काठमाडौँ– गृह मन्त्रालयको पुरानो कार्यालय रहेको भवन। पहिलो तला उक्लिएपछि दाहिनेतिर फर्कंदा फराकिलो प्यासेज देखिन्छ। प्यासेजका दुवैतर्फ लस्करै ढोकाहरू छन्। तिनैमध्येको एक ढोकाबाहिर हरियो रङको डोर–म्याट छ। र, त्यही ढोकाभित्रको एउटा सानो कोठामा साँघुरिएर बसेको छ, २२९ वर्षको इतिहास (सरकारी कागजातअनुसार) बोकेको समरजंग कम्पनी।
यो त्यही कम्पनी हो जो अहिले प्रायः समाचारमा देखिन्छ, पढिन्छ र सुनिन्छ। अहिलेको ‘हटकेक’ ललिता निवास जग्गा प्रकरणसम्बन्धी समाचारमा अक्सर यो कम्पनीको नाम छुट्दैन।
समरजंग पछाडि रहेको ‘कम्पनी’ शब्दले यो निजी संस्था वा कम्पनी होला भन्ने लाग्छ। तर, यो निजी कम्पनी नभई सरकारी कार्यालय हो।
कुनै बेला यो राज्यसत्ताको महत्त्वपूर्ण जिम्मेवारीमा थियो। राजतन्त्रकालीन नेपालमा राजदरबारभित्र महत्त्वपूर्ण स्थान बनाएको यो कम्पनी समयक्रममा सिंहदरबारको एउटा पुरानो भवनको साँघुरो कोठामा खुम्चिएको छ। यसको न कुनै ‘अफिसियल वेबसाइट’ छ, न कुनै महत्त्वपूर्ण जिम्मेवारी। दुई थान दराज, दुई जोडा कुर्सी–टेबल र केही सोफाहरू अटाएको कोठा नै आजको समरजंग कम्पनीको सबथोक हो। दरबन्दी त यहाँ ३५ जनाको छ। तर एककोठे कार्यालयभित्र यति धेरै मान्छे अटाउने ठाउँ छैन। त्यहीकारण यो कार्यालयमा चार जना मात्र बस्छन्। बाँकी अन्य कार्यालयमा पठाइएका छन्।
समरजंगको इतिहास
समरजंग कम्पनी के हो? यसको स्थापना कहिले र किन गरियो? यसबारे खोज्दै जाँदा हामीले केही रोचक जानकारी फेला पार्यौँ।
“समरजंग कम्पनी स्थापना गर्ने राजा को हुन्?”
लोक सेवा आयोगको परीक्षामा कहिलेकाहीँ यस्तो प्रश्न सोध्ने गरिएको हामीले भेट्यौँ। यसको उत्तरमा ‘रणबहादुर शाह’ लेखिएको विकल्पमा चिन्ह लगाउने विद्यार्थीको जवाफ सही हुँदो रहेछ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि आधुनिक नेपालका तेस्रो राजा बनेका थिए रणबहादुर। उनी पृथ्वीनारायण शाहका नाति हुन्। पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंह शाह र बुहारी राजेन्द्रलक्ष्मी देवीका छोरा। वि. सं. १८३२ मा जन्मेका रणबहादुरको जन्म महिना र गतेबारे इतिहासकारहरूबीच नै मतैक्य छैन। कसैले जेठ १५, कसैले असार ११, कसैले असार १३ गते त कसैले साउन १० गते रणबहादुर शाह जन्मिएको विभिन्न पुस्तकहरूमा उल्लेख गरेका छन्।
वि. सं. १८३१ मा पृथ्वीनारायणको मृत्यु भएपछि प्रतापसिंह राजा बनेका थिए। तर, उनको अल्पायुमै मृत्यु भएपछि रणबहादुर राजा बनेका थिए। इतिहासशिरोमणि बाबुराम आचार्यको पुस्तक अब यस्तो कहिल्यै नहोस् मा ‘पुगनपुग अढाई वर्षका बालक युवराज रणबहादुर शाहलाई वि. सं. १८३४ पुस ५ गते श्री ५ महाराजधिराजका रूपमा नेपाल अधिराज्यको राजसिंहासनमा विधिपूर्वक विराजमान गराइएको’ उल्लेख छ।
पति (प्रतापसिंह) को मृत्यु भएको ८ महिनापछि राजेन्द्रलक्ष्मी नजरबन्दमा परिन्। त्यसको दुई दिनपछि राजकुमार बहादुर शाहले ‘प्रमुख प्रशासन सूत्र ग्रहण’ गरे। त्यसपछि राजेन्द्रलक्ष्मी देवी र बहादुर शाहबीचको टकराब यसरी बढ्दै गयो कि एकले अर्कोलाई थुन्ने–थुनाउने खेल केही समय चलिरह्यो। १८४३ साल साउन २ गते राजेन्द्रलक्ष्मीको मृत्यु भएपछि साउन ११ गते बहादुर शाह मुख्तियार (प्रधानमन्त्री) बने।
यसबीच रणबहादुर शाह जवान हुँदै थिए, सँगै बहादुर शाहसँग उनको दूरी पनि बढ्दै गइरहेको थियो। इतिहासशिरोमणि आचार्यले अब यस्तो कहिल्यै नहोस् पुस्तकमा उमेर १९ वर्ष पुगेपछि १८५१ जेठ २७ गते रणबहादुर शाह शासनसत्ता ग्रहण गरी विधिपूर्वक राजा बनेको उल्लेख गरेका छन्।
उकालोलाई प्राप्त एक सरकारी कागजातअनुसार भने रणबहादुर शाहको राज्याभिषेक १८५१ जेठ १ गते नै भएको देखिन्छ। त्यसै दिन उनले दरबारको विशेष सुरक्षाका लागि भन्दै ५० जना शाही जवानको एक टुकडी बनाएका थिए। खासमा त्यही नै अहिलेसम्म आइपुगेको ‘समरजंग कम्पनी’ थियो।
“श्री ५ रणबहादुर शाहले आफ्नो राज्याभिषेकको अवसर पारी वि. सं. १८५१ जेठ १ गते ५० जवानलाई शाही अंग रक्षकको रूपमा भर्ना गरिबक्सेको थियो,” उकालोलाई प्राप्त सरकारी कागजातमा उल्लेख छ, “श्री गीर्वाणयुद्ध विक्रम शाहको पालामा वि. सं. १८६१ मा तिनै ५० जनामध्येबाट कुमेदानी १, सुवेदार १, जमदार २, कर्मचारी २, अभयदार २ र चपरासी १४ समेत गरी २२ नालको चपरासी कम्पनी श्री ५ को सुरक्षा सम्मानका लागि खडा भयो जसलाई शमशेर जंग कम्पनी भनियो।”
तर फरक–फरक इतिहासकारका पुस्तकमा रणबहादुर शाह राजा बनेको र समरजंग कम्पनी स्थापना भएको मिति फरक छ। इतिहासशिरोमणि आचार्यले भने १८५३ मा मात्र रणबहादुर शाहले समरजंग कम्पनी स्थापना गरेको उल्लेख गरेका छन् ।
इतिहासकार महेशचन्द्र रेग्मीले स्थापना गरेको रेग्मी रिसर्च (प्राइभेट) लिमिटेडबाट उनकै सम्पादनमा प्रकाशित ‘रेग्मी रिसर्च सिरिज’को वर्ष ४, नम्बर ९ (सन् १९७२ सेप्टेम्बर १) मा ‘जनरल भीमसेन थापा र द समर जंग कम्पनी’ शीर्षकमा बाबुराम आचार्यको लेख प्रकाशित छ। त्यसमा उनले १८५३ मा राजा रणबहादुर शाहले दरबारभित्र सुरक्षाको लागि सेनाको टुकडीका रूपमा समरजंग कम्पनीको स्थापना गरेको उल्लेख गरेका छन्।
राजा रणबहादुर शाहले त्यसबेला कम्पनीमा कार्यरतहरूलाई अन्य कम्पनीका कर्मचारीको तुलनामा बढी तलब र भत्ता उपलब्ध गराएको लेखमा उल्लेख छ। तत्कालीन सेनामा ‘कम्पनी’का नाममा टुकडी बनाउने चलन पृथ्वीनारायण शाहकै पालामा शुरू भएको थियो।
शुरूआतमा पृथ्वीनारायणका सेनासँग खुकुरी, धनुष र वाण मात्र थिए। पृथ्वीनारायणदेखि बहादुर शाह मुख्तियार हुँदासम्म गोर्खाली सेनामा धनुर्धारीहरू नै थिए। कम्पनीहरूको संख्या बढ्दै जाँदा, सेनामा धनुर्धारीहरूको शक्ति भने बिस्तारै घट्दै गयो। बहादुर शाहको कार्यकालको अन्त्यसम्ममा कम्पनीहरूको संख्या लगभग एक सय पुगिसकेको थियो।
उनीहरूले कालो रङको बर्दी लगाउँथे जसमा मुख्यतः कमिज, ट्राउजर, फेटा र सेतो कम्मरपेटी हुन्थे। बर्दी स्वदेशी घरबुना कपडाले बनेको हुन्थ्यो। उनीहरूले लगाउने जुत्ता पनि स्थानीय उत्पादनकै हुन्थे। उनीहरूसँग छालाको पेटी र गोली राख्ने ‘तोशःदान’ पनि हुन्थ्यो। किनभने त्यसबेला नेपालमा बन्दुक बन्न थालिसकेको थियो। नेपालमा नबनेका तोप भने निकै दुःखले भारतबाट ल्याइएको थियो।
त्यतिबेला सरकारी अफिसर र केही निजी व्यक्तिबाहेक अरू कसैलाई यस्ता पेटी, ‘तोशःदान’ र फेटा लगाउने अनुमति थिएन।
“समरजंग कम्पनीमा कार्यरत अधिकारीहरूको सेवाका लागि पनि व्यक्तिहरू राखिएका थिए र उनीहरूलाई एउटा विशेष खालको ब्याज दिइएको थियो, त्यसैले उनीहरूलाई चपरासी भनिन्थ्यो,” इतिहासशिरोमणि बाबुराम आचार्यको ‘रेग्मी रिसर्च सिरिज’मा प्रकाशित लेखको पृष्ठ १६१ मा लेखिएको छ, “उनीहरूलाई दिइएको गोलो आकारको ब्याजमा राजा रणबहादुर शाहको नाम पनि लेखिएको थियो। सुबेदारले बोक्ने ब्याजमा सुनको प्लेट थियो भने उनीभन्दा तलकाहरूलाई चाँदीको प्लेटबाट बनाइएको ब्याज दिइएको थियो। ‘सरदारहरू’लाई उपलब्ध गराइएका चपरासीहरूको ब्याज शुद्ध सुनले बनेका थिए जुन छालाको ब्यान्डमा टाँसिएको थियो र छातीमा लगाइन्थ्यो।”
चित्तरञ्जन नेपालीले आफ्नो पुस्तक श्री ५ रण बहादुर शाह मा पनि ‘१८५१ वैशाख महिनामा चौतरिया बहादुर शाहलाई नायबीबाट हटाएर श्री ५ रणबहादुर शाहले राज्यको सम्पूर्ण प्रशासन आफ्नो हातमा लिएको’ उल्लेख गरेका छन्।
रणबहादुर शाहले शासनभार आफ्नो हातमा लिएपछि भारदारहरूले विरोध गर्न थालेको नेपालीले पुस्तकमा लेखेका छन्। त्यतिबेला रणबहादुरलाई एक धार्मिक परम्पराविरोधी एवं सामाजिक बन्धनलाई तोड्न खोज्ने पात्रका रूपमा चित्रण गरिएको पुस्तकमा उल्लेख छ। पुस्तकको पृष्ठ २३ मा लेखिएको छ, “राजा र भारदारहरूबीचको यो झगडाले यति भयानक रूप धारण गर्यो कि अन्तमा राजा रणबहादुर शाहले गद्दी छोडी संन्यास ग्रहण गर्नुपर्यो।”
भीमसेन थापाले दिएको सजाय
राजदरबारभित्रको मनमुटाब र झगडाले यति चर्को रूप लियो, वि. सं. १८५५ मा रणबहादुर शाह छोरा गीर्वाणयुद्धलाई राजगद्दीमा राखेर जेठी पत्नी राजेश्वरी देवी, भीमसेन थापा र दलभञ्जन पाँडेसहित भारत निर्वासनमा गए। त्यतिबेला भारतमा इष्ट इन्डिया कम्पनी थियो। खासमा त्यसबेला दरबार र इष्ट इन्डिया कम्पनी मिलेर रणबहादुर शाहलाई भारतमै नजरबन्द गर्ने तयारी भइसकेको थियो।
भारतको बनारसमा रहेका बेला रणबहादुर शाहले यसको सुइँको पाएर पनि केही गर्न सकेनन्। शुरूमा उनले पत्नीलाई नेपाल पठाए। १८६० मा उनी पनि भीमसेन थापासँगै ‘भारतबाट उम्केर’ आए। त्यतिबेलासम्म रणबहादुरले पहिले बनाएको मन्त्रीमण्डल कमजोर भइसकेको चित्तरञ्जन नेपालीले आफ्नो पुस्तक श्री ५ रण बहादुर शाह मा उल्लेख गरेका छन्।
नेपाल फर्किएपछि, १८६३ मा भाइ शेरबहादुर शाहले रणबहादुरको हत्या गरे।
उकालोलाई प्राप्त सरकारी कागजातअनुसार ‘कम्पनीले वफादारीपूर्वक श्री ५ को सम्मान र सुरक्षा गरिआएको’ थियो। तर पछि काजी बख्तावरसिंह थापाको नेतृत्वमा रहँदा कम्पनीमाथि राजकाज उल्ट्याउने षड्यन्त्र गरेको आरोप लाग्यो। यो घटनापछि मुख्तियार भीमसेन थापाले समरजंग कम्पनीलाई पनि सजाय दिए। त्यसबेलाको घटनाक्रम बताउने सरकारी कागजातमा उल्लेख छ, “तत्कालीन मुख्तियार (प्रधानमन्त्री) भीमसेन थापाद्वारा शाही रक्षकबाट हटाइनुका साथै यसले निशान खडा गरी हिँड्न नपाउने, सुताएर राख्नुपर्ने र चैत्र दसैँ र बडादसैँको माला पूजामा मात्र उठाउन पाउने व्यवस्था गरिदिए।”
रणबहादुर शाहले छोरा गीर्वाणयुद्धलाई गद्दीमा बसाएपछि समरजंग कम्पनीको शक्ति बढेको इतिहासशिरोमणि बाबुराम आचार्यले ‘रेग्मी रिसर्च सिरिज’को लेखमा उल्लेख गरेका छन्। त्यहीकारण हुनसक्छ, समरजंग कम्पनीका केही कर्मचारीले लगाउने ब्याजमा राजा गीर्वाणयुद्ध विक्रम शाहको नाम लेखिएको थियो।
रणबहादुर शाह वनारसबाट फर्केपछि राजदरबारमा नियुक्त भएका भारदारहरूमा दुई वकिल, ४ चौतरिया र ५ काजी थिए। तीमध्ये भीमसेन थापा सबभन्दा शक्तिशाली थिए। रणबहादुर शाहको हत्या भएको र राजा गीर्वाणयुद्ध नाबालिग नै भएकाले भीमसेनको अख्तियारी पनि बढिरहेको थियो। त्यसपछि मुख्यतः भीमसेन थापाकै नेतृत्वमा भएको युद्धमा नेपाल पूर्वमा सिक्किम र दार्जिलिङदेखि पश्चिममा शतरुद्र नदीसम्म फैलियो। त्यसपछि उनी राजा गीर्वाणयुद्धको मुख्तियार (प्रधानमन्त्री) नियुक्त भए।
भीमसेन थापाले नै समरजंग कम्पनीलाई मुख्यतः राजदरबारको सुरक्षाको जिम्मेवारीमा खटाएका थिए। त्यसबेला यो कम्पनीको कमान्डर उनकै भाइ बख्तावर सिंह थापा नियुक्त भएका थिए। कम्पनीका सेनालाई राजदरबारकै क्याम्पभित्र तैनाथ गरिएको इतिहासशिरोमणि आचार्यको लेखमा उल्लेख छ।
तर, काजी बख्तावर सिंह थापाले राजपरिवारको विश्वासको फाइदा उठाउन थाले। त्यहीबेला भीमसेन थापाले ‘विश्वासिला मित्र’ मान्ने इष्ट इन्डिया कम्पनीले नेपालमाथि आक्रमण गरेसँगै सुरक्षामा गम्भीर चुनौती खडा भयो। दरबारका भारदारहरू र अन्य कर्मचारीले आफ्नो स्वार्थ मात्र हेर्न थालेको त्यो बेला राज्यको कोष लगभग खाली भयो। त्यहीकारण नेपालले इष्ट इन्डिया कम्पनीसँगको युद्धमा पराजय भोग्यो र सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य भयो।
इतिहासशिरोमणि बाबुराम आचार्यले लेखेअनुसार बख्तावर सिंह थापाले राजा र रानी दुवैको विश्वास जितेका थिए। भीमसेन थापाले युद्धमा नेपालको ठूलो भू–भाग गुमाए पनि पूर्ण शक्ति कायम राखेका थिए। राजा गीर्वाणयुद्धलाई यो मन परेको थिएन। बख्तावर सिंह, भीमसेन थापालाई पदच्यूत गरेर आफैँ प्रधानमन्त्री बन्न चाहन्थे। तर, ‘राजमाता’ ललितत्रिपुरासुन्दरीले प्रशासनको लगाम भीमसेन थापाकै हातमा राख्न चाहेकी थिइन्।
त्यहीबेला काठमाडौँमा बिफरको महामारी आयो। राजा गीर्वाणयुद्ध नै महामारीको शिकार भए। भीमसेन थापा र ललितत्रिपुरासुन्दरीले उनलाई राजदरबारभित्रकै कोठामा राखेका थिए। त्यही क्रममा १८७३ मा उनको मृत्यु भयो।
इतिहासशिरोमणि बाबुराम आचार्यको भीमसेन थापाः उत्थान र पतन पुस्तकमा उल्लेख भएअनुसार त्यसबेला गीर्वाणयुद्धका छोरा राजेन्द्रविक्रम शाह तीन वर्षका थिए। परम्पराअनुसार युवराजले बाबुको मृत्युको १३औँ दिनमा राज्याभिषेक गर्नुपर्थ्यो। त्यसबीच भीमसेन थापाले गीर्वाणयुद्धका रानीहरू बख्तावर सिंह थापासँग मिलेर बसेको ललितत्रिपुरासुन्दरीबाट थाहा पाए। १३ दिनको औपचारिक शोक अवधि सकिएलगत्तै गीर्वाणयुद्धकी कान्छी रानीको मृत्यु भएपछि राजेन्द्रविक्रम शाहको राज्याभिषेक समारोह थप १३ दिन पछाडि सर्यो।
थपिएको शोकको छैटौँ दिन भीमसेन थापाले राजेन्द्रविक्रम शाहको सम्मानमा समारोह आयोजना गरेका थिए। गीर्वाणयुद्ध र उनका दुई रानीको मृत्यु भइसकेको थियो। इष्ट इन्डिया कम्पनीसँगको युद्ध अन्त्यपछि भीमसेन थापालाई बख्तावर सिंह थापा आफ्ना शत्रुहरूको पंक्तिमा सामेल भएको आशंका हुन थालिसकेको थियो। त्यसकारण उनी आफ्नै कान्छो भाइ (बख्तावर सिंह) लाई सजाय दिने मौकाको पर्खाइमा थिए। त्यही समारोहकै आसपास भीमसेन थापाले भाइ बख्तावरसिंहलाई बर्खास्त गरे। तर, आमाको याचना सुनेर उनलाई नुवाकोट पुर्याएर जीवितै थुनामा राखे।
बख्तावर सिंहप्रति भीमसेन थापा यतिसम्म क्रुद्ध थिए कि आमाले याचना गरेका कारण मात्र उनले भाइको ज्यान लिएनन्। बख्तावर सिंहले ‘कमान्ड’ गरेको समरजंग कम्पनीका कर्मचारीहरूलाई पनि यो कसुरमा सजाय दिए। उनीहरूमध्ये केहीलाई शाही दरबारको सुरक्षाबाट हटाएर जेल पठाइयो। बख्तावर सिंहसँग नजिक रहेकालाई थुनेर बाँकीलाई सडक निर्माणको सुपरीवेक्षण गर्ने काममा लगाइएको थियो। भीमसेन थापाले उनीहरू सबैलाई दोषी करार गरेका थिए। अर्थात् त्यसपछि यो ‘दोषीहरूको कम्पनी’ झैँ बन्नगएको इतिहासशिरोमणि आचार्यको लेखमा उल्लेख छ।
त्यतिबेला अरू सबै कम्पनीका पुरुष कर्मचारीले शनिबार साप्ताहिक बिदा पाउँथे। समरजंग कम्पनीका कर्मचारीको यो बिदा खोसियो। समरजंग कम्पनीको झण्डा ‘देवता’ भनेर चिनिन्थ्यो। भीमसेन थापाले त्यो झण्डा माथि उठाउनुको सट्टा तल काँधमा बोक्नुपर्ने नियम लागू गरे।
यी नियमहरू लिखित थिएनन्, भीमसेन थापाका मौखिक आदेश थिए। उनको छवि र क्रूर कार्यशैलीसँग परिचित समरजंग कम्पनीका कर्मचारीहरूले तिनको अवज्ञा गर्न सकेनन्। राणाकालमा पनि यी नियम हुबहु पालना भए। नेपालमा प्रजातन्त्र नआउँदासम्म पनि ती नियम लागू भइरहे।
राणाकालको समरजंग कम्पनी
उकालोलाई प्राप्त सरकारी कागजातअनुसार वि. सं. १९०१ सम्म समरजंग कम्पनीको नाम ‘शमशेर दल पल्टन’ थियो। १९०१ पछि मात्र यसको नाम समरजंग कम्पनी राखिएको हो। सरदार भीमबहादुर पाँडेद्वारा लिखित त्यसबखतको नेपाल पुस्तकको पाँचौ अंकमा भने कोतपर्वको भोलिपल्ट कुँवर राणा परिवारले नेपालको राष्ट्रसेनाको उपल्लो तह ढाकेको र १९०९ सालमा राष्ट्रसेनामा पल्टनहरू खडा गरी समरजंग कम्पनीलाई समावेश गरेको उल्लेख छ। त्यसबेला सेनालाई कम्पु पल्टन, मिलिसिया पल्टन र कम्पनी गरी तीन भागमा विभाजन गरिएकोमा कम्पनी अन्तर्गत समरजंग, शार्दुलजंग, दुर्गा बक्स, रणसिंह दल, रणशेर, भवानीबक्स र हनुमान दल गरी सात कार्यालय रहेका थिए।
उकालोले प्राप्त गरेको सरकारी कागजातअनुसार १९१८ मा समरजंग कम्पनीमा १६ जवान थप गरी ४१ जवानको कम्पनी कायम भएको थियो। शुरूमा शाही रक्षकको रूपमा स्थापना भएको यो कम्पनीले २००९ देखि २०२१ सालबीचमा सडक विभाग स्थापना नहुँदासम्म काठमाडौँ उपत्यकाका तीनवटै शहरमा सडक निर्माण तथा मर्मतसम्भारको कामसमेत गर्थ्यो।
यो शुरूमा तत्कालीन शाही नेपाली सेना अन्तर्गत सञ्चालित थियो। विभिन्न समयमा भिन्नाभिन्नै निकायअन्तर्गत सञ्चालन हुँदै जानेक्रममा अहिले समरजंग कम्पनी गृह मन्त्रालय मातहत छ। यसले मन्त्रालयको सेवा व्यवस्था शाखासँगको समन्वयमा काम गरिरहेको छ।
यसको दरबन्दी पनि समय–समयमा फेरबदल हुँदै आएको छ। १९१८ सालमा ४१ जना कर्मचारीको दरबन्दी रहेकोमा २०२१ सालमा २४१ जना कायम रहेको देखिन्छ। २०२९ सालमा भने नासु १, टाइपिस्ट १, लेखापाल १ र सेकेन्ड लेफ्टिनेन्ट १ थपेर कुल दर्बन्दी २४५ पुगेको देखिन्छ। कागजात हेर्दा २०३८ सालसम्म यसमा जम्मा २२६ कर्मचारी कार्यरत देखिन्छन्। २०३८ साउन १ देखि लागू हुनेगरी सो संख्या घटाई १९८ कायम गरिएकोमा पुनः २०४८ असार २३ को मन्त्रिपरिषद्को निर्णयबाट दरबन्दी कटौती गरी ८८ मा झारिएको थियो।
सरकारी अभिलेखको कागजातअनुसार तीमध्ये सिपाही पदमा कार्यरत ६४ मध्ये ४० जनाले सेनाको पोशाक पाउँथे। उनीहरूले राशन पाएको विवरण भने भेटिँदैन। उनीहरूसँग १२ नाल राइफल र गोटामाला पनि थिए।
सेनाबाट निजामतीमा आइपुग्दा जिम्मेवारीबिहीन समरजंग
२०७२ सालको भूकम्प अघिसम्म समरजंग कम्पनीको कार्यालय भोटाहिटीस्थित अहिले नेपाल प्रहरीको साइबर ब्युरो रहेको भवनमा थियो। भूकम्पले भवन क्षतिग्रस्त भएपछि डेरा खोजेर कम्पनी धुम्बाराही सर्यो। उकालोलाई प्राप्त सरकारी कागजातअनुसार २०७५ असार ४ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमातहत रहेको समरजंग कम्पनी कार्यालयलाई वन तथा वातावरण मन्त्रालयअन्तर्गत स्थानान्तरण गर्ने निर्णय गरेको थियो।
तर, वन तथा वातावरण मन्त्रालयले यो कार्यालयको स्वामित्व लिन नमानेपछि समरजंग कम्पनी गृह मन्त्रालयमातहत नै रह्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भने त्यस दिन मन्त्रिपरिषदबाट भएका निर्णय भेटिँदैनन्। असार ५ र ११ गतेका निर्णय मात्र वेबसाइटमा छन्।
अहिले गृह मन्त्रालयको पुरानो भवनको एउटा कोठामा सीमित समरजंग कम्पनीको कार्यालयबाट मौलापूजा, दसैँपूजा र इन्द्रजात्रालगायत सामाजिक–सांस्कृतिक काममा सामेल हुने जिम्मेवारी झिकिएको छ। पहिले कम्पनीको आफ्नै निशान थियो। त्यो हनुमानढोका दरबार स्क्वायरमा रहन्थ्यो। रक्षा मन्त्रालयको २०७५ माघ ७ गतेको पत्रमा उल्लेख भएअनुसार यो निशान अहिले शार्दुलजंग गुल्मलाई हस्तान्तरण भएको छ।
“शुरूमा जंगी सेवाको रूपमा रहेको यस कार्यालयलाई हाल निजामती सेवामा परिणत गरिएको छ,” पत्रमा उल्लेख छ, “स्थापनाको समयमा यसले मुख्यतः धार्मिक, सांस्कृतिक तथा परम्परागत कार्यहरू गर्ने गरेको देखिन्छ। हाल यसको मुख्य जिम्मेवारी सभा सम्मेलन हुँदा बाटोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय झण्डा राख्ने, कार्यालय हाताको रुख काट्ने आदि रहेको छ।”
सेना अन्तर्गतको यो कम्पनी निजामतीमा कहिले हस्तान्तरण भयो भन्ने यकिन अभिलेख नरहेको कम्पनीका नायव सुब्बा भक्तिप्रसाद रिजाल बताउँछन्। उनका अनुसार २०७३ सालसम्म कम्पनीमा कार्यरत सिपाही दर्जाका कर्मचारीलाई नेपाली सेनाको पोशाकको व्यवस्था थियो। हनुमानढोका दरबार स्क्वायरमा रहेको कम्पनीको दुर्गा भवानीको निशानमा बडादसैँमा पूजा गर्ने प्रचलन रहेकोमा अहिले यी सबै अधिकार कटौती भएको उनले बताए।
“पशुपतिनाथको पूजाका लागि दैनिक ७४ वटा माल तयार गरी लैजाने, भण्डारखालको बगैँचा हेरचाह गर्ने, बडादसैँमा गोरखाबाट फूलपाती भित्र्याउने नेपाली सेनाको टोलीसँग सामेल हुने, इन्द्रजात्रा र भोटो जात्रामा सहभागी हुने, तत्कालीन राजपरिवारको विवाह, व्रतबन्ध, पास्नी, राज्याभिषेक समारोहमा नेपाली सेनासँग सहभागी हुने, गुहेश्वरीको लिंगो ठड्याउने, हरितालिका तीजमा राजदरबारमा दतिवन लैजाने जिम्मेवारी थियो,” रिजाल भन्छन्, “अहिले यी जिम्मेवारी कटौती भए। हामी अहिले सडक र कार्यालय हाताका रुखका हाँगाबिँगा काँटछाँट गर्छौं अनि सरकारी सवारीहरूका बेला सडकका पोलमा नेपालको झण्डा टाँग्ने काम गर्छौं।”
कम्पनीमा अहिले ३५ जनाको दरबन्दी रहे पनि कार्यालयमा ४ जना मात्र अटाएका छन्। बाँकी ३१ जना कार्यालय सहयोगीका रूपमा गृह मन्त्रालयका अरु कार्यालय र महाशाखा–शाखामा काम गरिरहेको कम्पनीका खरिदार राजु श्रेष्ठले बताए।
कम्पनीमा २८ जना सिपाही, १ नासु, १ कम्प्युटर अपरेटर, १ लेखापाल, १ खरिदार, १ ड्राइभर, १ बाजा बजाउने बानादार र १ जना क्लिनर थिए। गृह मन्त्रालयको पुरानो भवनमा कार्यालय सरेपछि २८ जना सिपाहीसहित ३१ कर्मचारी कार्यालय सहयोगीमा परिणत भएर काम गरिरहेको श्रेष्ठले बताए।
अञ्जु न्यौपाने समरजंग कम्पनीकै कर्मचारी थिइन्। एकदिन साथीले उनलाई सोधे, ‘अहिले अफिस कता हो?’ जवाफमा अञ्जुले ‘समरजंग कम्पनी कार्यालय’ भनेपछि साथीले अचम्म मान्दै ‘सरकारी हो कि प्राइभेट?’ भनेर प्रतिप्रश्न गरेका थिए। अञ्जुले सरकारी नै हो भन्ने जवाफ दिएपछि ती साथीले सेना, प्रहरी कुन हो जस्ता प्रश्न गरिरहे।
ती साथीले मात्र नभई अरू धेरैले पनि यस्तै प्रश्न सोध्ने गरेको उनले आफ्नो ब्लगमा उल्लेख गरेकी छन्। उनी आफैलाई पनि यो कम्पनीको बारेमा शुरूमा कत्ति पनि थाहा थिएन। “हुन त मलाई पनि यो अफिसबारे केही थाहा थिएन। जब महोत्तरीबाट सरुवा भयो, तब अफिसको नाम सुनेर म पनि छक्क परेको थिएँ। के कस्तो अफिस हो, केही थाहा थिएन,” २०७५ चैत १३ गते प्रकाशित ब्लगमा उनले लेखेकी छन्, “२०३० सालभन्दा अगाडि आर्मीहरूको जिम्मामा रहेको यो अफिस त्यसपछि निजामती कर्मचारीले चलाउँदै आएका हुन्।”
यही कार्यालयमा दरबन्दी भएका नाम उल्लेख गर्न नचाहने अर्का एक कर्मचारीले पनि सरुवा भएपछि कम्पनीको नाम देख्दा निजी पो हो कि भन्ने लागेको बताए। “नाम हेर्दा निजी जस्तो लाग्यो, कहिल्यै सुनेको पनि थिएन। सोध्दै खोज्दै यहाँ आइपुगेको थिएँ,” उनले भने। उनको भनाइमा यो कार्यालयको काम नै रुखका हाँगाबिँगा काट्ने र सडकमा नेपालको झण्डा टाँग्ने हो। किनभने उनी आएयता समरजंग कम्पनीले यही मात्र गरिरहेको छ।
“म यहीँ सिंहदरबारभित्र वर्षाैं काम गरेको कर्मचारीलाई पनि यो कम्पनीमा सरुवा भएपछि कहाँ होला भन्ने भएको थियो, अरू धेरैलाई यो कम्पनी छ भन्ने थाहा छैन होला,” उनी भन्छन्, “ललिता निवास प्रकरण आएर मात्र यो कम्पनी ज्यूँदो रहेको होला, नत्र उहिल्यै बन्द गरिसक्थे कि!”
समरजंग कम्पनीको ललिता निवास जग्गा ‘कनेक्सन’
ललिता निवास प्रकरण भनेर चिनिने बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणको केन्द्रमा यही समरजंग कम्पनी देखिन्छ। ललिता निवास प्रकरणमा जोडिने जम्मा जग्गा २९९ रोपनी हो। त्यसमध्ये २८४ रोपनी जग्गा तत्कालीन सरकारले अधिग्रहण गरेको थियो भने १४ रोपनी ११ आना जग्गा नेपाली कांग्रेसका तत्कालीन नेता सुवर्णशमशेरबाट पञ्चायत सरकारले जफत गरेको थियो।
यो २९९ रोपनी जग्गा नै समरजंग कम्पनीको नाममा थियो। त्यसमध्ये १४३ रोपनी सरकारी जग्गा हिनामिना भएर व्यक्तिको नाममा दर्ता गराइएपछि यो प्रकरण ललिता निवास जग्गा प्रकरणका रूपमा चर्चित हुन पुग्यो। यही प्रकरणमा नेपाल सरकारका बहालवाला सचिव, पूर्वमन्त्री र सांसददेखि थुप्रै व्यक्ति पक्राउ परेका छन्। अरू कैयौँ खोजीको सूचीमा छन्। एकपटक पक्राउ परेर छुटिसकेका केही पूर्वमन्त्रीहरू फेरि तानिने सम्भावना देखिएको छ भने दुई पूर्वप्रधानमन्त्रीलाई पनि यस प्रकरणमा अनुसन्धान गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट विचाराधीन छ।बालुवाटारको २९९ रोपनी जग्गा समरजंग कम्पनीको नाममा चाहिँ कसरी पुग्यो?
समरजंग कम्पनीका नायब सुब्बा भक्तिप्रसाद रिजालले यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए। उनले ललिता निवासको जग्गासँग जोडिएका सबै कागजात नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको बताए।
ललिता निवास प्रकरण नेपाल सरकारका तत्कालीन सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन भएको छानबिन समितिले उजागर गरेको थियो। यो प्रकरणमा विस्तृत अनुसन्धान गर्ने टोलीको नेतृत्व गरेका पूर्वसचिव त्रिताल पनि ललिता निवासको जग्गा समरजंग कम्पनीका नाममा कसरी आयो भन्नेबारे आफूलाई थाहा नभएको बताउँछन्।
“हामीले ललिता निवास प्रकरणमा जोडिएको २९९ रोपनी जग्गामध्ये २८४ रोपनी अधिग्रहण भएको र १४ रोपनी ११ आना जग्गा सुवर्णशमशेरको जफत भएको जग्गा रहेको पत्ता लगाएका थियौँ,” त्रिताल भन्छन्, “समरजंग कम्पनीको नाममा रहेको जग्गाबारे सोध्दा कुनै अभिलेख समेत नरहेको जानकारी पाएपछि हामीले अन्य कार्यालयबाटै सूचना संकलन गरेका थियौँ। त्यतिबेला कसरी समरजंग कम्पनीको नाममा जग्गा दर्ता भएको थियो भन्ने मलाई ठ्याक्कै याद छैन। प्रतिवेदनमा यसबारे उल्लेख हुनसक्छ।”
ललिता निवासको जग्गा अधिग्रहण गर्दाको समयमा अधिग्रहण गर्ने अधिकार अञ्चलाधीशलाई रहेको र अञ्चलाधीशको कार्यालयले अधिग्रहण गरिसकेपछि त्यो जग्गा सेनाको समरजंग कम्पनीको नाममा राखिएको यस प्रकरणबारे सर्वोच्च अदालतमा रिट दायर गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले बताए। “२०४६ सालमा बहुदल आएपछि अञ्चलाधीश कार्यालयमा आगो लगाइयो, कार्यालय जलाएपछि कागजात पनि नष्ट भयो,” उनले भने, “समरजंगको नाममा जग्गा कसरी आएको थियो भन्ने कागजात त्यसमै हुन सक्छन्।”