Tuesday, April 30, 2024

-->

सपना जति खल्लीबल्ली!

कोही सीसी क्यामरा देख्नासाथै कमिजको फेर समातेर भागिरहेका छन्, कोही ‘हिमालयन रिजर्भ’ नाम सम्झेरै कम्पित छन्। कोही ७० करोडको ह्यास–ट्यागमा भगौडा बनिरहेका छन्।

सपना जति खल्लीबल्ली

काठमाडौँ- उद्देश्य के लिनु उडी छुनु चन्द्र एक!

बालकैदेखि सिकाइएको एउटा मन्त्रणा थियो– सपना देख्नुपर्छ, नसक्ने नै भए पनि सपना चाहिँ देख्नैपर्छ।

हो, यस्तै सपना–विपनाको पछिल्लो संस्करणमा जोडिएका छन्— नेता खुमबहादुर खड्का। चैतको दोस्रो हप्ता दाङको लमहीस्थित अमिलियामा नेपाली कांग्रेसका उतिबेलाका उर्जाशील नेता खुमबहादुरको पूर्णकदको शालिक अनावरण भएको छ, पार्टी सभापति शेरबहादुर देउवाको बरद बाहुलीबाट। त्यो बाहुलीको अर्को फेरमा पार्टीका युवा नेता, सांसद एवं महामन्त्री गगनकुमार थापा पनि जोडिएका देखिए, उल्का लाग्नेगरी। खड्कालाई फूलमाला गर्ने पंक्तिमा कांग्रेसका युवा धड्कन थापा गाँसिए, ‘यस्तो त नहुनुपर्ने’ झैँ गरी।

खुमबहादुरको इतिवृत्ति पत्रकार हरिबहादुर थापाले ‘रजगज’मा उतारेका छन्। भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले २०६९ साउन ३० गते खड्कासँग भएको सम्पत्तिमध्ये ९४ लाख ७४ हजार १२२ रूपैयाँ बराबर चल–अचल सम्पत्तिको स्रोत खुल्न नसकेको फैसला सुनायो। विशेष अदालतबाट चोखा ठहरिएका खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरिदियो।

योभन्दा महत्त्वपूर्ण निचोड न्यायाधीशद्धय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासको फैसलामा थियो, जहाँ लेखिएको थियो– “भ्रष्टाचारमा संलग्न हुने व्यक्ति जतिसुकै कुशाग्र भए पनि कानून उल्लंघनका घटनालाई सदाका लागि लुकाउन वा अर्कै ढंगले पटाक्षेप गर्न सम्भव रहँदैन। यसो भन्नुको अर्थ, जतिसुकै जेहनदार र सार्वजनिक जीवनमा सम्मानित ओहदामा रहेको भए पनि कदाचित् कानून उल्लंघन गरी अपराध जगतमा प्रवेश गर्छ भने ढिलोचाँडो कानूनको सांलोभित्र पर्ने निश्चितप्रायः हुन्छ। कानूनमा बाँधिने र कानूनसम्मत व्यवहार गरी अनुशासित जीवनयापन गर्नु नै सार्वजनिक जिम्मेवारी बोकेका राष्ट्रसेवकहरूसँग अपेक्षित कुराहरू हुन् र यसलाई सम्बन्धित सबैले हृदयंगम गर्नुपर्छ भन्ने सन्देश ग्रहण गर्नु विशेष रूपले महत्त्वपूर्ण छ।”

अब न्यायिक निरूपणमा भनिएझैं ‘हृदयंगम’ भयो कि भएन, यो त जगजाहेर छ। लुम्बिनी सरकारसमेतको १० लाख रूपैयाँ (कुल २० लाख) लगानीबाट ठडिएको उनै खुमबहादुरको शालिकमा सभक्ति माल्यार्पण गरिँदै गरेको दृष्य भने धेरैका मन–मष्तिष्कमा ‘हृदयंगम’ भएको छ, लाजै लाग्नेगरी। संसद्‍मा भ्रष्टाचार र भ्रष्टाचारीविरुद्धको जति पृष्ठ लामो संकल्प प्रस्ताव पेश भए पनि ‘खुम–माल्यार्पण’ वा ‘खाण–प्रशस्ति’ले अहिलेसम्म भएरहेको मान–गरिमा लत्रिन्छ नै, हेक्का होला। समयको यो कालखण्डमा भ्रष्टाचारी खुमबहादुर पनि गंगालाल–धर्मभक्तझैं स–सम्मान शालिकमा उभिएका छन्, अर्का भ्रष्टाचारी चिरञ्जीवी वाग्ले इतिहासको एउटा वीरगाथा लेखन हुँदै भर्खरै सहृदयी पाठकमाझ आएका छन्। 

अर्का सुविख्यात भ्रष्टाचारी गोविन्दराज जोशी जेल–जरिवाना तिरिसकेपछि ठाडै भन्न सक्ने भएका छन्, “रामचन्द्र पौडेल (हाल राष्ट्रपति) दमौली आउँदा झोला बिसाएर मोही, मकै र चिया खाने घर मेरो थियो। अहिले उनी अरबपति भए।” उनै कांग्रेसी नेता जोशीलाई विशेष अदालतले २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गरेको थियो।

बरु भ्रष्टाचारी ठहर भएर जेलबास भैकन सप्तरी जिल्लामा खेतीपातीमा रमाइरहेका अर्का मन्त्री जेपी गुप्ता भने विचार र कर्म दुवैमा ‘सात्विक’ बनेका देखिन्छन्। जो यतिखेर ‘जो हुवा सो हुवा’ शैलीमा आफ्नो कृति ‘अख्तियारको थुना मेरो सम्झना’ ओल्टाइपल्टाइ गर्नमै आनन्दित बनिरहेका छन्। नाममै जे छ– आनन्द!
⁎⁎⁎
मेरो हजुर
सपना त रातभरिलाई हो!

कवि बैरागी काईलाले कति मीठो गरी लेखेका छन्। कविताको शीर्षक अलिक बितरागी (सपनाको लास) काइदाको लागे पनि कविले भावमा मन–मष्तिष्क ब्यूँझाउने गरी लेखेका छन्— सपना त रातभरिलाई हो, निन्द्रा नटुटेसम्म!

समस्या के भैदियो भने यो समाज–राज्यमा सपनाको ठेकेदार बनेर आएका राजनेता र नेतागणले जनसाधारणलाई सुत्नै दिएका छैनन्। ‘निन्द्रा नटुटेसम्म’ भनेर कवितामा जोडिएको कति मीठो बिम्बको आत्मबोध हुन पाएकै छैन। हामीमाझ एकपछि अर्को गरी आउने सपनाको ताँति यति छ कि यहाँ भ्याइनभ्याइ छ। कठै! तलदेखि माथिसम्मै ‘आलोपालोमा चल्ने’ पद्धति र शासनमा शासित जनसाधारणलाई के सपना के बिपना!

अब केही सपना कोरल्नतिर लागौँ। पूर्वेली चमकको शहर दमक चोकबाट उत्तरतर्फ लाग्यो भने सपनाको गगनचुम्बीजस्तो २ अर्ब रूपैयाँको भ्युटावर पुगिन्छ, दक्षिणतर्फ लाग्यो भने तारबेराले घेरिएको ६५ अर्ब रूपैयाँ लगानी प्रस्तावित दमक औद्योगिक पार्क पुगिन्छ। एकातर्फ टावर ठडिएको छ, अर्कोतर्फ पार्कमा अहिले गाइबाख्राको चरिचरन छ। १२ सय बिगाहा क्षेत्रफलमा फैलिएको पार्कबारे अहिले न डीपीआर तयार छ, न लगानीको टुंगो। तर अहिले पनि दमक–कमल–गौरादहका भित्री गाउँबस्तीका झुप्रे घरका आँगनमा सपनाका अभियन्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सासहित नेपालको नक्सा बोकेका विशाल होर्डिङ–बोर्ड यथावत छन्। त्यही औद्योगिक पार्क आडैको सगरमाथा चोकका छेउकुनामा होर्डिङ बोर्ड लागेका छन्— पूर्व–पश्चिम रेलमार्ग कुद्ने बाटो भनेर विशेषत: जग्गा कित्ताकाट (ज.द.) तकनिकिमा। 

अझ झापाभरि प्रखर राजनेता ओलीलाई लिएर अनेक किस्सा मुखाग्र बनिसकेका छन्— चुच्चे रेलको स्टेशनदेखि चुल्हा–चुल्हामा खिटिक्क ग्याँससम्म। पानीजहाजको टिकट बुकिङदेखि हावाबाट बिजुलीसम्म! 

तैबिसेक, योभन्दा अझै ठूलो सपनाकै कुरा गरौँ छिनभरलाई। ‘एउटा नयाँ युगको शुरूआत’ भन्दै यो शहरका हरेक छेउभित्तामा एउटा फ्लेक्स–बोर्ड टाँगिएको थियो, २०७५ कात्तिक–मंसिरतिर। सहभागिता, योगदान, सामाजिक सुरक्षाको त्यो चर्काे नाराको योगदान–अवदान कहाँ पुग्यो? यति बिध्न डंका पिटेर थालिएको ‘युगको शुरूआत’ कुनै सपना थियो कि छिनभरको ऐँठन?

अर्को गिनिज बुकको सन्दर्भ पनि सम्झिहेरौँ। तत्कालीन एमाले सरकारले (भारतीय प्रम मोदीको सिको र शैलीमा) देशैभर ३९६ वटा अस्पतालको शिलान्यास गरेर गिनिज बुकमा लेखिनेगरी विश्व रेकर्ड कायम गराएको थियो। तत्कालीन प्रधानमन्त्री ओलीको भनाइ थियो, “गिनिज बुक आधा त हामीले गरेको कामले भरिन्छ।”

तर आज यो सपनाको फेहरिस्तमा यसो पछि फर्केर हेरौँ त, यस्ता उडनतस्तरी योजनाको जगसम्म पनि अझै खनिएको छैन। यो उपद्रो सपना र योजनामा विफलताको कारण देखाउन पनि उत्तिकै सजिलै छ, “के गर्नु? हामी पछि आएको सरकारले माखो पनि मारेन।”

अहँ, यसो भनेर कहाँ हुन्छ? आज उनै ओलीको (निर्देशित) सरकार छ, “किन फेरि गिनिज बुकको पाना भर्नेबारेमा अरू कुरा थप्न छाडिएको हो?” 
हामीसँग प्रश्न मात्रै छ, जवाफ छैन।

मेलम्ची खानेपानीदेखि राष्ट्रपति चुरे संरक्षणसम्म, हुलाकी राजमार्गदेखि काठमाडौँ तराई–मधेश द्रुतमार्गसम्म, भैरवहा–पोखरा विमानस्थलदेखि पूर्व–पश्चिम रेलमार्गसम्म। हो, यस्ता राष्ट्रिय गौरवका आयोजनाहरू पनि हामीसँग बहुत छन्, झण्डै दुई दर्जन। तर तिनको हविगतबारे सुप्रिमोदेखि राजनेतासम्म कोही बात गर्दैनन्। 

यी र यस्ता राष्ट्रिय सपनाहरूबारे बहस गर्ने बहानामा न सदन कहिल्यै बन्द हुन्छ, न यी मामलामा पक्ष–प्रतिपक्ष कटाक्ष नै चल्छ। बरु घडीदेखि बाख्रासम्म बहस र बयानका विषय बनिरहन्छन्। तर हरक्षण धुलिसात बनिरहेका हाम्रा सपनाबारे कहीँकतै चियागफसम्म हुने गरेको छैन, हुँदैन। 
यो सबै सम्झँदा मात्रै पनि कवि बैरागी काइँलाको शब्दमा “झोँक चल्दछ! तर, बस्, झोँक चल्छ !!” 
⁎⁎⁎        
यो सपना हो
ब्यूँझेपछि सुत्नेछु
चिर निन्द्रामा! 

कतिपय विषय र सन्दर्भ अचम्मसँग अन्तर्सम्बन्धमा जोडिएका हुन्छन्। जस्तो, एकाएक हाइकु–साधक बनेर पलाएका कवि विप्लव प्रतीकले हालै प्रकाशित संग्रह ‘शाडेन फ्रोएडा’मा यो सपनाको सार लेखेका रहेछन्। 

अब लागौँ सपनाको शुद्धीकरणतिर। यहाँ को छ शुद्ध, को अशुद्ध? अख्तियारका प्रमुख प्रेमकुमार राइदेखि न्यूयोर्कस्थित स्थायी प्रतिनिधि (राहदानी विभाग, पूर्वमहानिर्देशक) लोकबहादुर थापासम्म। नक्कली शरणार्थी, आपूर्ति जग्गाकाण्ड, वाइडबडी प्रकरणसहितमा जोडिएर पनि ‘प्रतिवादी’ बन्नबाट उम्किरहेका राईको वृत्तान्त मिडियामा जगजाहेर भैसकेको छ।

तत्कालीन राहदानी विभागका प्रमुख थापाले भने राष्ट्रिय सूचना प्रविधिका तत्कालीन हर्ताकर्ता विकल पौडेल (हाल पुर्पक्षका लागि थुनामा) सँग मिलेर एमआरपी पासपोर्टको ‘फिचर्स’ र ‘भेरिएसन’ हेराफेरीका नाममा गरिएको भ्रष्टाचारको खोजतलास अहिले मात्रै हुन थालेको छ। यसमा तत्कालीन मुख्यसचिव र हाल राष्ट्रिय सुरक्षा सल्लाकार (कानूनले ठहर गरिनसकेका) शंकरदास वैरागी र सिद्धार्थराज पाण्डेय (ओबर्थर एजेन्ट)को नाम पनि जोडिएको देखिन्छ। यस बेला थाहा लाग्दैछ— पालोक्रम मिचेर र निकै हतारमा कनिष्ठ सहसचिव थापालाई किन न्यूयोर्क पठाइएको रहेछ भनेर! साँच्चै, यस बेला थाहा लाग्दैछ— विगतमा दोहोरिन्दै राजदूत, सचिव, मुख्यसचिव भैसकेका वैरागीलाई किन रातारात सुरक्षा सल्लाहकार बनाइएको रहेछ भनेर! यी सबै कामकाजहरू पनि त्यसैगरी भएका थिए, जसरी संसद् विघटनको मुहुर्तभन्दा (२०७७ मंसीर २०) केही घण्टाअघि अध्यादेशका भरमा संवैधानिक निकायहरूमा भरमार पार्टीगत नियुक्ति गरिएको थियो। 

अब अर्को भागदौड हेरौँ— अहिलेका मुख्यसचिव बैकुण्ठप्रसाद अर्यालको टेरामक्स खरिद प्रकरणदेखि सुरक्षण मुद्रण केन्द्रका टेन्डरहरूसम्म। कतिसम्म भने, सिंहदरबारभित्रको आफ्नो कार्यालयमा आउजाउ गर्नै पनि अर्याल अहिले भूमिगत मार्गको उपयोग गर्छन् भन्ने चर्चा छ, त्यो पनि माखले–टोपी लगाएर। सिंहदरबारभित्रै अनेकथरि जन्मकुन्डली बोकेर कुदिरहेका संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय त ‘डबल–मास्क’ लगाएर हिँडिरहेकै देख्न सकिन्छ। कांग्रेस पार्टीको जोडबलमा हालै सर्वोच्चले चोख्याएका सांसद टेकबहादुर गुरुङदेखि महोत्तरीमा व्यक्ति हत्याको आरोपमा वर्षौं फरार रहेपछि हालै जिल्ला अदालतले सफाइ दिएका एमाले सांसद लक्ष्मी महतो कोइरीको रमितलाग्दो व्यक्तिचित्र पनि अनवरत आएको–आयै छ। 

यी र यस्ता प्रकान्ड रमितहरू हेर्न मात्रै सक्नुपर्छ– यी सबैजसो भगौडा कामदार हैसियतमा छन्, खाडी मुलुकमा बोलिने थेगोमा यी सब ‘खल्लीबल्ली’ हुन्। कोही सीसी क्यामरा देख्नासाथै कमिजको फेर समातेर भागिरहेका छन्, कोही ‘हिमालयन रिजर्भ’ नाम सम्झेरै कम्पित बनिरहेका छन्। कोही ७० करोडको ह्यास–ट्यागमा भगौडा बनिरहेका छन्, कोही कसैले नेपथ्यबाट ‘ओई १७ हजार’ भनिदियो कि भयभित बन्दै हत्तपत्त बोलीवचनमा ‘प्रतिवादी’ बनिरहेका हुन्छन्।  

हो, तैपनि सपना देख्न भने छाड्नुहुन्न। परार पनि त्यसैगरी बित्यो, पोहोर पनि उसै बित्यो भन्ने समय अब कहाँ छ र! यो पाला त ‘कुछ’ होला कि! बरु सपना भने देखिराखौँ— नित्य निरन्तर। कवि मीनबहादुर विष्टका कविताको मात्रै त्यति भर नपरौँ, जस्तो उनले कतै लेखेका रहेछन्—
...त्यसैले त म भनिरहेछु
यो पनि नारैनाराको वर्ष हो
यो पनि उद्घाटनै उद्घाटनको वर्ष हो
योे पनि पोस्टरैपोस्टरको वर्ष हो
यो पनि भाषणैभाषणको वर्ष हो
यो पनि कुरैकुराको वर्ष हो!

(उकालोको विचार खण्डमा प्रकाशित हुने सामग्री लेखकका निजी धारणा हुन्।)


सम्बन्धित सामग्री