Monday, April 29, 2024

-->

रूपरङ खलबलिएको चाँगुनारायण (तस्वीर कथा)

भूकम्प गएको झन्डै आठ वर्ष बितेपछि बल्ल मन्दिर मर्मत सम्पन्न भएको भनिएको छ। तर यो पहिलेको स्वरूपमा छैन।

रूपरङ खलबलिएको चाँगुनारायण तस्वीर कथा

काठमाडौँ– २०७२ साल वैशाख १२ गते। गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर भूकम्प गयो। भूकम्पले हजारौँको ज्यान मात्र लिएन, करोडौँको भौतिक संरचनासमेत एकैछिनमा ध्वस्त बनाइदियो। भक्तपुरको चाँगुनारायण मन्दिर पनि भूकम्पको धक्काले क्षतविक्षत बन्यो।

चाँगुनारायण नेपालको सबैभन्दा प्राचीन मन्दिर हो। यसको निर्माण लिच्छविकालमा भएको थियो। प्यागोडा शैलीमा बनेको चाँगुनारायण मन्दिर हिन्दू देवता विष्णुसँग सम्बन्धित अद्भूत् शिल्पकला र इतिहासले भरिएको विश्वसम्पदा स्थल हो। यो लिच्छविकालीन वास्तुकलाको नमूनाको रूपमा पनि परिचित छ।

विभिन्न समयमा यसको जीर्णोद्धार पनि हुँदै आएको थियो। पछिल्लो पटक राजा महेन्द्रले २०१९ सालमा चाँगुनारायण मन्दिरमा केही जिर्णोद्धार र रङरोगन गर्न लगाएका थिए। तर २०७२ सालको भूकम्पले यहाँको आकर्षक टुँडालसहित मन्दिरका केही भागसमेत बिगारिदियो। लामो समयसम्म चाँगुनारायण मन्दिरको मर्मत भएन।

भूकम्प गएको झन्डै आठ वर्ष बितेपछि बल्ल मन्दिर मर्मत सम्पन्न भएको भनिएको छ। तर यो पहिलेको स्वरूपमा छैन। मन्दिरमा लगाइएको रङले काष्ठकलालाई नै असर पारेको छ। पुनर्निर्मित वास्तु चीनको संस्कृतिसँग मिल्दोजुल्दो देखिन्छ। विष्णुको चित्रमा समेत उतैको झल्को आउँछ। त्यस्तै, रङको प्रयोग पनि उतैबाट अभिप्रेरित भएको देखिन्छ।

तर ६ दशकपछि मन्दिरमा प्राकृतिक किसिमको रङ नै लगाइएको चाँगुनारायण विकास समितिका अध्यक्ष तथा मुख्य पुजारी चक्र धरानन्द राजोपाध्याय दाबी गर्छन्। समितिले पुरातत्व विभागको अनुमति तथा चाँगुनारायण नगरपालिकासँग २०७९ असार २० मा सम्झौता गरी प्राकृतिक रङरोगन लगाउन थालेको उनले बताए।

तथापि रङरोगनपछि स्थानीयले समेत चाँगुनारायणमा आएको परिवर्तनको विरोध गर्न थालेका छन्। रङ गाढा भएकै कारण मन्दिर ‘झिल्के’जस्तो देखिएको छ। अहिले मन्दिरको साबिक अस्तित्व नै बदलिएको स्थानीयको गुनासो छ। चतुष्कोण आकारको यो मन्दिरको पेटी एक तलाको मात्र छ भने मन्दिर दुईतले छ।

मन्दिरका दुवै तलामा गरी ४० वटा टुँडालहरू छन्। प्रत्येक टुँडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन्। रङरोगन गर्ने क्रममा यी टुँडालहरु पनि रंगाइएका छन्। सात वर्षदेखि मन्दिरको हेरचार गर्दै आएकी कृष्णदेवी कर्माचार्यका अनुसार भूकम्पपछाडि धेरैजसो टुँडालको रङ उडेको थियो।

कोरोना महामारीको बेला जारी चाँगुनारायणको रङरोगन कार्य रोकिएर पछि पूरा गरियो। मन्दिरको साजसज्जा सकिएपछि भने धेरैले आँखा बिझाएको प्रतिक्रिया दिएका छन्। तर देशकै प्राचीनतम सम्पदालाई कीराले नखाओस् भनेर यसरी रंगाइएको मन्दिर रेखदेखमा क्रियाशील कर्माचार्य बताउँछिन्।


सम्बन्धित सामग्री