Saturday, April 27, 2024

-->

फलोअप
खोला पुरेर प्लटिङः वैधता दिलाउने जोडबलमा नगरपालिका, अख्तियारलाई नै गुमराहमा राख्ने प्रयास

व्यापारीको जग्गा प्लटिङलाई सघाउन आफै खोला पुरेर बाटो बनाउन लागिपरेको गोदावरी नगरपालिकाले अख्तियारलाई पठाएको जवाफमा भने अनौठा र अपत्यारिला दाबी गरेको छ।

खोला पुरेर प्लटिङः वैधता दिलाउने जोडबलमा नगरपालिका अख्तियारलाई नै गुमराहमा राख्ने प्रयास

काठमाडौँ– बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा प्लटिङका लागि बाटो निकालिदिएको ललितपुरको गोदावरी नगरपालिकाले खोलामाथि निर्मित बाटोलाई वैधता दिलाउने जोडबल तीब्र पारेको छ। त्यसका निम्ति नगरपालिकाले संवैधानिक निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत गुमराहमा पार्ने प्रयास गरेको छ। 

गोदावरी नगरपालिका वडा नम्बर १०, ११ र १३ को सीमा छुट्याउने फन्टे खोला पुरेर गोदावरी–१० मा भइरहेको ठूलो जग्गा प्लटिङका लागि बाटो निकालिएकोबारे उकालोमा गत माघ २८ गते विस्तृत रिपोर्ट प्रकाशित भएको थियो। व्यापारिक घराना ‘कन्टिनेन्टल ग्रुप’ अन्तर्गत्को कन्टिनेन्टल डेभलपर्स प्रालि तथा अर्को कम्पनी, शुभकामना ल्याण्ड एन्ड हाउजिङ प्रालिका निम्ति नगरपालिकाले नै खोला पुरेर बाटो निकाल्ने योजना कार्यान्वयनमा ल्याएको थियो। 

उकालोमा यो विषय उजागर भएको भोलिपल्टै केही स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खोला पुरिएकोबारे उजुरी गरेका थिए। सोही दिन नै (माघ २९ गते) अख्तियारले गोदावरी नगरपालिकालाई पत्र काटेर यसबारे विस्तृत विवरण माग गरेको थियो। अख्तियारको पत्रमा सोधिएको थियो, “गोदावरी नगरपालिका वडा नम्बर १० स्थित कन्टिनेन्टल डेभलपर्स प्रालि र शुभकामना ल्यान्ड एन्ड हाउजिङको जग्गा प्लटिङ अनुमति के कुन कार्यालयबाट दिएको हो? उक्त प्लटिङको बीचमा पर्ने खोलाको जग्गा अतिक्रमण भएको छ/छैन?” 

उकालोले खोला बगेको ३२ फिट चौडा क्षेत्रलाई सडक बनाउन बीचमा ह्युमपाइप राखेर खोला पुरिएको तथ्यसमेत उजागर गरेको थियो। अख्तियारले पनि ‘ह्युमपाइप राखे–नराखेको सम्बन्धमा समेत अध्ययन गरी फिल्डको अवस्था देखिने फोटोसमेत राखेर कार्यालयको राय प्रतिक्रियासहितको स्थलगत छानबिन प्रतिवेदन पत्र पाएको मितिले १५ दिनभित्र पठाउन’ भनेको थियो। 

नगरपालिकाको अनौठो दाबी र तर्क
अख्तियारले पत्र काटेपछि गोदावरी नगरपालिकाले वडा नम्बर १० का अध्यक्ष शेखर न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय अध्ययन टोली बनाएको थियो। त्यही टोलीले फागुन २४ गते अध्ययन प्रतिवेदन नगरपालिकामा बुझाएको थियो। नगरपालिकाका प्रवक्ता मिलन सिलवालले त्यो प्रतिवेदन अख्तियारमा बुझाइसकेको बताए। उनले भने, “प्रतिवेदनमा हामीले खोला पुरिएको होइन, त्यो खोल्सा मात्र हो भनेर प्रष्ट लेखेका छौँ।”

नगरपालिकाले यो प्रत्युत्तर पठाएर अख्तियारलाई नै झुक्याउन खोजेको छ। गोदावरी क्षेत्रमा फन्टे खोला अहिलेको नभई पुस्तौँ अघिदेखि सिँचाईमा प्रयोग हुँदैआएको खोला हो। संस्कृति र सम्पदाका जानकारहरू त्यहाँ धेरै पहिलेदेखि नै खोला बगिरहेको र वर्षायाममा त्यसलाई तर्न समेत धौ–धौ हुनगरेको सम्झन्छन्। तर नगरपालिकाले त्यसलाई पुरै इन्कार गरेर अख्तियारलाई प्रत्युत्तर लेखेको छ। 

यो पनि: बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा ‘प्लटिङ’, स्थानीय सरकार नै सहयोगी

“प्रतिवदेनको मुख्य सार पुरिएको खोला नभई खोल्सा हो र त्यसको जम्मा चौडाइ ६ फिट भन्ने छ,” उनले भने, “दायाँबायाँ १३ –१३ फिट रहनेगरी बाटो बनेको छ। त्यसको बीचमा रहेको ६ फिटमा ह्यमुपाइप राखिएको अवस्थालाई हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ।”

गोदावरीको त्यो क्षेत्रमा बग्ने फन्टे खोला करिब ३२ फिट चौडा छ जसमा अहिले पानी बगिरहेको क्षेत्रदेखि वर्षायाममा पानी बग्ने क्षेत्रसमेत पर्छ। नगरपालिकाले भने अहिले पानी बगिरहेको ६ फिटलाई मात्र खोला मानेर दुबैछेउको १३–१३ फिट अर्थात् खोलाको जम्मा २६ फिट क्षेत्रलाई खोला नै नभएको जिकिर गरेको छ। त्यही ६ फिटमा ह्युमपाइप बिछ्याइएको विषयलाई मात्र अख्तियारमा उजुरी गरिएको दाबी सिलवालले गरे। 

त्यो क्षेत्रमा सडक योजना भन्दै खोला पुरेर बाटो बनाउन थालिएको थियो। त्यहीक्रममा ह्युमपाइप बिछ्याउन थालिएको थियो। यसरी बाटो बनाउन र ह्युमपाइप बिछ्याउन नगरपालिका आफै पनि अग्रसर भएको थियो। अख्तियारलाई पठाएको प्रत्युत्तरमा भने नगरपालिकाले ह्युमपाइप कसले बिछ्यायो भन्नेबारे केही खुलाएको छैन। बरु चलाखीपूर्ण उत्तर पठाएको छ, “उल्लेखित जग्गाहरू सम्याउने कार्यका लागि नगरपालिकाबाट स्वीकृति लिएको तथा प्लटिङ गर्ने कार्यका लागि उक्त कम्पनीहरूलाई नगरपालिकाबाट कुनै पनि अनुमति तथा स्वीकृति दिएको नदेखिएको।”

नगरपालिकाका प्रवक्ता सिलवालले प्रतिवेदनमा आयोगले मागेका कुरा मात्र होइन, समाधान नै दिइएको दाबी गरे। खोलाको ३२ फिट चौडा क्षेत्र नै पुरिएको भए पनि भोलि ह्युमपाइप राखिएको ६ फिट क्षेत्र खुला गरे पुग्ने तर्कसमेत गरे। 

“जस्तै, भोलि कृषक तथा स्थानीयको मागअनुसार ६ फिटको ह्युमपाइप निकालेर खुल्ला राख्न पनि सकियो, नगरपालिकाले त्यसमा आफ्नो तदारुकता देखाइहाल्छ नि,” उनले भने, “जम्माजम्मी समस्या भनेको ह्यमुपाइप राख्दा भएको समस्या हो, अब त्यसलाई कसरी समाधान गर्ने भन्ने कुनै समस्या छैन।”

यो पनि: बगिरहेको खोला पुरेर व्यापारिक घरानाको जग्गा प्लटिङ प्रकरणः अख्तियारले नगरपालिकालाई काट्यो पत्र

नगरपालिकाले बाटो निर्माण भइसकेकाले त्यसले बरु स्थानीयको दैनिकीमा सहयोग नै गरेको जिकिर समेत गरेको छ। यही कारण अघि सारेर नगरपालिकाले भोलिका दिनमा ह्युमपाइप हटाउन कुनै माग नआउने दाबी मात्र गरेको छैन, अब खोला पुर्न प्रयोग भएको ह्युमपाइप यथावत् अवस्थामा राखिनेसमेत उल्लेख गरेको छ।

“यदि प्रचलित कानूनले बन्देज लगाएको अवस्था वा कानूनले खोल्सा पुरी बाटो बनाउन नमिल्ने भनि किटिएको अवस्था भएमा सो खोल्सामा हालिएको ह्युमपाइप निकालेर सो खोल्सालाई यथास्थितिमा चलाउनुपर्ने देखिन्छ,” अख्तियारलाई प्रतिवेदनसहित पठाइएको प्रत्युत्तरमा उल्लेख छ।

नगरपालिकाले अख्तियारलाई पठाएको प्रत्युत्तरमा ‘दुःख दिने मनसायले उजुरी गरिएको’ दाबी गर्दै समस्या परेकाले नगरपालिकामै आएर उजुरी गर्नुपर्ने तर्क गरेको छ। जबकि गोदावरीका स्थानीयले खोला पुर्ने कार्यको विरोध गर्दै नगरपालिकामा पटक–पटक निवेदन दिएका थिए। त्यहाँबाट केही नभएपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय ललितपुरमा पनि पटक–पटक निवेदन दिए। प्रशासनले नगरपालिकालाई यो विषय समाधान गर्न पत्राचारसमेत गरेको थियो। 

नगरपालिकामै पटक–पटक स्थानीयले निवेदन दिएको, यो विषय नगरपालिकाको न्यायिक समितिमा पनि पुगेको स्मरण गराएपछि भने प्रवक्ता सिलवालले भने, “न्यायिक समितिमा पुगिसकेको हो भने अब ढुक्क हुनुहोस्, छलफल भइरहेको हुनुपर्छ। समितिले निर्णय गर्नेछ।” 

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले भने यो विषय अनुसन्धानमै रहेकाले अनुसन्धान भइरहेको विषयमा थप कुरा गर्न नमिल्ने बताए।


सम्बन्धित सामग्री