Thursday, March 28, 2024

-->

मधेशका गिट्टी बालुवा खानी बने अपराधका नयाँ अखडा, प्रतिवाद गर्नेविरुद्ध प्रहरी नै लगाउँछ मुद्दा

अवैध उत्खनन् रोक्न आवाज उठाउनेहरूको ज्यानै लिने घटना त छन् नै, तिनै माफियाले बनाएका खाडलमा डुबेर मृत्यु हुने पनि धेरै छन्। तर, यस्ता घटनालाई भवितव्य मानेर राज्यले अपराधलाई ‘वैधानिकता’ दिइरहेको छ।

मधेशका गिट्टी बालुवा खानी बने अपराधका नयाँ अखडा प्रतिवाद गर्नेविरुद्ध प्रहरी नै लगाउँछ मुद्दा
तस्वीरहरू रितेश/उकालो

काठमाडौँ–चार वर्षअघि, बिहान ४ नबज्दै धनुषाको औराही खोलामा २५ वर्षीय ओमप्रकाश महतो (दिलीप)को हत्या भयो। बालुवा गिट्टी उत्खनन गर्नेहरूले उनको हत्या गरेका थिए। 

“निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएपछि टिपरले कुल्चिएर दाजुको हत्या गरियो,” ओमप्रकाशकी बहिनी लक्ष्मी भन्छिन्। “(टिपरले) कुल्चिनुअघि फलामको रड उनको छातीमा रोपिएकोले पोस्टमार्टम गर्दा मुटुमा प्वाल फेला पर्‍यो। शरीरमा अनेक ठाउँमा गहिरा घाउखत थिए, यातनापूर्ण हत्याको सिकार भए मेरो दाइ।”

मिथलानगर–५ श्रीपुरका दिलीप पेशाले इन्जिनियर थिए। अनियन्त्रित उत्खनन् रोक्न आधा दशक अगाडिदेखि थालेको उनको अभियानप्रति स्थानीयको समर्थन बढ्दै गएको बेला औराही नदीकै किनारमा उनको निर्मम किसिमले हत्या भयो।

२०७६ पुस २२ गते भएको दिलीपको हत्या मधेशमा स्थानीय समुदाय र अवैध उत्खननकर्ताबीच भइरहेको द्वन्द्वको एउटा उदाहरण हो।

संवेदनशील मानिएको मधेश प्रदेशमा करिब ४० वटा साना ठूला नदी अनियन्त्रित दोहनको सिकार भएका छन्। बालुवा तथा गिट्टी ढुंगा संकलन गर्ने क्रसर तथा बालुवाखानी उद्योगहरूले मधेशमा मापदण्ड विपरीत अवैध उत्खनन् गरेका मात्र होइन यसको विरोध गर्ने स्थानीयहरूलाई पनि जबर्जस्ती दबाउने गरेका छन्। उनीहरूको दण्डहीनतामा प्रहरीको समेत संलग्नता भएको स्थानीयहरूको आरोप छ।

मधेशमा अवैध बालुवा र गिट्टीढुंगा उत्खननले स्थानीय समुदायलाई प्रभावित गरिरहेको छ। स्थानीयका अनुसार अवैध उत्खनन् भएका ठाउँहरूमा नराम्रो वातावरणीय र सामाजिक प्रभाव पर्ने गरेको छ भने, उत्खनन् गर्दा बनेका खाडलमा डुबेर कैयौँ व्यक्तिहरूको मृत्युसमेत भएको छ। 

अवैध उत्खननको विरोध गर्नेलाई दमन
मधेश प्रदेशका अनेक नदीहरूजस्तै औराहीमा पनि एक्स्काभेटर र डोजरजस्ता भारी उपकरणबाट रातिको समयमा उत्खनन् जारी रहेको अभियानकर्मी मनोज महतो बताउँछन्। औराहीको बगरमा योसहित जय शिवभोले बालुवा प्रशोधन उद्योग, औराही बाबा बालुवा प्रशोधन उद्योग, रोहन बालुवा प्रशोधन उद्योग, छिरेश्वर बालुवा प्रशोधन उद्योग र शुभम् बालुवा प्रशोधन उद्योग गरी ६ वटा क्रसर सञ्चालित छन्।

नेपालको ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७’ ले पाँच फिटभन्दा गहिरोमा र हेबी मेशिनहरू लगाएर उत्खनन् गर्न रोकेको छ। तर त्यहाँ २० फिटसम्म गहिरो र हजार वर्गफिटसम्म लम्बाइ र चौडाइका खाडलहरू देखिन्छ।

मनोजका अनुसार मधेश प्रदेशमा नदीका बगरहरूमा उत्खनन् र क्रसर चलिरहँदा सर्वसाधारण मौनरूपमा बाटो लाग्नुपर्ने हुन्छ, नभए सुरक्षामा संकट आइपर्छ।

उद्योगीहरूको दबदबाको अरू उदाहरण हुन् धनुषाको बडहरी र रातु नदी। बडहरी नदीको धार विगत पाँच वर्षमा डेढ गुणा चौडा भएको छ। पहिला न नदीमा कुनै समस्या थियो, न कटानको जोखिम। यहाँबाट बालुवा निकाल्ने काम हुँदैनथ्यो। 

औराही खोलामा भएको उत्खनन्।

“अघिल्लोपटक निर्वाचित स्थानीय तह आएपछि यहाँ बालुवा र गिट्टी खन्ने ठेक्का लाग्न थाल्यो, त्यसयता नदीको मिजाज बिग्रिएको छ, बर्सेनि कटान र बाढी बढ्दो छ,” स्थानीय ६५ वर्षीय रामबिलास महतो भन्छन्, “नगरपालिकामा र प्रहरीमा खबर गर्दा पनि सुनुवाइ नभएपछि गाउँका मान्छे विरोध जनाउँदै खोलामा भइरहेको उत्खनन् रोक्न एकत्रित भएर गए। त्यहाँबाट फर्किने बेलामा मेरो भतिजो सञ्जयलाई समातेर रडले हाने।” 

धनुषाको बटेश्वर गाउँपालिका-१ विजयपुरमा भएको उक्त घटनामा स्थानीय युवा सञ्जय महतोको टाउकोमा गहिरो घाउ लगेर बगरमै ढले। भाइहरू बैजु र शत्रुध्नले गाउँलेको सहयोगमा उठाएर ल्याउँदा रक्ताम्मे अवस्थामा अचेत रहेका सञ्जयको दुवै कानबाट रगतको धार बगिरहेको दृश्य गाउँले सुनाउँछन्।

“गाउँका सबै घरबाट जनही जानुपर्छ भनेर दिउँसै तय थियो। साँझ मेरो छोरा पनि गयो, फर्किने बेलामा पछाडितिर रहेछ, रडले हाने,” तीन वर्षअघिको घटना सम्झिँदै आमा दुखनी देवीले भनिन्, “उ घाइते भएर जनकपुर लगिएको थाहा पाइयो, हामीले त हेर्न पनि पाएनौँ।” 

जनकपुरस्थित अस्पतालले काठमाडौँ रेफर गर्‍यो। दुई महिनाको सघन उपचारपछि सञ्जय फर्किए। घरमा आर्थिक अभावका कारण उनी साउदी अरेबियामा रोजगारी गर्न गएका छन्। 

सन्जयकी छोरीसँग आमा दुखनी देवी।

“अहिले पनि उनलाई रिंगटा लागेर आँखाअगाडि अँध्यारो भइजाने समस्या छ,” दुखनी भन्छिन्, “मलाई छोराको चिन्ता लागिरहन्छ।”

फौजदारी अपराध रहेको यो घटनामा कोहीमाथि प्रहरीले मुद्दा चलाएको देखिँदैन। स्थानीय शम्भु महतो, विजयकुमार महतो, नरेश महतोलगायतले घटनाको जिम्मा लिँदै पञ्चायतीमार्फत उपचार खर्च तिर्ने सकार गरेका थिए। केही पैसा दिए पनि। तर, पछि घटना मिलाइयो। 

यस घटनापछि त्यहाँ बडहरी खोलामा उत्खननविरुद्ध बोल्न कसैले आँट गरेको छैन। हातहतियार राख्नेदेखि मान्छेलाई मार्नसम्म पछि नपर्ने भएकोले स्थानीयहरू बालुवा गिट्टी उत्खनन् गर्ने गिरोहविरुद्ध बोल्न नसकेको १२ कक्षामा पढ्ने एक विद्यार्थीले बताए।

तत्कालीन ठेकेदार शत्रुध्न महतोसँग नजिक रहेका अर्का उनका सहयोगी मनोज कुमारले बटेश्वर नगरपालिकाको लवकुश चोकमा करिब अढाई वर्षअघि एक साँझ बन्दुक नै पड्काएर आफूहरूको दबदबा देखाउन चाहेका थिए। पछि उनका बुवा रामचन्द्र र उनी बन्दुकसहित पक्राउ परे।

“त्यतिबेला म आफैँ खोलामा अनियन्त्रित उत्खननविरुद्धमा लागेको थिएँ, चुनावताका मैले उत्खनन् रोक्ने प्रतिबद्धता गरेर जनताले जिताए,” त्यहाँका वडाध्यक्ष अशोककुमार महतो भन्छन्, “यसपालि गाउँपालिकाको स्रोतको लागि बालुवाको ठेक्का लगाउने प्रस्ताव आउँदा मैले मापदण्डमा रहेर बालुवा झिक्ने र तटबन्ध बनाउने शर्तमा ठेक्का लगाउने सहमति दिएँ।”

धनुषाको रातु नदी
पूर्व-पश्चिम राजमार्गकै ढल्केबरदेखि पश्चिम लाग्दा बर्दिबास नपुग्दै रातु नदी पर्छ। रातु नदीको एकदेखि दुई किलोमिटरसम्म चौडाइ र १० किलोमिटरसम्म लम्बाइमा लहरै १०० भन्दा बढी विशालकाय बालुवा गिट्टी खानीहरू छन्। नदी किनारमा भएका ४० फिटसम्म गहिराइ र १० हजार वर्ग फिटसम्म क्षेत्रफलका खाडल नजिकै दर्जन बढी क्रसर उद्योगहरू छन्। 

नदीमा उत्खननको लागि ठूला उपकरणको प्रयोग कानूनी रूपमा निषेध रहे पनि त्यहाँ चल्ने एक्स्काभेटर, डोजर र लोडर मर्मतको लागि नदीकै किनारमा राजमार्ग छेउमै ठूलो वर्कसप छ। गत चैत २ मा त्यहाँ पुग्दा खानीको तस्वीर लिन त्यहाँ रहेका मानिसहरूले रोके। उनीहरूले धम्कीपूर्ण तरिकाले त्यहाँबाट गइहाल्न भनेका थिए। “सुरक्षाको दृष्टिकोणले यो निकै संवेदनशील ठाउँ हो,” स्थानीय पत्रकार विजय साहले भने, “यो ठाउँ नेपालमा भए पनि सरकारको होइन, यहाँ क्रसर सञ्चालकहरूको नियम चल्छ।” 

कमलाको उदाहरण
अवैध उत्खनन् र आपराधिक गतिविधि हुने अर्को क्षेत्र कमला नदी हो। पूर्व-पश्चिम राजमार्गको बन्दीपुरदेखि कन्चनपुर खण्डको स्तरोन्नति योजनाका लागि गत वर्ष ८० हजार घनमिटर बालुवा गिट्टी कमलाबाट निकाल्ने कर्जान्हा नगरपालिकाबाट अनुमति लिएर ३ लाख घनमिटर झिकियो। चाइना रेल्वे ग्रुप २ निर्माण कम्पनीसँग मिलेर कारोबारी बेचन शर्माले हेबी उपकरण लगाएर कमलाबाट गिट्टी बालुवा झिके। त्यहाँ गिट्टी बालुवाको पहाडजस्तै थुप्रो लगाए। अनि, त्यही भण्डारणबाट ओसार्न शुरू गरे।

कमलामा अहिले करिब ६५ हजार घनमिटर गिट्टी बालुवाको विशाल भण्डारण देखिन्छ।

कमला नदी।

बालुवा उत्खननले गर्दा कमला नदी गहिरियो। पानीसमेत भित्र गएपछि सिँचाइको स्रोत बिथोलियो। जसले गर्दा खेती गर्नै समस्या भयो। यस्तै समस्या खेप्ने मध्येका एक विनोद श्रेष्ठले यसविरुद्ध आवाज उठाउन शुरू गरे। 

२०७८ माघको पहिलो सातादेखि स्थानीयहरू विरोधमा उत्रिए। २०७८ माघ २० मा शान्तिपूर्ण विरोधको कार्यक्रम तय गर्न स्थानीयले आमभेला राखेका थिए। भेलाको अगुवाइ गरिरहेका कर्जन्हा–१ बल्टियाका किसान विनोद श्रेष्ठलाई प्रहरीले त्यहीँबाट समातेर लग्यो। इलाका प्रहरी कार्यालय मिर्चैयामा लगेर पहिले नै ज्यान मार्ने उद्योग मुद्दा दर्ता रहेको भन्ने पक्राउ पुर्जी थमाइयो।

“म पक्राउ पर्नुभन्दा करिब ५ महिनाअगाडि नै मन्दिरको जग्गा हिनामिना गरेको भन्दै गाउँले र त्यहाँका पुजारीबीच झैझगडा भएको रहेछ,” श्रेष्ठले भने, “त्यो दिन म गाउँमै थिइनँ, तर पहिलादेखि कमलाको उत्खनन् रोक्न बोल्दै आएको हुनाले मेरो नाम त्यहाँ योजनाबद्ध रूपमा राखेर मविरुद्ध मुद्दा तयार गरेर राखिएको भन्ने बुझियो।”

विनोद श्रेष्ठ।

श्रेष्ठ २२ दिन थुनामा बसेर १ लाख रुपैयाँ धरौटी बुझाइ छुटे। पछि, ज्यान मार्ने उद्योगको दाबी खारेज गर्दै अदालतले कुटपिट मुद्दामा रूपान्तरित गरेको छ, मुद्दा भने जारी छ। 

श्रेष्ठका अनुसार ज्यान मार्ने उद्योग मुद्दामा दर्ता गर्ने बेला इलाका प्रहरी कार्यालय मिर्चैयाको इन्चार्ज प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्र श्रेष्ठ थिए भने, पक्राउ गर्दा डीएसपी हरिबहादुर ओली इन्चार्ज थिए।

२०७८ फागुन १२ गते छुटेर श्रेष्ठले पुनः कमलामा उत्खनन् रोक्न माग गर्दै जारी रहेको विरोधको कार्यक्रममा जोडिए। उनलाई गलाउन कर्न्जन्हा-१ का गिट्टी बालुवा ढुवानी व्यवसायी रामरतन मुखियाले धनुषाको बरमझिया प्रहरी चौकीमा टिपर (डम्प ट्रक) तोडफोडको आरोपमा ठाडो उजुरी हाले। प्रहरीले श्रेष्ठलाई फेरि बोलायो। तोडफोड भएको भनिएको गाडीका चालकले श्रेष्ठको संलग्नता थाहा नभएको बताएपछि स्थानीय अगुवाहरूले मिलापत्र गराएर उनलाई छुटाए। भण्डार गरिएको गिट्टी बालुवा लैजान भने कमला उत्खननविरुद्धको आन्दोलनका कारण रोकियो।

“उनलाई (श्रेष्ठलाई) फसाउन बारम्बार प्रयास जारी छ,” स्थानीय अगुवा प्रभात महतोले भने, “नगरपालिका कार्यालयले उत्खनन् गर्ने माफिया गिरोहलाई सघाएको छ, प्रहरीको पनि साथ पाएर उनीहरूको हौसला बुलन्द छ।” 

यसभन्दा तीन वर्षअगाडि स्थानीय युवाहरूले कमलामा भएको उत्खनन् रोक्न बगरमै पुगेर विरोध जनाए। त्यतिबेला क्षेत्रलालजीत सिंहलगायत पाँच जना युवाविरुद्ध डीएसपी सन्तु जयसवालले अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइदिए। 

“यहाँ उत्खनन् त लामो समयदेखि चल्दै आएको हो, यसविरुद्ध बोल्नुपर्छ भनेर हामी सक्रिय भइरहेका थियौँ, उहाँले हामीमाथि अकारण मुद्दा चलाइदिनु भयो,” सिंहले भने, “दुई वर्ष हामी सीडीओ कार्यालय तारेखमा धाउनु पर्‍यो।” मुद्दाको सुनुवाइ गरिरहेका सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रदीपराज कँडेलले उनीहरूलाई सफाइ दिए। 

लामो समय बन्द रहेको कमलाको उत्खनन् अहिले फेरि शुरू भएको छ। यहाँबाट निकालिएको गिट्टी बालुवा भण्डारण गरी स्थानीय बजारमा बिक्री हुनुका साथै सीमापारि जयनगर र महिनाथपुर भएर भारततर्फ चोरी निकासी पनि हुन्छ। 

मधेशका विभिन्न नाकाबाट भारततर्फ लगिँदै गरेको गिट्टी बालुवा।

गत १४ मार्च २०२३ (फागुन ३०)मा त्यहाँ पुग्दा सिरहाको कर्जन्हा नगरपालिका उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठ यादवले कमला बचाउ अभियानको सभामा बोल्दै आफूहरूले उत्खननको अनुमति नदिएको बताइन्। 

कमलाभन्दा पश्चिम पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादव उत्खनन् रोक्न आफूहरू कडाइका साथ तत्पर रहेको बताउँछन्। अर्को दिन चैत १ मा भने कमला नदीमा धनुषातिरबाट पसेर सिरहातर्फ पर्ने नदीको मध्य भागमा ट्याक्टरमा जडित एक्स्काभेटरले खन्दै सयौँ वटा ट्याक्टरमा गिट्टी बालुवा ओसारिइरहेको फेला परे। 

बालुवा उत्खननको कारण हुने मृत्यु
मापदण्डविपरीत खन्ने र त्यहाँ बनेका खाडलमा डुबेर मानिसको मृत्यु हुने क्रम मधेश प्रदेशमा जारी छ। 

औराही नदीको किनारमै श्रीपुरसँग जोडिएको दक्षिण पट्टीको गाउँ मिथलानगर–२ नक्टाझिभकी शान्तिदेवी महतोले आफ्नो छोरा गुमाउनु परेको छ। शान्तिदेवीले आफ्नो दिवंगत छोरा अनिलको तस्वीर देखाउँदा स्नेहपूर्वक काखमा राखिन्। आफू रोएको आवाज बाहिर नजाओस् भनेर दुवै ओठ टम्म बनाइन्। तर, उनका आँखा रसाउनबाट रोकिएनन्।

शान्तिदेवी महतो।

उनका श्रीमान् नरेशकुमार महतोले २२ वर्षीय छोरा गुमाउँदाको घटना सुनाउन थाले। “हामी स-परिवार पोखरा बस्छौँ, त्यहीँको कलेजमा बीबीएस प्रथम वर्षमा नामांकन गराएको थियो। लकडाउनको समयमा यहाँ हजुरबुवा र हजुरआमासँग बस्ने भनेर आएको बेला २०७७ साउन २२ गते घटना भयो,” नरेशले भने, “दिउँसो साथीहरूसँग घुम्न भनेर निस्केको थियो, पछि बालुवा खानीको खाडलमा डुबेको खबर घरमा आयो।” 

ढल्के-जनकपुर सडकखण्डको नक्टाझिझ चोकभन्दा पश्चिम बसही खोलाको किनारमा ४० फिटसम्म गहिरा आधादर्जन ठूला खाडलह छन्। त्यहीमध्येको एउटामा डुबेर अनिलको मृत्यु भएको थियो। ती अवैध खाडल खन्नेहरूलाई जिम्मेवार बनाउनेतिर कुनै कदम नचालिएकोमा बुबा नरेश दुखी छन्। मधेशमा यस्ता ज्यानमारा खाडल बनाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको राय छ। उक्त घटनालाई प्रहरीले भवितव्य मृत्यु भनेको छ।

जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयका अनुसार, अनिल महतो डुबेको वर्ष (आर्थिक वर्ष २०७७/७८) मा मधेशका आठ जिल्लामा डुबेर १२० जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा अधिकांश बालबालिका थिए। यीमध्ये धेरैजसो घटना बालुवा खानीका खाल्डोहरूमा भएका थिए।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार डुबेर मृत्यु भएका घटनाहरू भवितव्य भनेर उल्लेख गर्ने गरेको छ। यसरी राज्यको दृष्टिकोणमा बालुवा गिट्टीका माफियाले बनाइदिएका खाल्डोमा परेर मर्नेहरू एउटा ‘संख्या’ मात्र हुन् भन्ने देखिन्छ। घटनापिच्छे तथ्यांकमा थपिन्छ यो। यस्ता घटनाहरू भएका ठाउँका मानिसहरूका अनुसार यो मानव सिर्जित भएको हुनाले दण्डको दायरामा ल्याइनु पर्छ। 

सर्लाहीको ईश्वरपुरस्थित बाँके खोलामा बालुवा गिट्टी उत्खननले बनेको खाल्डोमा डुबी २०७६ असार १४ गते स्थानीय लाले रायका अन्दाजी १२ वर्षीय छोरा अमितको मृत्यु भयो। सरकारी मापदण्डले पाँच फिट मात्र खन्न पाउने भने पनि त्यहाँ २५ फिट गहिरो खनिएको खाल्डोमा बालकले ज्यान गुमाएपछि स्थानीय आक्रोशित भए।

बाँके खोला।

नगरपालिका र प्रहरीको कमजोरीले भएको घटना भन्दै स्थानीयले त्यो दिन बाँके खोला नजिक पूर्व-पश्चिम राजमार्ग अवरोध गरेका थिए। अर्को दिन शवसहित प्रदर्शन शुरू गरे। प्रहरीले गोली चलाउँद प्रर्दशनकारीमध्ये एक जनाको मृत्यु भयो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० जनाभन्दा बढी सुरक्षाकर्मीसमेत घाइते भए। झडपमा ईश्वरपुर नगरपालिका-१३ का अन्दाजी २५ वर्षीय सरोजनारायण महतो (देवन)को मृत्यु भएको थियो। १० जनाभन्दा बढी प्रदर्शनकारी पनि घाइते भए। प्रहरीले आममानिसको आवाज दबाउन अधिक बल प्रयोग गरेको स्थानीय बताउँछन्। दुवै मृतकलाई क्षतिपूर्ति दिने शर्तमा मामिला शान्त पारियो।

प्रहरी प्रशासनको द्वैध भूमिका र दण्डहीनता
चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिनकुमार महतो र कामदार मुनिन्द्र महतो तथा जितेन्द्र महतोबाहेक विनोदकुमार महतो, सत्यनारायण महतो, शत्रुध्न महतो र दिलीपका साथी रोशनविरुद्ध मनसायपूर्वक हत्या गरेको भन्दै दिलीपका बुबा रामजीवनले जाहेरी दायर गरेका थिए।

दिलीप हत्याको घटनामा कानूनी कारबाही भएको जस्तो देखिए पनि, वास्तविकतामा अवैध उत्खननका गतिविधिमा संलग्नहरूको मनोबलमा रत्तिभर नघटेको उत्खननविरोधी अभियन्ता मनोजकुमार महतो बताउँछन्। अदालतले विपिन, जीतेन्द्र र मुनिन्द्र महतोलाई दोषी ठहर्‍याउँदै जन्म कैदको फैसला सुनाएको छ। हत्यामा संलग्नहरूले सञ्चालन गरेको चुरियामाई बालुवा प्रशोधन केन्द्र भन्ने क्रसर अझै चलिरहेकै छ।

हत्यामा संलग्न व्यक्तिहरूले जिल्ला अदालतबाट सफाइ पाएकोमा रामजीवन र उनको परिवारको चित्तदुखाइ छ। घटनाको बेला सँगसँगै रहेका दिलीपका साथी रोशन यादवलाई जाहेरीमा हत्याको मतियारको रूपमा उल्लेख गरिएको छ। तर, अदालतबाट भने उनीसहित चार जनाले सफाइ पाएका छन्। 

परिवारजनको बुझाइमा तत्कालीन रूपमा इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज रहेका प्रहरी निरीक्षक रामकुमार यादवको पूर्वजानकारीमा उक्त घटना भएको थियो। “हत्यापछि घटनास्थल मुचुल्का हुन्छ, मेरो दाइको हत्याको घटनामा भुईंको मुचुल्का भयो। किनकि, प्रहरीलाई त्यहाँबाट लाश लैजान धेरै नै हतारो थियो,” बहिनी लक्ष्मीले भनिन्, “बिनामुचुल्का लाश लगियो, हाम्रो परिवारबाट कसैलाई लाशसँगै जान दिइएन, धेरै दृष्टिकोणले प्रहरीको भूमिकामा प्रश्न छ।” 

अभियन्ता मनोज महतोका अनुसार उत्खनन् गराउने र क्रसर चलाउनेहरूको प्रभाव कतिसम्म छ भने, मधेशमा कानून र मापदण्ड विपरीत चलेका क्रसर र उत्खननविरुद्ध यदि कहीँ आवाज उठेको छ भने, प्रहरीले नै त्यसलाई दबाउने काम गरेको छ। स्थानीय र बालुवा गिट्टीका कारोबार गर्नेबीच संघर्षका प्रत्येक घटनापिच्छे फितलो कारबाहीले उत्खनन् गर्नेहरूकै दबदबा थपिँदै गएको भुक्तभोगीहरू बताउँछन्। 

गिट्टी बालुवा उत्खननका कारण बनेको खाडल।

स्थानीय लठैतहरूलाई पाल्नसक्ने सामर्थ्य, राजनीतिक तथा प्रशासनिक पहुँच र पैसा भएकाहरूको वर्चस्व रहेकोले उत्खनन् कारोबारमा संलग्नहरू बलियो भएको र कानूनलाई अटेरी गर्ने मनोज बताउँछन्। “अनियन्त्रित उत्खनन् र अवैध क्रसर रोक्न स्थानीय प्रहरीको संरक्षण नै छ भन्न सकिन्छ,” उनले भने, “ओपेन सिक्रेट के हो भने, स्थानीय प्रहरीले जिल्लाको प्रहरी नेतृत्वको इच्छा विपरीत त्यस्तो गर्न सक्दैन र जिल्ला, प्रदेश र केन्द्रीय तहको मातहतमा हुने नै भयो।” 

स्थानीयले दिलीप हत्यामा शंकास्पद भूमिकामा देखिएको बताएका इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक यादवलाई जिल्ला प्रहरी कार्यालयले कारवाहीस्वरुप तुरुन्तै फिर्ता बोलाएको थियो। घटनाको तीन वर्ष नबित्दै उनी बढुवा भएर प्रहरी नायब उपरीक्षक भएका छन्। 

के भन्छ प्रहरी?
‘प्रहरीले अनियन्त्रित उत्खनन् रोक्ने प्रयास गरेन वा उत्खनन् गर्नेहरूलाई सघाउने काम गर्‍यो,’ भन्ने खालका गुनासोहरू प्रदेश प्रहरीमा पनि आउने गरेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्रेष्ठले बताए। “यस्ता गुनासोहरू आइरहन्छ, तर हामी केमा स्पष्ट छौँ भने, तोकिएको मापदण्डबाहिर उत्खनन् हुनु हुँदैन र यदि, गरिएको छ भने त्यसलाई रोक्नुपर्छ,” प्रहरी उपरीक्षक श्रेष्ठले भने, “सबैले बुझ्दिनु पर्ने कुरा के हो भने, बालुवा गिट्टी निकासीको ठेक्का लगाउने, आम्दानी गर्ने र त्यसलाई नियमन गर्ने जिम्मेवारी स्थानीय तहको मात्र हो, स्थानीय तहले मापदण्ड पालनामा हामीसँग सहयोग माग्दा प्रहरीको काम हो सहयोग गर्ने।” 

उनले यसलाई प्रदेश प्रहरीको संस्थागत जिम्मेवारी भनेका छन्। अहिले अनियन्त्रित उत्खननहरू नियन्त्रण हुने क्रममा रहेको र स्थानीय तह मुख्यरूपमा जिम्मेवार रहेको उनको भनाइ छ।

उता, औराही नदीको किनारको गाउँ मिथलानगर–५ श्रीपुरस्थित घरमा अझै पनि दिलीपकी आमा चन्द्रकलादेवी महतो एकान्त खोजेर रुन्छिन्। उनको सवाल छ, “मेरो छोराको दोष के थियो?”

दिलीपका बाबु रामजीवन आफ्नो छोराको हत्यालाई माफियाहरूले उल्टो उपयोग गरेको बताउँछन्। “मेरो छोराको हत्याको विषय अरूलाई तर्साएर राख्नका लागि माफियाहरूले देखाउने एउटा घटना बन्न गएको छ,” रामजीवन भन्छन्, “हामीलाई के कुराले पिरोलेको छ भने, जुन प्रवृत्तिविरुद्ध मेरो छोरा दिलीपको ज्यान नै गयो, त्यसमा केही पनि सुधार भएको छैन।”


सम्बन्धित सामग्री