फलोअप
काठमाडौँको बुढानीलकण्ठमा पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले २ रोपनी १ आना सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएको नगरपालिकाले नै स्वीकारेको छ। तर त्यो जग्गा खाली गर्न उसकै अनिच्छा देखिन्छ।
काठमाडौँ– पूर्वअर्थराज्यमन्त्री, विभिन्न पार्टी फेर्दै अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा नेता रहेका ल्हारक्याल लामाले २ रोपनी १ आना सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएको तथ्य उकालोले २०८० असोज ३० मै विस्तृत खोज रिपोर्टमार्फत उजागर गरेको थियो। लामाको बुढानीलकण्ठ नगरपालिका–२ मा ठूलो कम्पाउन्डसहितको निजी निवास छ। उनको त्यही निवासले २ रोपनी १ आना सार्वजनिक जग्गा हडपेको छ।
उकालोले यो जग्गा प्रकरण उजागर गरेपछि बुढानीलकण्ठ नगरपालिकाले तत्कालै भने यसबारे अनभिज्ञता दर्साएको थियो। सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी संविधानले स्थानीय तहलाई सुम्पिए पनि सार्वजनिक जग्गा हडपिएकोबारे नगरपालिका नै जानकार नहुनु आफैमा अनौठो थियो।
उकालोले यो प्रकरण फलोअप गर्नेक्रममा थप तथ्य उजागर हुन थालेपछि भने नगरपालिकाले त्यो ठाउँमा नापजाँच र पुनः नक्सांकन गरेको थियो। त्यसक्रममा लामाको निजी निवासले सार्वजनिक जग्गा हडपेको पुनः पुष्टि भएको छ। र लामाले सार्वजनिक जग्गा हडपेको तथ्य नगरपालिकाले नै स्वीकार गरेको छ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले नगरपालिकाले नापजाँच र नक्सांकन गर्दा लामाको निवासले सार्वजनिक जग्गा ओगटेको पुष्टि भइसकेको बताए। “नगरपालिकाले जग्गा नापिसकेको छ। त्यसक्रममा २ रोपनी बढी जग्गा ओगटेको भेटिएको छ,” उनले उकालोसँग भने।
तर जग्गा खाली गर्न नगरपालिका ‘अनिच्छुक’
सार्वजनिक जग्गा हडपेका लामाले त्यसलाई आफ्नो निवास क्षेत्रभित्र पारेर वरिपरि बलियो पर्खाल लगाएका छन्। अनौठो के भने, नगरपालिकाले त्यो जग्गा सार्वजनिक रहेको आफैले पुष्टि गरे पनि खाली गराउनेबारे भने कुनै चासो देखाएको छैन। अहिलेसम्म त्यससम्बन्धी कुनै काम अघि बढाइएको देखिँदैन।
यो पनि– ल्हारक्याल लामाले हडपेको बुढानीलकण्ठको सार्वजनिक जग्गा: खाली गराउन जुर्मुराएको नगरपालिका पछि हट्यो
नगर प्रमुख अधिकारी भने नापजाँचपछि जग्गा छुट्याइसकेको र अब त्यहाँ नगरपालिकाको बोर्ड राख्ने तयारी भइरहेको दाबी गर्छन्।
तर उनको यस्तो दाबी नै शंकास्पद किन देखिन्छ भने त्यहाँ निर्मित संरचना हटाउन नगरपालिकाले कुनै चासो देखाएको छैन। जबकि, उकालोले यो प्रकरण उजागर गरेपछि दुई वर्षअघि नगरपालिकाले पत्राचार गर्दा लामाले आफ्नो घरजग्गा रहेको ठाउँमा सार्वजनिक जग्गा भेटिए तत्काल खाली गराउने लिखित प्रतिबद्धता नै जनाएका थिए।
अहिले नगरपालिकाले जमिन छुट्ट्याइसकेको दाबी गरे पनि त्यसमा निर्मित संरचना हटाउने काम अगाडि बढाएको छैन। नगरपालिकाले नै चासो नदेखाएपछि लामाले पनि त्यहाँका संरचना हटाएका छैनन्।
२ नम्बर वडा समितिको निर्णयका आधारमा वडा कार्यालयले लामाले हडपेको सार्वजनिक जग्गा खाली गराउन नगरपालिकालाई पत्राचार नै गरेको थियो। तर वडा कार्यालयको पत्राचारपछि पनि नगरपालिकाले त्यस्तो पहल नगरेको समितिका एक सदस्य बताउँछन्।
“नगरपालिकाले नापजाँच गरेर त्यहाँ सार्वजनिक जग्गा हडपेको देखिसकेपछि त्यसमा निर्मित संरचना त हटाउनु–भत्काउनुपर्ने हो नि। तर किन पहल गरिएन, त्यो हामीलाई थाहा भएन,” ती सदस्यले भने।

बुढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले त्यो क्षेत्रमा लामासहित थप ९ परिवारले सार्वजनिक जग्गा अतिक्रमण गरेको बताए। सार्वजनिक जग्गा हडपेको पुष्टि भइसकेपछि त्यसलाई छुट्याउने मात्र हो कि त्यहाँ निर्मित संरचना हटाएर खालि पनि गराउने? नगरप्रमुख अधिकारीले ‘बनेका संरचना नगरपालिकालाई नै छाड्ने भनेकाले किन भत्काउने?’ भनेर उल्टै प्रतिप्रश्न गरे।
“बनाइएको संरचना त छ नि, त्यो किन भत्काउनु? उसले नगरपालिकालाई नै छाडने भनेको छ। पर्खाल भत्काउँदा उसको घर भत्किएला, त्यो उसले भत्काउन दिन्छ र?” उनले भने, “अर्काको घर भत्काउने अधिकार हामीलाई छैन। जग्गा भने छुट्ट्याइसकेको छ।”
बुढानीलकण्ठ नगरपालिकाको कार्यपालिका बैठकमा सदस्यहरूले यसबारे कुरा उठाएका थिए। लामाले हडपेको जग्गामा बोर्ड मात्र राख्ने कुरा भएपछि उनीहरूले बोर्ड मात्र राखेर कुनै अर्थ नहुने भन्दै हडपेको जग्गा खाली गराउन त्यहाँ निर्मित संरचना हटाउनुपर्ने उल्लेख गरेका थिए। तर त्यसमा नगर प्रमुख अधिकारीले चासो नै नदिएको एक कार्यपालिका सदस्यले बताए।
“सुकुमवासीका साना छाप्रा हटाउने, तर पद र शक्ति दुरूपयोग गरेर सार्वजनिक जग्गा हडपेकाहरूलाई बोर्ड मात्र राख्ने कुरा ठिक हुन्न। हडपेकै पुष्टि भइसकेपछि त संरचना हटाएरै जमिन खाली गराउनुपर्छ भन्यौँ,” उनले भने, “किन हो खोइ, मेयरसाबले हाम्रा कुरा सुन्नै चाहनुभएन।”
उनका अनुसार हडपिएको सार्वजनिक जग्गामा लामाले पार्किङ स्थलदेखि निवासमै प्रयोग हुने अर्को भवनसमेत निर्माण गरेका छन्।
उकालोले यो प्रकरण उजागर गरेको करिब चार महिनापछि, २०८० माघ १४ गते बुढानीलकण्ठ नगरपालिकाले पहिलोपटक लामालाई पत्र काटेर हडपिएको सार्वजनिक जग्गाबारे यथार्थ विवरण पेश गर्न भनेको थियो। तर लामाले उक्त पत्रको जवाफ दिएनन्।
यो पनि – सरकारी जग्गा हडपेका ल्हारक्यालले अटेर गरेपछि नगरपालिकाले काट्यो ७ दिने ताकेता पत्र
त्यसपछि फागुन ९ गते नगरपालिकाले लामालाई पुनः ताकेता पत्र काटेको थियो। पहिलो पत्रको जवाफ नआएपछि दोस्रो पटक सात दिनको समय तोकेरै पत्र पठाइएको थियो। त्यतिबेला पत्र काटेपछि नगरप्रमुख अधिकारीले सात दिनभित्र स्पष्ट जवाफ नआए कानूनी प्रक्रियामा जाने बताएका थिए।

दोस्रो पटक पत्र पठाएको दुई दिनपछि लामाले नगरप्रमुखलाई सम्बोधन गरेर पत्राचार गरेका थिए। २०८० फागुन ११ गते हस्तलिखित तीन पेजको उनको पत्र नगरपालिकामा आइपुगेको थियो। “बुढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रभित्रको सार्वजनिक जग्गा अध्ययन गरोस्। त्यसक्रममा आफ्नो घरजग्गा रहेको ठाउँमा सार्वजनिक जग्गा परेको भेटिएमा म तत्काल खाली गराउन तयार छु,” लामाले लेखेको हस्तलिखित पत्रमा उल्लेख थियो।
८ आना किने, २ रोपनी १ आना सार्वजनिक जग्गा हडपे
सरकारी कार्यालयमा रहेका कागजातहरूले देखाएअनुसार लामाले २०६४ असार २० गते बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा रहेको गणेश मन्दिरको आडमै अवस्थित ८ आना जग्गा खरिद गरेका थिए। उनले भुवन सिंहबाट त्यो जग्गा खरिद गरेको कागजातहरूले देखाउँछन्।
उनले जतिबेला त्यो जग्गा खरिद गरे, त्यसबेला यो ठाउँ साबिकको चपली गाविस वडा नम्बर ८ मा पर्थ्यो।
सिंहबाट खरिद गरेको जग्गामा उनले केही समयपछि निजी निवास बनाउन शुरू गरेका थिए। लामाले निवास बनाइरहँदा त्यसको छेउमै सार्वजनिक जग्गा थियो। बुढानीलकण्ठवासीले त्यो जग्गा वर्षौंदेखि बस्तुभाउ चराउने ठाउँका रूपमा सार्वजनिक उपयोग गर्दै आएका थिए। त्यो जग्गा वृद्धवृद्धाहरूका लागि बिहान बेलुका टहलिने, बालबालिका खेल्ने ठाउँका रूपमा समेत प्रयोग हुँदै आएको थियो। त्यही जग्गालाई लामाले पर्खाल लगाएर आफ्नो कम्पाउन्डभित्र पारे।
नापी कार्यालय चाबहिलबाट प्राप्त ‘फिल्ड बुक’ र नापी नक्साबाट लामाको निवास रहेको ठाउँ, साबिकको चपली गाविस वडा नम्बर ८ अन्तर्गत पर्ने ८ ‘क’, कित्ता नम्बर १९८ र हाल नयाँ नापी नक्साको सिट नम्बर १०२–०९०७–१० को कित्ता नम्बर २६ मा एक हजार ३१२.६३ वर्गमिटर (२ रोपनी ९ आना १ पैसा) जग्गा रहेको देखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
