Friday, April 26, 2024

-->

२०७९ कात्तिक १८, शुक्रबार: न्युजलेटर
लाल-तरंग: एमाले, माओवादीको निर्वाचन लक्षित गीत सार्वजनिक

आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

लाल-तरंग एमाले माओवादीको निर्वाचन लक्षित गीत सार्वजनिक

नेपालमा निर्वाचन नजिकिँदै गर्दा किसिम-किसिमका रोचक परिदृश्यहरू देखा पर्छन्। कसले बढी रचनात्मक र मतदाता लोभ्याउने प्रचारप्रसार गर्छ भन्ने होडबाजी चल्छ। रमाइला सभाहरू हुन्छन्, घरदैलो चालु हुन्छ, केही मौलिक केही आयातित ढाँचाका कार्यक्रम हुन्छन्। पत्यारिला-अपत्यारिला वाचाहरूको भेल बग्छ, सक्कली र सक्कली हाँसो र आँसुको बाढी आउँछ। कहिलेकाहीँ दुर्भाग्यवश केही अप्रिय घटना पनि घट्छन्। तर, यो 'महामेला' आसपासको समय सुस्त भने हुन्न - गतिशील, रोमाञ्चक नै रहन्छ। 

यी सबैबिच उदाउँछन् हरेक दलका मतदाता सजिलै रिझाउने, उनीहरूको मस्तिष्कमा सहजै ठाउँ बनाउने, मन रिझाउने चुनावी गीतहरू।

यस्तै, परम्परालाई निरन्तरता दिँदै यसपालि पनि दलहरूको निर्वाचनलक्षित फरक ढाँचाका गीत लोकरिझ्याइँको प्रभावशाली अस्त्रका रूपमा बजारमा आउने क्रम जारी छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनलक्षित गीत आज सार्वजनिक भएको छ। विगतमा पनि धेरै लोकप्रिय प्रचार सामाग्री ल्याउन सफल एमालेले यसपालि 'मंसिर चार, ओली सरकार' नामको गीत र भिडियो निर्माण गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो भिडियो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै यसका सर्जकहरूलाई धन्यवाद दिएका थिए।

यो गीत ओलीकै सेरोफेरोमा घुमेको छ र यसमा उनको नेतृत्वमा भएका कामकारबाहीको सूची पेस गरिएको छ।

सुन्नुहोस्/हेर्नुहोस्

नेकपा माओवादी केन्द्रले पनि आफ्नो चुनावी गीत सार्वजनिक गरेको छ। 'भोट फर प्रचण्ड, भोट फर 

माओवादी' नाम यस र्‍याप गीतमा पुष्पकमल दाहाल 'प्रचण्ड' मुख्य पात्र छन्। 

एमालेको पहिलेका गीतहरूमार्फत जनता आकर्षित गर्ने रणनीतिबाट प्रभावित भएर होला, यस सामग्रीलाई निकै फरक ढंगबाट प्रस्तुत गर्न खोजिएको छ र यसमा पनि प्रचण्डका सफलताहरूको सूचीकरण गरिएको छ।

सुन्नुहोस्/हेर्नुहोस्

सत्ता-गठबन्धनको नेतृत्व हाँकेको नेपाली कांग्रेसको भने अहिलेसम्म कुनै आधिकारिक सांगीतिक प्रचार सामग्री सार्वजनिक भएको छैन।

अर्कोतर्फ, निर्वाचन आयोगको चुनावसम्बन्धी बनाइएको गीत/भिडियो सामाजिक सञ्जालमा निकै आलोचित भएका कारण सार्वजनिक भएको २४ घण्टा नबित्दै हटाइएको थियो।

उकालो अन्तर्वार्ता: 'तोकेको सीमामा बस्न नसक्ने उम्मेदवारलाई ठाउँको ठाउँ हराउनुपर्छ'
आमनिर्वाचन, २०७९ को मिति नजिकिँदै गर्दा निर्वाचन आयोगका कतिपय निर्णयहरू आलोचित बनिरहेका छन्। आगामी निर्वाचन, आयोगमाथि भएको आलोचना र चुनावी तयारीलगायत समसामयिक विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग उकालोका लागि सुजित महत र बीपी अनमोलले गरेको कुराकानी:  तोकेको सीमामा बस्न नसक्ने उम्मेदवारलाई ठाउँको ठाउँ हराउनुपर्छ

महामहिम इन मुक्तिनाथ
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार बिहान प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुगेकी थिइन्।

मुक्तिनाथ परिसरमा निर्मित भगवान् गौतमबद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका गर्नु अगाडि राष्ट्रपति भण्डारीले त्यहाँ रहेका १०८ धाराको परिक्रमा गरी मन्दिरमा विशेष पूजाआजा गरेकी थिइन्।

कार्यक्रमका सिलसिलामा उनले जलवायु परिवर्तन, वातावरण संरक्षण आदि विषयमा आफ्नो मन्तव्य राखेकी थिइन्। मुस्ताङ जिल्लामा जलवायु अनुकूल हुने गरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने उनको सुझाव थियो।

राष्ट्रपति भण्डारी अहिले आफ्नो दोस्रो र अन्तिम कार्यकालको उत्तरार्धमामा छिन्। कार्तिक २०७२ मा पहिलो पटक र नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित उनी फाल्गुण २०७४ मा दोस्रोपटक पाँच वर्षीय कार्यकालका लागि पुनर्निर्वाचित भएकी हुन्।

प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनका लागि प्रचार-प्रसार शुरु
निर्वाचन आयोगको कार्तिक १६ प्रेषित प्रचार-अनुमति सूचना सार्वजनिक भएलगत्तै राजनीतिक दल, तिनका कार्यकर्ता र सक्रिय समर्थकहरू प्रचारप्रसारमा होमिएका छन्। 

सत्ता-गठबन्धन, प्रतिपक्षी गठबन्धन, यी दुई गठबन्धन बाहेकका तालमेल गरेका/नगरेका दलहरू र स्वतन्त्र उम्मेदवारहरू सबै स्वतःस्फूर्त रूपमा मतदाता आकर्षित गर्ने तयारीका लागि जुटेका छन्। 

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले हिजोदेखि आफ्नो निर्वाचन क्षेत्र, र गृहजिल्ला डडेलधुराबाट प्रचारको शुरुवात गरेका छन्। देउवाले आज एक कार्यक्रमका माझ स्थायित्व र दिगो विकासका लागि गठबन्धनको जित अपरिहार्य भन्दै सभालाई सम्बोधन गरेका थिए।  आगामी केही दिन त्यतै बिताएर कात्तिक २० गते उनी राजधानी फर्किने कार्यक्रम छ, जसपश्चात् सातै प्रदेशमा हुने आमसभाहरूमा सहभागी हुने छन्। 

यसै गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाबाट आफ्नो चुनावी अभियान शुरु गर्दै छ। प्रचार क्रममा होस् वा साधारण सभामा सधैँ आक्रामक हुने पार्टी अध्यक्ष ओली यस अभियानका क्रममा ४० जिल्ला पुग्ने बताइएको छ। यस क्रममा उनले आफ्नो दलका साथै आफ्नो नेतृत्वमा रहेको गठबन्धनका अरू दलका नेताका लागि पनि प्रचार गर्ने छन्। आज उनी सहभागी एक कार्यक्रममा उनले लिपुलेक र लिम्पियाधुरा आफैँले फिर्ता ल्याउने बताएका थिए।

नेकपा माओवादी-केन्द्रले पनि आफ्नो पार्टीको निर्वाचन अभियान शुरु गरिसकेको छ। केही दिनदेखि घरदैलोका लागि आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ आउजाउ गर्दै गरेका अध्यक्ष दाहाल आज फेरि जिल्ला पुगेर पाँचवटा सभालाई सम्बोधन गरेका थिए र आफ्नो प्रतिस्पर्धी को हो पत्ता लगाउनै नसकेको भन्दै व्यङ्ग्य गरेका थिए।

साथै, एमालेसँग गठबन्धन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अभियान गोरखाबाट शुरु गर्नेछ। 

देशभरजस्तै राजधानी काठमाडौंमा पनि निर्वाचनको रौनक शुरु भएको छ। यहाँका विभिन्न क्षेत्रका प्रत्याशी नेताहरू आजबाट निकै आक्रामक शैलीमा प्रचारका लागि जुटिसकेका छन्।

बहुपक्षीय टक्कर: झन् रोचक बन्दै काठमाडौं -१ 
नेपाली कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रको पुनः टक्कर हुने भनिएको काठमाडौं क्षेत्र नम्बर-१ मा अरू पनि कहलिएका प्रतिस्पर्धीहरूको आगमनले 'खेल' अझै रोचक हुन जाने देखिएको छ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिंह र मिश्रबीच यहाँ नेक-टु-नेक प्रतिस्पर्धा भएको थियो, जसमा मिश्र सिंहसँग ८१८ मतले हारेका थिए। उक्त चुनाव ताका विवेकशील साझा पार्टीका अध्यक्ष रहेका मिश्र अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार छन् र उनको चुनावी अजेन्डा पनि फेरिएका छन्। सिंहले अहिलेसम्म यो क्षेत्रबाट तीन पटक जित निकालेका छन्। 

निर्वाचनका लागि राप्रपासँग तालमेल गरे पनि यो क्षेत्रमा उक्त दलले आफ्नै उम्मेदवार युवा संघको अध्यक्षसमेत रहेका किरण पौडेललाई बनाएको छ।

स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने यस क्षेत्रमा एमालेको राम्रो नतिजा रहेको थियो। 

यसका साथै, यस क्षेत्रमा नेपाल सुशासन पार्टीबाट पूर्वप्रहरी अधिकृत रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमले पनि उम्मेदवारी दर्ता गरेका छन्। बम निर्वाचन घोषणा भएलगत्तै यस क्षेत्रमा लगातार प्रचारप्रसार गरिरहेका छन्।

पछिल्लो निर्वाचनमा दुई पक्ष हाबी भएको यस क्षेत्रमा यसपालिको प्रतियोगिता भिन्न हुने देखिन्छ।

बाँके-२ : दुई राणा दाजु-भाइ, एक इस्तियाक राई
यसपटक प्रतिनिधिसभा बाँके क्षेत्र नम्बर २ को प्रतिनिधित्व गर्न यसपटक तीन जना बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशम्शेर राणा र नेपाली कांग्रेसका उम्मेदवार सुदीप नरसिंह राणा विकासको नारा लगाउँदै प्रचारप्रसारमा लागेका छन्।

यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट इस्तियाक राई निर्वाचित भएका थिए भने त्यही सालको स्थानीय निर्वाचनमा विजयी भएर राणा नेपालगन्ज उपमहानगरपालिका प्रमुख भएका थिए। 

केन्द्रीय स्तरमा दुवै पार्टीले नेकपा एमालेसँग गठबन्धन गरे तापनि यस क्षेत्रमा एमालेको समर्थन राप्रपाका उम्मेदवार राणालाई छ। 

पूर्वप्रधानमन्त्री र कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाको चुनावी क्षेत्र भनिएको यहाँ सोही दलको पनि राम्रै जनधार छ। कांग्रेसी उम्मेदवार सुदीप नरसिंहलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को पनि समर्थन छ।

तोसिमाको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेशविरुद्ध आयोगको निवेदन
तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश बदर गरिपाऊँ भन्दै शुक्रबार आयोगले सर्वोच्च अदालतमा निवेदन गरेको छ। तोसिमाको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेशविरुद्ध आयोगको निवेदन


सम्बन्धित सामग्री