Sunday, April 28, 2024

-->

उकालो फलोअप
ल्हारक्याल लामाले हडपेको सरकारी जग्गा फिर्ता ल्याउन नगरपालिकाले काट्यो पत्र

माओवादी नेता ल्हारक्याल लामाले निजी निवास बनाउन हडपेको २ रोपनी १ आना सरकारी जग्गा फिर्ता ल्याउन बुढानीलकण्ठ नगरपालिकाले आइतबार पत्र काटेको छ। यो जग्गा हडपिएको तथ्य उकालोले उजागर गरेको थियो।

ल्हारक्याल लामाले हडपेको सरकारी जग्गा फिर्ता ल्याउन नगरपालिकाले काट्यो पत्र

काठमाडौँ– सत्तारूढ नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले हडपेको सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउन बुढानीलकण्ठ नगरपालिकाले औपचारिक प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले आइतबार लामालाई पत्र काटेर हडपिएको सार्वजनिक जग्गाबारे यथार्थ विवरण पेस गर्न भनेको छ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले आइतबार लामालाई पठाएको पत्रमा उल्लेख छ, “तपाईंको स्वामित्वमा रहेको साबिक चपली–८ ‘क’ र हालको बुढानीलकण्ठ नगरपालिका–२ कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराइदिन।”

पत्रमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को सिट नम्बर १०२०९०७–१० अन्तर्गतको कित्ता नम्बर २६ को जग्गासँगैको सार्वजनिक जग्गाबारे यकिन विवरण उपलब्ध गराउन भनिएको छ। यही सार्वजनिक जग्गा हडपेर लामाले ठूलो कम्पाउन्डसहितको निजी निवास बनाएको तथ्य उकालोले उजागर गरेको थियो।

यो पनि : बुढानीलकण्ठको २ रोपनी सरकारी जग्गा हडपेर ल्हारक्याल लामाले बनाए निजी महल

गत असोज ३० गते उकालोमा यसको नालीबेली प्रकाशन भएपछि बुढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले व्यक्तिले हडपेको सार्वजनिक जग्गा फिर्ता गराउने स्थानीय सरकारको पहलअन्तर्गत लामाले हडपेको जग्गा फिर्ता ल्याउने पहल शुरू गरेका थिए। २ नम्बर वडा कार्यालयले लामाले हडपेको जग्गा फिर्ता ल्याउन प्रक्रिया अघि बढाउनुपर्ने भन्दै वडास्तरीय बैठकबाट निर्णय गरेर नगरपालिकालाई पत्र लेखेको थियो।

वडाले नगरपालिकालाई पत्र लेखेपछि यो विषयले नगर कार्यपालिकाको बैठकमा प्रवेश पाएको थियो। कार्यपालिका बैठकमा भएको छलफलमा जग्गा खाली गराउने निर्णय नभए पनि लामालाई पत्राचार गर्नुपर्ने धारणा धेरैजसो कार्यपालिका सदस्यहरूले राखेका थिए। त्यसकै आधारमा आइतबार नगरपालिकाले पत्र काटेको हो।


‘खाली गराउन नमाने कानूनी प्रक्रिया’
आइतबार लामालाई पत्र काटेपछि बुढानीलकण्ठ नगरपालिकाका प्रमुख अधिकारीले हडपिएको सार्वजनिक जग्गा फिर्ता ल्याउने पहलअन्तर्गत पहिलो चरणमा पत्र काटिएको बताए। उनले यथाशक्य विवरण उपलब्ध गराउन भनिएको उल्लेख गर्दै मागेको विवरण उपलब्ध नगराए कानूनी प्रक्रियामा अघि बढ्ने बताए।

“एकै पटक मानिसलाई तर्साइहाल्न हुँदैन भनेर पहिलो चरणमा पत्र काटेर जानकारी मागेका हौँ,” उनले भने, “अब उहाँले विवरण उपलब्ध गराउनु होला। त्यसपछि के गर्ने भन्ने तय होला। तर विवरण उपलब्ध गराउनु भएन भने कानूनी प्रक्रिया अघि बढ्छ।”

संविधानतः अधिकारप्राप्त स्थानीय तहलाई स्थानीय स्वायत्त शासन ऐनले सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार पनि दिएको छ। यो अधिकारअनुसार स्थानीय तहले सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक निर्णय गर्न सक्छ। जसमा व्यक्तिले हडपेका सार्वजनिक जग्गा फिर्ता ल्याउने जिम्मेवारी स्वतः समेटिन्छन्।

यो पनि : ल्हारक्याल लामाले हडपेको सार्वजनिक जग्गा खाली गराउन पत्र काट्ने तयारी

अधिकारीले आफ्नो नगर क्षेत्रभित्रको सार्वजनिक जग्गा संरक्षणका लागि स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गरेर कानूनी प्रक्रिया अघि बढाइने बताए। “हामीले पत्र काट्नु भनेको नै उहाँलाई हडपेको सार्वजनिक जग्गा खाली गराउनका लागि अनुरोध गरेको हो,” उनले भने, “उहाँले यसलाई मान्नुहुन्छ भन्ने नै हो। मान्नु भएन भने त अन्तिम किनारा लाग्ने कानूनी प्रक्रियाबाट नै हो।”

उनले जग्गा खाली गराउन नगरपालिकाले बल प्रयोग गर्ने संकेत गरे।

बुढानीलकण्ठ नगरपालिकाको २ नम्बर वडा कार्यालयले लामाले सरकारी जग्गा कब्जा गरे/नगरेको यकिन गर्न नापी कार्यालय र मालपोत कार्यालयबाट आवश्यक कागजात मगाएको थियो। ती कागजात मगाएर अध्ययन गर्दा २ रोपनीभन्दा धेरै सरकारी जग्गा लामाले ओगटेको भेटिएको थियो। वडाध्यक्ष श्रेष्ठले लामाको नाममा रहेको जग्गा र अहिलेको जग्गाको क्षेत्रफल हेर्दा हडपेको प्रष्ट देखिएकाले नगरपालिकाले जग्गा फिर्ता ल्याउन प्रक्रिया अघि बढाएको बताए।


“आजै पत्र पठाइएको छ। उहाँले विवरण दिनुहोला। दिनुभएन भने पालिकाले आफैँ कानूनी अधिकार प्रयोग गरेर जग्गा खाली गराउँछ,” उनले भने, “जग्गा हडपेको विभिन्न कागजातले देखाइसकेका छन्। पहिलो चरणमा प्रमाण पेस गर्न समय दिइएको हो। त्यसपछि स्थानीय तहले गर्ने काम त छँदैछ।”

लामा अहिले लुम्बिनी विकास कोषका उपाध्यक्ष छन्। माओवादी केन्द्र नेतृत्वको सरकारले कोषमा नियुक्त गरेका लामाले करिब १६ वर्षअघि यो जग्गा हडप्न शुरू गरेका थिए। १६ वर्षअघि त्यहीछेउको ८ आना जग्गा किनेपछि सरकारी जग्गा हडप्न थालेका उनले त्यसमै भव्य निजी निवास बनाएका छन्।

८ आना किने, २ रोपनी १ आना सार्वजनिक जग्गा हडपे
सरकारी कार्यालयमा रहेका कागजातहरूले देखाएअनुसार लामाले २०६४ असार २० गते बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा रहेको गणेश मन्दिरको आडमै अवस्थित ८ आना जग्गा खरिद गरेका थिए। उनले भुवन सिंहबाट त्यो जग्गा खरिद गरेको कागजातहरूले देखाउँछन्। उनले जतिबेला जग्गा खरिद गरे, त्यसबेला यो ठाउँ साबिकको चपली गाविस वडा नम्बर ८ मा पर्थ्यो।

सिंहबाट खरिद गरेको जग्गामा उनले केही समयपछि निजी निवास बनाउन शुरू गरेका थिए। लामाले निवास बनाइरहँदा त्यसको छेउमै सार्वजनिक जग्गा थियो। बुढानीलकण्ठवासीले त्यो जग्गा वर्षौंदेखि बस्तुभाउ चराउने ठाउँका रूपमा सार्वजनिक उपयोग गर्दै आएका थिए। त्यो ठाउँ वृद्धवृद्धाहरूका लागि बिहान बेलुका टहलिने, बालबालिका खेल्ने ठाउँका रूपमा समेत प्रयोग हुँदै आएको थियो। त्यही ठाउँलाई लामाले पर्खाल लगाएर आफ्नो कम्पाउन्डभित्र पारेका थिए।

यो पनि : स्थानीयको बाटोसमेत खुम्च्याएर सैँबुमा ठडिएका मन्त्री क्वार्टर

उनले यसरी कब्जा गरेको सार्वजनिक जग्गाको कुल क्षेत्रफल २ रोपनी १ आना रहेको बुढानीलकण्ठ नगरपालिकाले गरेको पछिल्लो नापजाँचबाट प्रमाणित भएको छ। त्यसैलाई आधार मानेर नगरपालिकाले यो जग्गा फिर्ता ल्याउने पहल अघि बढाएको हो।

लामाको निजी निवास रहेको कम्पाउन्डमा उत्तर–पूर्वतर्फको भागमा आकर्षक देखिने हरियाली जग्गा छ। त्यहाँ बाँसदेखि अनेकौँ रूखबिरुवा लगाइएका छन्। सानोतिनो वनकै झल्को दिने यो ठाउँलाई उनले वर्षौंदेखि चारैतर्फ पर्खाल लगाएर आफ्नो कम्पाउन्ड बनाएका छन्।


नापी कार्यालय चाबहिलबाट प्राप्त ‘फिल्ड बुक’ र नापी नक्साबाट लामाको निवास रहेको ठाउँ, साबिकको चपली गाविस वडा नम्बर ८ अन्तर्गत पर्ने ८ ‘क’, कित्ता नम्बर १९८ र हाल नयाँ नापी नक्साको सिट नम्बर १०२–०९०७–१० को कित्ता नम्बर २६ मा १ हजार ३१२ दशमलव ६३ वर्गमिटर (२ रोपनी ९ आना १ पैसा) जग्गा रहेको देखियो। यो जग्गामध्ये भुवन सिंहबाट २०६४ सालमा खरिद गरेको ८ आना जग्गा घटाउने हो भने लामाले २ रोपनी १ आना १ पैसा सरकारी जग्गा कब्जा गरेको स्पष्ट देखिन्छ।

बुढानीलकण्ठको यो क्षेत्रमा जग्गाको चलनचल्तीको मूल्य प्रतिआना ६० लाखदेखि ६५ लाखसम्म रहेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू नै बताउँछन्। गणेश मन्दिर आसपासमा अहिले पनि कम्तीमा ५५ लाख प्रतिआनाका दरले जग्गा किनबेच भइरहेको छ। प्रचलित दररेटकै हिसाब गर्ने हो भने लामाले १८ करोडभन्दा धेरै मूल्य पर्ने सार्वजनिक जग्गा कब्जा गरेर निजी निवास बनाएको देखिन्छ।

बुढानीलकण्ठ क्षेत्रको जग्गाको महत्त्व र मूल्य बुझेरै लामाले २ रोपनी १ आना १ पैसा सरकारी जग्गा हडप्नका लागि त्यसबेला आडमै रहेको ८ आना जग्गा किनेको देखिन्छ। घटनाक्रमले पनि त्यसलगत्तै उनले सार्वजनिक जग्गा कब्जा गरेको देखाउँछन्।

यो पनि : भू–माफियासँग लडेर हाडीगाउँबासीले जोगाएको सरकारी जग्गा नेताको प्रतिष्ठानलाई जिम्मा लगाइयो

वर्षौंदेखि सार्वजनिक जग्गा कब्जा गरेका लामाले आफ्नै जग्गा अद्यावधिक गर्न हालसाबिकका लागि सरकारी निकायमा निवेदन दिएको देखिँदैन। हालसाबिक हुँदा आफ्नो निजी र आफूले ओगटेको सरकारी जग्गा छुट्टिने भएकाले पनि लामाले त्यसका लागि निवेदन नदिएको नापी कार्यालयका कर्मचारी बताउँछन्।

असोज ३० गते उकालोमा यसबारे विस्तृत रिपोर्ट प्रकाशित गर्दा हामीले लामालाई सोधेका थियौँ– तपाईंले सार्वजनिक जग्गा कब्जा गरेर निवास बनाउनुभएको रहेछ नि? उनले कुनै सरकारी जग्गा आफूले अतिक्रमण नगरेको दाबी गर्दै त्यसो भनिए ‘आफूमाथि अन्याय हुने’ बताएका थिए। बुढानीलकण्ठ क्षेत्रमा धेरैले सार्वजनिक जग्गा अतिक्रमण गरेकाले आफूलाई मात्र जग्गा हडपेको भन्न नमिल्ने उनको तर्क थियो।


सम्बन्धित सामग्री