मृतकलाई जलाउन लैजानका लागि तयार पारिएको खट।
यो तस्वीर कात्तिक १८ गते साँझ पर्नै लाग्दाको हो। जाजरकोटको खलंगाबाट तल झरेपछि भेरी किनारासँग जोडिएको बस्तीमा कैद गरिएको हो। बाटोमा यस्तो देखेपछि हाम्रो चियाको तलतल एकाएक शान्त भयो। अलि पर पुगेपछि भत्किएका घर, सडक आसपासमा असरल्ल भाँडाकुँडा, चिहिलबिहिल जनमन र भेरी किनारामा पुत्पुताइरहेको धूवाँको मुस्लोले भोक, थकाइ र तिर्खा सबै थाती राखिदियो। झमक्क साँझ पर्नै लागेको थियो। भूकम्पमा परेर मृत्युवरण गरेकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको घरनजिकै हामी पुग्दै थियौँ। भेरीका किनारामा २५ भन्दा बढी शवको दाहसंस्कार हुँदै थियो। झम्के साँझमा सुसाइरहेको भेरी र दन्किरहेको आगोको ज्वाला देख्दा जीवनमा पहिलो पटक महसुस भयो, "सबै उज्यालोले खुशी दिँदो रहेनछ।"
त्यो सन्नाटा, नयाँ बाटो र ठाउँ अनि हाम्रो एकदमै अव्यवस्थित यात्रा। भेरी किनारामा उस्तैसँगै समवेदित हुँदै हामी डोल्पाको तल्लु बगरतिर पुग्न उद्धत थियो। बाटोभर २०५० साउन ५ गतेका दृश्य दिमागमा नाचिरहे। उस दिन आएको बाढीपहिरोले हाम्रो र सिंगो गाउँको खेत बगायो। मामाघरका हजुरबुबाको शव पाँच दिनसम्म नभेटेपछि कुशको शव बनाएर जलाई मामाहरू किरिया कर्ममा बस्नु भएको थियो। गाउँबस्ती बगाएको थियो, घरमाथिबाट आएको पहिरोले एउटै घरमा १८ जनासम्म पुरेको थियो। पुरिनेमा केही दिनपछि मात्रै अमेरिका जान लागेका मेरा साथी केदार लामाको परिवार थियो।
जाजरकोटमा चाहिँ भूकम्प गएको थियो। एक स्थानीय ज्येष्ठ नागरिकले भत्किएको घर देखाउँदै साँझ भनेका थिए, "यो माटोको डल्लोमा ७ घर थिए।"
…
डोल्पाका सांसद धनबहादुर बुढा र नेकपा एकीकृत समाजवादीको पार्टी शीर्ष नेतृत्वसँग सरसल्लाह गरेर हामी सल्यान, रुकुम, जाजरकोट, डोल्पा, बाँके र सुर्खेतमा समाजवादी प्रेस संगठनका जिल्ला भेला गर्न/गराउन हिँडेका थियौँ। कात्तिक १७ गते टाटा सुमो चढेर हेटौँडाबाट काठमाडौँ लाग्दै गर्दा मैले डोल्पाका पत्रकार कमल बुढालाई फोनमार्फत भनेको थिएँ, "१० बजेपछि काठमाडौँ आइपुग्छु, त्यहीअनुसार नेपालगन्जको हवाई टिकट लिनुहोला।" काठमाडौँ पुगेपछि थाहा भयो, "टिकट त अपराह्न चार बजेको रहेछ।"
त्रिभुवन विमानस्थल पुगेपछि अरू एक घण्टा मात्र ढिलाइ गरेर विमान कम्पनीले फेरि हामीसँग पहिलो भेटमै क्षमायाचना गर्यो। यता, आज नेपालगन्जमै बास हुने र जाजरकोटको खलंगा नपुग्ने तय भइसकेको थियो। त्यसैले नेपालगन्जमा होटल खोज्ने र जाजरकोट जान व्यवस्था गरिएको गाडीलाई भोलिसम्म सार्दै हामी नेपालगन्ज पुग्यौँ। त्यही दिन हो, नलगाड नगरपालिका (जाजरकोट)की उपप्रमुख सरिता सिंह काठमाडौँबाट नेपालगन्ज हुँदै जाजरकोट (खलंगा) पुगेर बास बस्दा भूकम्पमा परेको। हामीचाहिँ काठमाडौँबाट नेपालगन्जसम्मको विलम्बले खलंगा बास हुनबाट रोकियौँ। त्यही रात त्यहाँ पुगेको भए जिन्दगी के हो–के हो भन्ने लागिरहन्छ।
कात्तिक १८ गते बिहानै कुन झल्कोले उठायो। मोबाइल हेरेँ, भूकम्प आएर ३९ जना मरेको खबर अनलाइन मिडियाहरूमा आइसकेछ। "भूकम्पले मान्छे नै मारिसक्यो?" हेटौँडामा सम्पर्क गरेँ। पत्नी र छोरा सम्झिएँ। वीरगन्जबाट सहकर्मीहरूले राति नै मेसेज गरेका रहेछन्, "भूकम्पले हल्लायो वीरगन्ज पनि।" तर लामो यात्राका कारण गहिरो निन्द्रामा परेकाले भूकम्प गएको पनि थाहा भएन। नेपालगन्ज विमानस्थलनजिकै होटलमा बसेका थियौँ। प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले भन्नुभयो, "दुई सय जति मान्छे मरेका छन् रे। बाटो छैन, पुल छैन, सम्बन्ध सूत्र नै गाह्रो छ, डोल्पा जाने कसरी?"
रुकुममा पत्रकार अमरराज पुनलाई फोन गरेँ। उहाँ काठमाडौँका मिडियामा लाइभ गरिरहनु भएको थियो। रामीडाँडा केन्द्रबिन्दु आसपास प्रशस्त भौतिक संरचना ध्वस्त छन् भन्ने जानकारी दिनुभयो। बाटो, पुल भत्केको सुनाउनु भयो। हामी सकेसम्म आउँछौँ भन्यौँ।
राति कच्ची बाटो हुँदै हामी डोल्पाको तल्लु बगर पुग्यौँ। त्यहाँसम्म पुग्दा भोकप्यास र थकाइले लखतरान थियौँ। साथी कमलले होटल व्यवस्था भइसकेको सुनाएकाले खुशी भयौँ। तर तल्लु पुग्दा दृश्य फरक थियो। त्यहाँ त अँध्यारोमा हाम्रो कोही नभएजस्तो भयो। युवाको टोलीले होटल प्याक रहेछ। सबै सन्ध्याकालीन ‘रमरम’मा थिए। सायद उनीहरू भोलि बिहानै शे फोक्सुन्डो गन्तव्य बनाएर त्यहाँ बास बसेका थिए। जहाँ बस्ने भनेका थियौँ, त्यस होटलमा कोठा खाली थिएनन्, खाना पनि निकै बेर कुर्न पर्यो। पानी पर्न लागेझैँ थियो, जाडो बढेको थियो। भेरी नदी पच्छ्याउँदै जाँदा हामी लखतरान थियौँ, नदीचाहिँ मुहान छेउछाउ पुग्दा खोलाजस्तो भइसकेको थियो। चिसो स्याँठ, पराकम्पको त्रास अनि अव्यवस्थित यात्रामा बासको पनि बेठेगान। दुःखको कुरा, त्यहाँ पुगेँ भनेर परिवारलाई सम्पर्क गर्न खोज्दा फोन चलेन।
खासमा तल्लु बगरसम्म नेपालगन्जबाट गाडी जाँदो रहेछ। त्यहाँबाट भेरीपारि अर्कै संसार रहेछ। हामी भेरीको किनाराको तल्लु बगरमा एक रात बास बसेर भोलिपल्ट डोल्पाको दुनै जान पारिपट्टि हिँड्यौँ। निर्माणाधीन बेलिब्रिज पुल गत वैशाख ७ गते दिउँसो भाँचिएपछि बनेको छैन। औपचारिक रूपमा सञ्चालन हुनुपूर्व नै यहाँबाट एक्साभेटर पार गर्ने क्रममा पुल भाँचियो। अहिले नेपालगन्जबाट तल्लु बगर र त्यहाँ पारिबाट जुफाल तथा दुनै जाने गाडीको व्यवस्था छ। यही व्यवस्थामा हामी पनि पटके यात्री भएर डोल्पा पुग्यौँ र फर्कियौँ। तल्लुपारिको गाडीको सिन्डिकेट, जनताले पाएको सास्ती, कच्ची सडकको धूलोले घटाएको आयु औसत नेपाली समाचार सामग्री हुन्। धेरैको अपेक्षा छ, "अब मन्त्री बनेपछि धनबहादुर बुढाले यो बाटो बनाइदिए हुने।" बुढा संघीय सांसद हुन्।
मंसिरमा संघीय सरकारले केही मन्त्रीलाई घर पठाउने र नयाँ थप्ने चर्चामा डोल्पा यस पटक ‘फुलमन्त्री’ पाउनेमा आशावादी छ। यो आशा डोल्पाको तल्लु पुल निर्माण र सञ्चालन, जाजरकोटदेखि डोल्पासम्मका सडक स्तरीकरणमा जोडिएको छ। डोल्पा यस पटक नेकपा एकीकृत समाजवादीबाट मन्त्री पाउने लालसामा छ।
हामी जाजरकोट हुँदै फर्किएपछि खलंगामै बस्यौँ। राति पराकम्प आइरहे। यता 'चाडपर्वका फोन' आउन थाले, अर्कातिर भूकम्पपीडितको बारीका पाटामा त्रिपालमुनिको बास कायमै छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटसमेत क्षतिग्रस्त भएको थियो। खलंगामा जाजरकोटका सहायक सीडीओ हामीसँगै हुनुहुन्थ्यो। १०५ जना मरेको भनिएको जाजरकोटमा चार जनाको नाम दोहोरिएकोमा १ सय १ जना मात्रै रहेछन्।
समाचार र सामाजिक सञ्जाल हेर्दा पीडितले धेरै राहत पाएझैँ देखिन्थ्यो, तर बस्तीमा पुग्दा जनता वडाध्यक्षसँग त्रिपालका लागि झगडा गरिरहेका थिए। जाजरकोट अस्पतालमा राष्ट्रपति रामचन्द्र पौडेल आउँदा धूलो खाने टोलीमा परेका पत्रकार ऋषि धमलालाई त्रिपालले बढी नै समवेदित बनाएछ। टिभी शोमा उहाँ भन्दैहुनुहुन्थ्यो, "जनताले समस्या खेपिरहेका छन्, पाल, त्रिपाल र टेन्टको समस्या छ अझै पनि !"
हाम्रो पत्रकारिता यस्तै छ। कहिल्यै आफ्नाबारे समीक्षा गर्दैनौँ। पूर्वपत्रकार तथा रास्वपा अध्यक्ष रवि लामिछाने पनि त्यहाँ गएर रेडियोमा कार्यक्रम चलाइरहनु भएको थियो। जाजरकोटका ‘दुई दर्जन पत्रकार’ पनि भूकम्पपीडित भन्दै समाचार आइरहेको थियो। खलंगामा हामीले नेपाल सरकारका मन्त्री प्रकाश ज्वाला भेट्यौँ। जाजरकोट अस्पतालमा राष्ट्रपतिको हेलिकप्टरले उडाएको धूलो टेक्दै हामीले त्यहाँका क्रियाशील पत्रकारहरू र भूकम्पपीडितलाई पनि भेट्यौँ। अस्पताल परिसरमा गंगा नामकी एक महिला भन्दैहुनुहुन्थ्यो, "यस्तो व्यवस्था मुर्दावाद, अब राजतन्त्र चाहियो।" सायद, उहाँको राजतन्त्रमा हेलिकप्टरले धूलो उडाउँथेन कि! पीडामा समवेदित हुन छाडेर स्वार्थको राजनीतिक कुरा किन फस्टाउँदो छ देशमा?
रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू आउने हेलिकप्टर सांसद डा. तोसिमा कार्की र उहाँको डाक्टर टोलीलाई प्रयोग गर्न दिएको खबर जनआस्थाको सूचनामा आएको रहेछ, जबकि नेपाल प्रहरीका डाक्टरहरू काठमाडौँ फर्किइसकेका थिए। ‘भवितव्य’ टार्न सेनाका २० डाक्टर सुर्खेतमा थिए। यस्तो अवस्थामा पुग्नुभएकी कार्कीले आफूसँगै काठमाडौँबाट लगिएका डाक्टर जाजरकोट जान नपाए ‘डाक्टर लैजान नदिएको भन्दै स्क्यान्डल मच्चाइदिने’ भन्नुभएपछि चुपचाप रक्षामन्त्रीले हेलिकप्टर दिएको खबर जनआस्थाले छापेपछि लाग्यो, नेपालको राजनीति झूट, फरेब, अनियमितता र आफन्तवादले मात्र होइन, 'स्टन्टवाद'ले पनि सखाप हुँदैछ। समवेदनामा इमोस्नल ब्लाकमेलिङ गर्न सक्नेहरू नै सामाजिक सञ्जालमा वाहवाही पाइरहेका छन्। थाहा छैन, ललितपुरका सांसदले जाजरकोट गएर यस्तो गर्न हुन्थ्यो कि हुन्थेन?
उताबाट हेटौँडा फर्किएपछि चाडपर्वले छोप्यो। लेखौँला भन्दाभन्दै दिन बिते। कुरा पुराना भएजस्तो लाग्यो। तर भूकम्पले नमरेकाहरू पछि चिसोका कारण मरे। अनि सम्झिएँ २०५० सालको आफ्नै गाउँ, जहाँ बाढीपहिरोले नलगेका वा बचेका ज्यानसमेत पछि दूषित पानी, भोक, रोग र अभावले मरे। कैयौँ गाउँ छाडेर शहर पुगे, जसमा हाम्रो परिवार पनि पर्छ। २०५० सालमा आएको बाढीले बगाएको हाम्रो केही परिवार र गाउँलेको खेतमा फुटबल मैदान छ। त्यहाँ केटाकेटीहरू फुटबल खेल्छन्। उनीहरूलाई त्यो भूमिको लालपुर्जा हामीसँग छ भन्ने पनि थाहा छैन। भोलि हाम्रो परिवारले त्यहाँ केही उद्यम या कुनै प्रयोजनका लागि अंशबन्डा/कित्ताकाट गर्यो भने ती किशोर पुस्ताले कुनै युट्युबर बोलाएर "सार्वजनिक बगर माफियाले कब्जा गर्न लागे" भनिदिए भने आफैँ समाचारमा माफिया हुने गरी पत्रकारिता मौलाइरहेको छ–मरिरहेको छ।
२०७२ को भूकम्पमा मकवानपुरमा फेरि यस्तै विपत्ति आयो। यो विपत्तिमा हामी परेनौँ। किनभने घरहरू सिमेन्टको ढलानले बचाए। भत्किएका गाउँका घरहरू अहिले जाजरकोटका घरहरूजस्तै माटोका गाराका थिए। सबै ढले, माटोको डल्लामा सीमित भए।
पीडाका समाचार जाजरकोटबाट आइरहे, दैलेखबाट भाइ पढाउन ल्याउने दिदी सरकारी क्वार्टर छिरेकै राति सँगै एकै चिहान भए। हामीले सुन्यौँ, "भूकम्प आएपछि बाहिर भाग्दा छोरी भित्र कोठामा रहिछन्, लिन जान खोज्दा अरूले रोके, नभन्दै आमाकै अगाडि घर ढलेर छोरी किचिमिची भइन्।"
नेकपा एकीकृत समाजवादी जाजरकोटका अध्यक्ष कमानसिंह खड्काले भन्नुभयो, "यहाँ त राहत वितरणमा राजनीति भयो, राष्ट्रिय मान्यताप्राप्त दलहरू मात्र राहत बाँड्न जाने भन्दै हामीमाथि विभेद भयो, एमालेले राजनीति गर्यो।" समाजवादी प्रेस संगठनकै उपमहासचिव प्रतिज्ञा मगरले सुनाउनु भयो, "हामीलाई यस्तो विभेद गरेका छन् नि दाजु एमालेले, विद्यालयको अभिभावक भेलामा समेत एमालेजनले राष्ट्रिय पार्टीकालाई मात्र आसन ग्रहण गराउनु भन्छन्।" कर्णालीको एमाले राजनीति निकै टिठलाग्दो लाग्यो।
गत शनिबार मात्रै समाचार आयो–जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचना प्रदेश सरकारले निर्णय गर्ने भएको छ। एमाले र कांग्रेस र एकीकृत समाजवादीका केही समूह घर बनाउने भन्दै जाजरकोट पुगेका छन्। एक साताअघि हुनुपर्छ, नेत्रविक्रम चन्द 'विप्लव' पनि त्यहाँ पुगेर घरको जग खन्दै थिए। राहत पुर्याउने लर्को र युट्यबुरको समूह उस्तै पुगेको छ। तर साँच्चै गाउँ कहिले बन्छ? ससाना नानीबाबु मरेका छन्, त्यसको क्षतिपूर्ति के हुन्छ? कोख रित्तिएका परिवारको पीडा कसले सुन्छ?
केन्द्र सरकारले रकम पठाएको छ, प्रदेश सरकार निर्माणमा जुटेको छ। कांग्रेस, एमाले, एकीकृत समाजवादी पार्टीदेखि विप्लवसम्म जाजरकोट बनाउन लागेका छन्। न्युज२४ का पत्रकार राजु श्रेष्ठले फोन गर्नुभयो, "म हेटौँडामा, तपाईं कता हो ?" "जाजरकोट पुगेर काठमाडौँ फर्किँदैछु।" उहाँले भन्नुभयो, "त्यस्तो जर्जर डाँडाबाट त बस्ती नै हटाउनु पर्ने, तीन घण्टा पानी परे डाँडा नै भासिने ऐतिहासिक डाँडालाई पर्यटकीय स्थल बनाउन सकिन्छ, बस्ती राख्नु जोखिमपूर्ण हो।" उहाँको कुरा ठीक लाग्यो। हामी फर्केर खलंगा बसेका दिन पनि माथि बजारमा जोखिम ठान्दै नबसी तल बोहोरा आएर बसेका थियौँ।
कर्णाली, सिंजा क्षेत्र र खस जातिका मल्ल राजाको विशाल राज्य मानिने जाजरकोट सदरमुकामका पुराना घर, बनावट र बस्ती विस्तार पक्कै असुरक्षित छ। धेरै राजाले राज्य गरिसकेपछि ईसं १८३३ मा जुम्ला राज्य टुक्रिएर ससाना बाइसे चौबीसे राज्यको उदय भएको इतिहास छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका बेलासमेत जाजरकोटमा हमला नगरी छुट्टै राज्यको रूपमा मान्यता दिएको इतिहास छ। यस्तो भूगोललाई पर्यटकीय हिसाबले आम्दानीको बाटो बनाउन सकिन्छ, तर त्यहाँ बस्ती राख्नु पक्कै सुरक्षित छैन। यस्तै अन्य हिमाली र पहाडी भेगका ऐतिहासिक स्थलबाट अहिले बस्ती हटिसकेका छन् तर जाजरकोटलाई सबैले बनाउने भन्न थालेका छन्, तर बनाउने नाममा सिमेन्टका थुप्रो थपथाप पारेर मात्र हुन्न, भूगोलको बनावट र निम्तिने जोखिम पनि अध्ययनको विषय हुनुपर्ने देखिन्छ।
जाजरकोटी राजाहरूको इतिहास रहेको जाजरकोटलाई राहतदेखि भवन बनाउने होडमा ‘जर्जरकोट’ नबनाऔँ। एक पटकको जोखिमले वर्षाैँ समाज पछौटेको शिकार हुन्छ, जसरी ३० वर्षअघिको बाढीले मकवानपुरको बस्ती, स्वयं हामी आर्थिक रूपमा पछि पर्यौँ। त्यस्ता ठाउँबाट बरु बस्ती स्थानान्तरण कि व्यवस्थापन गरेर पनि वित्तीय जोखिम मोलौँ, मान्छेको जीवनको जुवा नखेलौँ। साँच्चै जाजरकोटको भविष्य बनाउने हो भने घर बनाउन योग्य भूमिबारे अध्ययन जरुरी छ। नत्र ऐतिहासिक जाजरकोट मानव सभ्यतामा ‘जर्जरकोट’ सीमित हुनेछ। सुदूर र कर्णाली भूकम्पको जोखिममा छ भन्ने समाचार हामीले पढ्दै र लेख्दै आइरहेका छौँ।
एलन समाजवादी प्रेस संगठनका महासचिव हुन्।