काठमाडौँ– यस वर्षको चिया कविता पुरस्कार साहित्यकार प्रभा राईलाई प्रदान गरिने भएको छ।
सोमबार सिक्किमको गान्तोकमा बसेको चिया कविता समूहका कार्यकारी सदस्यको बैठकले आसाङथाङ नाम्ची निवासी राईलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
आफ्नो व्यक्तिगत प्रयासमा सिक्किममा पठन संस्कृतिको विकासका लागि पुर्याएको योगदानको मूल्यांकन गर्दै राईलाई पुरस्कृत गर्न लागिएको कविता समूहले जनाएको छ।
राईले लामो समयदेखि साहित्य, शिक्षा र पठन संस्कृतिको विकासका लागि योगदान दिँदै आएकी छन्। नाम्चीको आसाङथाङस्थित दुमी गाउँका बालबालिका र पाठकका लागि उनले व्यक्तिगत प्रयासमा पुस्तकालय निर्माण गरेकी छन्।
सन् २०१९ मा ‘डीजी रिडिङ रूम रिसोर्स एन्ड एजुकेसन फाउन्डेसन’ स्थापना गरेर भाषा–साहित्य, कला र लोक परम्पराको विकासमा योगदान दिइरहेकी छन्। आगामी मे २१ मा विश्व चिया दिवसको अवसर पारेर पुरस्कार प्रदान गरिने समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
समूहले विश्व चिया दिवसको अवसर पारेर हरेक वर्ष एक जना पुरस्कार प्रदान गर्दै आएको छ। उक्त पुरस्कार पहिलो पटक डुप छिरिङ लेप्चालाई प्रदान गरिएको थियो।