको मूर्ति त चोरेर लगेका छन्,” उनी भन्छन्।

स्थानीय र जनप्रतिनिधिबीच जुटेन सहमति
धुलिखेल वः टोलका स्थानीयले मूर्ति फिर्ता ल्याउनुपर्ने माग बारम्बार गरिरहेका छन्। तर, सुरक्षाको विषयमा गएर कुरा अड्कने गरेको छ। धुलिखेलस्थित शिखलापुरको रोटर्‍याक्ट क्लबका अध्यक्ष अर्बिन माकजू मूर्ति फिर्ताको प्रयास भइरहे पनि जनप्रतिनिधिबाटै सहयोग नभएको बताउँछन्। 

चुनावको समयमा मूर्ति फिर्ता ल्याउने प्रतिबद्धतासहित भोट मागे पनि विजयी भएपछि सुरक्षालगायतका कुरा उठाएर आवश्यक पहल नगर्ने गरेको माकजूको भनाइ छ। “एक पटक चोरी भयो भन्दैमा फेरि चोरी होला भनेर हामी त्यत्तिकै बस्दैनौँ,” उनले भने, “पहिलेजस्तो बेवास्ता पनि हुने छैन।”

मूर्ति फिर्ता ल्याएर पहिलेकै स्थानमा राख्नुपर्ने माकजूको भनाइ छ। सुरक्षाको जिम्मेवारी सम्बन्धित निकायहरूले लिनुपर्ने उनी बताउँछन्। 

मूर्ति हेर्न उत्सुकतापूर्वक पर्खिइरहेकी धुलिखेलकी सरस्वती श्रेष्ठ। तस्वीर: किसन/उकालो

गत असार १८ गते ‘ब्रिटिस इन्स्टिट्युट अफ इन्टरनेशनल एन्ड कम्प्यारटिभ ल’ले आयोजना गरेको कार्यक्रममा मूर्तिसम्बन्धी अध्येता डा. एल्कर सेल्टरले सन् १९८० को दशकमा उक्त मूर्ति नेपालबाट चोरी भएर जर्मनी पुगेको बताएकी थिइन्। धुलिखेलको उमामहेश्वरको मूर्तिबारे अध्ययन गर्न उनी तीन वर्षअघि नेपाल आएकी थिइन्। उनका अनुसार त्यो मूर्ति बर्लिनको एक निजी संग्रहालयमा प्रदर्शनीमा राखिएको थियो। मूर्ति चोरी गरेर लगेको जानकारी नहुँदा संग्रहालयले खरिद गरेको उनको अध्ययनले देखाएको छ।

नेपालमा  मूर्तिहरूलाई वस्तु नभई भगवानको रूपमा मान्यता दिइनु र पूजा गरिनु सम्मानको विषय भएको उनले बताएकी थिइन्। यस्तो मूर्ति मन्दिरमा मात्र नभई सडकमा समेत पाइनु आचश्र्य भएको पनि उनको भनाइ थियो। विशेषतः नेपालका उमामहेश्वरकै विषयमा अध्ययन गरेकी उनले धुलिखेलवासीले मूर्ति फिर्ता लैजान चाहे पनि समुदायले मात्र निर्णय लिन नसकेको बताएकी थिइन्। यद्यपि, मूर्तिबारे हरेक नागरिकमा रहेको ज्ञान र चासोले नेपालीमा रहेको सम्पदाप्रतिको चेतनालाई देखाउने उनको भनाइ थियो।

युवाहरूले चासो दिए पनि स्थानीय सरकारले मूर्तिको सुरक्षाको जिम्मेवारी नलिँदा मूर्ति फिर्ता आउन नसकेको यहाँका ६० वर्षीय रंगनाथ ब्यान्जु बताउँछन्। केही वर्षअघि पाटन दरबार संग्रहालयमा मूर्ति देख्दा आफूलाई केटाकेटी हुँदाको सम्झना ताजा भएको उनको भनाइ छ। मूर्तिको ऐतिहासिक महत्व ठ्याक्कै थाहा नभए पनि नेवार बस्तीमा उमामहेश्वरको मूर्ति धेरै हुने गरेको उनी बताउँछन्।  

धाराको नजिकै हुनुपर्ने मूर्ति हाल संग्रहालयमा हुनु दुःखको कुरा भएको ब्यान्जु बताउँछन्। “हुन त धाराकै अस्तित्व राम्रो छैन। तीन वर्षअघि गरेको उत्खननमा पनि धाराको मुख्य भागबाहेक अन्य भाग हराएको थियो। यसो हुँदा मूर्तिको सुरक्षा गर्न गाह्रो त हुनेवाला नै छ,” उनले भने। 

धुलिखेलस्थित उत्पत्तिथलोमा राखिइएको उमामहेश्वरको मूर्तिबारेको जानकारी। तस्वीर: किसन/उकालो

त्यस क्षेत्रमा तीन वर्षअघि उत्खनन गर्दा पुुरानो ढुंगे धाराको अवशेष भेटिएको थियो। ती अवशेष अलिअलि गर्दै हराएको ब्यान्जु बताउँछन्। सिंगो धाराको मुखबाहेक अन्य भाग को कसले लग्यो थाहा नभएको उनको भनाइ छ।

पाटन संग्रहालयका सुरेश लाखेका अनुसार, जति पनि मूर्ति फिर्ता भएर यहाँ हस्तान्तरण भए, ती सबै आ–आफ्नो थलोमा फिर्ता भइसकेका छन्। “केही महिनाअघि पाटनस्थित रत्नेश्वर मन्दिरको टुँडाल फिर्ता आएको थियो। मन्दिरका पुजारीहरूले त्यो टुँडाल फिर्ता लैजाने प्रक्रिया अघि बढाइसके,” उनी भन्छन्, “फिर्ता भएका वस्तुमध्ये धुलिखेलको उमामहेश्वरको मूर्ति मात्र यहाँ बाँकी रहनेछ।”

धुलिखेल संग्रहालयमा राख्ने विकल्प
मूर्तिलाई खुला स्थानमा नराखी नगरपालिकाले बनाएको धुलिखेल संग्रहालयमा राख्ने विकल्पमा पनि छलफल भएको तर आफूहरू सहमत नभएको रोटयाक्ट क्लब शिखापुरका अध्यक्ष अर्बिन माकजू बताउँछन्। “संग्रहालयमै राख्नु छ भने बरु पाटनमै हुनु ठीक,” उनले भने, “त्यहाँ भए धेरै मान्छेले हेर्छन्, थाहा हुन्छ। धुलिखेलको नयाँ बन्ने संग्रहालयमा हेर्न को आउने?” 

यता, पाटन संग्रहालयका प्रमुख लाखे पनि मूर्ति फिर्ता लगेर पहिलेको स्थानभन्दा फरक ठाउँमा राख्ने प्रावधान नरहेको बताउँछन्। एउटा संग्रहालयबाट अर्को संग्रहालयमा मूर्ति पुग्नु तर्कसंगत नहुने उनको भनाइ छ। “मूर्तिको सुरक्षाको प्रत्याभूति भएपछि मात्र हामी फिर्ता दिनेछौँ, नत्र मूर्ति यही रहनेछ,” लाखेले भने।

यद्यपि, धुलिखेल नगरपालिका प्रमुख ब्यान्जुले पाटन संग्रहालयबाट मूर्ति हस्तान्तरण भएपछि स्थानीय तहको मातहतमा रहने बताउँछन्। समुदायमा छलफल गरेर उत्पत्ति स्थलमा राख्ने कि संग्रहालयमा राख्ने निर्णय गरिने उनको भनाइ छ।

स्थानीय सरकार, क्लब तथा समुदाय सहमतिमा आउन नसक्दा नेपाल फिर्ता भइसकेको मूर्ति साढे दुई दशकदेखि सम्बन्धित थलोमा पुग्न सकेको छैन। स्थानीय सरस्वती श्रेष्ठले जीवनमा एकपटक भए पनि उक्त मूर्ति देख्ने रहर भएको बताइन्।

हामीले उनलाई लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’को पाना पल्टाएर त्यही उमामहेश्वरको मूर्ति देखायौँ। तस्वीर हेरेर उनले भनिन् “ओहो, यस्तो पो हो मूर्ति! ठ्याक्कै त्यो डुप्लिकेटजस्तै।”


सम्बन्धित सामग्री