Friday, April 26, 2024

-->

कसले चोरेर विदेश लैजान्छ नेपालका मूर्ति?

नेपालमा २००७ सालपछि मूर्ति चोरी हुन थालेको इतिहासकारहरू बताउँछन्। २०४२ सालपछि चोरी भएका कतिपय मूर्ति फिर्ता आउन थाले पनि कसले चोरेको थियो र कसरी विदेश पुर्‍याइए भन्ने पत्ता लाग्दैन।

कसले चोरेर विदेश लैजान्छ नेपालका मूर्ति

काठमाडौँ– २०२६ पुस १८ गते मध्यरात।

८२ वर्ष पुगिसकेका सूर्यमान श्रेष्ठलाई समय (बजे) ठ्याक्कै सम्झना छैन। तर, त्यस रातको घटना उनको मानसपटलमा ताजै छ। घटनाले दिएको खत पनि शरीरमा छँदैछ।

त्यो दिन साँखु बज्रयोगिनी मन्दिरको मूर्ति चोरिनबाट स्थानीयले जोगाएका थिए।

“एक्कासि तीन पटक घण्टी बजेको आवाज सुनियो। त्यो आवाज साँखु उत्तरमा रहेको बज्रयोगिनी मन्दिरबाट आएको थियो। मध्यरातमा घण्टी बजे अनर्थ हुने मान्यता छ”, सूर्यमान भन्छन्, “यस्तो अवस्थामा वृद्धवृद्धा, अपांगता भएका र बिरामीबाहेक सबै मन्दिरमा जानु पर्ने कथन सानैदेखि सुन्दै आएका थियौँ। घण्टी बजेको सुन्नेबित्तिकै म पनि निस्किहालेँ।”

उनी मन्दिर पुग्दा वरपरको गाउँबाट समेत मान्छेहरू जम्मा भइरहेका थिए। चोरहरूले बज्रयोगिनी मन्दिरमा रहेको लोकेश्वरको मूर्ति लैजान लागेका रहेछन्। त्यसैबेला कसैले मन्दिरको घण्ट बजाइदिएछ। 

सूर्यमान पनि स्थानीयसँगै मिसिएर चोर लखेट्न थाले। त्यति नै बेला एक जनाले गोली चलायो। गोली सूर्यमानको देब्रे तिघ्रामा लाग्यो। उनी बेहोस भए।

उनले अस्पतालबाट फर्किएपछि मात्र थाहा पाए, साँखुवासीले मूर्ति जोगाएछन्। मूर्ति चोरसहित मूर्ति र उनीहरूले ल्याएको गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन सफल भएछन्। चोरहरूसँगको झडपमा अर्का स्थानीय अष्टमान श्रेष्ठ पनि घाइते भएछन्।

साँखुका स्थानीय तथा इतिहासकार प्रकाशमान श्रेष्ठका अनुसार, चोरहरू चढेर भागेको गाडी मन्दिरबाट करिब साढे एक किलोमिटर पर धुँला टोलमा पुग्दा घुम्तीमा ठोक्किएको थियो। त्यसपछि उनीहरू गाडीसहित समातिएका थिए। उक्त टोयोटा गाडीको नम्बर प्लेट नक्कली थियो। स्थानीय रामेश्वर श्रेष्ठका अनुसार बाअ ६७५ नम्बरको सक्कली नम्बर प्लेटलाई बाअ ४९७ नम्बरको नक्कली प्लेटले छोपिएको थियो। 

चाँगुनारायणबाट चोरी भएको सूर्यनारायणको मूर्ति। तस्वीर : लैनसिंह बाङदेलको पुस्तक स्टोलन इमेजेज अफ नेपाल।

इतिहासकार प्रकाशमानले भोलिपल्ट पुस १९ गते प्रकाशित गोरखापत्र अझै राखिरहेका छन्। गोरखापत्रमा प्रकाशित समाचारअनुसार पक्राउ परेका अभियुक्तमध्ये एक जना सोलुखुम्बु नाम्चेबजारका नुर ग्याङ दिङ भन्ने थिए। चोटपटक लागेका उनलाई पनि वीर अस्पतालमा उपचार गराइएको थियो। तर, स्थानीयले प्रहरीसमक्ष बुझाएका चोरहरू को थिए भनेर सरकारले कहिल्यै सार्वजनिक नगरेको साँखुवासीको गुनासो छ।

चोर समात्न सहयोग गर्नेमध्येका एक कृष्णमान श्रेष्ठको केही वर्षपछि ठमेलको सातघुम्तीमा गोली हानी हत्या भयो। हत्यारा को थियो, हालसम्म पत्ता लागेको छैन। अब पत्ता लाग्ने सम्भावना पनि नभएको प्रकाशमान बताउँछन्। तर, हत्यारा साँखुबाट मूर्ति चोर्न प्रयास गर्ने गिरोह नै भएको हल्ला साँखुभर फैलियो।

यस घटनामा देशकै उच्च पदाधिकारीको संलग्नता रहेको साँखुवासीको अनुमान छ। गोली लागेर घाइते भएका सूर्यमानको प्रारम्भिक उपचार वीर अस्पतालमा गरिए पनि खुट्टाको गोली निकालिएन। कुनै पनि अस्पतालले गोली निकाल्न नमानेको उनको भनाइ छ। अझै पनि उनी देब्रे तिघ्रामा गोली बोकेर हिँड्छन्।

यस्तै घटना २०३९ सालमा भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा पनि भएको थियो। मूर्ति चोर्न आएको समूह र मन्दिर सुरक्षार्थ बसेका प्रहरीबीच झडप भयो। तर, चोरहरू मूर्ति लैजान सफल भएको मन्दिरका मुख्य पुजारी चक्रधरानन्द राजोपाध्याय बताउँछन्। उक्त मूर्ति मल्लकालीन थियो। लैनसिंह बाङदेलको पुस्तक ‘स्टोलन इमेजेज अफ नेपाल’मा उक्त सूर्य भगवानको मूर्ति १५औँ शताब्दीको भएको उल्लेख छ।

आठ महिनाअघि पनि चाँगुनारायण मन्दिर परिसरको सत्तल निर्माणको क्रममा लापरबाही गर्दा लक्ष्मी नारायणको मूर्ति चोरी भएको पुजारी राजोपाध्याय बताउँछन्। मन्दिर परिसरकै किलेश्वरको मूर्तिसमेत केही वर्षअघि हराएको थियो। उक्त मूर्ति करिब ७९२ तोला चाँदीबाट बनेको थियो। 

२०६२ सालअघि हराएका मूर्तिको छैन अभिलेख
२०६२ कात्तिकमा बाजुरास्थित बडीमालिका मन्दिरबाट महिषासुर र देवी दुर्गाको गरी दुई थान मूर्ति चोरी भए, जसको उजुरी पुरातत्त्व विभागमा दर्ता भयो। यसअघि पनि यस्ता मूर्ति चोरी भएको अथवा नहराएको होइन, तर विभागमा उजुरी हुँदैन थिए।

गतवर्ष माघ १० गते ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको बालकुमारीको मूर्ति चोरी भयो। मन्दिरको चारैवटा ढोकाको ताल्चा ‘हाइड्रोलिक सिस्टम’बाट काटिएको थियो। उक्त मूर्ति लिच्छविकालीन रहेको सुनाकोठीका स्थानीय तथा बाग्मती प्रदेशसभा सदस्य राजकाजी महर्जन बताउँछन्। श्री बालकुमारी सुनागुठीले मूर्ति चोरको सुराकी दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेको थियो। गुठीले पुरातत्त्व विभागमा उजुरी पनि दिएको थियो। करिब २० दिनपछि खुमलटारस्थित करुणा मन्दिरको हाताभित्र बोरामा राखिएको अवस्थामा मूर्ति भेटियो। हराएपछि बिरलै भेटिने मूर्तिमध्ये यो पनि हो।

मूर्ति चोरी भएको उजुरी आए वा राष्ट्रिय दैनिक तथा ‘विश्वसनीय’ अनलाइन पोर्टलमा समाचार आए त्यसैलाई उजुरी मानेर तथ्यांक राख्ने गरिएको पुरातत्त्व विभागकी प्रमुख अधिकृत सुभद्रा भट्टराई बताउँछिन्।

चाँगुनारायणबाट हराएको लक्ष्मीनारायणको मूर्तिको रिप्लिका (बायाँ)। तस्वीर : अमित मचामसी/उकालो

पुरातत्त्व विभागसँग २०६२ सालअघि हराएका मूर्तिको अभिलेख नभएको विभागकी प्रमुख पुरातत्त्व अधिकृत भट्टराई भन्छिन्। प्राचीन स्मारक ऐन २०१३ सालमै आएपनि कुनैपनि सरकारी निकायले हराएका मूर्तिको अभिलेख राख्ने गरेको पाइँदैन। भट्टराई भन्छिन्, “संस्कृति र सम्पदाका विषयमा धेरै पछि मात्र चेत आएको हो। देशका विभिन्न भागमा मूर्ति हराएको हुन्छन्। सबैको लेखाजोखा राख्न सकिँदैन। सम्बन्धित क्षेत्रका स्थानीय तथा गुठीले उजुरी दिनुपर्छ। २०६२ सालपछि उजुरी दर्ता प्रणाली बनेको हो।” 

२००७ सालमा प्रजातन्त्र आएदेखि नै राजनीतिक अस्थिरता शुरू भएकाले समसामयिक तथा सांस्कृतिक पक्षको अभिलेख राख्ने काम ओझेलमा परेको भट्टराई बताउँछिन्। उनका अनुसार नेपालमा के–कस्ता पुरातात्त्विक महत्त्वका मूर्ति थिए भन्ने आधिकारिक तथ्यांक छैन। विभागसँग २०६३ सालयता हराएका २१६ थान मूर्तिको अभिलेख मात्र छ। तीमध्ये चारवटा भेटिएका छन्।

पुरातत्त्व विभागका पूर्वपुरातत्त्व अधिकृत श्यामसुन्दर राजवंशी नेपालमा मूर्ति चोरीको अभिलेख राख्ने चेतना लैनसिंह बाङदेलको पुस्तक ‘द स्टोलन इमेजेज अफ नेपाल’ प्रकाशित भएपछि मात्र भएको बताउँछन्। उक्त पुस्तक पहिलोपटक २०४५ सालमा प्रकाशित भएको थियो।

मूर्ति तथा कला सम्पदाको विषयमा आमजनमास, विभागदेखि मिडिया नै सचेत भएको धेरै नभएको  फौजदारी अपराधका जानकार तथा अधिवक्ता सञ्जय अधिकारी बताउँछन्। “८–१० वर्ष भयो मूर्तिकै विषयमा यसरी चर्चा हुन थालेको, नत्र कहाँ, कता, कुन बेला मूर्ति चोरी भएको भन्ने पनि पत्ता हुँदैनथ्यो,” उनी भन्छन्। 

कहिलेबाट चोरिन थाले मूर्ति?
२००७ सालपछि नेपाल अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला भयो। मूर्ति चोरी बढेको इतिहासकार डा.त्रिरत्न मानन्धर बताउँछन्। “घुमफिरका साथै गाँजाको लागि विदेशी पर्यटक काठमाडौँ धेरै आउन थाले। जताततै मन्दिर र कलाकृतिले सुसज्जित नेपाल खुला संग्राहालय जस्तो थियो,” डा. मानन्धर भन्छन्, “खुला सिमाना भएका कारण त्यस समय यस्ता कलाकृति नेपालबाहिर सजिलै लैजान सक्थे।”

मूर्तिमात्र नभई महत्त्वपूर्ण हस्तलिखित ग्रन्थ राणाकालीन समयदेखि नै चोरी पैठारी शुरू भएको डा. मानन्धर बताउँछन्। २००७ सालपछि भएको सहज आवतजावतले भने मूर्ति चोरी, तस्करीलाई प्रश्रय दिएको उनी बताउँछन्।

चोरी हुने मूर्तिहरू अवैध तरिकाले सीमा कटाइने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन्। उनका अनुसार रात्रिकालीन सवारीसाधनका चालक, सुरक्षा गार्डजस्ता रात्रिकालीन पेशामा रहेका व्यक्तिलाई चोरीको लागि खटाउने त्यसबेलाको आफ्नो अनुसन्धानले देखाएको उनको भनाइ छ।

“यस्ता गिरोहले चोरिएको मूर्तिको मुद्दा साम्य नभएसम्म देशभित्रै गुमराह गर्छन्,” पूर्वडीआईजी मल्ल भन्छन्, “मुद्दा बिस्तारै साम्य हुन थालेपछि विमानस्थल, सिमाना गाउँलगायतका विभिन्न माध्यमबाट सीमा कटाउँछन्।” प्राचीन स्मारक ऐन–२०१३ को कारण विमानस्थलबाट  मूर्ति चोरेर लैजान सहज नहुने भएकाले सीमानाकाबाट लगिने उनको भनाइ छ।

मूर्ति चोरीपछि पैठारीको अर्को सजिलो तरिका पार्सल तथा कार्गो पनि भएको मल्ल बताउँछन्। पार्सल पास गराएर कार्गोमार्फत पठाउन पुरातत्त्व विभागको क्युरियो शाखासमेतको साँठगाँठ हुनसक्ने उनी बताउँछन्। नेपालकै ऐन र विभिन्न सन्धि महासन्धिले मूर्ति विदेश लैजान बन्देज गरेको छ। मल्ल भन्छन्, “क्युरियो नगरी मूर्ति पास हुन्न। यस्तो अवस्थामा मूर्ति चोर र पास गर्ने बीच साँठगाँठ भए मात्र देशबाहिर जानसक्छ। क्युरियो र कार्गोमा भएको कमजोरीको कारण नेपालबाट धेरै मूर्ति चोरी भएर बाहिरिएका हुन्।”

उपत्यकाका खुला स्थानसँगै हुम्ला, जुम्लाजस्ता मानवबस्ती सघन नहुने उच्च पहाडी भेगमा रहेका मूर्ति चोरहरूको निशानामा पर्ने गरेको उनी बताउँछन्। द्वन्द्वकालको मौका छोपेर पनि धेरै मूर्ति हराएको उनको भनाइ छ।

पशुपति क्षेत्रबाट हराएको चतुर्मुख शिवलिंग। तस्वीर : स्टोलन इमेजेज फ्रम नेपाल

विमानस्थलबाट पुरातात्त्विक महत्त्वका वस्तु नेपालबाहिर पठाउन पुरातत्त्व विभागबाट क्युरिओ गरी छाप लागेको हुनुपर्ने एक कर्मचारीको भनाइ छ। ती कर्मचारी भन्छन्, “मूर्ति चोर्ने गिरोह यति सशक्त थिए कि उनीहरू एयरपोर्टको बाटो नभई अन्य चोर बाटोबाट सजिलै विदेश पुर्‍याइदिन्थे। 

कुनैबेला विदेश पठाउने क्युरिओको प्लास्टिकको खोलमा छाप लगाइन्थ्यो। चोर गिरोहका सदस्यले छाप लागेको खोलमा उस्तै अर्को मूर्ति हालेर पनि विदेश पठाउने गरेको सुनिएको ती कर्मचारीको भनाइ छ।

किन फेला पर्दैनन् चोर?
छाउनीस्थित राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठका अनुसार खुला सीमा, संगठित गिरोह र राजनीतिक अस्थिरताजस्ता कारण पुरातात्त्विक महत्त्वका मूर्ति चोरी हुन्छ।

विभागको तथ्यांकअनुसार, २०४२ सालयता नेपालबाट चोरी भएका कतिपय मूर्ति फिर्ता आउन थालेका छन्। ती मूर्ति संग्रहालय वा निजी संकलकबाट फिर्ता आइरहेका कारण कसले चोरेको थियो र कसरी त्यहाँ पुग्यो भन्ने ठम्याउन नसकिने श्रेष्ठ बताउँछन्। “उनीहरूले पनि लिलामी तथा अनेकन माध्यमबाट किनेका हुन्छन्। मूर्ति चोरबाट थुप्रै च्यानल हुँदै संग्रहलयमा पुग्ने गर्छन्। यसकारण दशकौँअघि भएको चोरीको दोषी पहिचान हुन सक्दैनन्”, उनी भन्छन्।

अधिवक्ता सञ्जय अधिकारी मूर्ति चोरी संस्थागत र व्यक्तिगत दुवै किसिमले हुने बताउँछन्। उनी भन्छन्, “संस्थागत चोरीमा ठूलो सञ्जाल हुन्छ। उनीहरूको आफ्नै तहगत गिरोह हुन्छ। कोही पक्राउ परे भने पनि तिनीहरू भरिया भएको खुल्छ। वास्तविक डिलर अरू कोही हुन्छन्।” देशभर पुरातात्त्विक कलावस्तु कहाँ कति छन्, त्यसको अभिलेख नहुँदा मूर्ति चोरीका अपराधी मानव बेचबिखनका अपराधीभन्दा पनि भेट्टाउन गाह्रो भएको उनको भनाइ छ।

अधिवक्ता अधिकारीका अनुसार ‘युनिड्रेड कन्भेसन–१९९५’ मा नेपालले अझैसम्म नेपाल सहभागी छैन। यस सम्झौताले विशेषतः प्राचीन मूर्ति संकलन गरेर राखेका निजी संकलक र अक्सन हाउसबाट मूर्ति फिर्ता ल्याउन सकिने प्रावधान छ। उक्त कन्भेन्सनमा नेपाल सहभागी भए चोरी गर्ने गिरोहसम्म पुग्न सहज हुनसक्ने उनको अनुमान छ। सरकारले ध्यान नदिँदा उक्त कन्भेन्सनमा हस्ताक्षर नभएको उनले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक कर्मचारी पुरातत्त्व विभागले अग्रसरता लिए नेपालले उक्त सन्धिमा हस्ताक्षर गर्नसक्ने बताउँछन्। “यसमा विषयमा मन्त्रालयभन्दा पनि कार्यान्वयन गर्ने पक्ष अर्थात् विभागले पहल गर्नुपर्छ,” उनले भने।

डिसेम्बर २००२ मा युरोप र अमेरिकाका (बेलायत, अमेरिका, फ्रान्स, जर्मनी, रुस, स्पेन, इटाली, हल्यान्ड) गरी आठ देशमा रहेका १८ वटा संग्रहालयले ‘युनिभर्सल म्युजियम’ को सिद्धान्त निकालेका थिए। उक्त सिद्धान्तमा संसारको कुनै पनि देशको मूर्ति यथावत् देशमा राखेर मूर्ति ल्याएको देशको नाम उल्लेख भए पुग्ने उल्लेख छ। यो सिद्धान्तको व्यापक विरोधपछि, रद्द भएको अधिवक्ता अधिकारीले बताए। कतिपय धनी देशले तेस्रो देशबाट मूर्ति लगेर राखेको कारण यस्तो सिद्धान्त बनाइएको उनी बताउँछन्।

“मेरो एक जना साथी लन्डन म्युजियम जाँदा त्यहाँ विदेशका मूर्ति कति हो कति देखेछन्। ब्रिटिस म्युजियमको इतिहास भनेको मूर्ति चोरी–डकैतीको इतिहास भएको उनले मलाई बताएका थिए”, अधिकारीले भने।

पञ्चायतकालमा राजपरिवारले नै मूर्ति चोरी गर्ने गिरोह चलाएर विदेश तस्करी गरेको आरोप पनि लाग्ने गरेको छ। तर, मूर्ति चोरीमा राजपरिवारको संलग्नता हुँदै नभएको लागुऔषध तथा तस्करीको अनुसन्धानमा लामो समय खटिएका पूर्वप्रहरी निरीक्षक केशव खरेलको दाबी छ। राजनीतिक प्रतिशोधका लागि मूर्ति चोरीमा राजपरिवारलाई जोडेर अफवाह फैलाइएको उनले दाबी गरे। खरेल भन्छन्, “राजनीतिक अस्थिरताको समयमा राजतन्त्रलाई कमजोर बनाउन यस्तो हल्ला गरिएको थियो। प्रमाणबिना केही भन्न वा निष्कर्ष निकाल्न मिल्दैन।”

यस्तो छ विभागको अभिलेख

पुरातत्त्व विभागले २०६२ सालपछि राखेको तथ्यांकअनुसार १७ वर्षमा २४० मूर्ति चोरी भएका वा हराएका छन्। यो तथ्यांक विभागमा आएको उजुरी र जानकारीका आधारमा तयार गरिएको हो। नेपाल प्रहरीको २०४९ देखि २०७८ पुससम्मको अभिलेखअनुसार भने हालसम्म ५७८ मूर्ति तथा कलाकृति चोरी भएका छन्।

प्रहरीले हालसम्म चोरीमा संलग्न ९३ नेपाली, तीन भारतीय र एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। थप सात जना फरार रहेको जनाइएको छ। 

किन चोरिन्छन् मूर्ति?
प्राचीनकालका मूर्तिको कालखण्डअनुसार महत्त्व हुने इतिहासकार डा. त्रिरत्न मानन्धर बताउँछन्। उनी भन्छन्, ‘प्राचीनकालीन कलामा सोख राख्ने पश्चिमेली मुलुकका धनाढ्यहरूले यसप्रकारका मूर्ति संग्रह गरेर राख्ने गरेको सुनिन्छ। संसारका ठूला संग्रहालयका लागि विश्वभरका मूर्ति आफ्नो संग्रहमा हुनु पनि गर्वको विषय हुन्थ्यो। 

युनिभर्सिटी अफ ग्लासगोवकी आर्ट क्राइम एन्ड क्रिमियोलोजीकी लेक्चरर तथा नेपाल हेरिटेज रिकभरी क्याम्पकी सल्लाहकार डा. एमिलिन स्मिथका अनुसार कुनै समय उच्च वर्गका बेलायती र उत्तर अमेरिकीका लागि मूर्ति संग्रह एउटा सोख थियो। यस्ता मूर्ति अनेकन च्यानल तथा डिलर हुँदै उनीहरू कहाँ पुग्ने गर्थ्यो। नेपालले ‘कन्भेन्सन फर दि वर्ल्ड नेचुरल एन्ड कल्चरल हेरिटेज–१९७०’ मा हस्ताक्षर गरेसँगै आफ्ना पुरातात्त्विक महत्त्वका कलावस्तुको दाबी गर्नु राम्रो पहल भएको उनको भनाइ छ।

कानूनको अभावमा पहिले चोरीका धेरै घटना भएको स्मिथ बताउँछिन्। तर, अब कानून बनाएर पुरातात्त्विक महत्त्वका सामान बेचबिखन गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ। 

पूर्वप्रहरी निरीक्षक खरेलका अनुसार नेपालका उच्च पहाडी तथा तिब्बती भेगका धातुका मूर्ति चोरी हुने गरेको छ। यस्ता मूर्तिका मुटु, कलेजोलगायत विभिन्न भित्री अंग बहुमूल्य धातुले बन्ने कारण चोरीपैठारी हुने गरेको उनको भनाइ छ। यो सूचना अनुसन्धानको क्रममा मूर्तिसँग सम्बन्धित व्यक्तिबाटै जानकारी पाएको उनले बताए। 

हस्तकला महासंघका उपाध्यक्ष तथा प्रस्तर कला व्यवसायी नवीन शाक्य मूर्तिको ‘प्रतिमा लक्षण’ (मूर्तिको बसाइँ, हातको मुद्रा आदि)को आधारमा पनि चोरी हुने बताउँछन्। "लिच्छविकालीन समयमा ढुंगाको मूर्ति निकै बने। मल्लकालमा आएर ढुंगाभन्दा काठका कलाकृति बने", उनी भन्छन्, "लिच्छविकालका मूर्ति सादा र खासै बुट्टा हुँदैनन्। यद्यपि, मूर्तिको कुँदाइ भने परिपक्व हुन्छ। मल्लकालीन समयमा बुट्टामा धेरै ध्यान दिइयो। आधुनिक युगमा धातुका मूर्ति विशेष बन्न थालेका छन्।"

कलाकौशल र कालखण्ड दर्साउने पुराना मूर्ति चोरी हुने गरेका छन्। "हामीले बुझ्न नसकेको मूर्तिको महत्त्व विदेशीले बुझेका छन्। देशका राजामहाराजले मूर्तिको मौलिकता नबुझ्दा यस्ता मूर्ति उपहारमा दिएको उदाहरणसमेत छन्", शाक्य भन्छन्। कतिपय सुनले लेपन गरिएका मूर्तिको कलासँगै धातुको पनि मूल्य आउने हुनाले चोरको निशानामा पर्ने उनी बताउँछन्। 

लैनसिंह बाङलेदलको पुस्तक ‘स्टोलन इमेजेज् अफ नेपाल’का अनुसार, सबैभन्दा बढी चोरी उमामहेश्वरका मूर्ति भएका छन्। यस्ता १९ वटा मूर्ति चोरी भएको पुस्तकमा उल्लेख छ। यी मूर्ति लिच्छविकालीन हुन्।  

फौजदारी कानुनका जानकार सञ्जय अधिकारीका अनुसार २०१३ सालमा प्राचीन स्मारक ऐन बनेपछि १०० वर्ष पुरानालाई प्राचीन मूर्ति मानियो। उनका अनुसार प्राचीन मूर्ति वैध वा अवैध कुनै तरिकाले पनि विदेश लैजान मिल्दैन। नेपालबाट २०३०–२०४६ सालसम्म अधिक संख्यामा मूर्ति विदेश पैठारी भएका लैनसिंह बाङदेलको पुस्तक स्टोलन इमेजज् अफ नेपालमा पनि उल्लेख छ। यसको प्रमुख कारण त्यस समयको राजनीतिक अस्थिरता भएको अधिवक्ता अधिकारी बताउँछन्। उनी भन्छन्, "राजनीतिक अस्थिरतामा देश होमिँदा हाम्रो ध्यान आधारभूत, नागरिक र राजनीतिक अधिकारतर्फ गयो। पुरातात्त्विक वस्तुप्रतिको चेत कम हुँदा तस्करहरूले ठाउँ पाए।"

मूर्ति फिर्ताको इतिहास: ३७ वर्षमा ९३  मूर्ति फिर्ता
पछिल्लो चरणमा अवैध रूपमा चोरी भएका मूर्ति फिर्ता हुने क्रम बढेको छ। गत भदौ ९ गते पुरातत्त्व विभागले लन्डनस्थित मेट्रोपोलिटन पुलिसको सहकार्यमा १७–१८औँ शताब्दीको कलात्मक तोरण र १६–१७औँ शताब्दीको प्रस्तरबाट निर्मित नमस्कार मुद्रामा बसेको भक्तको मूर्ति फिर्ता ल्याएको थियो। मूर्ति पुरातत्त्व विभागमार्फत राष्ट्रिय छाउनी संग्रहालयलाई हस्तान्तरण गरिएको छ। 

चोरी भएको काठको तोरण काठमाडौँको वसन्तपुरस्थित कुमारी बहालको हो। कुमारी घर व्यवस्थापन समिति सदस्य तथा कुमारीका सुसारे गौतमरत्न शाक्यका अनुसार उक्त कलात्मक तोरण २०६४ सालमा चोरी भएको थियो। नमस्कारको मुद्रामा रहेको प्रस्तर निर्मित मूर्ति भने काठमाडौँ महानगरपालिका–२३ स्थित मञ्जुश्री मन्दिर नजिकैको ओम बहालबाट २०३७ सालमा हराएको थियो। 

डा. त्रिरत्न मानन्धरका अनुसार सन् १९७० मा भएको ‘कन्भेन्सन फर दि वर्ल्ड नेचुरल एन्ड कल्चरल हेरिटेज’ ले कुनै देशमा भेटिएको विदेशको मूर्ति सम्बन्धित देशलाई नै फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसमा नेपालले पनि हस्ताक्षर गरेको छ। यससँगै नेपालमा अन्य कुनै देशको मूर्ति रहेमा वा नेपालको आफ्नो मूर्ति अन्य देशमा रहे फिर्ता दिनु वा ल्याउनु पर्छ। यही सन्धिका कारण नेपालबाट हराएका मूर्ति र अन्य कलाकृति फिर्ता ल्याउन सहज भइरहेको हो।

२०४२ पुस २ गते पहिलो पटक नेपालमा मूर्ति फिर्ता भएका थिए। भारतको कलकत्ताबाट १३ थान धातुका मूर्ति फिर्ता भएका थिए। २०७९ भदौ ९ गतेसम्म ९३ वटा मूर्ति तथा कलाकृति फिर्ता भएका छन्। थप ४० मूर्ति फिर्ता हुने प्रक्रियामा रहेको ‘लस्ट आर्ट अफ नेपाल’ नामक फेसबुक पेजका सहजकर्ताले बताए। उनले आफ्नो नाम भने खुलाउन चाहेनन्।

लस्ट आर्ट्स अफ नेपालले कोरोना महामारी पश्चात् नेपालबाट हराएका अथवा चोरी भएका मूर्तिको पहिचान गरी फिर्ताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण र पहल गर्ने गरेको छ। यस वर्ष पहिलेका वर्षको तुलनामा मूर्ति फिर्ता हुने क्रम बढेको लस्ट आर्ट्स अफ नेपालले जनाएको छ। यस अभियानमा ‘नेशनल हेरिटेज रिकभरी क्याम्पेन’ले देशबाहिर रहेका संग्रहालय, निजी संकलक तथा अक्सन हाउसमा आवश्यक प्रमाण जुटाइ पुरातत्त्व विभागसँगको सहकार्यमा पुरातात्त्विक कला फर्काउन सहयोग गरिरहेको छ।

हालसम्म फिर्ता भएका ९३ मध्ये ५७ वटा राष्ट्रिय छाउनी संग्रहालयमा राखिएको छ। एउटा पाटन संग्रहालयमा छ। पाटन संग्रहालयका प्रमुख जयराम श्रेष्ठका अनुसार संग्रहालयको मातहतमा रहेको तीन वटा कलाकृति भने पाटनका यथावत् स्थानमा प्रतिस्थापन गरिएको छ। प्रतिस्थापन गरिएका कलाकृतिमा पाटनको टंगालस्थित हिटीमा रहेको उमा महेश्वरको मूर्ति (२०७४–१२–३१ मा फिर्ता भएको), पाटनकै यम्पी विहारमा रहेको तोरण (२०७८–११–१८ मा फिर्ता) र भिन्छेबहालमा रहेको बुद्धको मूर्ति (२०५६–५–२मा फिर्ता) छन्। 

संग्रहालयको तथ्यांक अनुसार २०६४ असार ७ गते ल्हासा तिब्बतबाट फिर्ता भएको २८ थान मूर्ति तथा चैत्य एकै ठाउँबाट एकै दिन फिर्ता भएका हालसम्मका सबैभन्दा बढी प्राचीन कलाकृति हुन्। ती मूर्ति तथा चैत्य डोल्पाको यत्सेर जाङचुमलिङ गुम्बाबाट हराएका थिए। फिर्ता भएका मूर्ति तथा चैत्य २०६४ असार १३ गते त्यहीँ पुनःस्थापना गरिएको थियो।

त्यसैगरी २०५३ चैत २९ मा लन्डनबाट एकैदिन १९ थान मूर्ति तथा प्राचीन सामग्री फिर्ता भएका थिए। यसरी फिर्ता हुनेमा प्रस्तरका अगस्त्यमुनि, श्रीधर विष्णु, टाउको नभएको विष्णु, काठको भैरवको मुखुण्डो, हस्तलिखित ग्रन्थलगायत थिए। हालसम्म तिब्बत र बेलायतसहित अष्ट्रेलिया, अमेरिका, तिब्बत, भारत, जर्मनी, इटाली, जर्मनीलगायत देशबाट मूर्ति फिर्ता ल्याइएको छ।

इन्फोमा प्रयुक्त तस्वीर लस्ट आर्ट्स अफ नेपालबाट साभार गरिएका हुन्।


सम्बन्धित सामग्री