Friday, April 26, 2024

-->

माफियाको कब्जामा नदी
उत्खननले बगर बन्दै जमिन, नाशिँदै जल र जीवनको चक्र

अवैध बालुवा उत्खननका कारण तराईवासीले वातावरणीय संकटको सामना गरिरहेका छन्। खडेरी, मरुभूमीकरण, बाढी र भू–क्षयजस्ता समस्याले स्थानीयको दैनिकी नै बिथोलिइरहेको छ। उत्खनन स्थलहरू अपराधको केन्द्र बनेका छन्।

उत्खननले बगर बन्दै जमिन नाशिँदै जल र जीवनको चक्र

काठमाडौँ– सर्लाहीस्थित लखनदेही नदी छेउमा कुनै बेला उर्वर खेतीयोग्य जमिन थियो। जमिनबीचमा कुवा थियो। तर, त्यो ठाउँ अहिले बगर बनेको छ। “त्यहाँ मिठो पानी भएको कुवा थियो। गाउँलेहरू त्यहीँबाट खानेपानी ल्याउँथे। अहिले त नामोनिसान छैन,” सर्लाहीस्थित नवलपुरमा पर्ने पालारकी स्थानीय आइतसिंह योन्जन भन्छन्।

स्थानीयका अनुसार नदीले झण्डै ६० बिघा खेतबारी नामेट गरिसकेको छ। पहिले मानिसको जीवनआधार बनेका नदी अहिले डर र अनिश्चितताको स्रोत बनेका छन्। योन्जन भन्छन्, “यस वर्ष खोलाले बाँध फुटाएर हाम्रो गाउँलाई निल्ला भन्ने डरले सताएको छ।”

तराई मधेशका नदी किनारका बस्तीमा यस्तो डर सामान्यजस्तै बनेको छ। पालारकी महिला कृषक सुकमाया योन्जन अनियन्त्रित बालुवा उत्खननका कारण नदी आक्रामक भएको बताउँछिन्। “हामीले सामूहिक रूपमा विरोध गरेर उत्खनन रोक्न खोज्यौँ,” उनी भन्छिन्, “तर, रोक्न सकिएको छैन। राति नदीमा स्काभेटरहरू गर्जिरहँदा, यता किनारमा एक झुण्ड मानिसहरू पहरेदारीमा हुन्छन्। हामी त्यता जान सक्दैनौँ।”

उत्खननको चपेटामा रहेको लखनदेही नदीको कथा बुझ्न २०७९ पुस २६ गते हामी नवलपुर पुगेका थियौँ। हामी पुग्दा झमक्क साँझ परिसकेको थियो। ‘बाहिरबाट पत्रकारहरू नदीको उत्खनन बुझ्न आइपुगेको’ सूचना बिनाअनुमति उत्खनन गर्ने र क्रसर चलाउनेसम्म पुगिसकेको रहेछ। स्थानीयका अनुसार नवलपुरस्थित पलार गाउँको उत्तर भएर बग्ने लखनदेहीमा करिब ७०० मिटर लम्बाइ र २५ मिटर चौडाइ भएको तथा पाँच मिटर गहिरो बालुवाखानी थियो। रातारात उक्त खाडल पुरिएको घटनाले स्थानीय चकित थिए। 

लखनदेहीमा रातारात पुरिएको खानी।

“रातभरि डोजर र एक्साभेटर चलेको आवाज आएको थियो। हिजोसम्म मात्र यहाँ त्यति ठूलो खाल्डो हामीले देखेका थियौँ,” बिहान पालार नजिक नदी किनारमा भेला भएका स्थानीयले भने, “निकै अनौठो घटना हो, राति डोजरले खनेको हामीले देखेका थियौँ। यसपटक राति चलेको डोजर खाडल बनाउन होइन, पुर्नको लागि रहेछ।” बालुवा खानीको ‘समाचार बन्नबाट रोक्न’ खाडल पुरिएको स्थानीय अनुमान गर्दै थिए। राम्ररी पुर्न नसकिएको खाल्डोको रूपरेखा बिहान पनि देख्न सकिन्थ्यो। त्यो खाडल पुर्न नदीबाटै बालुवा झिकेको प्रस्टै थाहा हुन्थ्यो।

लखनदेही नदीमा भएको अत्यधिक उत्खनन नै नवलपुरमा देखा परेको वातवरणीय, कृषि उत्पादन घट्ने र खानेपानीको समस्याको कारण भएको आइतसिंह बताउँछन्। हरेक वर्षामा तटबन्ध नाघेर नदी गाउँमा पस्ने भय हुने उनको भनाइ छ।

चुरेमुनिको वन र भावर विनाशतर्फ
लखनदेही एउटा उदाहरण मात्र हो, मधेश प्रदेशमा करिब ४० वटा साना–ठूला नदी अनियन्त्रित दोहनको सिकार भइरहेको मिथिला वाइल्डलाइफ फाउन्डेशनका अध्यक्ष देवनारायण मण्डल बताउँछन्। कृषि र जीवनयापनसँग जोडिएका कारण मात्र होइन, जैविक विविधता, वन्यजन्तु र तिनीहरूको बासस्थानको दृष्टिकोणले पनि चुरे र तराईलाई महत्त्वपूर्ण क्षेत्र मानिन्छ। नेपालको अन्न भण्डार मानिएको मधेशमा भैरहेको अनियन्त्रित बालुवा उत्खननले यस क्षेत्रको नदी, भूमि र मानिसहरूको जीवनमा क्षति पुर्‍याइरहेको भुक्तभोगी स्थानीयको भनाइ छ। 

नदीहरूमा भइरहेको उत्खनन र भारततिर भइरहेको बालुवा निकासी दुवै सरकारी मापदण्ड र कानूनबाहिर छन्। खासगरी, चुरेमुनिको भावर क्षेत्र उत्खननको चपेटमा छ। यस क्षेत्रमा पारिस्थितिक खलबलिएको २६ वटा नदीहरूमा सुधारको लागि वन तथा वातावरण मन्त्रालय अन्तरगत चुरे उत्थानशील योजना लागू गर्नु परेको  योजना कार्यालयका सूचना अधिकारी ठाकुरप्रसाद मंग्रातिले जानकारी दिए।  

चुरे पहाडको ‘रेन्ज’ भारतीय सिमानाबाट नजिकमा शून्यदेखी बढीमा ६० किलोमिरसम्मको दूरीमा पूर्व–पश्चिम फैलिएको छ। सरकारको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले गरेको ‘चुरे फरेस्ट अफ नेपाल’ अध्ययनमा चुरेको भूबनोट खुकुलो र संवेदनशील खालको उल्लेख छ। ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ अन्तरगत संरक्षित गरिएको क्षेत्रभित्र पर्ने प्रमुख नदीहरू मै उत्खनन भएको भेटिन्छ। यसले गर्दा गम्भीर वातावरणीय प्रभाव पारेको सिरहामा कमला नदी जोगाउने आन्दोलनकाको अगुवाई गर्ने वातावरण अभियानकर्ता प्रभात महतो बताउँछन्। 

चुरे पहाडमुनिको भावर क्षेत्र तराइको उर्वर मैदानलाई बाढीबाट जोगाउने प्राकृतिक बाँधको रूपमा काम गर्ने भएकाले पारिस्थितिक रूपमा यसको ठूलो महत्व भएको चुरे उत्थानशील योजनाका तत्कालीन प्रमुख तथा इन्जिनियर राजकुमार गुप्ता बताउँछन्।  नदीको ‘एंगल अफ रिपोज’ अर्थात् नदीले प्राकृतिक रूपमा धारण गर्ने स्वरूप नखल्बलिने गरी मात्र उत्खनन हुनुपर्ने इन्जिनियर गुप्ताको भनाइ छ। नदीहरूमा ‘एंगल अफ रिपोज’ बिगारेर उत्खनन हुँदा वातावरणीय दुष्प्रभाव परिरहेको उनको भनाइ छ।

“अनियन्त्रित उत्खननले खाल्डा बनेपछि पानीको गति तीव्र हुन्छ, सिरानबाट असामान्य किसिमले गिट्टीबालुवा क्षयीकरण भएर तल्लो क्षेत्रमा जम्मा भइरहेको हुन्छ,” गुप्ताले भने, “यसले गर्दा अप स्ट्रिम (माथितिर) र डाउन स्ट्रिम (तलतिर) दुवैतिर नदीमा क्षति हुन्छ। गिट्टीबालुवा थुपारिने ठाउँमा नदीको सतह अस्वाभाविक रूपमा माथि उठिरहेका हुन्छन्। त्यस्ता ठाउँमा बनाइएका तटबन्ध कुनै दिन बाढीले भत्कियो भने त्यसले निम्त्याउने विनाश भयावह हुन्छ।”

कमला नदीको कथा
सिरहा हुँदै बग्ने कमला नदीको उत्खननले सिँचाइमा समस्या भएको भन्दै त्यसलाई रोक्न कर्जन्हा नगरपालिकाका स्थानीयले २०७९ जेठमा आन्दोलन गरेका थिए। त्यसपछि करिब सात महिना रोकिएको उत्खनन फेरि शुरू भएको छ। तर, गत फागुन ३० गते त्यहाँ पुग्दा कर्जन्हा नगरपालिका कि उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठ यादवले कमला बचाउ अभियानको सभामा बोल्दै आफूहरूले उत्खननको अनुमति नदिएको बताइन्।

कमलाभन्दा पश्चिम पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादवले पनि आफूहरू कडाइका साथ उत्खनन रोक्न तत्पर रहेको बताए। त्यसको अर्को दिन, चैत १ गते धनुषातिरबाट कमला नदीमा पसेर सिरहातर्फ पर्ने भागमा ट्याक्टरमा जडित एक्साभेटरले गिट्टी बालुवा झिकेर ओसार्दै गरेको फेला परेको थियो। त्यहाँभन्दा उत्तर–पूर्व उत्तरवाहिनीमा रातिको समयमा तीन वटा एक्साभेटरले कमला नदी उत्खनन गरिरहेको फेला परेको कमलामा उत्खनन‌विरुद्धको आन्दोलनमा अगुवाइसमेत गरेका प्रभात महतोले बताए।

उनका अनुसार त्यहाँ खनिएको बालुवा गिट्टी करिब दुई  दर्जन टिप्परमा ढुवानी गरी धनुषाको पोर्ताहामा बेचन शर्माले चलाएको समूहले भण्डारण गरेको महतोले बताए। कर्जन्हा नगरपालिकाले दिएको अनुमतिको आडमा शर्माको समूहले जथाभावी उत्खनन गरेको हो। ‘चाइना रेल्वे ग्रुप–२’ निर्माण कम्पनीले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिका लागि कमलाबाट ८० हजार घनमिटर बालुवा गिट्टी उत्खनन गर्न नगरपालिकाले अनुमति दिएको थियो। तर, शर्माको समूहले तीन लाख घनमिटर सामग्री झिकेर भण्डारणको पहाड बनाए र पछि ओसारे। नगरपलिकाले २०७९ जेठ २० मा आर्थिक वर्ष सकिन ४० दिन बाँकी हुँदा गरेको अनुगमनमा त्यहाँ एक लाख २६ हजार घनमिटर गिट्टी बालुवा अझै भण्डारण भएको पाइएको थियो।

उत्खननविरुद्धको आन्दोलनका अगुवा महतोका अनुसार त्यसअघि पौने दुई लाख घनमिटर नदीजन्य सामग्री शर्माको समूहले उठाएर लगिसकेको थियो। त्यहाँ साढे दुई बिघा जग्गामा ६० फिटभन्दा अग्लो हुनेगरी ती सामग्री भण्डार गरिएको थियो। बाँकी रहेको ६५ हजार घनमिटर बालुवा गिट्टी कमलाको बगरमा पहाडजस्तो उभिएको छ। स्थानीयले त्यो सामग्री उठाउन नदिन रातो झण्डा गाडेका छन्। अहिले त्यहाँ कमलामा उन्खनन्‌विरुद्ध आन्दोलन शुरू भएको छ।

बिथोलिएको कमला सिँचाइ र खानेपानी
कमला उत्खननकै कारण कृषि उत्पादन घटेर आफूहरूले संकट भोग्न थालेको कमला नदी किनारमा रहको गाउँ बल्टियाका किसान विनोद श्रेष्ठ बताउँछन्। “पहिला हिउँदमा पनि कमलाको पानीले सिँचाइ हुन्थ्यो। उत्खननका कारण यस क्षेत्रमा पानी भूमिगत भयो,” श्रेष्ठले भने, “अब वर्षायाममा समेत कमलालाई बाँधले छेकेर खेतसम्म आलोपालो गरी पानी पुर्‍याउनु पर्छ।” 

उनले आफ्नो साढे दुई बिघा जग्गामा गर्दै आएको धान, गहुँ र मकै खेतीमा सिँचाइ समस्या बढेको बताए। त्यही कारण गत वर्ष भएको एक हप्ता लामो आन्दोलनमा स्वतःस्फुत हजारौँ स्थानीयले भाग लिएको कमला नजिकैको अर्को गाउँ बन्दीपुरका किसान भरत महतो बताउँछन्।

सिराहाकै कल्याणपुर र मिर्चैया नगरपालिकाका करिब दुई दर्जन गाउँमा कृषिको लागि कमला बराजबाट आउने सिँचाइ सुविधा बिथोलिएको कर्जन्हाका स्थानीय रामस्नेही ठाकुर बताउँछन्। कमला सिँचाइ योजनाका सुपरभाइजर अशेसर यादवका अनुसार कमला सिँचाइ योजनाबाट निस्केको दुई मुख्य नहरमध्ये पुर्वी नहरबाट कल्याणपुर र मिर्चैयाका ती गाउँमा सिँचाइ हुन्थ्यो। उत्खनन भएको ठाउँभन्दा ५०० मिटर दक्षिणमा कमला सिँचाइ आयोजनाको पक्की बाँध छ।

सुपरभाइजर यादव उत्खननकै कारण पानी भूमिगत हुँदा कमलाको बाँधमा आउने पानी घटेर आधाभन्दा कम भएको बताउँछन्। पुर्वी र पश्चिमी नहरमा एकैसाथ पानी दिन सक्ने अवस्था समाप्त भएकाले आलोपालो पठाउनु परको उनले बताए। कमला बाँधको सिरानतर्फ (उत्तर) अनियन्त्रित उत्खनन हुँदै आएको छ। त्यहाँ नदीको सतह साबिकभन्दा करिब १० फिट तलसम्म भासिएको स्थानीय बताउँछन्। यो वर्ष कमला सिँचाइ योजनामा पानीको बहाव ह्वातै घट्नुमा यही कारण रहेको स्थानीयको भनाइ छ।

नदी सुक्दै गएपछि कमला सिँचाइ योजनाको पक्की बाँधमा पानी पुर्‍याउन स्थानीयले बनाएको छेकबार।

कमलामा भएको उत्खननले बस्तीमा खानेपानीको समस्या पनि शुरू भएको छ। स्थानीयका अनुसार कर्जान्हा नगरपालिकाकै बन्दीपुर र फेरहाटोला गाउँमा केही वर्षदेखि खानेपानीको समस्या शुरू भएको हो। कर्जान्हा–३ का विनोद श्रेष्ठका अनुसार पहिला १०० फिट गहिराइमा नपुग्दै पानी पाइने ट्युबेलका लागि अब २०० फिटभित्र पुग्नु पर्छ। नदीसम्बन्धी विज्ञ डा. सञ्जय देवकोटाका अनुसार अधिक उत्खननले गर्दा भूक्षय तीव्र हुन्छ र भूसतहको पानी सोस्ने क्षमता कम हुन्छ। जसकारण जमिनमुनि पानी जान नपाउँदा सतह घट्छ।

बाराको बालगंगा नदीमा उत्खननका कारण पानी सुकेको करिब १२ वर्ष भएको जितपुर सिमरा उपमानगरपालिकाका १६ का वडाध्यक्ष हरिदेव खरेल बताउँछन्। उनका अनुसार पिलुवा नजिक कलकल बग्ने बालगंगामा अब वर्षा भए मात्र पानी हुन्छ। नदीको पानी सुकेसँगै कलधाराहरू पनि सुकेको बालगंगाको किनारमा रहेको पिलुवा आसपासका १०० भन्दा बढी कल सुकेर प्रयोगबिहीन भएको खरेलको भनाइ छ।

धनुषाको औरही र रातुमा पनि दोहन उस्तै
पुर्वपश्चिम राजमार्गमाको ढल्केबरदेखि पूर्वमा पर्छ औरही नदी। राजमार्गदेखि ५०० मिटर दक्षिणतर्फ श्रीपुर र हरिहरपुरको बीचबाट नदी उत्खनन प्रारम्भ हुन्छ। औरहीको चार किलोमिटर क्षेत्रसम्ममा सानादेखि हजार वर्गमिटरसम्म आकार र २५ फिटसम्म गहिराइ भएका सयौँ खाडल छन्। बालुवा गिट्टी प्रशोधनका लागि आधा दर्जन क्रसर नदीको किनारैमा छन्। 

औराही नदीमा गरिएको उत्खनन।

वातावरण अभियानकर्मी मनोजकुमार महतोका अनुसार उत्खननका कारण नदीमा पानी छैन। यहाँ रातिराति दर्जनौँ टिप्पर, ट्याक्टर र एक्साभेटर प्रयोग गरेर उत्खनन हुने गरेको महतो बताउँछन्। जलचर र जलमा हुने वनस्पति हराइसकेको स्थानीयको भनाइ छ। “नदी किनारका उब्जाउ खेतहरूले उर्वर शक्ति गुमाइसकेका छन्,” मिथला नगरपािलका–२ का किसान सुवर्ण महतोले भने,  “खेतहरूमा दमकल लगाएर हालेको पानीसमेत टिक्दैन।”

ढल्केबरदेखि पश्चिम लाग्दा बर्दिवासभन्दा पहिले रातु नदी आउँछ। रातुमा पानी हराएको एक दशक भयो। वर्षामा भने भेल आउने स्थानीय बताउँछन्। यहाँ एक किलोमिटर चौडाइ र १० किलोमिरट लम्बाइ क्षेत्रमा १०० भन्दा बढी विशालकाय बालुवा खानी छन्। १५ मिटरसम्म गहिराइ र १० हजार वर्गमिटरसम्म आकारका डरलाग्दा खाडलहरू भएको महतो बताउँछन्। नदीको दुवै किनारमा दर्जन जति क्रसरहरू छन्। 

नेपालको ‘ढुृंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७’ ले पाँच फिटभन्दा गहिरोमा र गह्रौँ उपकरण लगाएर उत्खनन गर्न रोकेको छ। वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र त्यस्ता उपकरण प्रयोगको अनुमति दिने प्रावधान छ। तर, बिनाअनुमति नदीहरूमा ठूला उपकरण प्रयोग भइरहेका छन्। रातु किनारमै एक्साभेटर, डोजर र लोडर मर्मतको लागि ठूलो वर्कशप छ। 

बर्दिवासभन्दा पूर्व लाग्दा राजमार्गको पुलबाटै रातुको दुवै किनारमा क्रसर उद्योगहरू देखिन्छन्। उत्खनन गरेर थुपारिएको सामग्री यहाँ पनि पहाडजस्तै गरी राखिएको छ। नदीको किनारैकिनार दक्षिमणतिर बढ्दा त्यहाँ १०० भन्दा बढी खाडलहरू देखिन्छन्।

बिथोलिँदै ‘इको सिस्टम’
नदीहरूमा पानी आउन छोड्नु तथा जलचर र जलीय वनस्पतिहरू हराउँदा ‘इको सिस्टम’ बिग्रिने नेपालका नदी प्रणालीहरूमाथि अध्ययन गरेका इन्जिनियर डा. सञ्जय देवकोटा बताउँछन्। “अनियन्त्रित उत्खननले अनेक असर पारिरहेको हुन्छ। पहिलो असर नजिकको मानवबस्ती, जमिन र भूबनौटलाई पर्छ,” डा. देवकोटाले भने, “नदीको बनौट र इकोसिस्टममा पारेको असर व्यापक हुन्छ। उत्खननको सिकार भएको ठाउँ मरुभुमीकरण भएको देखिन्छ। नदीमा पानी, जलचर र हुनुपर्ने वनस्पति लोप हुनु भनेको इकोस्स्टिम नष्ट हुनु हो।”

यसलाई पुनस्र्थापित गर्न निकै कठिन हुने र समय तथा लगानी निकै बढी लाग्ने उनी बताउँछन्। नदीहरूमा बालुवाको दोहन अत्यधिक हुँदा पर्ने दुष्प्रभाव उत्खनन रोकिँदा पनि चलिरहन्छ। दुई दशकसम्म भारतीय बालुवा तस्करहरूको दोहनको सिकार भएको पर्साको ओरिया नदीमा स्थानीयले धेरैपटकको प्रतिकार गरेपछि चार वर्षदेखि बन्द छ। तर, ओरिया किनारको गाउँ पिराडीको पीडा उस्तै छ। बिहारको पश्चिमी चम्पारणको इनर्वा बजारसँग सीमा जोडिने पिराडी गाउँ नजिक दैनिक सयौँ संख्यामा ट्याक्टर पसेर बालुवा लैजाँदा नदी गहिरो भई कटान बढेको छ। 

कमला बराज नजिकै नहरमा पानी कम भएपछि कुलोमा लैजान बनाइएको अवरोध।

त्यहाँ करिब ८० बिघाभन्दा बढी खेत बगरमा परिणत भएको छ। स्थानीय शिवप्रसाद महतोले खेतको बीचमा सिँचाइ सुविधाका लागि हालेको बोरिङ भएको ठाउँमा नदीको धार बगिरहेको छ भने पाइपको ठुटो पानीमा छ। उनको आठ कठ्ठा खेत नदीले लगेको छ। 

स्थानीय दिलबहादुर साहको तीन बिघा पैतृक खेत बगर भएको छ। त्यहाँ जग्गा गुमाएको ४० भन्दा बढी परिवार छन्, जसमध्ये जग्गाविहीन भएकाहरू पनि छन्। दुई बिघा जग्गा नदीले कटान गरेपछि हरिदेव राय, रामदेव राय, रामजी राय र चन्द्रदेव राय चार दाजुभाइ अहिले गाउँ छोडेर भारतको पञ्जाबमा मजदुरी गर्छन्। उनीहरूकोे घरमा महिला र बालबालिका मात्र छन्। 

पिराडी गाउँमा पहिला आफ्नै खेतीपातीमा आश्रित दर्जनौँ परिवार अहिले किसानबाट मजदुर भएका छन्। “नदी र गाउँबीच साबिक १०० बिघा खेतीयोग्य जग्गामध्ये २० प्रतिशत पनि बाँकी छैन,” स्थानीय रामबाबु पटेलले भने, “त्यसैमध्येको मेरो तीन बिघा खेत अहिले नदीमा परेको छ। मेरो हातमा कागजात मात्र बाँकी छ।” डा. देवकोटाका अनुसार उत्खनन हुने ठाउँमा नदी फराकिलो र गहिरो भएको हुनाले बाढीको समयमा त्यस ठाउँमा पुग्ने पानीसमेत बढी हुन्छ, जसकारण कटान पनि बढी हुन्छ।

यो पनि: क्रसर व्यवसायीको ‘अपराध’ : डुबेर मरिरहेछन् नागरिक, क्षतिपूर्तिका नाममा गुपचुप

बालुवा उत्खननबाट बनको खाडलहरूले कयौँ परिवारलाई शोकमा डुबाएका छन्। मधेश प्रदेशमा मात्र पछिल्लो दुई वर्षमा पानी जमेका खाडलमा परेर २७४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ। धेरैजसो त्यस्तो खाल्डा बालुवा गिट्टी उत्खनन गर्दा बनेका हुन्। मृत्यु हुनेमा अधिकांश बालबालिका छन्।

सीमापारि बालुवा व्यापार
विनाशकारी परिणाम निम्त्याउने उत्खनन नरोकिनुको पछाडि यसबाट हुने आम्दानीमा साझेदारहरू धेरै हुनु र सीमापारि भारतसम्म नेपाली बजार बिस्तारित रहेको पत्रकार चन्द्रकिशोर बताउँछन्। “बिहारमा सरकारी योजनाको ठेक्कापट्टा धेरै छ, त्यहाँका कथित सम्भ्रान्त परिवार मात्र होइन निम्न मध्यम वर्ग र मध्यम वर्गले पनि अहिले पक्की घर निर्माणलाई पहिलो आवश्यक्ता मानेका छन्। यसले अनेकस्तरमा बालुवाको माग भारतमा फैलिँदो छ,” चन्द्रकिशोरले भने, “पहिला अनेक धन्दामा लागेकाहरू ठेकेदार भए, उनीहरूले नै बालुवाको कारोवार गर्ने गरेका छन्। सीमावर्ती क्षेत्रका गाउँगाउँमा दर्जनौँ ट्याक्टर बालुवा ढुवानीमा दिएर भाडा कमाउँछन्। लाभका साझेदार धेरै भए। कतिपयको चिया खाजा पसल, मदिरा पसल चलेको छ। कोहीले ट्याक्टरलाई डिजेल बेच्न पाएका छन्। यसकारण बालुवा तस्करीले नेपाल भारतबीचको खुला सिमानामा स्विकार्यता पाएको हो।” 

सीमापारि भारतीय क्षेत्रमा नेपालबाट लगिएको बालुवा, जयनगर (माथि) र रक्सोल (तल)।

बाराको बालगंगा र पसहा नदीमा उत्खनन भएको बालुवा करिब ३० किलोमिटर पर्ने मटिअर्वा र विश्रामपुर सिमाना भएर भारतमा अवैध निकासी हुन्छ। बालुवा सीमापारि आदापुर, घोडासहन र रक्सोलको बजारमा बिक्री हुन्छ। कमलाको बालुवा इनर्वा हुँदै भारत बिहारको जयनगरतर्फ निकासी हुने गरेको छ। औरही र रातु नदीबाट निस्किने बालुवा जटही सिमानासम्म नेपाली ट्याक्टर र त्यहाँदेखि सीमापारी भारतीय ट्याक्टरले लैजान्छन्। सर्लाहीको लखनदेहीबाट निस्किने बालुवा मलंगवा हुँदै बिहारको सोनवर्षातर्फ निकासी हुन्छ। 

सीमावर्ती भारतीय बजारहरूमा बालुवाको कारोबार खुब फस्टाएको छ। जबकि, त्यहाँ नजिकमा बालुवाको स्रोत छैन। सीमावर्ती बजारमा बालुवा बिक्री गर्ने केन्द्रहरू लहरै छन्। नेपालको पर्सा र बारालाई जोड्ने सीमावर्ती भारतको पूर्वी चम्पारण जिल्लाको रक्सोलदेखि घोडासहनसम्म १०० वटाभन्दा बढी बालुवा बिक्री केन्द्र छन्। सीमापारिबाट ट्याक्टरमा बालुवा ल्याएर त्यहाँ खन्याउँदै गरेको र त्यहाँबाट बिक्री गरिएको बालुवा ट्याक्टर वा अरू साधनमा लोड गर्दै गरेको दृक्ष्य देखिन्छ। 

अपराध/हत्याको केन्द्र
उत्खनन कारोबारमा मसल, पैसा र पहुँच भएकाहरूको बर्चश्व छ। यसैको भरमा उत्खननविरुद्धको आवाज दबाइन्छ। उत्खननविरुद्ध बोल्दा धम्की र त्रासका घटनालाई बिर्साउने बिभत्स हत्यासम्मको अपराध पनि भएका छन्। धनुषाको औरही नदीमा क्रसर संचालकहरूबाट हुने अनियन्त्रित उत्खननले आफ्नो डेढ बिघा खेतको उर्वर क्षमता गुमाएको भन्दै २५ वर्षीय युवा इन्जिनियर ओमप्रकाश महतो (दिलीप) केही वर्षदेखि विरोधमा थिए। उनले त्यसविरुद्ध अभियान नै चलाएका थिए।

क्रसर व्यवसायीले २०७६ पुस २२ गते उनको हत्या गरे। आफ्नो गाउँ श्रीपुर नजिकै सोही नदीको किनारमा निर्मम कुटपीट गरी घाइते बनाएपछि टिप्परले कुल्चिएर उनको हत्या गरियो। २०७९ फागुन ३ मा दिलिप हत्याका मुख्य आरोपीहरू विपिनकुमार महतो र मुनिन्द्र महतोलाई धनुषा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ। जाहेरीमा नाम उल्लेख गरिएकामध्ये केहीले सफाइ पाएका छन्। हत्यामा संलग्नहरूले संचालन गरेको क्रसर भने अझै चलिरहेकै छ। 

यो पनि: मधेशका गिट्टी बालुवा खानी बने अपराधका नयाँ अखडा, प्रतिवाद गर्नेविरुद्ध प्रहरी नै लगाउँछ मुद्दा

दिलीप महतोका बुबा रामजीवन अदालतको फैसलाप्रति सन्तुष्ट छैनन्। यस फैसलाविरुद्ध आफू उच्च अदालत जाने उकालोसँग बताए। दिलीपका परिवार मात्र होइन स्थानीय पनि दिलीपले ज्यानै जाने गरी जे माग गरेर संघर्ष गरे, त्यसमा रतिभर सुधार नभएको बताउँछन्।

“दिलिपले नदीको उत्खनन रोक्न, अवैध क्रसरमा अंकुश लगाउन संघर्षरत् मात्र थिएनन्, औराही नदीको बेलगाम दोहनले वातावरणमा परेको असरबारे निरन्तर मानिसहरूलाई सचेत गराउँदै आएका थिए,” वातावरण अभियानकर्मी मनोज महतो भन्छन्, “त्यो युवाको प्राणको आहुति खेर जानु हुँदैन भन्ने समुदायको भावना हो। सुधारको अवस्था कहिँकतै देखिँदैन। बरू दोषीहरूको हौसला बढेको छ।”


सम्बन्धित सामग्री